अनुवाद
बन्दीगृहबाट निस्केपछि आफू अझ कडा कारागारमा परेको रानीले थाहा पाइन्। किल्लामा हुँदा उनको आज्ञा सबैले मान्थे। किल्लाका मालिकले पनि उनलाई सम्मानको दृष्टिले हेर्थे। तर, आज स्वतन्त्र भएर पनि उनका ओठहरू बन्द थिए।
बेलायत, अमेरिका वा युरोपेली मुलुकका नागरिकले झैँ भारतीय अध्येता, लेखकहरूले पनि नेपाली वा नेपालको विषयवस्तुलाई केन्द्रमा राखेर लेख, पुस्तक सिर्जना गरेको पाइन्छ। नेपालको इतिहास, राजनीति, कूटनीति, समाजजस्ता विषयमा थुप्रै भारतीयले अध्ययन-अनुसन्धान गरेका या शोधपत्र लेखेका छन्। त्यस्ता सामग्रीका तुलनामा भारतीय साहित्यकारहरूको सिर्जनाको केन्द्रमा नेपाल वा नेपाली प्रमुख विषयवस्तुको रूपमा आएको उस्तो पाइन्न। यद्यपि केही अपवाद छन्, जसका केही सिर्जनामा नेपाली विषयवस्तुले स्थान पाएको छ। त्यस्तै अपवादमध्येका एक हुन् मुन्सी प्रेमचन्द।
प्रेमचन्द भारतका सर्वप्रिय लेखकमध्येका हुन्। ३१ जुलाई १८८० मा धनपत राय श्रीवास्तवका रूपमा उत्तर प्रदेशमा जन्मिएका प्रेमचन्दका निर्मला, गोदान, गबन, कर्मभूमि, रङ्गभूमि आदि डेढ दर्जन उपन्यास र कफन, पुष की रात, दो बैल, ईदगाह जस्ता करिब ३०० कथा-कहानी प्रकाशित छन्। उनको सम्पादनमा निस्कने उबेलाको प्रमुख साहित्यिक पत्रिका हंसमा बीपी कोइरालाले समेत आफ्नो प्रारम्भिक रचना प्रकाशन गरेका थिए। हिन्दी-उर्दू भाषामा समानान्तर साहित्य सिर्जना गर्ने प्रेमचन्दका खासगरी उपन्यासका पाठक नेपालमै पनि यथेष्ट थिए, र अद्यापि छन्। तर, प्रेमचन्दका धेरै नेपाली पाठकलाई समेत थाहा नभएको एउटा तथ्य के हो भने उनको एउटा कथा ‘जुगनू की चमक’ मा नेपालको यथेष्ट प्रसंग आउँछ। र, त्यसमा नेपाल तथा नेपालका शासकहरूको र अझ विशेषगरी जंगबहादुर राणाको वीरता तथा जातीय श्रेष्ठतालाई उजिल्याइएको, सह्राइएको छ। इतिहासको कसीमा यो कथा कति खरो उत्रन्छ त्यो अर्कै कुरा हो, तर प्रेमचन्दका पाठकजनका हृदयमा यसले नेपालप्रति सकारात्मक भाव सिर्जना गर्ने कुरा चाहिँ पक्को छ। प्रेमचन्दको सोही कथाको लोकरञ्जन पराजुलीले गरेको अनुवाद ‘जुनकिरीको उज्यालो’ यहाँ प्रस्तुत गरिएको छ।
***
पन्जाबका राजा रणजित सिंहले यो संसारबाट बिदाबादी लिइसकेका थिए। राज्यको उत्तम प्रबन्ध चलाइरहेका प्रबुद्धहरूको समूह उनको मृत्युसँगै आपसी द्वेष र कलहका कारण सिद्धिइसकेका थिए। राजा रणजित सिंहले बनाएको सुन्दर तर खोक्रो भवन अब नष्ट भइसकेको थियो। कुमार दिलीप सिंह अब इंग्ल्यान्डमा थिए। रानी चन्द्र चाहिँ चुनारको किल्लामा। क्षय हुँदै गइरहेको राज्यलाई सम्हाल्ने रानीको ठूलो चाहना थियो, तर उनलाई शासन-प्रणाली थाहा थिएन। ईर्ष्याको आगो भड्काउनुबाहेक कूटनीतिले अरू के नै गर्थ्यो र!
