काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

किसानको चटारो

धेरै चैते धान हुने स्थानमा सिँचाइको अभाव

२५ फाल्गुन २०८२
तस्बिरहरू : विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाको निर्वाचनको रापताप अझै सकिएको छैन। अधिकांश मतपरिणाम सार्वजनिक भए पनि जित्ने उम्मेदवार खुसीको रमझम र हार्नेहरू अर्कोपटक कसरी विजयी हुने भन्ने सोचसहित आफूलाई सान्त्वना दिइरहेको अवस्था छ।

जनतासँग मत मागेर सांसद बनेकाहरू अब संसद् छिर्ने तयारीमा छन्। भोटदाता अर्थात् किसानहरू अब बन्ने सरकारले समयमा मल-बीउ, सिँचाइ तथा विद्युत् नियमितताको सामान्य मागको आस राख्दै चैते धान रोप्न खेततिर पसेका छ्न्।

यतिबेला सप्तरीका किसान चैते धान रोपाइँको चटारोमा छन्। चैते धान फागुनमा बीउ छर्ने, चैतको सुरुमा रोप्ने र जेठ १५ देखि भित्र्याउन सुरु गरिन्छ। ८० देखि ९० दिनको छोटो समयमा यो धान उत्पादन भए पनि मंसिरमा उत्पादन हुने धानभन्दा दोब्बर फल्ने किसानको अनुभव छ।

छोटो समयमा दोब्बर उत्पादन भए पनि चैते धान लगाउन खर्चिलो भएको किसान बताउँछन्। बीउ उखेल्नु, खेत जोत्नु, रोप्नु, घाँस उखेल्नुभन्दा सिँचाइ महँगो हुने गरेको उनीहरूको अनुभव छ। बिजुलीले बोरिङबाट सिँचाइ गर्‍यो भने कट्ठाको २०० रुपैयाँ र डिजल माध्यमले सिँचाइ गर्‍यो भने ३०० रुपैयाँ लाग्ने उनीहरूले बताए।

सुक्खा समय भएकाले चार दिनको फरकमा सिँचाइ गर्नुपर्ने हुन्छ। जसका कारण पनि खर्च धेरै लाग्ने गरेको छ। किसानले सिँचाइको व्यवस्था राम्रो हुनुपर्ने र निःशुल्क व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।

सप्तरीका १८ पालिकामध्ये विष्णुपुर गाउँपालिका छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रुपनी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिकासहितका स्थानमा यसपालि जिल्लामा दुई हजार ५०० हेक्टरमा चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीको भनाइ छ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा चैते धान उत्पादन क्षमता ‘असारे धान’ भन्दा धेरै हुने गरेको देखिन्छ। घाम धेरै लाग्दा चैते धानको उत्पादन पनि धेरै हुन्छ। वर्षामा भन्दा हिउँदमा चैते धान धेरै फल्नु मुख्य कारण पनि यही हो। नेपालमा चैते धान खेती विस्तार गर्न सके उत्पादन पनि बढ्ने देखिन्छ। तर, धेरै चैते धान हुने स्थानमा सिँचाइको अभाव देखिन्छ।

नेपालमा एक लाख आठ हजार ६०७ हेक्टरमा चैते धान खेती हुन्छ। जसबाट पाँच लाख ४० हजार ३३१ टन अर्थात् ४.९८ टन प्रतिहेक्टर उत्पादन भएको देखिन्छ। उता, असारे धान १३ लाख ३९ हजार १८२ हेक्टरमा खेती हुँदा ४९ लाख ४६ हजार १४१ टन अर्थात् ३.७४ टन प्रतिहेक्टर मात्रै हुने देखिएको छ।

हेर्नुहोस् थप तस्बिर :