प्रतिनिधिसभा निर्वाचन
समानुपातिक मतमा पार्टी पछाडि रहे पनि उम्मेदवार विजयी
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका वंशलाल तामाङलाई पराजित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल विजयी भए। उनले २१ हजार ६९९ मत ल्याएर तामाङलाई दुई हजार ५५३ मतान्तरले पराजित गरे। रोचक चाहिँ, यस निर्वाचन क्षेत्रमा समानुपातिक मतका आधारमा पहिलो दल भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो। रास्वपाले २५ हजार ८७० मत पाएको छ भने दोस्रोमा कांग्रेस र तेस्रोमा नेकपा (एमाले) छन्। यस क्षेत्रमा समानुपातिक मतमा चौथो (१२ हजार ८९७) रहेको नेकपाका प्रत्यक्षतर्फका उम्मेदवार दुलालले पार्टीले पाएकोभन्दा थप आठ हजार ८०२ भोट तानेर जित हात पारे। जबकि, समानुपातिक मतमा शीर्षस्थानमा रहेको रास्वपाका उम्मेदवार झलककुमार श्रेष्ठ भने निकटतम प्रतिस्पर्धीसमेत बन्न सकेनन्। उनी १४ हजार १९ मत ल्याएर चौथो बने। समानुपातिकमा पार्टीले पाएजति मत प्रत्यक्षमा नखस्दा उनी पराजित भए।
यस निर्वाचनमा सिन्धुपाल्चोक २ सहित यस्ता १६ निर्वाचन क्षेत्र छन्, जहाँ समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको राजनीतिक दलभन्दा फरक पार्टीका उम्मेदवारले जितेका छन्। पाँचथर, इलाम १ र २, तेह्रथुम, संखुवासभा, धनुषा १, रौतहट २, सिन्धुपाल्चोक २, पाल्पा १, कपिलवस्तु ३, बाँके २, सल्यान, दैलेख १, जुम्ला, डोल्पा र अछाम २ मा समानुपातिक मतमा पहिलो रहेको दलका उम्मेदवार प्रत्यक्षमा पराजित भएका छन्। जसमध्ये रास्वपाका नौ, श्रम संस्कृति पार्टीका तीन, एमालेका दुई तथा कांग्रेस र नेकपाका एक एक जना उम्मेदवार छन्। समानुपातिकमा अन्य दल शीर्षस्थानमा रहेका क्षेत्रमध्ये कांग्रेसले सात, एमाले र नेकपाले चार चार तथा राप्रपाले एक स्थान जितेका छन्।
यसो हुनुमा मुख्य रूपमा उम्मेदवारको लोकप्रियता र व्यक्तिगत प्रभाव नै कारक देखिन्छ। उम्मेदवारको प्रभावका कारण पार्टीले निर्वाचन क्षेत्रमा समानुपातिकमा ल्याएकोभन्दा बढी मत पाएर प्रत्यक्षमा जितेका छन्। अर्कातिर, सम्बन्धित क्षेत्रमा समानुपातिक मतमा पार्टी पहिलो भए पनि त्यसको तुलनामा कम मत पाएर उम्मेदवार पराजित भएको पाइन्छ।
कोसी प्रदेशअन्तर्गत इलाम १ मा नेपाली कांग्रेसका निस्कल राई १४ हजार ५४३ मतसहित विजयी भए। राईले श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूलाई ९११ मतले पराजित गरेका थिए। नेम्वाङले १३ हजार ६३२ मत पाएका थिए। समानुपातिकमा भने यस क्षेत्रमा श्रम संस्कृति पहिलो बनेको छ। उसले १६ हजार ५५० मत पाएको छ। तर, समानुपातिकको तुलनामा प्रत्यक्षमा दुई हजार ९१८ मत कम खस्दा श्रम संस्कृतिका उम्मेदवार पराजित भए। यस निर्वाचन क्षेत्रमा १३ हजार ७९६ मत पाएर समानुपातिकमा दोस्रो स्थानमा रहेको रास्वपाका उम्मेदवार विमल गदाल चौथो स्थानमा रहे। उनले नौ हजार १६० मत मात्र पाएका छन्।
कोसी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा समानुपातिकतर्फ एमाले १० हजार १६ मत पाएर पहिलो दल बनेको छ। तर, यस क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका सन्तोष सुब्बाले जित हात पारे। उनले ११ हजार ५६१ मत ल्याए।
