काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

प्रतिनिधिसभा निर्वाचन

समानुपातिकमा आशा

२७ फाल्गुन २०८२
पुष्पकमल दाहाल (बीच), बुहारी बिना मगर (दायाँ) र छोरी रेणु दाहाल (बायाँ ), पत्नी-पति जुली महतो र रघुवीर महासेठ, ज्वाइँ-ससुरा शरतसिंह भण्डारी र विराजभक्त श्रेष्ठ।
अ+
अ-

२१ फागुनको आमनिर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको परिवारबाट तीन जना उम्मेदवार बनेका थिए; दाहाल रुकुम पूर्वबाट, छोरी रेणु दाहाल चितवन ३ बाट र बुहारी बिना मगर कञ्चनपुर १ बाट। तर, चुनाव जित्नेमा दाहाल एक्ला बने।

भरतपुर महानगरपालिका प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि दाबेदारी प्रस्तुत गरेकी रेणुको अभिलाषा यस पटक पनि पूरा हुन सकेन। उनी सोविता गौतमसँग पराजित भइन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणुले २० हजार ६१५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविताले ५९ हजार २७७ मत ल्याइन्। संयोग के भने, २०७० सालको आमनिर्वाचनमा काठमाडौँ १ बाट पराजित रेणु त्यसपछि भरतपुर महानगरपालिका पुगेकी थिइन्। अहिले काठमाडौँ २ की पूर्वसांसद सोविताले रेणुकै गृहनगर पुगेर हारको स्वाद चखाइदिइन्।

२०७४ सालमा कञ्चनपुर १ बाट निर्वाचित भएर मन्त्रीसमेत बनेकी बुहारी बिना यस पटक रास्वपाका जनकसिंह धामीसँग पराजित भइन्। धामीले २४ हजार ३३२ मतले जित्दा बिना ११ हजार ११० मतमा सीमित भइन्।

पति-पत्नी

एमालेका तर्फबाट धनुषा ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ उम्मेदवार बनेका थिए। पति-पत्नी दुवैले हार बेहोरेका छन्। जुलीकुमारी २०६४, २०७४ र २०७९ सालको निर्वाचनमा एमालेका तर्फबाट सांसद चुनिएकी थिइन् भने रघुवीर २०६५ (उपनिर्वाचन, धनुषा ५), २०७४ (धनुषा ४) र २०७९ (धनुषा ४)बाट विजयी भएका थिए।

पति-पत्नी देवेन्द्र पौडेल र बलावती शर्मा, शेरबहादुर तामाङ र उषाकला राई।

नेकपाका देवेन्द्र पौडेल र बलावती शर्मा पनि पति-पत्नी हुन्। नवलपरासी (सुस्ता पश्चिम) २ बाट उम्मेदवारी दिएका पौडेलको क्षेत्रमा रास्वपाका नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मत ल्याउँदै विजयी भए। पौडेल भने एक हजार ८३८ मतका साथ सातौँ स्थानमा रहे। पत्नी शर्मा पार्टीको समानुपातिक सूचीमा खस आर्य महिलातर्फ पहिलो नम्बरमा छिन्। उनी निर्वाचित हुने सम्भावना छ।

निर्वाचनमा होमिएका अर्का एमाले जोडी हुन्, शेरबहादुर तामाङ र उषाकला राई। सिन्धुपाल्चोक २ बाट उम्मेदवारी दिएका तामाङ १५ हजार ९२६ मत ल्याउँदै तेस्रो स्थानमा रहँदा नेकपाका युवराज दुलाल २१ हजार ६९९ मतका साथ विजयी भए। दुलालका निकटतम प्रतिस्पर्धी कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६ मत ल्याए।

तामाङले २०७०, २०७४, २०७९ मा सिन्धुपाल्चोकबाट चुनाव जितेका थिए। पत्नी राई २०६४ सालमा समानुपातिक सदस्य बनेकी थिइन् भने २०७४ सालमा खोटाङबाट प्रदेशसभाबाट समानुपातिक सदस्य हुँदै प्रदेश मन्त्री बनेकी थिइन्। राई एमालेको समानुपातिक सूचीमा छिन्।

चुनावमा आम जनता पार्टी (आजपा)बाट पत्रकार ऋषि धमला र उनकी कलाकार पत्नी एलिजा गौतम पनि उम्मेदवार थिए। रौतहट ४ बाट उम्मेदवारी दिएका धमलाले जम्मा ६५५ मत ल्याएर जमानतसमेत जोगाउन सकेनन्। गौतम भने समानुपातिक सूचीमा छिन्। आजपाले ‘थ्रेसहोल्ड’ पनि कटाउन नसक्दा उनको पनि सांसद बन्ने सपना अधुरै रहने भएको छ। रौतहट ४ बाट रास्वपाका गणेश पौडेल ३६ हजार ८७६ मत ल्याउँदै विजयी हुँदा धमला छैटौँ स्थानमा रहे।

