काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

भियना। अमेरिका र इजरायलको आक्रमणपछि इरानको आणविक कार्यक्रमसँग सम्बन्धित घटनाक्रमको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको आणविक एजेन्सी (आइएइए)ले सोमबार इरान विषयमा असाधारण बैठक बोलाउने निर्णय गरेको छ ।

भियनामा आधारित आइएइएले शनिबार विज्ञप्ति जारी गर्दै बैठक रुसको अनुरोधमा आयोजना गरिएको बताएको छ । यसअघि इरानले आइएइए प्रमुख राफेल ग्रोसीलाई पत्र लेखेर आक्रमणपछि घटनाको तत्काल समीक्षा गर्न अनुरोध गरेको थियो ।

एजेन्सीले आफ्नो विज्ञप्तिमा भन्यो, “इस्लामिक गणतन्त्र इरानको भूभागमा अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणसँग सम्बन्धित मामिलाहरूमा आइएइए बोर्ड अफ गभर्नरहरूको विशेष सत्र आयोजना हुनेछ ।” उक्त सत्र ३५ देशको प्रतिनिधित्व गर्ने बोर्डको पहिले नै तय गरिएको सत्रअघि हुनेछ ।

आइएइएले आक्रमणपछिका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताउँदै चेतावनी दिएको छ, “यस क्षेत्रका मानिसहरूलाई कुनै पनि आणविक सुरक्षा जोखिमबाट बचाउन संयम अपनाउन आवश्यक छ ।” गोप्य रिपोर्टअनुसार आइएइएले इरानमा रहेका सबै आणविक सामग्रीको प्रमाणीकरण गर्ने कामलाई अत्यन्त जरुरी भएको उल्लेख गरेको छ ।

पश्चिमी देशहरू, विशेषगरी अमेरिका र इजरायलले इरानमाथि नागरिक उद्देश्यभन्दा पर गएर आणविक हतियार प्राप्त गर्न खोजिरहेको आरोप लगाउँछन् । तर तेहरानले आफ्ना सैन्य महत्त्वाकांक्षाहरू अस्वीकार गर्दै आणविक प्रविधि केवल नागरिक उद्देश्यका लागि प्रयोग गर्ने अधिकारमा जोड दिएको छ ।

यस असाधारण बैठकले क्षेत्रीय तनाव बढिरहेको समयमा आणविक सुरक्षा र अन्तर्राष्ट्रिय निगरानी सुनिश्चित गर्ने नयाँ कदमको सङ्केत गर्दछ र वैश्विक समुदायले इरानको आणविक कार्यक्रममा पारदर्शिता सुनिश्चित गर्न दबाब बढाउने अपेक्षा गरिएको छ ।