काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

विकास निर्माण

तस्बिरमा स्तरोन्नति हुँदै गरेको सूर्यविनायक-धुलिखेल सडक

२६ माघ २०८२
तस्बिरहरू : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक-धुलिखेल सडक निर्माण सुरु भएको चार वर्ष भइसक्दा पनि निर्माण कार्य अहिले पनि जारी छ।

हालसम्म यस सडक खण्डको करिब ४५ प्रतिशत मात्रै काम सकिएको छ। बाटो विस्तारका लागि ठाउँ-ठाउँमा खनिएका कारण सडक धुलाम्मे हुने गरेको छ। जसका कारण सर्वसाधारणको जनजीवनसमेत प्रभावित भएको छ।

यो खण्डको निर्माण २०७९ देखि सुरु भए पनि समयमै नसकिँदा ठेक्का तोड्दा काम अझ सुस्त भएको छ। दैनिक हजारौँ मानिस ओहोरदोहोर गर्ने र काठमाडौँ प्रवेश गर्ने एक प्रमुख नाकाका रूपमा रहेको यो खण्डनजिक बसोबास गर्ने मानिस झनै प्रभावित छन्।

करिब १६ किलोमिटर लम्बाइको सूर्यविनायक-धुलिखेल खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति गर्न सुरु गरिएको हो। साँगा-धुलिखेल (८.३ किमि) र सूर्यविनायक-साँगा (७.५ किमि) खण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गर्न सुरु गरिए पनि काम समयमै पूरा नहुँदा थप समस्या बढेको छ।

सूर्यविनायक-धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २४ पुस २०७९ मा भएको थियो। सडक विस्तारका लागि ७.५ किलोमिटरको सूर्यविनायक-साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटरको साँगा-धुलिखेल खण्ड चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

सडक निर्माणको काम सुरु भएदेखि देशमा विभिन्न पार्टीका नेतृत्वमा सरकार बनेर ढले पनि यो खण्डको अवस्थामा परिवर्तन आउन सकेको छैन।

आयोजनाको प्रारम्भिक सम्झौता अवधि २३ पुस २०८० सम्म रहे पनि अवधि थप गरी २०८३ फागुन मसान्तसम्म पुर्‍याइएको छ।

हेर्नुहोस् थप तस्बिर :