शैली
कलाकारका रूपमा आर्जन गरेको लोकप्रियतालाई राजनीतिमा उपयोग गर्ने प्रयास
ट्वाइलेटः एक प्रेम कथा (सन् २०१७) खुलेआम शौचका समस्या र घरभित्र शौचालयको महत्त्वलाई चित्रण गर्ने फिल्म हो। भारतीय समाजको महत्त्वपूर्ण विषय उठान गर्ने यो फिल्म सामाजिक सन्देश प्रवाहका कारण प्रशंसित भयो। सँगसँगै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको सरकारी अभियान ‘स्वच्छ भारत’ को प्रचारप्रसार गर्ने ‘प्रोपागान्डा’ फिल्म भन्दै यसको आलोचना पनि भयो।
त्यो आलोचना निराधार थिएन। फिल्मलाई उत्तर प्रदेश सरकारले ‘ट्याक्स फ्री’ घोषणा गर्नेदेखि अक्षय कुमारलाई उत्तर प्रदेशको स्वच्छता राजदूत बनाउनेसम्मका गतिविधिमा सरकारको संलग्नता देखियो। यस फिल्मको ट्रेलर सार्वजनिक भएपछि प्रधानमन्त्री मोदी स्वयंले लेखे, ‘स्वच्छता सन्देश बढाउनका लागि राम्रो प्रयास हो। १२५ करोड भारतीयले मिलेर स्वच्छ भारत बनाउने कार्य जारी राख्नुपर्छ।’
जवाफमा अक्षयले मोदीलाई धन्यवाद दिँदै समाजमा साँच्चैको परिवर्तन ल्याउने आशा व्यक्त गरे। सन् २०१९ मा अक्षयले मोदीको अनौपचारिक अन्तर्वार्तासमेत लिएपछि उनलाई लागेको मोदीभक्त ‘ट्याग’ थप पुष्टि भयो।
मोदीको समयमा सरकारी प्रोपागान्डालाई सघाउने दर्जनौँ फिल्म बनेका छन्। सन् २०१९ को निर्वाचनको तयारीकै बेला मोदीको जीवनीमा आधारित फिल्म पीएम नरेन्द्र मोदीलाई निर्वाचन आयोगले चुनावअघि प्रदर्शनमा रोक लगाएको घटना एउटा राम्रो उदाहरण हो। यसले राजनीतिक भाष्य र सिनेमाको भाष्य कसरी सँगैसँगै चल्छन् भन्ने कुरा स्पष्ट पार्छ।
भारतीयहरूको एउटा ठूलो तप्कामा इस्लामिक साम्राज्य र बेलायती उपनिवेशद्वारा दमित हुनुपरेको हीनताबोध छ। उनीहरू भारतलाई हिन्दु धर्मको पवित्र भूमि ठान्छन्। त्यो हीनताबोध र हिन्दुत्वको उन्मादले भारतमा अल्पसंख्यकलाई क्रूरता र हिंसाका घटना बढाउने काम भएको छ।
प्रसिद्ध अनुहारहरू चुनावी प्रचारमा देखिँदा जनताको ध्यान सजिलै तानिन्छ। यही कारणले चुनावको समयमा धेरै राजनीतिक दलले कलाकारहरूलाई टिकट दिन्छन् वा प्रचार अभियानमा सक्रिय बनाउँछन्।
यसले धार्मिक तथा ऐतिहासिक गौरवलाई मलजल गर्दै इतिहास र समाजबारे एकपक्षीय धारणा बनाउने फिल्मको संख्या बढाएको छ। अर्कातिर, अल्पसंख्यकविरोधी विचारधारा फैलाउने सिनेमाको संख्यामा पनि वृद्धि भइरहेको छ। उरी : द सर्जिकल स्ट्राइक, द केरला स्टोरी, द काश्मिर फाइल्स, इमर्जेन्सी, छावालगायत थुप्रै फिल्म यस सूचीमा पर्छन्।
