आवरण/स्थलगत झापा ५
एमालेको ‘लाल किल्ला’ मा नयाँको पक्षमा लहर चल्दा झापा ५ को चुनावी प्रतिस्पर्धा रोचक
२३ माघको दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने गौरादह नगरपालिका-८, भुँडेसिमलका शिवु ताजपुरिया (६५) घरको आँगनमा काममा व्यस्त थिए। बाँसका भाटाहरूलाई चोयाले कस्दै टाटी बुनिरहेका थिए। उनलाई छिमेकी कालीप्रसाद ताजपुरियाले सघाइरहेका थिए।
“तरकारी बारीमा कुखुरा र चौपाया छिरेर नाश पारे। यो बेरा लगाएपछि अब बच्ला कि,” शिवुले आफ्नो कामको लेठो सुनाए।
जब कुराकानी आसन्न चुनावतर्फ मोडियो, उनीहरूको बोलीमा उत्साह र आक्रोश दुवै सुनियो। कालीप्रसादले भने, “यसपालि त हामी भोट बदल्ने योजनामा छौँ। मेरो चारजनाको परिवारले नयाँलाई भोट दिने लगभग पक्का गरिसक्यौँ।”
उनले अगाडि थपे, “यसअघि हामीले केपी शर्मा ओलीलाई भोट हालेर प्रधानमन्त्रीसम्म बनायौँ। फेरि उही मान्छे उठेका छन्। एउटै मान्छेलाई कति पटकसम्म भोट दिने?”

गौरादह नगरपालिका-८ भुँडेसिमलका शिवु ताजपुरिया घरको आँगनमा टाटी बुन्दै। सबै तस्बिर :अनिल श्रेष्ठ
२३ र २४ माघमा झापाको क्षेत्र नम्बर ५ मा पर्ने चारवटा पालिका दमक र गौरादह नगरपालिका (वडा नम्बर १ देखि ८ सम्म) तथा गौरीगञ्ज (वडा नम्बर ३ देखि ६ सम्म) र कमल गाउँपालिका गरी जम्मा २९ वडामध्ये अधिकांश वडामा पुगेर विभिन्न उमेरसमूह र समुदायका २०० मतदातासँग कुराकानी गरिएको थियो। सडक, चोक, घर र कामकाजमा भेटिएका यी मतदाताको मनस्थिति बुझ्दा के देखियो भने, मतदातामा परिवर्तनको पक्षमा देखिएका छन्। उम्मेदवारहरू मतदाता फकाउन व्यस्त हुँदा हामीले कुराकानी गरेका मतदातामध्ये अधिकांशले मत परिवर्तन गर्ने सोच बनाइरहेका छन्।

गौरादह नगरपालिका-८ भुँडेसिमलका कालीप्रसाद ताजपुरिया।
दमक नगर केन्द्रमा भएको निर्वाचन क्षेत्र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘लाल किल्ला’का रूपमा चिनिँदै आएको छ। २०४८ सालयताका सातवटा आम निर्वाचनमध्ये २०६४ सालको संविधानसभा चुनावबाहेक सबैमा ओली विजयी भएका थिए। तर यसपटक २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) उक्त क्षेत्रको उम्मेदवार बनेसँगै त्यहाँ नयाँ तरंग फैलिएको छ, र देशकै सर्वाधिक चासोको क्षेत्र बनेको छ। उक्त क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा ओली र बालेनको चर्चा भए पनि चुनावी मैदानमा यी दुईसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जित तामाङ, नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राप्रपाका लक्ष्मीप्रसाद सिटौला, जनता समाजवादी पार्टी नेपालका धीरेन्द्र सुब्बा, श्रम संस्कृति पार्टीका समीर तामाङलगायत २४ जना उम्मेदवार छन्।