रातको १२ बजिसकेको थियो। रानी आफ्नो निवासको छतमा उभिएर गंगातिर हेरिरहेकी थिइन् र सोच्दै थिइन्– यी छालहरू किन यतिबिघ्न स्वतन्त्र छन्? यिनले कति गाउँ र सहरहरू डुबाएका छन्, कति जीवजन्तु र धनसम्पत्ति निलेका छन्, तैपनि यिनीहरू स्वतन्त्र छन्। कसैले यिनलाई थुन्दैन। यिनीहरू थुनिएर बस्न सक्दैनन्, त्यसैले। थुनिएमा यिनीहरू गर्जनेछन्, उर्लनेछन् र बाँधमाथि चढेर त्यसलाई नष्ट गरिदिनेछन्, आफ्नो वेगले त्यसलाई बगाएर लैजानेछन्।
यस्तै नानाभाँती कुरा सोच्दै-बिचार्दै रानी ओछ्यानमा पल्टिइन्। पहिलेको समयका स्मृतिहरू मनोहर सपनाझैँ उनका आँखाअघि नाच्न थाले। कुनै बेला उनको आँखीभौँको संकेत तरबारको धारभन्दा पनि तिखो हुन्थ्यो र उनको मुस्कान वसन्तको सुगन्धित समीरभन्दा पनि प्राण-पोषक थियो, तर अहिले! उनी शक्तिहीन थिइन्। रोए पनि रुन्थिन् आफ्नै मन बुझाउन, अनि हाँसे आफ्नै मन बहलाउन। रिसाइन् नै भने पनि उनले अब कसको पो के बिगार्न सक्थिन्, अनि खुसी हुँदा कसैको पो के उद्धार गर्न सक्थिन्? रानी र दासीका बीचमा अब कति नै अन्तर छ र! रानीका आँखाबाट आँसुका बलिन्द्रधारा झर्न थाले– ती आँसु, जुन कुनै बेला विषभन्दा बढी प्राणघातक र अमृतभन्दा बढी अनमोल थिए। यसरी एक्लै निराश भएर कैयौँपटक रोइन् रानी; आकाशका ताराबाहेक कोही थिएनन् उनका आँसु देख्ने।
रुँदारुँदै रानी निदाइन्। उनको मुटुको प्यारो टुक्रा दिलीप सिंह, जसमा उनको प्राण बसेको थियो, उदास अनुहार लिएर अगाडि उभिए। जसरी गाई दिनभरि जंगलमा चरिसकेपछि साँझ घर फर्कन्छे र आफ्नो बाच्छालाई देख्नेबित्तिकै प्रेम र उमंगले मात्तिएर कल्चौँडोमा दुध भरी, पुच्छर उठाएर दौडन्छे, त्यसैगरी रानी चन्द्र दुवै हात फैलाएर आफ्ना प्यारालाई छातीमा टाँस्न दौडिइन्। तर, जीवनको आशाझैँ सपना पनि भाँच्चियो; उनका आँखा खुले। रानीले गंगातिर हेरिन् र भनिन्– मलाई पनि आफैँसँग लिएर जाऊ।
रानी तुरुन्तै छतबाट ओर्लिइन्। कोठामा एउटा लालटिन बलिरहेको थियो। त्यसको उज्यालोमा उनले एउटा मैलो साडी लगाइन्; गरगहना उतारिन्, रत्नहरूको एउटा सानो थैली र एउटा तिखो चुपी कम्मरमा घुसारिन्। बाहिर निस्कँदा उनी नैराश्यपूर्ण साहसको मूर्तिजस्तै थिइन्।
पहरेदारले सोध्यो– ‘को हँ, त्यहाँ?’
रानीले उत्तर दिइन्– ‘म हुँ, झंगी।’
‘कहाँ जान लागिस्?’
‘गंगाजल लिन। सुराही फुटेको छ, महारानीले पानी माग्दै हुनुहुन्छ।’
पहरेदार केही नजिक आएर बोल्यो– ‘ल हिँड्, म पनि तँसँगै जान्छु, एकै छिन पख।’
झंगीले भनी– ‘भो मसँग नआऊ, एक्लै जान्छु। महारानी कौसीमा हुनुहुन्छ, देख्नुहोला।’
पहरेदारलाई धोका दिएर रानी चन्द्र गुप्ती-ढोका हुँदै अँध्यारोमा काँडाहरूमा अल्झिँदै-बल्झिँदै, ढुंगाहरूसँग ठोकिँदै गंगाको किनारमा पुगिन्।
रात छिप्पिइसकेको थियो। गंगामा शान्ति छाएको थियो। ताराहरूलाई काखमा लिएर छालहरू मस्त सुतिरहेका थिए। चारैतिर चकमन्न थियो। रानी नदीको किनारैकिनार जाँदै थिइन्, र घरीघरी पछाडि फर्कंदै हेर्दै पनि थिइन्। एक्कासि एउटा डुंगा किलामा बाँधेर राखेको देखिन् उनले। नजिकै गएर चियाएर हेर्दा माझी मस्त सुतिरहेको थियो। उसलाई जगाउनु मृत्युलाई जगाउनु हुन्थ्यो। तुरुन्तै डोरी खोलेर रानी डुंगामा चढिन्। जसरी शोक र अन्धकारपूर्ण सपना विचारका छालहरूसँगै बगेर जान्छन् त्यसरी नै नदीको धारले डुंगा बिस्तारै बिस्तारै बहाएर लग्न थाल्यो। तर, डुंगा हल्लिएकाले माझी झस्किएर उठ्यो। आँखा मिच्दै अगाडि हेर्दा एउटी स्त्री बहना हातमा लिएर डुंगामा बसिरहेकी थिइन्। आत्तिएर उसले सोध्यो– ‘तँ को होस्? डुंगा कहाँ लाँदै छेस्?’ रानी हाँसिन्। भयको अन्त्यलाई नै साहस भनिन्छ। बोलिन्– ‘साँचो भनूँ कि झूटो?’
