काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

कृषि

एउटै जिल्लामा वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको उत्पादन

७ फाल्गुन २०८२
सबै तस्बिर : सविता श्रेष्ठ
अ+
अ-

व्यावसायिक कृषिमा तल्लीन चितवनको राप्ती नगरपालिका-३ झुरझुरेकी ४१ वर्षीया प्रतिभा पाण्डे आचार्यलाई पहिला तोरी खेतीप्रति खासै रुचि थिएन। २०६९ सालदेखि व्यावसायिक कृषि कर्म गर्दै आएकी आचार्य अन्नबालीसँगै कुखुरा, गाई र बाख्रापालनमा सक्रिय थिइन्। तर, पछिल्लो समय उनी तोरी खेतीमा पनि आकर्षित छिन्। उनी बर्खे र चैते धानबालीको बीचमा तोरी छर्छिन्। “यतिबेला तोरी थन्क्याउन व्यस्त छु,” आचार्य भन्छिन्, “यसपालिको असोजको झरीले तोरी बिगारिदियो। त्यसैले तोरी थन्क्याउने काम अलि ढिलो भएको छ।”

झुरझुरेतिर धानबाली थन्क्याएलगत्तै तोरी छर्नु सामान्य हो। आचार्यले पनि करिब साढे चार बिघामा तोरी खेती गरेकी छन्। झरीले तोरी राम्रोसँग उम्रन पाएन। तोरी नउम्रेकाले दोहोर्‍याएर छर्नुपर्‍यो। उनी भन्छिन्, “रासायनिक मल प्रयोग गर्दिनँ, गाईवस्तुको मल र खुकुराको सुली मिसाएर बारीमा हाल्छु।” प्रांगारिक मलको प्रयोग गर्दा माटोको उर्वराशक्ति कायम राख्न सकिने उनको अनुभव छ। “मैले तोरीलगायत बालीनालीमा पर्याप्त प्रांगारिक मल हाल्ने गरेकी छु। त्यसले रोगसमेत कम लाग्छ,” आचार्य भन्छिन्।

आफूलाई उपभोगका लागि राखेर उनी वार्षिक १५ क्विन्टलजसो तोरी बिक्री गर्छिन्। प्रतिक्विन्टल १२ हजारदेखि १६ हजार रुपैयाँसम्म आम्दानी हुन्छ। वार्षिक दुई पटक धान खेती र एक पटक तोरी खेती गर्ने किसानहरूको संख्या उल्लेख्य छ। हुन पनि हिउँद लागेपछि उनको खेतबारी तोरीले पहेँलपुर हुन्छ। तोरीले खेतको सौन्दर्य नै बढाउने उनी बताउँछिन्।

विगतमा चितवनको तोरीको तेल राजा-राणाका दरबारसम्म पुग्थ्यो। चितवनको तोरी खेती र तेलको शुद्धता विख्यात थियो। चितवनका धेरै चिनारीमध्ये तोरी पनि एक थियो। पछिल्लो दशकमा सहरीकरण र अरू व्यवसायतिर किसानको आकर्षणले तोरी खेती घट्दै गएको थियो। २०५० सालमा चितवनमा २२ हजार हेक्टरमा तोरी खेती हुने गरेको सरकारी तथ्यांक छ। जिल्ला कृषि विकास कार्यालयको आँकडाअनुसार आर्थिक वर्ष २०६६/६७ मा आइपुग्दा त्यो घटेर १० हजार ३०९ हेक्टरमा सीमित भयो।

आव २०८०/८१ मा १३ हजार ६४२ हेक्टरमा तोरी खेती गरिएकामा १७ हजार ६८९ मेट्रिक टन उत्पादन भएको थियो। यो अहिलेको बजार मूल्यअनुसार करिब दुई अर्ब ३८ करोड रुपैयाँ बराबरको तोरी हो।

तथापि, पछिल्लो चार वर्षको तोरी खेतीको आँकडाले फेरि आशा जगाएको छ। चितवन कृषि कार्यालयका कृषि-अर्थविज्ञ निर्मल पौडेलका अनुसार आव २०८१/८२ मा १४ हजार १७३ हेक्टरमा तोरी खेती गरिएको थियो। त्यो वर्ष १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएको थियो। चालु आवमा पनि तोरी खेती गत वर्षकै हाराहारीमा छ। “गत वर्षभन्दा तोरी खेतीको क्षेत्रफल घटेको छैन। यो वर्ष तोरी खेती राम्रो भएको छ,” पौडेल भन्छन्, “अहिले चितवनमा तोरी भित्र्याउने काम भइरहेको छ।”

आव २०८०/८१ मा १३ हजार ६४२ हेक्टरमा तोरी खेती गरिएकामा १७ हजार ६८९ मेट्रिक टन उत्पादन भएको थियो। यो अहिलेको बजार मूल्यअनुसार करिब दुई अर्ब ३८ करोड रुपैयाँ बराबरको तोरी हो। आव २०७९/८० मा १४ हजार ७६५ हेक्टरमा तोरी खेती गरिँदा १९ हजार १९४ मेट्रिक टन उत्पादन भयो। त्यसअघि २०७८/७९ मा १२ हजार २६५ हेक्टरमा गरिएको खेतीबाट १४ हजार ७१८ मेट्रिक टन तोरी उत्पादन भएको कृषि कार्यालयको तथ्यांक छ।