भारतले राजनीतिलाई सिनेमाको विषयवस्तु मात्रै बनाएको छैन, यहाँको सिने उद्योगको ठूलै हिस्सा राजनीतिमा समाहित भएको प्रतीत हुन्छ।
फिल्म उद्योगका कलाकारहरू जनतामाझ अत्यन्त लोकप्रिय हुने भएकाले राजनीतिक दलहरू उनीहरूलाई आफ्नो पक्षमा ल्याउन चाहन्छन्। प्रसिद्ध अनुहारहरू चुनावी प्रचारमा देखिँदा जनताको ध्यान सजिलै तानिन्छ। यही कारणले चुनावको समयमा धेरै राजनीतिक दलले कलाकारहरूलाई टिकट दिन्छन् वा प्रचार अभियानमा सक्रिय बनाउँछन्।
यो सम्बन्ध निकै पुरानो छ।
पृथ्वीराज कपुर पहिलो बलिउड स्टार मानिन्छन्, जसले सन् १९६० को दशकमै भारतको राज्यसभामा मनोनीत सदस्यका रूपमा प्रवेश गरे। अभिनेता देव आनन्दले पनि ‘नेसनल पार्टी’ गठन गरेका थिए, तर अन्त्यमा चुनाव लडेनन्।
भारतका सुपरस्टार अभिताभ बच्चनको राजनीति प्रवेश सनसनीपूर्ण बन्यो, जब उनले सन् १९८४ को निर्वाचनमा इन्डियन नेसनल कंग्रेसका उम्मेदवारका रूपमा लोकसभा चुनाव लडे। उनले उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री हेमवती नन्दन बहुगुणालाई उच्च मतान्तर (६८.२ प्रतिशत)ले पराजित गरेका थिए। तर, ऐतिहासिक जितका बावजुद राजनीति असाध्यै कठिन पेसा भन्दै उनले तीन वर्षमै विश्राम लिए।

माथि बायाँबाट क्रमशः किरण खेर, जयाप्रदा, राखी सावन्त, स्मृति ईरानी, जया बच्चन।
बलिउडमा कलाकारका रूपमा आर्जन गरेको लोकप्रियतालाई राजनीतिमा उपयोगको प्रयास गर्नेको सूची निकै लामो छ। जसमध्ये सुनील दत्त, राजेश खन्ना, राज बब्बर, शत्रुघ्न सिन्हा, हेमा मालिनी, धर्मेन्द्र, विनोद खन्ना, जया प्रदा, गोविन्दा, रेखा, जावेद अख्तर, जया बच्चन, कंगना रनावत, स्मृति इरानी, परेश रावल, सन्नी देवल, किरण खेर आदि चर्चित अनुहार हुन्।
सिनेमा र राजनीतिको सम्बन्ध बलिउडभन्दा दक्षिण भारतमा अझै गाढा देखिन्छ। उनीहरूले पर्दाभित्र बनाएको नायक-नायिकाको छविले राजनीतिमा उल्लेख्य रूपमै सघाएको देखिन्छ। तमिल अभिनेता एमजी रामचन्द्रन (एमजीआर) मुख्यमन्त्री पदमा पुग्ने पहिलो भारतीय अभिनेता हुन्। एमजीआरले सन् १९७२ मा स्थापना गरेका एआईडीएमके आजसम्म भारतीय राजनीतिको शक्तिशालीमध्ये एक दल हो। उनले चलचित्रमार्फत सधैँ गरिब र अन्यायमा परेका जनताको पक्षमा लड्ने नायकको छवि बनाएका थिए।
यस्तै विशेषता सन् १९८२ मा एआईडीएमके प्रवेश गरेकी तमिल अभिनेत्री जे जयललितामा पनि पाइन्छ, जसले एमजीआरको निधनपछि पार्टी सम्हालिन्। ६ पटक तमिलनाडुकी मुख्यमन्त्री बनेकी उनलाई मानिसहरू ‘अम्मा’ (जनताकी आमा) विशेषणले सम्बोधन गर्थे।