कमल गाउँपालिकाका मतदातासँग बालेन्द्र शाह।
दशकौँदेखि ओलीको सुरक्षित निर्वाचन क्षेत्रमा यसपालि मतदाताको स्वरमा फरक लय सुनिएको छ। उनीहरू अब आश्वासनमा मात्र चित्त बुझाउने अवस्थामा छैनन्, आफ्नो जीवनमा प्रत्यक्ष देखिने परिवर्तन, सर्वसुलभ शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता मागिरहेका छन्। त्यसका लागि यसपालि नयाँ अनुहारको परीक्षण गर्ने कि भन्ने उनीहरूको सुर छ। पुराना नेतालाई ‘अन्तिम मौका’ दिने कि नयाँलाई ‘अवसर’ दिने भन्ने बहसले झापा ५ को चुनावी भिडन्तलाई रोचक बनाएको छ।
भुँडेसिमलका बासिन्दासँग कुराकानी गरेर एक किलोमिटर उत्तर गौरादह-८ को जोगबन्धुथान चोक पुग्दा सविता ताजपुरिया (३०) चटपटे खाँदै थिइन्। चुनावी माहोलको चर्चा चल्नेबित्तिकै उनले भनिन्, “अब जितेर जाने नयाँले केही गर्छन् कि भन्ने आशा छ। पुरानालाई धेरै हेरियो, नयाँलाई एकपटक अवसर दिनुपर्छ।”

गौरादह-८ जोगबन्धुथान चोकमा सविता ताजपुरिया।
सविताका अनुसार, जनप्रतिनिधिले महत्त्वाकांक्षी योजना सुनाएर ठूल्ठूला आश्वासन दिनुभन्दा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने थियो। “शिक्षा र स्वास्थ्य यति महँगो भयो कि सामान्य मान्छेले छोराछोरी पढाउन नसक्ने अवस्था छ र गुणस्तरीय उपचार सुविधा पाउनै गाह्रो छ। हामीलाई यस्तो सुविधा दिने मान्छे चाहिएको हो,” उनले भनिन्।

गौरादह-८ जोगबन्धुथानका मंगल ताजपुरिया।
सविताको कुरामा नजिकै बसेका मंगल ताजपुरिया (७०)ले पनि सहमति जनाए। उनले भने, “हामीले पुराना पार्टी धेरै हेरिसक्यौँ- एमाले, कांग्रेस, माओवादी सबै। अब त हाम्रा नातिनातिना र देशको भविष्य हेर्नुपर्ने बेला आएको छ। भाषण धेरै सुनियो, अब हामीलाई विकास र रोजगारी चाहियो। त्यसैले यसपटक भोट बदल्ने हो।” पुराना पार्टीका कामप्रति दिक्दारी प्रकट गरेका उनले आफू कांग्रेसको क्रियाशील सदस्य रहेको सुनाए।
सविताका अनुसार, जनप्रतिनिधिले महत्त्वाकांक्षी योजना सुनाएर ठूल्ठूला आश्वासन दिनुभन्दा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने थियो।
जोगबन्धुथान चोकका १०/१२ जना स्थानीयसँग कुराकानी गरेपछि उत्तर-पश्चिम लाग्दा गौरादह-७ को ग्वालडुब्बा बजारस्थित एउटा पान पसलमा मानिसहरूको भीड थियो। त्यहाँ विष्णुप्रसाद पराजुली (७०)ले भने पुराना दल र नेताहरूकै बचाउ गरे। गौरादह ३ घर भएका पराजुलीले भने, “नयाँले अहिलेसम्म यहाँ आएर एउटा इँटा पनि थपेका छैनन्, कुनै योजना ल्याएका छैनन्। बिना आधार कसरी नयाँलाई भोट दिने? मेरो परिवारले त पुरानैलाई दिन्छ।”

गौरादह-७ ग्वालडुब्बा बजारस्थित पान पसलमा गौरादह ३ का विष्णुप्रसाद पराजुली।
पराजुलीको कुरा भुइँमा खस्न नपाउँदै उनीसँगै पान खाइरहेका गौरादह-७ निवासी गोविन्द राउत (७२)ले प्रतिवाद गरे, “जित्दै नजिती अर्कोले यहाँ कसरी इँटा थप्छ त? काम गर्न त पहिले जितेर जानुपर्यो नि। त्यसैले यसपटक नयाँलाई जिताएर पठाउने हो, उसको पनि काम हेर्नेछौँ।”

