विराटनगर। ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो ४ बजेसम्म ५१.९५ प्रतिशत मतदान भएको छ।
बिहान ६ बजेदेखि सुरु भएको मतदान प्रक्रियापछि मतदाता उत्साहका साथ मतदान केन्द्रतर्फ पुगेका छन्। मतदान सुरु भएलगत्तै विभिन्न केन्द्रमा मतदाताको लाम देखिएको थियो।
निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा ५२.१६ प्रतिशत, २ मा ४४.६० प्रतिशत, ३ मा ४५.८८ प्रतिशत, ४ मा ५७.४९, ५ मा ५८.४२ प्रतिशत र क्षेत्र नम्बर ६ मा ५६.४७ प्रतिशत मतदान भएको छ।
जिल्लाभर रहेका ३०६ मतदानस्थलका ८८८ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
यो निर्वाचनमा मोरङबाट ११० उम्मेदवार प्रतिस्पर्धामा छन्। जिल्लामा सात लाख ८३ हजार ५० जना मतदाता छन्। जसले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। बिहानैदेखि मतदान केन्द्रमा मतदाताको चहलपहल बढेको देखिएको छ भने दिउँसोसम्म मतदान दर क्रमशः बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ।