दक्षिण भारतकै तेलुगू फिल्म उद्योगका स्टार एनटी रामाराव (एनटीआर) अर्का अभिनेता हुन्, जसले तेलुगू देशम पार्टी स्थापना गरेर आन्ध्र प्रदेशको मुख्यमन्त्रीसम्मको यात्रा तय गरे।
कलाकारहरू जनतामाझ लोकप्रिय हुने भएकाले राजनीतिक दलले उनीहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास स्वाभाविक हो। अर्कातिर, कलाकर स्वयंले राजनीतिमार्फत आफ्नो चर्चा र शक्ति विस्तार गर्ने महत्त्वाकांक्षा राख्ने पक्ष पनि बलियो छँदै छ। तर, राजनीतिक असफलताले उनीहरूको करिअरमै पनि घाटा पुर्याउन सक्छ।
यसबाहेक विजयकान्त, विजयाशान्ति, नगमा, चिरञ्जीवी, कमल हसन, नन्दमुरी बालाकृष्णलगायत छन्। अर्का तमिल सुपरस्टार रजनीकान्त सक्रिय राजनीतिप्रति चाहना हुँदाहुँदै पनि यसमा सफल बन्न सकेनन्।
बलिउडभन्दा तुलनात्मक रूपमा दक्षिण भारतमा फिल्मी कलाकारको राजनीतिक सफलता बढी देखिन्छ। दक्षिण भारतमा फिल्म स्टार र राजनीतिक अस्तित्वसम्बन्धी अध्ययन गरी सिने-पोलिटिक्स शीर्षकको किताब लेखेका एम माधव प्रसाद दक्षिण भारतीय राजनीतिक जीवनमा पछिल्ला केही दशकमा भाषिक आधारमा राज्यको पुनर्गठन र क्षेत्रीयतावादको राजनीतिले महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन्। उनको मत छ, ‘यसलाई सबैभन्दा प्रभावकारी रूपमा फिल्म स्टारले सुरु गरेका दलले अभिव्यक्त गरेका छन्।’
यसका बावजुद राजनीतिमा सक्रिय सफल कलाकारको तुलनामा आंशिक सफल वा असफल कलाकार नै बढी छन्। सिनेमाको चर्चा र प्रशंसकको ठूलो संख्याले मात्र राजनीति वा निर्वाचनमा सफलता नमिल्ने उदाहरणयोग्य पात्र हुन्, कमल हसन। उनले सन् २०१८ मा मक्कलनीधि मैयम दल स्थापना गरे। तर, तमिलनाडुको पहिलो विधानसभा निर्वाचनमा उनको दलले कुनै सिट जितेन।
भारतमा चुनावमा सहभागी हुनेबाहेक चुनावी अभियानलाई रोचक र रंगीन बनाउनसमेत सेलिब्रेटी कलाकार सक्रिय हुन्छन्। यसमा खेलाडी र सोसल मिडिया इन्फ्लुएन्सरको उपस्थिति पनि बाक्लै छ।
कलाकारहरू जनतामाझ लोकप्रिय हुने भएकाले राजनीतिक दलले उनीहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास स्वाभाविक हो। अर्कातिर, कलाकर स्वयंले राजनीतिमार्फत आफ्नो चर्चा र शक्ति विस्तार गर्ने महत्त्वाकांक्षा राख्ने पक्ष पनि बलियो छँदै छ। तर, राजनीतिक असफलताले उनीहरूको करिअरमै पनि घाटा पुर्याउन सक्छ। कंगना रनावत यसको उदाहरण हुन्। भारतीय जनता पार्टीबाट चुनावसमेत जितेकी राजनीतिमा सक्रिय भएपछि उनको सार्वजनिक छवि पहिलाभन्दा विवादास्पद र अलोकप्रिय बनेको देखिन्छ।