ग्वालडुब्बाको पान पसलमा गौरादह-७ का गोविन्द राउत।
ग्वालडुब्बा चोकबाट पूर्व लागेपछि गौरादह-७ पञ्चकन्या चोकमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङ कार्यकर्ताको साथमा घरदैलो गरिरहेका भेटिए। मतदातासामु चुनावी अजेन्डा राख्ने क्रममा उनले आफू स्थानीय बासिन्दा भएकाले यस क्षेत्रको समस्या बुझेको र युवाको प्रतिनिधित्व गर्ने एकमात्र उम्मेदवार भएको बताउँदै बालेन र ओलीको विकल्पमा आफूलाई प्रस्तुत गरिरहेका थिए।

गौरादह-७ मा घरदैलो गर्दै झापा ५ का नेकपाका उम्मेदवार रन्जित तामाङ ।
भोट माग्ने टोली ग्वालडुब्बातिर लागेपछि पञ्चकन्या चोकमा भेटिइन्, गौरादहकी स्थानीय चन्द्रकला दर्जी। उनले ३६ वर्षयता पुरानो पार्टीलाई भोट हालेको तर यसपटक नयाँलाई दिने बताइन्। “जेन-जी आन्दोलनमा त्यति धेरै मान्छे मर्दा, कैयौँ परिवारको काख रित्तिँदा मन रोएको छ। त्यस घटनादेखि मेरो मन बदलिएको छ, यसपालि परिवर्तन खोजिनेछ,” उनले भनिन्। उनीसँगै रहेका गौरादह-७ का अरुण राजवंशीले भने स्थानीय र युवा उम्मेदवार रोज्ने बताए।

गौरादह-७ का अरुण राजवंशी।
एमालेको गढ मानिने गौरादह-३ को बजार एरियामा भेटिएका शम्भु श्रेष्ठ (३५) यसपटक मत परिवर्तन गर्ने मुडमा छन्। “यहाँका मै हुँ भन्नेहरूलाई तह लगाउनुपर्छ,” उनले आक्रोश पोखे, “बा (केपी ओली) ले हारेपछि मात्र यहाँका कार्यकर्ता तह लाग्छन्।”

कमल-१ सरङपाडामा महायज्ञमा सहभागी भएर फर्कने क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली।
गौरादहकै रूपनारायण घिमिरे (७१) भने धर्मसंकटमा देखिन्छन्। “मत फेर्छु भन्नेहरू धेरै छन्, घरका छोराछोरी पनि अर्कै कुरा गर्छन्, तर भोट दिने बेला मेरो हात त अन्त जाँदैन होला। पुरानासँगको मोह छुटाउन गाह्रो छ,” उनले भने।
भ्युटावरको छायामा टुकुरेका सुकुमवासी
दमक नगरपालिका-३ को टुकुरेस्थित सुकुमवासी बस्ती पुग्दा विचित्रको दृश्य देखिन्छ। बस्तीको ठ्याक्कै अगाडि १८ तले गगनचुम्बी भ्युटावर ठडिएको छ, जसमा राज्यको करिब डेढ अर्ब रुपैयाँ खर्च भएको छ। त्यही टावरको फेदतिर करिब ६० परिवार सुकुमवासीका झोपडी छन्, जसको जीवनमा कुनै उज्यालो छैन।

दमक नगरपालिका-३ टुकुरेस्थित सुकुमवासी बस्ती।
२४ माघको बिहान यो बस्तीमा पुगेर हामी चुनावी रिपोर्टिङ गरिरहँदा रास्वपाका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेनकी पत्नी सविना काफ्ले र कार्यकर्ताको टोली घरदैलोमा पुग्दा स्थानीय मानबहादुर भुजेलले गुनासो पोखे। उनले भने, “नेताले हामीलाई आश्वासनबाहेक केही दिएनन्। चुनावमा धनीपुर्जा दिन्छौँ भन्दै आउँछन्, जितेपछि बेपत्ता हुन्छन्। अब हामी पुरानो पार्टीलाई यो बस्तीमा छिर्नै दिँदैनौँ।”

