काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

प्रतिनिधिसभा निर्वाचन/सुनसरी–१

अन्य दल रक्षात्मक

१२ फाल्गुन २०८२
सुनसरी क्षेत्र १ का उम्मेदवारहरू श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र रास्वपाकी गोमा तामाङ। तस्बिर : सामाजिक सञ्जाल
अ+
अ-

२१ फागुनमा हुने आमनिर्वाचनमा देशविदेशका धेरैको ध्यान खिचेको निर्वाचन क्षेत्रमध्येको हो, सुनसरी क्षेत्र नम्बर १। स्वतन्त्र हैसियतबाटै धरान उपमहानगरपालिकाको मेयर जितेर ‘प्रधानमन्त्री’ बन्ने महत्त्वाकांक्षासहित श्रम संस्कृति पार्टी खोलेरै चुनावमा होमिएका ४१ वर्षीय हर्कराज राई (साम्पाङ)का कारण यो क्षेत्र देशकै चर्चित बनेको हो।

साम्पाङसँग २०७९ सालको निर्वाचनमा राष्ट्रिय राजनीतिमै पहिचान बनाएका, एमालेको समर्थनमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईसँग ४५३ मतको झिनो अन्तरले पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की ५२ वर्षीया गोमा तामाङ (सरिन)ले पुनः आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन्। उक्त निर्वाचनमा राई १७ हजार ५९ मत ल्याएर निर्वाचित हुँदा तामाङले १६ हजार ६०६ मत पाएकी थिइन्। चर्चाको अर्को कारण यो पनि हो।

२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनको मतपरिमाण।

यहाँ नयाँ भनिएका शक्तिहरूको लहरबीच नेकपा (एमाले) आफ्नो ‘लालकिल्ला’ फर्काउने ध्याउन्नमा छ भने नेपाली कांग्रेस पहिलो पटक जितको झन्डा गाड्ने प्रयासमा देखिन्छ। एक लाख ५० हजार ३९३ मतदाता रहेको यस क्षेत्रमा २६ उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य भिडन्त नयाँ र अनुभवीबीच नै हुने देखिएको छ। यस क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वडा, बराहक्षेत्र नगरपालिकाका १-५ वडा र रामधुनी नगरपालिकाका ६ र ७ गरी २७ वडा समेटिएका छन्।

मेयरका रूपमा श्रमदान अभियान र खानेपानी समस्या समाधानमा साम्पाङले गरेको प्रयासका कारण धरान-११ का भूपाल तामाङजस्ता मतदाता उनीप्रति विश्वस्त देखिन्छन्। “पहिलाका मेयरका तुलनामा हर्कले धेरै सुधारका काम गरेका छन्। त्यसकारण पनि उनले भोट पाउँछन्,” तामाङ भन्छन्।

एमालेले यस पटक ४१ वर्षीय टीकाराम लिम्बू (माङ्लेन)लाई मैदानमा उतारेको छ। एमालेको बलियो सांगठनिक संरचना र ऐतिहासिक बिरासतप्रति लिम्बूलाई ठूलो भरोसा छ।

तर, नगरको कार्यपालिका बैठकमा साम्पाङको कार्यशैलीको निरन्तर विरोध गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार ४२ वर्षीय सूर्यबहादुर भट्टराई (मनोज)को उम्मेदवारीले प्रतिस्पर्धालाई ‘अहम्’ को लडाइँमा पनि परिणत गरिदिएको छ। माओवादीका तर्फबाट दुई पटक धरान-१७ का अध्यक्ष जितेका भट्टराई सुकुम्बासी बस्ती र तल्लो तहका मतदातामाझ लोकप्रिय मानिन्छन्।

पञ्चायतकालदेखि नै वामपन्थीको गढ मानिएको सुनसरी १ मा एमालेले २०४८ सालयताका निर्वाचनमा मनमोहन अधिकारीदेखि लीला श्रेष्ठ सुब्बा, कुन्ता शर्मा, कृष्णकुमार राई र जयकुमार राईसम्मलाई जिताएको इतिहास छ। २०६४ सालमा पनि माओवादीकै किरण राईले सांसद बन्ने अवसर पाए।

चुनावी प्रचारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज)। तस्बिर : भट्टराईको फेसबुक पेज