भारतमा थुप्रै कलाकारले आफ्नो करिअरको विश्राम वा पतनको चरणमा राजनीतिमा प्रवेश गर्ने प्रवृत्ति पनि छ। उनीहरू दीर्घकालीन वैचारिक प्रतिबद्धताभन्दा स्टार छविलाई राजनीतिक पुँजीका रूपमा प्रयोग गर्छन्।
भारतमा सक्रिय राजनीतिमा सेलिब्रिटी राजनीतिकर्मीको सक्रियता र निरन्तरताले भारतको राजनीति र सुशासनमा कस्तो अर्थ राख्छ भन्नेबारे प्रशस्त चर्चा भएका छन्।
बलिउडको हकमा एकाध अपवादबाहेक सेलिब्रेटी राजनीतिकर्मीको उपस्थिति सन्तोषजनक छैन। इन्डिया स्पेन्डको सन् २०२४ को एउटा सर्वेक्षणले अभिनेता र खेलकुद पृष्ठभूमिका सेलिब्रेटी सांसदको उपस्थिति दर उल्लेखनीय रूपमा कम देखिएको छ। लोकसभाको कार्यकाल (२०१९-२०२४)को मूल्यांकन गरेको सर्वेक्षणले राष्ट्रिय औसत ७९ प्रतिशत हुँदा सेलिब्रेटी सांसदको औसत ६८ प्रतिशत मात्रै उपस्थिति देखाएको छ। बहसमा उनीहरूको सहभागिता झनै कम देखिन्छ। राष्ट्रिय औसत ५६ प्रतिशत छ भने सेलिब्रेटीको प्रतिशत २० मात्रै। संसद्मा प्रश्न सोध्नेदेखि विधेयक प्रस्तुत गर्ने गतिविधिमा उनीहरूको सहभागिता पनि दयनीय छ। जसमध्ये अभिनेता सन्नी देवल, अभिनेत्री हेमा मालिनी, अभिनेत्री किरण खेर, गायक हंसराज हंसलगायतको उपस्थिति निकै कमजोर देखियो।
अभिनय, संगीत वा खेलकुदजस्ता क्षेत्रबाट निर्माण हुने ‘सार्वजनिक परिचय’ सेलिब्रेटीको विशेषता हो। यस्तो परिचय आममान्छे र मिडियाबीचको निरन्तर अन्तरक्रियाबाट निर्माण हुन्छ। सामाजिक सञ्जालको यस युगमा जोकोही सेलिब्रेटी बन्न सक्छ। तिनले प्रत्यक्ष र भर्चुअल माध्यमबाट ठूलो संख्यामा प्रशंसकको विचार निर्माण र राजनीतिक नतिजामा समेत प्रभाव पार्न सक्छन्। स्टार शक्ति भिड तान्न, टिकट पाउन वा मन जित्न सहयोगी भए पनि यति नै राजनीतिक सफलताको अन्तिम आधार भने होइन।
भारतमा थुप्रै कलाकारले आफ्नो करिअरको विश्राम वा पतनको चरणमा राजनीतिमा प्रवेश गर्ने प्रवृत्ति पनि छ। उनीहरू दीर्घकालीन वैचारिक प्रतिबद्धताभन्दा स्टार छविलाई राजनीतिक पुँजीका रूपमा प्रयोग गर्छन्। पछिल्लो समय भारतमा कलाकारहरूमा आफू सत्ताको विरुद्ध नउभिएको देखाउन पनि राजनीतिलाई प्रयोग गर्ने प्रवृत्ति देखिएको छ।
नेपाली राजनीतिमा पनि हाबी हुँदै ‘सेलिब्रेटी कल्चर’
भारतको सन्दर्भसँग ठ्याक्कै मेल नखाए पनि नेपालमा पनि कलाकार, सेलिब्रेटी र राजनीतिबीच सम्बन्ध पुरानै छ। हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको माहोलमा यो सम्बन्ध पहिलाको तुलनामा बढी घनीभूत भएको महसुस हुन्छ।
पञ्चायतकालदेखि नै कलाकारहरू सत्ता र शक्तितिर ढल्किने प्रवृत्ति थियो। बहुदलीय व्यवस्थापछि पनि यस प्रवृत्तिले निरन्तरता पायो। केही कलाकार राजनीतिक दल फेर्दै हिँड्ने अवसरवादीका रूपमा समेत देखिए।
