काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ फाल्गुन २०८२
अ+
अ-

रुकुमपूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल चुनावी अभियानमा व्यस्त छन्।

रुकुमकोटमा मंगलबार पत्रकार सम्मेलनमार्फत उनले भने‚ “सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ।” उनका अनुसार रुकुमपूर्वका जनताबाट सडक सञ्जालका अतिरिक्त शिक्षा, पर्यटन र रोजगारीप्रति विशेष चासो देखिएको छ। “यसअघि निर्वाचित नेताबाट भएका कामप्रति स्वीकार र खुसी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,” उनले भने। रुकुमपूर्वमा आफूप्रति असाधारण विश्वास र अपेक्षा देखिएको उल्लेख गर्दै उनले त्यसले ठुलो जिम्मेवारीको अनुभूति गराएको बताए। चुनावी अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने उनले प्रतिबद्धता जनाए।

रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ उल्लेख गर्दै दाहालले यहाँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने उद्घोष गरे। “देश अप्ठ्यारो अवस्थामा छ। यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो। अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुमपूर्व आएको हुँ। यहाँबाट जाने सन्देश देशकै लागि महत्त्वपूर्ण हुन्छ,” उनले भने। दाहालले रुकुमपूर्वको विकास र जनताको हितका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै अभियानलाई जनअपेक्षाअनुसार परिणाममुखी बनाउने विश्वास व्यक्त गरे।