इलाम २ मा पनि यस्तै अवस्था रह्यो। यस क्षेत्रमा एमालेका सुहाङ नेम्वाङ २२ हजार ४२६ मत ल्याएर विजयी भए। समानुपातिकमा पार्टीले प्राप्त गरेकोभन्दा पाँच हजार ९६३ मत बढी ल्याएर उनी निर्वाचित भएका हुन्। एमालेले इलाम २ मा समानुपातिकतर्फ १६ हजार ४६३ मत मात्र ल्याएको छ। यस क्षेत्रमा समानुपातिकमा पहिलो दल हो, श्रम संस्कृति पार्टी। यसले १७ हजार ४८२ मत पाएको छ। तर, यस पार्टीका उम्मेदवार सुदीप राई निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन्। उनी १४ हजार ४०० मतसहित तेस्रो बने। प्रत्यक्षतर्फ मुख्य प्रतिस्पर्धा एमालेका नेम्वाङ र कांग्रेसका भेषराज आचार्यबीच भयो। आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका थिए। यस क्षेत्रमा समानुपातिकतर्फ तेस्रो धेरै मत रास्वपाले पाएको छ। उसले १३ हजार ३४१ मत ल्याएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ १७ हजार २३३ मत पाएर निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका हस्तराज सेर्माले भने १४ हजार ७३४ मत मात्रै पाए। जबकि, यस क्षेत्रमा श्रम संस्कृतिले समानुपातिकमा सर्वाधिक १८ हजार ३६८ मत पाएको छ। सेर्माले प्राप्त गरेको मत समानुपातिकतर्फ दलले प्राप्त गरेकोभन्दा तीन हजार ६३४ कम हो। सेर्मा केरुङसँग दुई हजार ४९९ मतान्तरले पराजित भएका थिए। जबकि, समानुपातिकमा कांग्रेसले १४ हजार १०० मत मात्रै पाएको छ। केरुङले समानुपातिकमा दलले पाएकोभन्दा तीन हजार १३३ मत बढी पाएर जिते।
कोसी प्रदेशको अर्को पहाडी जिल्ला तेह्रथुममा समानुपातिकतर्फ एमाले १० हजार १६ मत पाएर पहिलो दल बनेको छ। तर, यस क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका सन्तोष सुब्बाले जित हात पारे। उनले ११ हजार ५६१ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकाल रहे। एमालेले समानुपातिकमा पाएकोभन्दा ६६६ मत बढी ल्याए पनि ढकाल पराजित हुन पुगे। जबकि, सुब्बाले कांग्रेसले समानुपातिकमा पाएको (नौ हजार ३१२ मत) भन्दा दुई हजार २४९ मत बढी तान्न सफल भए र प्रतिनिधिसभा सदस्यमा चुनिए।
रौतहट २ मा कांग्रेसका मोहम्मद फिरदोश आलम २९ हजार ५२८ मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका किरण साहले १८ हजार ४२२ मत मात्र पाए। यस निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ शीर्षस्थानमा रहेको रास्वपाका उम्मेदवार प्रत्यक्षमा तेस्रो बने।
संखुवासभामा एमालेका अर्जुनकुमार कार्की १५ हजार ६३६ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका मिङमा शेर्पालाई ६३६ मतले पराजित गरे। यस क्षेत्रमा समानुपातिकमा सबैभन्दा बढी मत रास्वपाले नै ल्याएको छ। रास्वपाले १५ हजार ३४३ र दोस्रो स्थानमा एमालेले १३ हजार ९१४ मत पाएको छ। एमालेका कार्कीले पार्टीले समानुपातिकमा पाएकोभन्दा एक हजार ७२२ मत अन्यत्रबाट तानेका छन्।
