काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्ना १५ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
महामन्त्री पौडेलले भिडिओ वक्तव्यमार्फत कांग्रेसले अब सपना मात्र देखाउने नभई ती सपनालाई नतिजामा बदल्ने ‘अपेरेटिङ सिस्टम’ नै फेर्नुपर्ने बताएका छन्।
बुधबार सार्वजनिक वक्तव्यमा उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्ने बताउँदै त्यसका लागि अहिलेको अर्थतन्त्रमा प्रणालीगत सुधार आवश्यक रहेको उल्लेख गरे।
महामन्त्री पौडेलले ज्ञानमा आधारित अर्थतन्त्र परम्परागत श्रम र पसिनाको निर्यातबाट हटेर बौद्धिक पुँजी र ज्ञानको निर्यातमा केन्द्रित हुनुपर्ने अहिलेको आवश्यकता भएको बताए। उनले प्रविधिको प्रयोगमार्फत साना उद्यमी, युवा र दुर्गमका प्रतिभाहरूलाई सिधै विश्व बजारसँग जोड्ने गरी अवसरको लोकतन्त्रीकरण गरिनुपर्ने, आर्थिक इकोसिस्टमअन्तर्गत शिक्षा, बैंकिङ, कानुन र परराष्ट्र नीतिलाई एकअर्काको पूरक बनाउँदै एकीकृत प्रणाली विकास गर्ने, विश्वविद्यालयहरूलाई ‘अनुसन्धान र आविष्कार केन्द्र’ मा रूपान्तरण गर्नुपर्ने जस्ता विषयलाई प्रस्तुत गरेका छन्।
यस्तै नेपालमा आर्थिक विकासमा कानुनी अड्चन एक प्रमुख कारक रहेको बताउँदै उनले दोस्रो चरणको आर्थिक सुधार र कानुनी पुनर्जागरणका लागि सर्वोच्च छाता ऐनमार्फत विकास र लगानीमा बाधक बनेका झन्झटिला कानुन विस्थापित गर्नुपर्ने धारणा राखेका छन्।
पौडेलले बौद्धिक पुँजीको महत्व, डिजिटल अर्थतन्त्र अन्तर्गत राइड–सेयरिङ, ई–कमर्स र डिजिटल प्लेटफर्महरूले सिर्जना गरेका अवसरहरूलाई कानुनी मान्यता दिँदै ‘स्टार्टअप’ हरूलाई प्रोत्साहन आवश्यक रहेको तर्क गरेका छन्।
आर्थिक कूटनीति र भू–आर्थिक पुलको अवधारणा महामन्त्री पौडेलले अघि सारेका छन्। वैदेशिक सहायताबाट लगानीतर्फ अघि बढ्नुपर्ने र विदेशी सहायतामा मात्र निर्भर रहने परम्परा तोडेर व्यापार र लगानी भित्र्याउने कूटनीति अवलम्बन गरिनुपर्ने लगायतका विषयमा उनले आफ्नो धारणा राखेका छन्।