म्याग्दी। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८ सय ६१ निर्वाचन (म्यादी) प्रहरी छनोट भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५ सय ६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ निर्वाचन प्रहरी छनोट गरेको हो।
शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीलाई नियुक्तिका लागि शनिबार सम्पर्कमा बोलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २ सय ८६ जनामध्ये २ सय १२ जना छिमेकी जिल्ला बागलुङमा पठाइने उनले बताए। छनोट भएका निर्वाचन प्रहरीहरुका लागि आइतबारदेखि तालिम सञ्चालन गरिने भएको छ।
बेनी र इलाका प्रहरी कार्यालय रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तालिम सञ्चालन गरिने थापाले बताए। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गर्न लागिएको हो।
छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४२ हजार ३ सय ३२ पुरुष र ४४ हजार ६४ महिला र एक अन्य गरी ८६ हजार ३ सय ९७ मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।