माझीले अलि डराएझैँ गर्दै भन्यो– ‘साँचो नै भन।’
रानीले भनिन्– ‘ल त सुन। म लाहोरकी रानी चन्द्र हुँ। यसै किल्लामा कैद थिएँ। आज भाग्दै छु। मलाई छिटो बनारस पुऱ्याइदेऊ। तिमीलाई मनग्गे धन दिउँला, तर बदमासी गर्यौ भने हेर, यही चुपीले तिम्रो टाउको काटिदिन्छु। बिहान हुनुअगावै म बनारस पुग्नुपर्छ।’
यो धम्कीले काम गऱ्यो। माझीले विनीत भावले रानीलाई आफ्नो कम्मल ओछ्याइदियो र छिटो छिटो बहना चलाउन थाल्यो। किनारका रूखहरू र माथि जगमगाइरहेका ताराहरू सँगसँगै दौडन थाले।
***
चुनारको किल्लामा बिहान सखारैदेखि प्रत्येक मानिस अचम्मित र व्याकुल थिए। पहरेदार, चौकीदार र सुसारेहरू सबै टाउको निहुराएर किल्लाका मालिकका अगाडि उभिइरहेका थिए। खोजबिन भइरहेको थियो, तर केही पत्तो लागेको थिएन।
उता रानी बनारस पुगिन्। तर, त्यहाँ पहिले नै प्रहरी र सेनाले जाल बिछ्याइसकेको थियो। सहरका सबै नाकाहरू बन्द थिए। रानीबारे सूचना दिनेलाई बहुमूल्य पुरस्कार दिइने घोषणा गरिएको थियो।
बन्दीगृहबाट निस्केपछि आफू अझ कडा कारागारमा परेको रानीले थाहा पाइन्। किल्लामा हुँदा उनको आज्ञा सबैले मान्थे। किल्लाका मालिकले पनि उनलाई सम्मानको दृष्टिले हेर्थे। तर, आज स्वतन्त्र भएर पनि उनका ओठहरू बन्द थिए। सबै ठाउँमा उनी शत्रुहरू मात्र देख्दथिन्। पखेटा काटिएको चरोलाई पिँजडाभित्रकै कुनोमा आनन्द हुन्छ।
ओहोरदोहोर गर्ने प्रत्येकलाई पुलिसहरू ध्यान दिएर हेर्थे, तर ती भिखारिणीतिर कसैको ध्यान जाँदैनथ्यो, जो च्यातिएको मैलो सारी लगाएर यात्रीहरूको पछि पछि बिस्तारै टाउको निहुर्याएर गंगातिर आइरहेकी थिइन्। उनी न त झस्कन्छिन्, न हिचकिचाउँछिन्, न त आत्तिन्छिन् नै। यी भिखारिणीको नसामा रानीको रगत जो छ।
कहिलेकाहीँ पुलिसहरू पनि रानीको खोजीमा दत्तचित्त भइरहेको उनी देख्थिन्। उनीहरूलाई देख्नेबित्तिकै भिखारिणीको हृदयमा सुतिरहेकी रानी बिउँझन्थिन्। तिनीहरूलाई उनी घृणाको नजरले हेर्थिन्; शोक र क्रोधले उनका आँखा जल्न थाल्थे।
त्यहाँबाट भिखारिणीले अयोध्याको बाटो समातिन्। दिनभर उनी विकट बाटाहरूमा हिँड्थिन् र रात परेपछि कुनै सुनसान ठाउँमा सुत्थिन्। उनको अनुहार पहेँलिएको थियो। पैतालैभरि ठेला उठेका थिए। सुकोमल फूलजस्तो उनको शरीर ओइलाएको थियो।
प्रायः गाउँहरूमा उनी लाहोरकी रानीकै चर्चा सुन्थिन्। कहिलेकाहीँ पुलिसहरू पनि रानीको खोजीमा दत्तचित्त भइरहेको उनी देख्थिन्। उनीहरूलाई देख्नेबित्तिकै भिखारिणीको हृदयमा सुतिरहेकी रानी बिउँझन्थिन्। तिनीहरूलाई उनी घृणाको नजरले हेर्थिन्; शोक र क्रोधले उनका आँखा जल्न थाल्थे।
अयोध्याको नजिक पुगेकी उनी एक दिन एउटा रूखमुनि बसिरहेकी थिइन्। कम्मरबाट चुपी निकालेर अगाडि राखेकी थिइन्। उनी सोचिरहेकी थिइन्– कहाँ जाऊँ? मेरो यात्राको अन्त्य कहाँ छ? के यो संसारमा अब मेरो लागि कतै ठाउँ छैन?