एमालेले यस पटक ४१ वर्षीय टीकाराम लिम्बू (माङ्लेन)लाई मैदानमा उतारेको छ। एमालेको बलियो सांगठनिक संरचना र ऐतिहासिक बिरासतप्रति लिम्बूलाई ठूलो भरोसा छ। उनी अनेरास्ववियु सुनसरीका पूर्वअध्यक्ष हुन्।

कांग्रेसले क्षेत्रीय सभापति सुजेन्द्र तामाङ (४१)लाई प्रत्याशी बनाएको छ। स्थानीय राजनीतिमा चिनिएका उनी गगन थापा सभापति बनेपछिको नयाँ कांग्रेसको नयाँ अनुहार बनेर पहिलो पटक सुनसरी १ मा इतिहास रच्ने दाउमा छन्। साथै, तामाङ मतदाताको मत पाउने उनको अपेक्षा पनि स्वाभाविक छ।

चुनावी प्रचारका क्रममा मतदातासँग टीकाराम लिम्बु। तस्बिर : लिम्बुको फेसबुक पेज

जेन-जी आन्दोलनपछि र पार्टीमा बालेन्द्र शाहको प्रवेशपछि थप शक्तिशाली देखिएकी रास्वपाकी तामाङले यसपटक झनै ऊर्जा थपिएको महसुस गरेकी छन्। तर, साम्पाङ र रास्वपा दुवैको ‘भोट बैंक’ वैकल्पिक राजनीतिका पक्षधर नै भएकाले मत विभाजित हुने देखिन्छ। अनुभवी दलहरूबाट असन्तुष्ट मतदाता ‘घण्टी’ र ‘माटो’ मध्ये कसलाई रोज्ने भन्ने अन्योलमा देखिन्छन्। थप, उज्यालो नेपाल पार्टीका डम्बर लावतीले पनि यी दुवैको मत काट्ने अनुमान छ।

तर, मेयरको जिम्मेवारी अधुरै छोडेर हिँडेकामा हर्क साम्पाङप्रति धरानका कतिपय मतदाताको आक्रोश पनि छ। चिया पसलहरूमा साम्पाङको ओठेजवाफ दिने कार्यशैलीका कारण केही मत घट्न सक्ने चर्चासमेत हुने गरेको छ।

७६.९२ प्रतिशत आदिवासी जनजाति मतदाता रहेको यस क्षेत्रमा राई, लिम्बू, नेवार र तामाङ समुदायको मत निर्णायक हुने गरेको छ।

पहिले धरानमा मात्र बढी चर्चित रास्वपा र साम्पाङको चर्चा यसपटक तुलनात्मक रूपमा कम सहर मानिएका रामधुनी र बराहक्षेत्र नगरपालिकामा पनि सुनिन्छ। “पुरानालाई कति पटक मत दियौँ, तर उनीहरूले जनताको पक्षमा काम गरेनन्। त्यसैले यस पटक नयाँ दल रोज्ने सोचमा छौँ,” रामधुनी-६ डेटिगाउँका शीतल चौधरी भन्छन्। तर, धरानकै कतिपय मतदाता साम्पाङप्रति नकारात्मक छन्। मेयर हुँदा उनले कामभन्दा कोठेगफ बढी गरेको, श्रमदान र खानेपानीको विषयमा तथ्यभन्दा अफवाह फैलाएको उनीहरूको भनाइ छ।

७६.९२ प्रतिशत आदिवासी जनजाति मतदाता रहेको यस क्षेत्रमा राई, लिम्बू, नेवार र तामाङ समुदायको मत निर्णायक हुने गरेको छ। यही वास्तविकता प्रमुख सबै दलहरूले जनजाति उम्मेदवार नै अघि सारेका छन्। यसले गर्दा जातीय मत पनि विभाजित हुने र अन्ततः उम्मेदवारको व्यक्तिगत व्यक्तित्व र ‘अजेन्डा’ नै जितको आधार बन्ने विश्लेषण गरिएको छ।

राजनीतिक विश्लेषक तथा महेन्द्र बहुमुखी क्याम्पसका पूर्वसहप्राध्यापक राजेन्द्र शर्मा पनि यस पटक परम्परागत मतदान ढाँचा भत्किने संकेत देखिएको बताउँछन्। “रास्वपाको व्यापक प्रभाव र हर्क साम्पाङको लहरले पुराना दलहरूलाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ। घर घरमा पुराना दलविरुद्ध आवाज उठिरहेको छ,” उनी भन्छन्।