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहकी पत्नी सविना काफ्ले र कार्यकर्ताहरू दमक-३ सुकुमवासी बस्तीमा।
स्थानीय सुनील कार्कीले घर अगाडिको सडक देखाउँदै भने, “डेढ अर्बको भ्युटावर बन्यो, तर हाम्रो घर अगाडिको सडक अझै ग्राभेल छ। धूलो उडेर बस्न सकिँदैन।”
स्थानीय पूर्णबहादुर धिमालको गुनासो पनि उस्तै छ। “भ्युटावरको सट्टा यहाँ एउटा राम्रो अस्पताल बनाइदिएको भए उपचारका लागि धरान वा विराटनगर धाउनुपर्ने बाध्यता हट्थ्यो। राज्यको पैसा बालुवामा पानी हालेसरह भयो,” उनले भने।

दमक-३ टुकुरेस्थित सुकुमवासी बस्तीका सुनील कार्की।
भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाको तथ्यांकअनुसार झापामा ५२ हजार ४१ परिवारले लालपुर्जाका लागि निवेदन दिएका छन्। आयोगमा हालसम्म दर्ता भएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको तथ्यांकअनुसार झापा ५ मा ११ हजार १७१ परिवार सुकुमवासी छन्। जसमध्ये दमक नगरपालिकामा ६ हजार ३४६ परिवार, कमल गाउँपालिकामा ८१८, गौरादह नगरपालिकामा दुई हजार ६६० र गौरीगन्ज गाउँपालिकामा दुई हजार १४६ परिवार छन्। यो संख्याले यी मतदाता यस क्षेत्रमा चुनावी हार-जितको निर्णायक हुने देखिन्छ।

२४ माघमा घरदैलोका क्रममा दमक-५ पुगेकी नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया।
स्थलगत रिपोर्टिङका क्रममा दमक-३ को सुकुमवासी बस्ती जाने बाटोदेखि पूर्वमा दमक-५ का मतदातासँग संवाद गरिरहेको अवस्थामा भेटिइन्, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया। उनले अन्य दलको सामाजिक सञ्जालमा चर्चा भए पनि आफूहरू जनताकै बीचमा गइरहेको बताइन्। उनले आफू वर्षौंदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले मतदाताको विश्वास जित्ने दाबी गरिन्। “चुनावी घरदैलो अभियान राम्रो भइरहेको छ। निर्वाचन क्षेत्रमा पर्ने २९ वटै वडामा समिति गठन गर्दै गएका छौँ, अब बाँकी पाँचवटा वडामा गठन गरेर फागुन ४ गतेपछि र्याली गर्नेछौँ,” उनले भनिन्।
चिया पसलमा चुनावी चर्चा
दमक नगरपालिकापछि हामी कमल गाउँपालिका छिर्यौँ। कमल गाउँपालिका-१ सरङपाडाको बजारस्थित एक चिया पसलमा डिल्लीबहादुर खड्का (७८) चियाको चुस्की लिँदै थिए। उनी परम्परागत शक्तिकै पक्षमा देखिए। “९५ प्रतिशत बूढापाकाले पुरानै पार्टी छोड्दैनन्, म पनि छोड्दिनँ। युवाहरू कति नै छन् र? यहाँ पुराना दलतिर लाग्नेकै बाहुल्य छ,” उनले ठोकुवा गरे।

कमल गाउँपालिका-१ सरङपाडाको बजारमा रहेको चिया पसलमा चुनावी गफगााफ गर्दै ज्येष्ठ नागरिकहरू।
उनीसँगै चिया खाइरहेका तिलकबहादुर पोखरेल (८४)ले भने मत बदल्ने बताए। नातामा डिल्लीबहादुरको भान्जा पर्ने उनले भने “मैले बजारमा बुझ्दा यसपटक परिवर्तन खोज्नेहरूको जमात ठूलो छ। म पनि यसपटक नयाँलाई नै हेर्छु,” उनले भने।
पोखरेलले यति भनेपछि गाडीको हुल दक्षिणतिरबाट उत्तर लाग्यो। उक्त गाडीमा थिए, झापा ५ का उम्मेदवार एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली। उनी महायज्ञमा गएको जानकारी पाएपछि हामी त्यसतर्फ लाग्यौँ। खड्का परिवारले आयोजना गरेको महायज्ञमा ओली ३० मिनेटजति बसे। त्यहाँ उनले सनातन धर्म र संस्कारको रक्षा गर्नुपर्ने बताए। धार्मिक कार्यक्रममा पुगेर मत तान्ने प्रयास गरेको देखिए पनि चुनावी आचारसंहिताबारे सचेत हुँदै उनले खुलेर मत भने मागेनन्। उनले आफू देश बनाउने अभियानमा रहेको बताए। “देशको समृद्धि र विकासबाहेक आफ्नो केही चाहना छैन,” उनले भने।