त्यहाँबाट केही पर आँपको एउटा ठूलो बगैँचा थियो। त्यहाँ ठूला ठूला पालहरू गाडिएका थिए। थुप्रै पहरेदारहरू चम्किला बर्दी लगाएर यताउता टहलिरहेका थिए; थुप्रै घोडा बाँधिएका थिए। यो राजसी ठाँटबाँटलाई रानीले शोकको दृष्टिले हेरिन्। एक पटक उनी पनि कश्मीर गएकी थिइन्। उनको शिविर योभन्दा भव्य थियो।

बस्दाबस्दै साँझ पऱ्यो। रानीले त्यहीँ रात काट्ने निश्चय गरिन्। त्यत्तिकैमा एउटा वृद्ध मानिस टहलिँदै आयो र उनी नजिक उभियो। घुम्रिएको दाह्री थियो, शरीरमा टमक्क मिलेको कपडा थियो र कम्मरमा तरबार झुन्डिएको थियो। उसलाई देख्नेबित्तिकै रानीले तुरुन्तै चुपी उठाएर कम्मरमा घुसारिन्। सिपाहीले उनलाई तीव्र दृष्टिले हेर्दै सोध्यो– ‘छोरी, कहाँबाट आयौ?’
रानीले भनिन्– ‘धेरै टाढाबाट।’
‘कहाँ जान्छ्यौ?’
‘खोइ, थाहा छैन, धेरै टाढा।’
सिपाहीले रानीलाई फेरि ध्यान दिएर हेऱ्यो र भन्यो– ‘एक पटक तिम्रो चुपी देखाऊ त।’ मजबुतीसँग चुपी हातमा लिएर रानी उभिइन् र तिखो स्वरमा बोलिन्– ‘मित्र हौ कि शत्रु?’ सिपाहीले भन्यो– ‘मित्र।’ सिपाहीले बोलेको ढंग र उसको अनुहारमा केही यस्तो विलक्षणता थियो, जसका कारण रानीले विवश भएर विश्वास गर्नुपऱ्यो।
उनले भनिन्– ‘विश्वासघात नगर्नू। ल यो हेर।’
सिपाहीले चुपी हातमा लियो। त्यसलाई ओल्ट्याई-पल्ट्याई गरेर हेऱ्यो र ठूलो नम्र भावले त्यसलाई आँखामा लगायो। त्यसपछि रानीका अगाडि विनीत भावले शिर झुकाएर उसले भन्यो– ‘महारानी चन्द्र!’
रानीले करुण स्वरमा भनिन्– ‘होइन, अनाथ भिखारिणी। तिमी को हौ?’
सिपाहीले उत्तर दियो– ‘हजुरको एक सेवक!’
रानीले उसलाई निराश दृष्टिले हेरिन् र भनिन्– ‘दुर्भाग्यसिवाय यो संसारमा मेरो कोही छैन।’
सिपाहीले भन्यो– ‘महारानी, त्यसो नभन्नुहोस्। पन्जाबको सिंहकी महारानीको एक वचनमा अहिले पनि सयौँ टाउकाहरू झुक्न सक्छन्। मुलुकमा यस्ता थुप्रै मानिसहरू अझै छन्, जसले हजुरको नुन खाएका छन् र त्यसलाई बिर्सेका छैनन्।’
रानी– ‘अब यसको इच्छा छैन। केवल एउटा शान्त ठाउँ चाहन्छु, जहाँ एउटा कुटीबाहेक केही नहोस्।’
सिपाही– ‘त्यस्तो ठाउँ पहाडमै मात्र पाउन सकिन्छ। हिँड्नुहोस् हिमालयको काखमा, जहाँ हजुर उपद्रवबाट बच्न सक्नुहुन्छ।’
रानी– (आश्चर्यले) ‘शत्रुहरूकहाँ जाऊँ? नेपाल कहिले पो हाम्रो मित्र रह्यो र?’
सिपाही– ‘जंगबहादुर राणा दृढप्रतिज्ञ क्षत्रीय हुन्।’
रानी– ‘तर, तिनै जंगबहादुर त हुन् नि, जो भर्खरै हाम्रो विरुद्ध लर्ड डलहौजीलाई सहायता दिनका लागि उद्यत थिए!’