मधेस प्रदेशमा प्रत्यक्षतर्फका ३२ क्षेत्रमध्ये ३० स्थानमा रास्वपा विजयी भयो। रौतहट २ मा कांग्रेसका मोहम्मद फिरदोश आलम २९ हजार ५२८ मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका किरण साह थिए। साहले १८ हजार ४२२ मत मात्र पाए। यस निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ शीर्षस्थानमा रहेको रास्वपाका उम्मेदवार प्रत्यक्षमा तेस्रो बने। समानुपातिकमा रास्वपाले २६ हजार १४३ मत पाउँदा दोस्रो स्थानमा कांग्रेसले २१ हजार २९९ मत पाएको छ। नेकपा पाँच हजार ५२८ मतसहित तेस्रो बनेको छ।
धनुषा १ मा रास्वपाका किशोरी साह कमल कालोसूचीमा परेर उम्मेदवारी खारेज भएकाले निर्वाचन आयोगले नेकपाका मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ। साहले पाएको मतलाई बदरमा गनिएको छ भने यादवले १० हजार ४२८ मत पाएका छन्। उम्मेदवारी खारेजीविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। सो विषय अदालतमा विचाराधीन छ। मुद्दाको सुनुवाइका लागि २९ फागुनमा पेसी तोकिएको छ। यस क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले सबैभन्दा बढी ४१ हजार ८०७ पाएको छ। दोस्रोमा नेकपाले सात हजार ३४९ मत प्राप्त गरेको छ।
लुम्बिनी प्रदेशको पाल्पा १ मा कांग्रेसका सन्दीप राना १८ हजार ३३६ मत ल्याएर विजयी भए। यस क्षेत्रमा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो। एमालेका उम्मेदवार पूर्वसांसद नारायणप्रसाद आचार्यलाई रानाले एक हजार ५१७ मतान्तरले पराजित गरे। यस क्षेत्रमा समानुपातिकतर्फ भने रास्वपाले सबैभन्दा बढी मत पाएको छ। रास्वपाले पाएको मत १९ हजार ७३८ छ। तर, यस पार्टीका उम्मेदवार विमल पन्त यस क्षेत्रमा तेस्रो स्थानमा रहे। उनले १४ हजार ३३३ मत मात्र पाएका छन्। जबकि, समानुपातिकमा १३ हजार १७१ मतसहित तेस्रो स्थानमा रहेको कांग्रेसका रानाले पाँच हजार १६५ मत बढी ल्याउँदै जित हासिल गरे।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात स्थान जितेको राप्रपाले यस पटक जुम्लाको सिट मात्र जोगाउन सक्यो। राप्रपाका ज्ञानबहादुर शाही १४ हजार ८१६ प्राप्त गरेर विजयी भए। तर, यस क्षेत्रमा समानुपातिकतर्फ पहिलो दल नेकपा हो।
त्यसैगरी, कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह २३ हजार ५३५ मतका साथ विजयी भए। शाहले निकटतम प्रतिद्वन्द्वी रास्वपाका प्रकाश रजौरियालाई चार हजार ६४५ मतान्तरले पराजित गरे। रजौरियाले १८ हजार ८९० मत मात्र ल्याएका छन्। तर, यस निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ २६ हजार १७० मत पाएर रास्वपा पहिलो दल बनेको छ। रजौरियाले पार्टीले समानुपातिकमा पाएकोभन्दा सात हजार २८० मत कम ल्याएर पराजित भए। यस क्षेत्रमा समानुपातिकमा कांग्रेस १४ हजार ७० मत पाएर दोस्रो स्थानमा छ।
बाँके २ मा एमालेका मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मतसहित निर्वाचित भए। उनले निकटतम प्रतिद्वन्द्वी रास्वपाका विवेककुमार श्रेष्ठलाई पाँच हजार ९४६ मत पाएका थिए। श्रेष्ठले १८ हजार ६८२ मत पाएका छन्। तर, रास्वपाले समानुपातिकतर्फ सबैभन्दा बढी २४ हजार ३४१ मत पाएको छ। यस्तै, दोस्रो स्थानमा रहेको एमालेले २० हजार ५५२ मत पाएको छ।