पहिला एक हेक्टरमा एक टनभन्दा कम तोरी फल्ने गरेको थियो भने पछिल्लो तीन वर्षयता प्रतिहेक्टर १.३ टन उत्पादन हुन थालेको छ। यसले केही वर्षयता चितवनमा फेरि तोरी खेती र उत्पादन बढ्दै गएको देखाउँछ। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल भन्छन्, “चितवनबाट तोरी हरायो भन्न थालिएको थियो। तर, अहिले किसानहरू फेरि तोरी खेतीमा फर्किएका छन्। उत्पादन पनि बढ्दै गएको छ।”

नगदे बाली

बीउ छरेको ७५ देखि ९० दिनमा उत्पादन हुने तोरीलाई मध्यान्तर बाली मानिन्छ। सुक्खा मौसम नसहने र हल्का चिसो मौसममा तराई, भित्री मधेस र केही पहाडी जिल्लामा तोरी उत्पादन हुन्छ। चितवनलाई तोरी उत्पादनका दृष्टिले पनि उर्वर मानिएको छ। भरतपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको फार्म निर्देशनालयका निर्देशक सुमन ढकाल भन्छन्, “तोरीलाई लामो समय भण्डारण गर्नु पर्दैन, तत्कालै प्रयोगका लागि बिक्रीवितरण गरिने भएकाले नगदेबाली मानिन्छ। बजारको माग राम्रो छ। तोरी खेती गर्ने क्षेत्रहरूमा अतिरिक्त व्यवसायका रूपमा मौरीपालन फस्टाएको छ।”

२०६० सालपछि चितवनमा तोरी खेती घट्दै जाँदा जिल्लाका तोरी मिलसमेत बाहिरी जिल्लाको तोरी उत्पादन र विदेशी तोरीमा निर्भर हुनुपरेको थियो। अहिले भने स्थानीय उत्पादनले नै भ्याइनभ्याइ भएको छ।

त्यसो त विगतमा असोज र कात्तिकमा छर्ने गरिएको तोरी विशेषगरी धान पाक्न ढिलो हुन थालेपछि ढिलै छरिने गरिएको थियो। ढिलो छर्न थालेपछि तोरी लाही र किराको प्रकोपमा परेको थियो। उन्नत जातको बीउ नहुँदा उत्पादन राम्रो नहुने समस्या थियो। यसले चितवनमा तोरी खेती मात्र घटाएको थिएन, उत्पादन पनि कम भएको थियो। तर, पछिल्लो चार वर्षयता तोरी खेती फस्टाउँदै गएको ढकाल बताउँछन्। उनी थप्छन्, “पछिल्लो समय सिँचाइ सुविधा हुँदा किसानले अकासेपानीमा मात्र भर पर्नुपरेको छैन। अहिले धान बाली असोज र कात्तिकमै भित्र्याउन गरिएकाले तोरी समयमा नै लगाउने गरिएको छ।”

२०६० सालपछि चितवनमा तोरी खेती घट्दै जाँदा जिल्लाका तोरी मिलसमेत बाहिरी जिल्लाको तोरी उत्पादन र विदेशी तोरीमा निर्भर हुनुपरेको थियो। अहिले भने स्थानीय उत्पादनले नै भ्याइनभ्याइ भएको भरतपुर-३ क्षेत्रपुरका तेल मिल सञ्चालक सुदर्शन पौडल बताउँछन्। भन्छन्, “हामी लोकल तोरी मात्र किनेर तेल उत्पादन गर्छौं। किनभने, चितवनको तोरी गुणस्तरीय र सफा हुन्छ।” चितवन लोकल तेल उत्पादन संघका निवर्तमान अध्यक्षसमेत रहेका पौडेल चितवनमा करिब ७०० जति तोरी मिल रहेको बताउँछन्। यी तोरी मिलमध्ये कतिपयले आफैँ तोरी पेलेर तेल पनि बेच्छन् र केहीले स्थानीयको तोरी पेलेको शुल्क लिने गरेका छन्।

घट्यो खेत

तोरी मात्र होइन, कृषिका लागि उर्वर मानिएको चितवनमा हरेक वर्ष खेतीयोग्य भूमिको क्षेत्रफल घट्दै गएको छ। कृषि जमिन घट्दै जाँदा व्यावसायिक खेती गर्ने कृषकलाई आवश्यकताअनुसार उपयुक्त जग्गा पाउन मुस्किल हुन थालेको छ। पछिल्लो एक दशकमा खेत घट्दै गएको छ। जस्तो, राष्ट्रिय कृषि गणना, २०६८ अनुसार चितवनमा कृषक परिवार ८८ हजार २४२ थिए। उनीहरूले ४० हजार ६३१.६ हेक्टरमा खेतीपाती गर्थे। त्यसमध्ये ३३ हजार ४६८.१ हेक्टर सिञ्चित थियो। बाँकी सात हजार १६३.५ हेक्टर सिँचाइ सुविधा नभएको खेतीयोग्य जमिन छ।

त्यसयताको एक दशकमा कृषकको संख्या बढे पनि कृषियोग्य जमिन भने घटेको छ। राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार चितवनमा कृषक परिवार बढेर ८९ हजार ५१९ पुगेका छन्। उनीहरूले ३५ हजार ६४७.३ हेक्टरमा खेती गर्दै आएका छन्। उनीहरूमध्ये ७३ हजार २२५ कृषक परिवारले सिँचाइ सुविधा उपभोग गरेका छन्। चितवनमा २९ हजार ५१९.७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ। पछिल्लो दशकमा मात्र चितवनमा करिब पाँच हजार हेक्टर खेतीयोग्य जमिन घटेको छ। यसले पछिल्लो समय तोरी खेतीतिर आकर्षित आचार्यजस्ता किसानलाई व्यावसायिक तोरी खेती गर्न जमिन अभाव हुन सक्छ।