सिपाही (केही लज्जित हुँदै)– ‘त्यतिखेर हजुर महारानी चन्द्र हुनुहुन्थ्यो, आज हजुर भिखारिणी हुनुहुन्छ। ऐश्वर्यका द्वेषी र शत्रु चारैतिर हुन्छन्। मानिसहरू बलिरहेको आगोलाई पानीले निभाउँछन्, तर खरानी निधारमा लगाइन्छ। हजुर केही पनि चिन्ता नगर्नुहोस्, नेपालमा अझै धर्मको लोप भएको छैन। भय त्यागिदिनुहोस् र हिँड्नुहोस्। हेर्नुहोला, हजुरलाई उनले कसरी मान-मनितो गरेर राख्नेछन्।’
रानीले त्यो रात त्यसै रूखको छायाँमा काटिन्। सिपाही पनि त्यहीँ सुत्यो।
बिहान त्यहाँ दुई वटा तीव्र गतिमा दौडने सुडौल घोडाहरू देखिए। एउटामा सिपाही सवार थियो र अर्कोमा एक अत्यन्त रूपवान् युवक। ती रानी चन्द्र थिइन्, जो आफ्नो रक्षास्थानको खोजीमा नेपाल जाँदै थिइन्। केही बेरपछि रानीले सोधिन्– ‘यो कसको शिविर हो?’ सिपाहीले भन्यो– ‘जंगबहादुर राणाको। उनी तीर्थयात्रामा आएका हुन्, तर हामीभन्दा पहिले पुग्नेछन्।’
रानी– ‘तिमीले उनलाई मसँग यहीँ किन नभेटाएको? उनको मनसाय थाहा हुन्थ्यो।’
सिपाही– ‘यहाँ उनीसँग भेट्नु असम्भव थियो। हजुर जासुसहरूको नजरबाट बच्न सक्नुहुन्थेन।’
त्यस समय यात्रा गर्नु ज्यान हत्केलामा राख्नुसरह थियो। दुवै यात्रीले अनेक पटक डाँकाहरूको सामना गर्नुपऱ्यो। त्यतिखेर रानीको वीरता, र उनको युद्ध-कौशल तथा फुर्ती देखेर वृद्ध सिपाही जिब्रो टोक्थ्यो। कहिले उनीहरूको तरबारले काम गर्थ्यो त कहिले घोडाको तेज चालले।
यात्रा लामो थियो। जेठको महिना बाटोमै सकियो। वर्षा ऋतु आयो। आकाशमा मेघ-माला छाउन थाले। नदीहरू भरिन थाले। सुकेका खोलाहरू रसाउन थाले। पहाडका खोल्सा र खहरेहरू गर्जन थाले। न नदीमा डुंगा थिए, न खोलामा घाट। तर, घोडाहरू तालिमप्राप्त थिए। आफैँ पानीमा पस्थे र डुब्दै-तैरँदै, भुमरी काट्दै नदी पारि पुग्थे। एक पटक बिच्छीले कछुवाको पीठमा बसेर नदीको यात्रा गरेको थियो। यो यात्रा त्योभन्दा कुनै कम भयानक थिएन।
कतै अग्ला न अग्ला साल र महुवाका जंगल थिए त कतै पुष्प-पल्लवित जामुनका हरिया वन। तिनको काखमा हात्ती र मृगका बथानहरू रमाइरहेका थिए। धानका खेतहरू पानीले भरिएका थिए। किसानका स्वास्नीमानिसहरू धान रोप्थे र लय हाल्दै रमाइला गीत गाउँथे। कतै ती मनमोहक ध्वनिहरूको बीचमा खेतका कान्लाहरूमा छाता ओढेर बसेका जमिनदारहरूका कठोर शब्द पनि सुनिन्थे।
यसरी यात्राका थुप्रै कष्टहरू सहँदै र अनेकौँ विचित्र दृश्यहरू हेर्दै दुवै यात्री तराई पार गरेर नेपालको भूमिमा प्रवेश गरे।
***
बिहानको सुन्दर समय थियो। नेपालका महाराज सुरेन्द्रविक्रम शाहको दरबारमा बैठक लागेको थियो। राज्यका प्रतिष्ठित मन्त्रीहरू आआफ्ना स्थानमा बसेका थिए। एउटा ठूलो लडाइँपछि तिब्बतमाथि नेपालले विजय हासिल गरेको थियो। यतिखेर सन्धिका धारा-उपधाराहरूमा विवाद चलिरहेको थियो। कोही युद्ध-खर्च चाहन्थे, कोही राज्य-विस्तार। कतिपयले वार्षिक करमा जोड दिइरहेका थिए। जंगबहादुर सभामा आउन बाँकी थियो। धेरै महिनाको देशाटनपछि उनी हिजो राति मात्र फर्केका थिए। थाँती राखिएको यो विषय टुंग्याउन उनकै आगमनको प्रतीक्षा थियो, र अब मन्त्रि-सभामा पेस गरिएको थियो। तिब्बतका यात्रीहरू आशा र भयको अवस्थामा प्रधानमन्त्रीको मुखबाट अन्तिम निर्णय सुन्न उत्सुक थिए। तोकिएको समयमा सिपाहीले जंगबहादुरको आगमनको सूचना दिए। सभामा उपस्थित मानिसहरू उनलाई सम्मान गर्दै उभिए। महाराजलाई ढोगभेट गरिसकेपछि उनी आफ्नो सजिएको आसनीमा बसे। महाराजले भने– ‘प्रधानमन्त्री, सन्धिका लागि तपाईंको प्रस्ताव के छ?’
