दुबई। इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत वार्ता’ गर्न चाहेको स्पष्ट सङ्केत दिएका छन्।
उनले विदेशमन्त्रीलाई यससम्बन्धी पहल अघि बढाउन निर्देशन दिएको बताएका हुन्। गत महिना राष्ट्रव्यापी विरोध प्रदर्शनको कठोर दमनपछि वासिङ्टनसँग तनाव चर्किएका बेला तेहरानबाट आएको यो पहिलो प्रत्यक्ष सन्देश मानिएको छ।
यस घोषणालाई सुधारवादी राष्ट्रपति पेजेस्कियानका लागि महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ। पछिल्ला हप्ताहरूमा देशभित्रको अस्थिरता आफ्नो नियन्त्रणभन्दा बाहिर गएको चेतावनी दिँदै आएका उनले अब कूटनीतिक बाटो खोल्न खोजेको देखिएको छ। यसले सर्वोच्च नेता आयातोल्लाह अली खमेनीबाट पनि वार्ताका लागि सहमति प्राप्त भएको सङ्केत दिने विश्लेषकहरूको भनाइ छ।
क्षेत्रीय मध्यस्थतामा टर्कीले पर्दापछाडि प्रयास गरिरहेको बताइएको छ। अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफ यस क्षेत्रको भ्रमणमा रहेका छन्। तर वार्ता सफल हुन्छ कि हुँदैन भन्ने अझै अनिश्चित छ, किनकि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई वार्ताको मुख्य सर्त बनाइरहेका छन्।
राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जालमार्फत अङ्ग्रेजी र फारसी भाषामा लेख्दै क्षेत्रका मित्रवत सरकारहरूको आग्रहपछि यो निर्णय लिइएको जानकारी दिएका छन्। उनले गरिमा, विवेक र निष्पक्षताका आधारमा, धम्की र अनुचित अपेक्षाविना वार्ता हुनुपर्ने बताएका छन्।
संयुक्त राज्य अमेरिकाले औपचारिक रूपमा वार्ता सुरु भएको स्वीकार गरेको छैन। तर ट्रम्पले सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँग संवाद जारी रहेको र सम्झौता हुन सके राम्रो हुने बताएका छन्। उनले समाधान ननिस्किए गम्भीर परिणाम आउन सक्ने चेतावनीसमेत दिएका छन्।