कमल-१ का ८४ वर्षीय तिलकबहादुर पोखरेल।
त्यसअघि ओली त्यहाँबाट करिब एक किलोमिटर दक्षिणमा अर्को सप्ताह पुराणमा पनि सहभागी भएका थिए।
दक्षिण गौरीगन्जमा विकासको पर्खाइ
कमल गाउँपालिकापछि हामी गौरीगन्ज गाउँपालिकातर्फ गयौँ। गौरीगन्ज-५ डाँगीटोला भारतीय सीमाक्षेत्रमा पर्छ। चौपायाको व्यापार गर्ने यहाँका मालिचन महतोले आसन्न चुनावमा मत बदल्ने मन बनाएका छन्। “सबै पार्टीलाई हेरियो, यसपटक नयाँलाई पाँच वर्ष दिएर हेरौँ भन्ने लागेको छ। काम गरेन भने फेरि अर्को पटक बदल्नेछौँ,” उनले भने।

गौरीगन्ज-५ डाँगीटोलाका मालिचन महतो।
गौरीगन्ज-३ ठेकीटोलका कमलकुमार निरौला घरअगाडिको बाटो नबनेकोमा रुष्ट छन्। “सडक पिच हुन्छ भनेको वर्षौँ भइसक्यो, अहिलेसम्म ग्राभेल नै छ। त्यसैले यसपटक नयाँलाई मत दिने तयारी छ,” उनले सुनाए। सोही टोलकी फागुनी ताजपुरिया (५०) भने पुराना दलकै पक्षमा छिन्। “ट्वाइलेट बनाइदियो, टिना हालिदियो, कलधारा दियो, अब ग्यास दिने भन्दै छन्। म त पुरानैलाई भोट दिन्छु,” उनले भनिन्।
एकातिर ओलीको दशकौँ पुरानो विरासत र अर्कातिर रास्वपा र बालेनको लहरका कारण झापा ५ निर्वाचन क्षेत्रमा सीमित नरही देशकै राजनीतिक ‘इपिसेन्टर’ बनेको छ।
मतदाता फकाउने क्रममा ओलीले विगतमा जस्तै महत्त्वाकांक्षी सपना बाँडिरहेका छन्। २६ माघमा उनले घरदैलो अभियानका क्रममा एमालेले चुनाव जिते ६ महिनामै घर घरमा पाइपबाट ग्यास पुर्याउने बताएका थिए।
एकातिर ओलीको दशकौँ पुरानो विरासत र अर्कातिर रास्वपा र बालेनको लहरका कारण झापा ५ निर्वाचन क्षेत्रमा सीमित नरही देशकै राजनीतिक ‘इपिसेन्टर’ बनेको छ। चार पालिकाका २९ वडा रहेको यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन्। यीमध्ये नौ हजार ९० मतदाता प्रतिनिधिसभा निर्वाचनको मिति घोषणापछि थपिएका हुन्।
परिवर्तित परिस्थितिपछि हुन लागेको चुनाव, मतदाताको बदलिएको मनस्थिति र थपिएका नयाँ मतदाता। यी विभिन्न परिदृश्यले झापा ५ मा यसपटक फरक नतिजा दिन्छ कि परिवर्तनको पक्षलाई परम्परागत शक्तिले नै पछि पार्छ, पर्खाइको रोचक विषय बनेको छ यो।