शोकाकुल शत्रुसँग दयालु आचरण गर्नु सधैँ हाम्रो उद्देश्य रहेको छ। अहिले हात माथि परेको बेला स्वार्थको मोहमा हामी आफ्नो बहुमूल्य उद्देश्य कसरी बिर्सन सक्छौँ र? हामी यस्तो सन्धि चाहन्छौँ, जसले हाम्रो हृदयलाई एक गरिदेओस्।
जंगबहादुरले नम्र भावले भने– ‘मेरो अल्प-बुद्धिमा त यस समय कठोर व्यवहार गर्नु अनुचित छ। शोकाकुल शत्रुसँग दयालु आचरण गर्नु सधैँ हाम्रो उद्देश्य रहेको छ। अहिले हात माथि परेको बेला स्वार्थको मोहमा हामी आफ्नो बहुमूल्य उद्देश्य कसरी बिर्सन सक्छौँ र? हामी यस्तो सन्धि चाहन्छौँ, जसले हाम्रो हृदयलाई एक गरिदेओस्। यदि तिब्बतको दरबार हामीलाई व्यापारिक सुविधाहरू प्रदान गर्न कटिबद्ध छ भने हामी सन्धि गर्न सर्वथा उद्यत छौँ।’
मन्त्रिमण्डलमा विवाद आरम्भ भयो। जंगबहादुरको नरम सर्तसँग अन्यले मत बझाए, तर महाराजले उनैलाई समर्थन गरे। अधिकांश सदस्यहरूलाई शत्रुसँग देखाइएको यस्तो नरमीपन मन नपरेको भए पनि महाराजको विरुद्धमा बोल्ने कसैको साहस भएन।
यात्रीहरू गएपछि जंगबहादुरले उभिएर भने– ‘सभामा उपस्थित सज्जनहरू, आज नेपालको इतिहासमा एउटा नयाँ घटना हुन गइरहेको छ, जसलाई म तपाईंहरूको जातीय बुद्धिमत्ताको परीक्षा सम्झन्छु। यसमा सफल हुनु तपाईंहरूकै कर्तव्यमा निर्भर छ। आज राजसभामा आउँदै गर्दा मलाई एउटा बिन्तीपत्र दिइएको छ, जसलाई म तपाईंहरू सबैको सामुन्ने पेस गर्दछु।’
निवेदकले तुलसीदासको यो श्लोक उद्धृत गरेका छन् :
‘आपत-काल परखिये चारी।
धीरज धर्म मित्र अरू नारी॥’
अर्थात्,
धैर्य, धर्म, मित्र र नारी– यी चारको साँचो परीक्षा आपत्काल (विपत्ति)मा हुन्छ।
महाराजले सोधे– ‘यो पत्र कसले पठाएको हो?’
‘एउटी भिखारिणीले।’
‘भिखारिणी को हुन्?’
‘पन्जाबकी महारानी चन्द्र।’
करवीर खत्रीले आश्चर्य मान्दै सोधे– ‘जो हाम्रा मित्र अंग्रेज सरकारविरुद्ध छिन्, र भागेर आएकी छन्?’
जंगबहादुरले अलि लज्जित हुँदै भने– ‘हो। यद्यपि हामी यही कुरोलाई अर्कोतर्फबाट पनि हेर्न सक्छौँ।’
करवीर खत्री– ‘अंग्रेजहरूसँग हाम्रो मित्रता छ र मित्रको शत्रुलाई सहायता गर्नु मित्रताको नीति विरुद्ध हुन्छ।’
जनरल शमशेरबहादुर– ‘यस्तो अवस्थामा अंग्रेज सरकारसँग हाम्रो सम्बन्धमा पो खलल आउला कि भन्ने डर छ।’
राजकुमार रणवीर सिंह– ‘हामी यो मान्छौँ कि अतिथि-सत्कार हाम्रो धर्म हो, तर त्यतिबेलासम्म मात्र, जबसम्म हाम्रा मित्रहरूलाई हामीमाथि शंका गर्ने अवसर नमिलोस्।’
यस विषयमा यति धेरै मतभेद र वादविवाद भयो कि सभामा होहल्लै मच्चियो; धेरै सदस्यले रानी चन्द्रको यस समयको आगमन देशका लागि कदापि मंगलकारी हुन सक्दैन भनेको सुनियो।
के अब नेपालको दरबारमा यति साहस छैन; यति लाछी भइसक्यो कि अतिथि-सत्कार र शरण-सहायताको नीति निर्वाह गर्न पनि नसकोस्?
