काठमाडौं। विभागीय दुई टोली सशुस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन्। महिलातर्फ एपीएफले आर्मी र पुरुषतर्फ आर्मीले एपीएफलाई पराजित गर्दै उपाधि हात पारेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपीएफले आर्मीलाई २४–२० को अंकमा हरायो। आर्मीले दुई अंकले पछाडि रहेको अवस्थामा पुनरागमन गर्दै ११–११ को स्थितिमा पहिलो हाफ सकाएको थियो।
तर, दोस्रो हाफमा १५–१३ ले पछि परेको अवस्थामा पुनरागमन गर्दै एपीएफले जित हात पार्न सफल भयो। दोस्रो हाफमा एपीएफले १३ अंक बटुल्यो। तर, आर्मीले भने ९ अंक मात्र थप्न सक्यो।
महिलातर्फको हारको पीडाको बदला भने आर्मीको पुरुष टोलीले लियो। फाइनलमा एपीएफलाई पेनाल्टीमा ६–५ अंकले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।
निर्धारित समयको खेल ३८–३८ अंकमा सकिएको थियो। त्योसँगै उपाधिको छिनोफानो अतिरिक्त समयमा गरिएको हो। प्राप्त समान ५ मिनेटमा आर्मीले ६ अंक जोड्दा एपीएफले भने ५ अंक मात्र जोड्न सक्यो।
पहिलो हाफमा आर्मीले जम्मा एक अंकको अग्रता लिएको थियो। उक्त हाफ २२–२१ मा टुंगिएको थियो। तर, दोस्रो हाफ भने रोमाञ्चक रह्यो। एक समय ३६–३८ को स्थितिमा रहेको आर्मीले समय सकिन केही अगाडि मात्र आफ्नो रेइडमा दुई अंक जोड्दै खेल ‘टाइ’ गरेको थियो। त्यसपछि खेल पेनाल्टीमा धकेलिएको हो।
पेनाल्टीमा पनि एक समय आर्मी र एपीएफ ४–४ को स्थितिमा थिए। तर, आर्मीले लगातार दुई अंक बटुल्दा एपीएफले भने एक अंक मात्र हात पार्न सक्यो।
महिलातर्फ एपीएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषतर्फ भने आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भए। यी दुईसहित विजेता, उपविजेतालगायतका टोलीलाई गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवहाक सदस्यसचिव राम चरित्र मेहता र अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी सुवेदीलगायतले पुरस्कार प्रदान गरे।