फिल्म क्षेत्रका सफल अभिनेत्रीहरू रेखा थापा र करिश्मा मानन्धर यसका उदाहरण हुन्। २०७० सालमा नेकपा (माओवादी) प्रवेश गरेकी थापा अध्यक्ष पुष्पकमल दाहालसँग नाचेको घटनाले विशेष चर्चा पाएको थियो। सन् २०७३ मा अभिनेत्री थापाले अध्यक्ष कमल थापाको हातको टीका लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेपछि आलोचितसमेत बनेकी थिइन्।

बायाँबाट कोमल वली, करिश्मा मानन्धर र रेखा थापा।
अभिनेत्री मानन्धरले तत्कालीन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा प्रवेश गरेकी थिइन्। २०७८ सालमा नेकपा (एमाले) प्रवेश गर्ने बेला उनले आफ्नो न्वारानको नाम सूर्यकुमारी र एमालेको चुनावचिह्न मेल खाएको साइनो निकालिन्।
हालैको प्रतिनिधिसभाको निर्वाचनमा अभिनेता, अभिनेत्री, खेलाडी, मिस नेपाल, टेलिभिजन प्रस्तोता, मोडल तथा सोसल मिडिया इन्फ्लुएन्सरहरूको सहभागिता व्यापक देखियो। प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा थुप्रै नाम चलेका सेलिब्रेटीको नाम आएपछि राजनीतिमा ‘सेलिब्रेटी ग्ल्यामर’ बढेको विषयमा बहससमेत भए।
यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह इतिहासकै पहिलो र्यापर-प्रधानमन्त्री बन्ने तरखरमा छन्। गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीलाई भारी मतान्तरले हराएकाले अहिले देश-विदेश जताततै उनको चर्चा सुनिन्छ। रास्वपाबाटै सोसल मिडिया इन्फ्लुएन्सर आशिका तामाङ प्रत्यक्ष निर्वाचित भइसकेकी छन्। मोडल तथा प्रस्तोता रिमा विश्वकर्मा र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ समानुपातिकतर्फ लगभग छनोट भइसकेका छन्।
भनिन्छ, जे देखिन्छ त्यो बिक्छ। सामाजिक सञ्जाल देखाउने र देखिने ठाउँ हो। यहाँ जो बढी देखिन्छ त्यही बिक्छ। त्यसैले यहाँ विचार निर्माण प्रक्रियामा तथ्य-सत्यभन्दा आवेग-भावनाले निर्णायक भूमिका खेल्छ।
जेन-जी आन्दोलनयता रास्वपालाई वैकल्पिक शक्ति मान्दै बालेनलाई देश हाँक्ने नेताका रूपमा स्थापित गर्न कलाकार तथा विभिन्न क्षेत्रमा आबद्ध सेलिब्रेटीहरूको विशेष सक्रियता देखिएको छ।
जेन-जी आन्दोलनका बेला निश्चल बस्नेत, ओसिन सिटौला, इभा गिरी, इस्टु कार्की, सबिन श्रेष्ठ, पारस बम ‘कुलब्वाय’, सजिना खनाललगायत थुप्रै सेलिब्रेटी सडकमै देखिए। मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाए। गायक/अभिनेता प्रकाश सपुतले आन्दोलनमा पानी बाँड्न ५० हजार रुपैयाँ सहयोग गरेर दुई युवा नै खटाए। यसबाहेक प्रदीप खड्का, रचना रिमाल, समीक्षा अधिकारी, ऋचा शर्मा, वर्षा शिवाकोटीलगायत धैरै जनाले जेन-जी आन्दोलनमा सहभागी हुन आह्वान गरेका थिए।