होहल्लाबीच जंगबहादुर जुरुक्क उठे। उनको मुख रातो भएको थियो। उनको सद्विचारले क्रोधमाथि नियन्त्रण गर्ने व्यर्थ प्रयत्न गरिरहेको थियो। उनले भने– ‘सज्जनहरू, भाइ-भारादारहरू, यदि यस बखत मेरा कुराहरू तपाईंहरूलाई निकै कडा लागेमा माफ गर्नुहोला, किनकि अब ममा थप सुन्ने शक्ति छैन। आफ्नो जातीय साहसहीनताको यस्तो लज्जाजनक दृश्य म अब हेर्न सक्दिनँ। के अब नेपालको दरबारमा यति साहस छैन; यति लाछी भइसक्यो कि अतिथि-सत्कार र शरण-सहायताको नीति निर्वाह गर्न पनि नसकोस्? यदि त्यसो हो भने यो घटनाको सम्पूर्ण जिम्मेवारी म स्वयं लिन्छु। दरबारले आफूलाई यस विषयमा निर्दोष सम्झियोस् र यो कुराको सार्वजनिक घोषणा गरिदियोस्।’
करवीर खत्रीले जंगिँदै भने– ‘केवल यो घोषणाले देशलाई भयमुक्त गर्न सक्दैन।’
क्रोधित जंगबहादुरले ओठ टोके, तर सम्हालिँदै भने– ‘आफ्नो काँधमा देशको शासन-भार बोक्नेहरूलाई यस्ता अवस्था अनिवार्य छन्। हामी ती नियमहरूबाट, जसको पालना गर्नु हाम्रो कर्तव्य हो, मुन्टो बटार्न सक्दैनौँ। शरणमा पर्न आएकाहरूको हात समात्नु; उनीहरूको रक्षा गर्नु क्षत्रियहरूको धर्म हो। हाम्रा पुर्खाहरूले सधैँ यही नियम, धर्म पालन गरे, यसका लागि प्राणाहुति दिन तम्तयार रहन्थे। आफूले मानिआएको धर्म छाड्नु एक स्वतन्त्र जातिका लागि लज्जास्पद कुरा हो। अंग्रेज हाम्रा मित्र हुन् र अत्यन्त खुसीको विषय हो कि उनीहरू बुद्धिमान् मित्र हुन्। महारानी चन्द्रलाई आफ्नो निगरानीमा राख्नुको उनीहरूको उद्देश्य केवल यो थियो कि विद्रोहीहरूको समूहको कुनै केन्द्र बाँकी नरहोस्। यदि उनीहरूको यो उद्देश्य भंग हुँदैन भने हामीसँग सशंकित हुने उनीहरूलाई न कुनै कारण छ, न हामीलाई उनीहरूसँग लज्जित हुने कुनै आवश्यकता।’
करवीर खत्रीले भने– ‘रानी चन्द्र यहाँ कुन प्रयोजनले आएकी हुन्?’
जंगबहादुरले प्रत्युत्तर दिए– ‘केवल एउटा शान्ति-प्रिय ठाउँको खोजीमा, जहाँ उनलाई आफ्नो दुरवस्थाको चिन्ताबाट मुक्त हुने अवसर मिलोस्। ती ऐश्वर्यशाली रानी, जो रंगमहलहरूमा सुख-विलास गर्थिन्, जसलाई फूलको ओछ्यानमा पनि चैन मिल्दैनथ्यो, आज सयौँ कोस पार गरेर नानाभाँतीका दुःख-कष्ट सहेर नदी-नाला, पहाड-जंगल चहार्दै यहाँ केवल एउटा सुरक्षित स्थानको खोजीमा आएकी छन्। वर्षातको समयका पानीले टिलपिल भएका नदीहरू र उर्लेका खोला-खहरे पार गरेर। यत्रो बिघ्न दुःख बेसाउनु कारण, तपाईंहरूलाई थाहै छ, त्यही एउटा सुरक्षित स्थानका लागि, एक टुक्रो जमिनको आशामा। तर, हामी यति दीनहीन भइसक्यौँ कि उनको त्यो सानो अभिलाषा पनि पूरा गर्न सक्दैनौँ? उचित त यो हुन्थ्यो कि त्यति जमिनको साटो हामीले आफ्नो हृदय फैलाइदिन्थ्यौँ। सोचौँ, यो कति गर्वको कुरा हो कि आपत्मा परेकी एउटी रानीले आफ्नो दुःखको दिनमा जुन मुलुकलाई सम्झिइन्, त्यो यही पवित्र देश हो। महारानी चन्द्रलाई हाम्रो यस भयमुक्त मुलुकमा; हामीले शरणागतको रक्षा गर्ने कुरामा पूरा भरोसा थियो र त्यही विश्वासले उनलाई यहाँसम्म डोर्याएर ल्यायो। पशुपतिनाथको शरणमा आफूलाई शान्ति मिल्ने ठानी उनले यहाँसम्मको कष्ट बेसाएकी छन्। उनको आशा पूर्ण गर्ने, वा धूलोमा मिलाइदिने, तपाईंहरूलाई अधिकार छ। शरणागतलाई शरण दिएर, सदाचरणको नियम मानेर इतिहासको पानामा आफ्नो नाम लेखाउनोस् वा जातीयता र सदाचारसम्बन्धी नियमहरू मेटाएर आफैँलाई पतित तुल्याउनुस्, त्यो तपाईंको रोजाइ। तर, मलाई विश्वास छैन कि यहाँ एक जना पनि त्यस्तो निरभिमानी छ, जसले यस अवसरमा शरणागतको रक्षा गर्न बिर्सेर आफ्नो शिर ठड्याएर जिउन सकोस्। अब म तपाईंहरूको अन्तिम निर्णयको प्रतीक्षा गर्छु। भन्नुहोस्, तपाईं आफ्नो जाति र देशको नाम उज्ज्वल गर्नुहुन्छ कि सधैँका लागि आफ्नो निधारमा अपयशको टीका लगाउनुहुन्छ?’
