काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ फाल्गुन २०८२
अ+
अ-

म्याग्दी। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन्।

बेनीबाट घतान-पात्लेखेत–झिँ–पाखापानी–ठाडाखानी–कुइँनेमङ्गले–मल्कवाङ(मराङ(बिम–दरबाङ हुँदै बेनीसम्मका पाँच वटा स्थानीय तहलाई समेट्ने राहुघाट(म्याग्दी चक्रपथ सडक आयोजना पनि उम्मेदवारको पूर्वाधारतर्फ प्राथमिकतामा परेको मुद्दा हो ।

जिल्ला सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रमा रहेको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति गर्ने पछिल्ला तीन वटा चुनावी प्रतिबद्धता पूरा गरेका राजनीतिक दलले राहुघाट र म्याग्दी करिडोरको समग्र विकासका लागि राहुघाट–म्याग्दी चक्रपथ र ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने मध्यपहाडी लोकमार्गका वैकल्पिक मार्ग बनाउनुपर्ने विषयलाई चुनावी मुद्दा बनाएका हुन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा म्याग्दी भएर ढोरपाटन हुँदै पूर्वीरुकुम पुग्ने सडक ६५ देखि ७० किलोमिटर छोटो पर्ने भएकाले वैकल्पिक सडक बनाउन सकेमा पर्यटन, सामाजिक, आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन सकिने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले बताए ।

बेनी–जोमसोम(कोरला सडक सहज हुँदा म्याग्दी हुँदै मुस्ताङमा वार्षिक आठ लाखभन्दा बढी पर्यटक आवतजावत गर्दा त्यसको लाभ जिल्लाले पाउन थालेकाले पश्चिमी र राहुघाट क्षेत्रमा पनि सडक यातायातको पूर्वाधारलाई सहज बनाउनसकेमा बसाइँसराइ रोकिने, रोजगारी सिर्जना हुने र आयआर्जन वृद्धिमा सहयोग पुग्ने नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले सडक पूर्वाधार विकासको मुख्य आधार भएकाले नागरिकको माग र स्थानीय आवश्यकताका आधारमा रणनीतिक महत्वका सडक योजनालाई प्राथमिकता दिने उल्लेख गरे ।

बेनीबाट ७५ किलोमिटरको दूरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरि गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण आधारका रूपमा लिएका हुन् ।

हाल प्रयोगमा आइरहेको बागलुङबाट ढोरपाटन जोड्ने सडकको दूरी १२६ किलोमिटर छ । बेनीबाट विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनी–मुना–खोरिया–मरेनी हुँदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग यसैवर्ष खुलेको हो ।

पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्ने भएकाले मुना–ढोरपाटन खण्डको स्तरोन्नति र ढोरपाटन पूर्वीरुकुम मार्ग खुलाउने विषय म्याग्दीको साझा मुद्दा बनेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुवीन श्रेष्ठले बताए ।

प्रदेश सरकारले दरबाङबाट ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा उम्मेदवारले साझा मुद्दा बनाएका हुन् ।

पूर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार ३२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका साहसी सिकारीको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिकलगायत अवसर छन् ।