कर्णाली प्रदेशको दैलेख १ मा रास्वपा समानुपातिकतर्फ ११ हजार ४८१ मतसहित पहिलो दल बनेको छ। जबकि, यस क्षेत्रमा रास्वपा प्रत्यक्षतर्फ मुख्य प्रतिस्पर्धी नै बन्न सकेन। कांग्रेस र एमालेबीच प्रमुख प्रतिस्पर्धा भएको यहाँ कांग्रेसकी बासना थापा १२ हजार २७२ मतसहित विजयी भइन्। थापा कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित एक मात्र महिला हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत पाएका थिए। रास्वपाका उम्मेदवार नन्दकिशोर बस्नेत आठ हजार १५१ मत ल्याएर तेस्रो स्थानमा रहे। सो निर्वाचन क्षेत्रमा समानुपातिकमा कांग्रेस १० हजार ७१८ मतसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको एमालेले १० हजार ८५९ मत पाएको छ।
कर्णालीको अर्को जिल्ला सल्यानमा पनि त्यस्तै अवस्था रह्यो। जहाँ समानुपातिकमा रास्वपाले बढी मत ल्याए पनि प्रत्यक्षतर्फ सो दलका उम्मेदवार निर्वाचित हुन सकेनन्। सल्यानमा प्रत्यक्षतर्फ नेकपाका रमेशकुमार मल्ल २३ हजार १८९ मत पाएर विजयी भए। उनले रास्वपाका उम्मेदवार ललितकुमार चन्दलाई दुई हजार २८५ मतान्तरले पराजित गरे। चन्दले २० हजार ९०४ मत पाएका छन्। तर, समानुपातिकमा रास्वपाले २५ हजार ६६५ मत पाएको छ भने दोस्रो स्थानमा नेकपाले २० हजार ३३९ मत पाएको छ।
डोल्पाबाट नेकपाका उम्मेदवार धनबहादुर बुढा चौथो पटक सांसद निर्वाचित भए। २०७० सालदेखि सो जिल्लाबाट निर्वाचित हुँदै आएका बुढा आफ्नो पार्टीको मतको बलले मात्रै सांसद भएका होइनन्। एक मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा समानुपातिकतर्फ नेकपाले चार हजार ७०७ मत पाएको छ। तर, यस दलका उम्मेदवार बुढाले ६ हजार ८०२ मत पाएर जित हासिल गरे। यस क्षेत्रमा समानुपातिकमा पहिलो दल भने एमाले बनेको छ। उसले चार हजार ९४४ मत पाएको छ। एमालेका लंकबहादुर रोकायाले पाँच हजार ३९६ मत पाएका छन्। रोकायाले पार्टीले समानुपातिकमा पाएकोभन्दा ४५२ मत बढी ल्याए पनि नेकपाका बुढालाई जित्न पर्याप्त भएन।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात स्थान जितेको राप्रपाले यस पटक जुम्लाको सिट मात्र जोगाउन सक्यो। राप्रपाका ज्ञानबहादुर शाही १४ हजार ८१६ प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत पाए। तर, यस क्षेत्रमा समानुपातिकतर्फ पहिलो दल नेकपा नै छ। सो दलले १० हजार २०२ मत पाएको छ। जबकि, प्रत्यक्षमा जित्ने राप्रपा समानुपातिकमा तेस्रो स्थानमा छ। राप्रपाले ६ हजार ५५२ मत पाएको छ। नौ हजार ३६० मत पाएको कांग्रेस दोस्रो बनेको छ।
अछाम २ बाट एमालेका यज्ञबहादुर बोगटी नौ हजार ५१८ मतसहित विजयी भए। उनले कांग्रेसका पुष्पबहादुर शाहलाई ४७२ मतान्तरले पराजित गरे। शाहले नौ हजार ४६ मत पाएका थिए। तर, यस क्षेत्रमा समानुपातिकतर्फ सबैभन्दा बढी मत कांग्रेसले पाएको छ। कांग्रेसले नौ हजार ५१२ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको एमालेले आठ हजार ९८५ मत पाएको छ। एमालेका बोगटीले पार्टीले पाएभन्दा ५३३ मत बढी ल्याएर जित हात पारे।