काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचन प्रक्रियामा जान उचित हुने बताएका छन्।
शाहले निर्वाचनपछि द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भनी राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्रै निर्वाचनमा जाँदा देशले सही बाटो समात्ने बताए। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
उनले भनेका छन्, “प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हो। प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिबेलाको आमजनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्रै आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र त्यसपछि द्वन्द्व अशान्ति र खिचातानी नहोस् भनी राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्रै निर्वाचनमा जाँदा देशले सही बाटो समात्ने थियो।”
शाहले सिंगै मुलुक अहिले अस्वाभाविक छटपटीको भूमरीमा फसेको बताएका छन्। उनले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस देशभक्त नेपालीले गरेको बताए। “विगतमा अनेकौँ नाममा आन्दोलन र संघर्ष भए। परिवर्तन पनि गरिए तर सबै प्रकारका परिवर्तनले नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ,” उनले भनेका छन्।
शाहले देश अहिले इतिहासकै गहिरो दर्दनाक स्थितिमा आएको बताएका छन्। उनले यस्तो कठिन परिस्थितिमा मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णविराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने औँल्याएका छन्। “वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको परिस्थितिमा आलोपालो भाग लगाएर खाऔँ भन्ने सोचले होइन, मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मुलुकलाई नयाँ गति दिन सकिन्छ,” शाहले भनेका छन्।