काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोन वार्ता गरेकी छन्।

कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल-थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको कार्कीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिन्।

उनले भनिन्, “हाल करिब ३ लाख ६० हजार नेपाली नागरिकहरू कतार राज्यमा बसोबास गर्दै काम गरिरहेका छन्। उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा मलाई अत्यन्त खुसी लागेको छ। हाम्रो जनताको हेरचाह गर्नुभएकोमा हामी तपाईं तथा तपाईंको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।”

प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको बताइन्।

कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने बताइन्।

कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री अल-थानीले नेपाल र कतारबीचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको उच्च प्रशंसा गर्दै उनले नेपाली नागरिकलाई सरकारले वर्तमान परिस्थितिमा कतारी नागरिकसरह सुरक्षा र संरक्षण दिने बताए।

उनले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो मुलुकले सार्वभौमिकता र भूमिको सुरक्षाका लागि वा आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको जानकारी दिए।

यस कठिन घडीमा नेपालले प्रदर्शन गरेको मित्रता र ऐक्यबद्धताको लागि उनले धन्यवाद गरेको प्रधानमन्त्री कार्कीको सचिवालयले बताएको छ।