पति-पत्नी ऋषि धमला र एलिजा गौतम।

ससुरा-ज्वाइँ

यस निर्वाचनमा ससुरा-ज्वाइँको पनि उम्मेदवारी परेको थियो। नेपाली कांग्रेसको समानुपातिक सूचीमा खस-आर्यतर्फ पहिलो नम्बरमा रहेका नेता अर्जुननरसिंह केसी विजयी हुने भएका छन्। केसीका ज्वाइँ कांग्रेस सभापति गगनकुमार थापा सर्लाही ४ बाट रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भए। थापाले २२ हजार ८३१ मत ल्याउँदा सिंहले ३५ हजार ६८८ मत ल्याएका थिए। २०६४ सालको संविधानसभा चुनावमा समानुपातिकबाट सभासद् बनेका थापा २०७०, २०७४ र २०७९ सालमा लगातार काठमाडौँ ४ बाट निर्वाचित भएका थिए।

२०४८ सालदेखि सांसद जित्दै आएका केसी स्वास्थ्यमन्त्री पनि बनेका थिए। २०५६ सालमा भौतिक योजना तथा निर्माणमन्त्री, शिक्षामन्त्री भएका २०६३ सालमा सहरी विकासमन्त्री भएका थिए। २०७० र २०७९ सालमा सांसद जितेका उनी समानुपातिक कोटाबाट संसद् आउने भएका हुन्।

बायाँबाट क्रमश : दाजु-भाइ प्रज्वल र गौरव बोहरा, ज्वा‌इँ-ससुरा गगन थापा र अर्जुननरसिंह केसी (दायाँ)।

जनता समाजवादी पार्टीबाट महोत्तरी २ का उम्मेदवार शरतसिंह भण्डारीले हार बेहोर्दा ज्वाइँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ काठमाडौँ ८ बाट निर्वाचित भएका छन्। पञ्चायतकालमै राज्यमन्त्री बनेका भण्डारी २०४८, २०५१, २०५६, २०६४, २०७४, २०७९ मा महोत्तरीका विभिन्न क्षेत्रबाट विजयी भएका थिए। यसपटक भने उनको संसद् यात्रा रोकिएको छ।

विवेकशील साझा पार्टीबाट २०७४ सालमा समानुपातिकतर्फ बागमती प्रदेश सभा निर्वाचित श्रेष्ठ २०७९ सालमा काठमाडौँ ८ बाटै रास्वपाका प्रतिनिधिसभा सदस्यमा चुनिएका थिए।

दाजु-भाइ

डोल्पामा कांग्रेसबाट कर्णबहादुर बुढा र नेकपाबाट धनबहादुर बुढा उम्मेदवार बने। फरक दलबाट उम्मेदवार बनेका यी दाजु-भाइमा धनबहादुर ६ हजार ८०२ मतका साथ विजयी भए। दाजु कर्णबहादुर भने दुई हजार ९४७ मतमै समेटिए। निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायाले पाँच हजार ३९६ मत ल्याए। धनबहादुर २०७० सालदेखि डोल्पाका सांसद छन्। पहिलो पटक चुनाव उठेका कर्णबहादुर कांग्रेसका सहमहामन्त्री हुन्।

भाइ धनबहादुर (बायाँ) र दाजु कर्णबहादुर बुढा। 

रुपन्देही १ र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका प्रज्वल बोहरा र गौरव बोहरा पनि दाजुभाइ हुन्। पूर्वमन्त्रीसमेत रहेका बाबु दीपक बोहराको बिरासत धान्न चुनावी राजनीतिमा होमिएका यी दुवैले हार बेहोरेका छन्। प्रज्वल आठ हजार ३०१ मत ल्याएर तेस्रो स्थानमा रहँदा रास्वपाका सुनील लम्साल ५४ हजार ८४५ मतका साथ विजयी भए भने नेपाली कांग्रेसका हिराबहादुर खत्री ११ हजार ९८२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे।

रुपन्देही ३ मा रास्वपाका डा. लेखजंग थापा ५८ हजार ८१४ मतका साथ विजयी भए। कांग्रेसका सुशील गुरुङ आठ हजार ४३५ मतका साथ दोस्रो र एमालेका वासुदेव घिमिरे आठ हजार २७५ मतका साथ तेस्रो बन्दा गौरवले सात हजार ७८९ मत मात्र प्राप्त गरे।