काठमाडौँ। नेपाली पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले विश्व तेक्वान्दो महासंघ (डब्लुटी)को ‘कोच अफ द ईयर’ २०२५ को अवार्ड जितेका छन्।
विश्व तेक्वान्दो (डब्लु टी)ले नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका सफल प्रशिक्षक नेगीलाई विश्व तेक्वान्दो (डब्लुटी)को आयोजनामा सन् २०२६ सोमबार राति संयुक्त अरब इमिरेट्स, फुजैराहको एमिरेट्स बलरुम अल बहर होटल एण्ड रिसोर्टमा भएको वर्ल्ड तेक्वान्दो गाला अवार्ड २०२५ अन्तर्गत पारा तेक्वान्दो कोच अफ द ईयर २०२५ अवार्ड प्रदान गरेको हो। यो अवार्ड पाउने नेपालको तेक्वान्दो खेलको इतिहासमा पहिलो पटक नेगीले हात पारेका छन्।
नेपालमा पारा तेक्वान्दो खेलको विकास, विस्तारमा पु¥याईएको योगदान र उपलब्धिहरुलाई मुल्यङ्गकन गरी नेगीलाई वर्ल्ड तेक्वान्दो टेक्निकल कम्मिसनले कोच अफ द ईयर २०२५ मा छनौट गरी सिफारिस गरेको थियो।
सोही आधारमा नेगीलाई विश्व तेक्वान्दो (डब्लुटी)का अध्यक्ष डा. चाउ चुङ–वनले तेक्वान्दो खेलको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अवार्ड दिएको हो।
विश्व तेक्वान्दो (डब्लु टी)ले प्रत्येक वर्ष वर्ल्ड तेक्वान्दो गाला अवार्ड आयोजना गर्दै आई रहेको छ भने गाला अवार्डमा ओलम्पिक तथा पाराओलम्पिकका वर्षका उत्कृष्ट पुरुष÷महिला खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको उत्कृष्ट रेफ्री र वर्षको उत्कृष्ट सदस्य राष्ट्रिय संघलाई अवार्ड प्रदान गरिएको छ।
विश्व तेक्वान्दो महासंघ (डब्लु टी)मा आवद्ध नेपाल तेक्वान्दो संघ सहित २१३ राष्ट्रहरु रहेका छन्। नेपाल तेक्वान्दो संघमा सन् २०१५ देखि राष्ट्रिय पारा तेक्वान्दो टिमका प्रशिक्षकमा रहि नेगीले नेपालको लागि अन्तर्राष्ट्रिय अफिसियल १३ पदक जिताएका छन्।
जसमा एशियन गेम्सदेखि पाराओलम्पिक सम्म र एशियल च्याम्पियनशिप देखि वर्ल्ड च्याम्पियनशिप सम्मको पदकहरु ३ स्वर्ण, २ रजत र ८ कास्य पदक छन् ।
नेगी कै प्रशिक्षणमा पलेशा गोर्वधनले पेरिस २०२४ पाराओलम्पिक गेम्स तथा हाङ्जाऊ एशियन पारा गेम्स २०२२मा एतिहासिक कास्य पदक प्राप्त गरेको थियो भने सिर्जना घिसिङले २०२२ वर्ल्ड ग्राण्ड प्रिक्स फाईनल (जि १०)मा एतिहासिक स्वर्ण पदक जितेकी थिइन्।
नेगीले नेपाल ओम्पिक कमिटिबाट २०२२ एनओसी वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड तथा राष्ट्रिय खेलकुद परिषद्बाट २०२४ पारा तेक्वान्दो उत्कृष्ट प्रशिक्षक अवार्ड र नेपाल तेक्वान्दो संघबाट २०२४ उत्कृष्ट प्रशिक्षक अवार्ड र बागमती प्रदेश खेलकुद अवार्ड २०८२ मा उत्कृष्ट प्रशिक्षक अवार्डसमेत हासिल गरिसकेको छन्।