राजकुमारले उमंगका साथ भने– ‘हामी महारानीको चरणमुनि आँखा बिछ्याउनेछौँ।’
कप्तान विक्रम सिंहले बोले– ‘हामी क्षत्रिय हौँ र आफ्नो धर्मको निर्वाह गर्नेछौँ।’
जनरल वनवीर सिंहले भने– ‘हामी उनलाई यस्तो धुमधामका साथ भित्र्याउनेछौँ कि सारा संसार चकित हुनेछ।’
जंगबहादुरले भने– ‘म मेरा मित्र करवीर खत्रीको मुखबाटै उनको निर्णय सुन्न चाहन्छु।’
शरणागतलाई शरण दिएर, सदाचरणको नियम मानेर इतिहासको पानामा आफ्नो नाम लेखाउनोस् वा जातीयता र सदाचारसम्बन्धी नियमहरू मेटाएर आफैँलाई पतित तुल्याउनुस्, त्यो तपाईंको रोजाइ।
करवीर खत्री एक प्रभावशाली पुरुष थिए र मन्त्रिमण्डलमा उनी जंगबहादुरको विपक्षी खेमाका मुखिया थिए। लज्जामिश्रित शब्दमा उनले बोले– ‘यद्यपि म महारानीको आगमनलाई भयरहित सम्झन्नँ, तर यस अवसरमा हाम्रो धर्म यही हो कि हामी महारानीलाई आश्रय दिऔँ। धर्मबाट मुख मोड्नु कुनै पनि जातिका लागि सुहाउने कुरा होइन।’
धेरैले करतलध्वनिले, उमंगका साथ यस कुराको समर्थन गरे।
महाराज सुरेन्द्रविक्रम शाहले भने– ‘यस निर्णयका लागि बधाई दिन्छु। तिमीले आफ्नो जातिको नाम राख्यौ। भगवान् पशुपतिनाथले यस उत्तम कार्यमा तिम्रो सहायता गरून्।’
सभा विसर्जन भयो। किल्लाहरूबाट तोप पड्कन थाले। सहरभरि खबर फैलियो कि पन्जाबकी रानी चन्द्रको शुभागमन भएको छ। जनरल रणवीर सिंह र जनरल रणधीर सिंह ५० हजार सेनाका साथ महारानीलाई अगुवाइ गर्न गए।
अतिथि-भवनको सजावट हुन थाल्यो। बजारहरू सजिसजाउ गरिए।
ऐश्वर्यको प्रतिष्ठा र सम्मान सबैतिर हुन्छ, तर कसैले भिखारिणीको यस्तो सम्मान देखेको छ? बाजा बजाउँदै र झन्डा फहराउँदै उर्लेको नदीझैँ सेनाहरू जाँदै थिए। सारा नगरमा आनन्दै आनन्द थियो। सडकका दुवैतिर सुन्दर वस्त्र-आभूषणले सजिएका दर्शकहरू उभिएका थिए। सेनाका कमान्डरहरू अगाडि अगाडि घोडामा सवार थिए। सबैभन्दा अगाडि जंगबहादुर जातीय अभिमानमा लीन भएर आफ्नो स्वर्णजडित हौदामा थिए। यो उदारताको एउटा पवित्र दृश्य थियो। धर्मशालाको ढोकामा जुलुस रोकियो। जंगबहादुर हात्तीबाट ओर्लिए। रानी चन्द्र कोठाबाट बाहिर निस्किइन्। जंगले झुकेर अभिवादन गरे। रानी उनलाई आश्चर्यले हेर्न थालिन्। उनी त उही बूढा सिपाही पो थिए!
आँसुले उनका आँखा भरिए। उनी मुस्कुराइन्। फुलेका फूलबाट शीतका थोपाहरू झरे। रानीले भनिन्– ‘ए मेरो डुंगा पार लगाउने बूढा सिपाही! म कसरी तिम्रो गुन तिरूँ?’
जंगबहादुरले शिर झुकाएर भने– ‘हजुरको चरणकमलले हाम्रो भाग्योदय भयो।’
***
नेपालको राजसभाले २५ हजार रुपैयाँ खर्च गरेर महारानीका लागि एउटा उत्तम भवन बनाइदियो र उनका लागि मासिक १० हजार रुपैयाँ खर्चसमेत तोकिदियो।
त्यो भवन अद्यापि छँदै छ र नेपालको शरणागत-प्रियता तथा वचन-पालनाको स्मारकका रूपमा रहेको छ। पन्जाबकी रानीलाई मानिसहरूले आजसम्म स्मरण गरिरहन्छन्।
यो त्यही भर्याङ हो, जसमा चढेर जातिहरू यशको सुनौलो शिखरमा पुग्छन्।
यिनै घटनाहरू हुन्, जसबाट जातीय इतिहासले प्रकाश र महत्त्व प्राप्त गर्छ।
नेपालस्थित राजनीतिक रेजिडेन्टले आफ्नो सरकारलाई रिपोर्ट गरे। ब्रिटिस-भारत सरकार र नेपालका बीचमा केही मनमुटाव होला कि भन्ने शंका थियो, तर ब्रिटिस-भारत सरकारलाई जंगबहादुरप्रति पूर्ण विश्वास थियो। जब नेपालको राजसभाले आश्वस्त तुल्यायो कि रानी चन्द्रलाई कुनै शत्रुतापूर्ण गतिविधि गर्ने अवसर दिइनेछैन, तब ब्रिटिस-भारत सरकारलाई सन्तोष भयो।
यो घटना भारतीय इतिहासको अँध्यारो रातको ‘जुनकिरीको उज्यालो’ हो।