अभिनेत्री केकी अधिकारीले त ऐक्यबद्धता जनाउँदै फेसबुकमा कविता नै लेखिन्,
नहोस् कुनै चुल्हा चिसा
आगो निलेर उठ्नु
पसिना आफ्नै माटोलाई
मुठ्ठी कसेर उठ्नु
जेन-जी आन्दोलनदेखि निर्वाचनको परिणामसम्म आइपुग्दा सिनेमा र संगीतले समेत परिवर्तन र वैकल्पिक राजनीतिको भाष्यलाई मलजल गरेको देखिन्छ।
जेन-जी आन्दोलनपछि यही विषयलाई समेत समेटिएको फिल्म झरीपछिको इन्द्रेणी ४ पुसमा प्रदर्शनमा आएको थियो। हलमा प्रदर्शन भएको दुई महिनामै चुनावको मुखैमा यो फिल्म युट्युबमा राखियो, त्यो पनि बालेनकै युट्युब च्यानलमार्फत। यस फिल्मको लेखनमा स्वयं रास्वपा नेता गणेश कार्की जोडिएका छन् भने फिल्म निर्माण बालेननिकट समूहले गरेको हो।

फिल्मको प्रचारप्रसारकै लागि बालेनको गीतसमेत गाएका छन्, ‘आमनेपाली बुबा’।
चुनावकै मुखमा बालेननिकट निर्देशक निश्चल बस्नेतको फिल्म दिमाग खराब पनि युट्युबमा राखियो। फिल्मले भ्रष्टाचार, बेथिति र पुरानो राजनीतिलाई खारेज गर्नुपर्ने र युवा पुस्ताले देश हाँक्नुपर्ने सन्देश बोकेको छ।
दुई वर्षअघि सार्वजनिक यस फिल्मको कथावस्तु र बालेन-रास्वपाको राजनीतिक विचारको अन्तरसम्बन्धबारे सार्वजनिक चर्चा चलेको थियो। त्यो अन्तरसम्बन्ध यतिबेला आइपुग्दा छर्लंग भएको छ।
त्यसैले निर्वाचन र त्यसको मतपरिणाममा समेत प्रत्यक्ष असर पार्ने गरी सिनेमा सार्वजनिक गरिनु संयोग होइन।
निर्वाचनको समयमा श्रव्य-दृश्य सामग्रीले जनमत निर्माण र अजेन्डा सेटिङमा मतदाताको मनोविज्ञानमा प्रभाव पार्ने नै भयो। यस्तो बेला सार्वजनिक फिल्मका संवाद वा संगीतका अंशहरू टिकटक वा रिल्समार्फत सामाजिक सञ्जालमा भाइरल हुने सम्भावना बढ्छ। पुरानै सामग्रीहरू पनि उत्खनन गरेर नयाँ सन्दर्भमा प्रयोग गरिन्छन्।

निश्चल बस्नेत र बालेनका साथमा असिम शाह र आसिफ शाह।
भनिन्छ, जे देखिन्छ त्यो बिक्छ। सामाजिक सञ्जाल देखाउने र देखिने ठाउँ हो। यहाँ जो बढी देखिन्छ त्यही बिक्छ। त्यसैले यहाँ विचार निर्माण प्रक्रियामा तथ्य-सत्यभन्दा आवेग-भावनाले निर्णायक भूमिका खेल्छ।
भयो पनि त्यस्तै। दिमाग खराबमा समावेश गीत ‘लेखौँ भविष्य आफ्नो आफैँ’ रास्वपाको चुनावी अभियानमा प्रयोग गरिएपछि भाइरल भयो। गैरचुनावी जस्तो लागे पनि प्रचारप्रसारको सन्दर्भले यसपटक यो सबैभन्दा चर्चित गीत बन्न पुग्यो।
सामाजिक सञ्जालमा बालेनको समर्थनमा भिडिओ पोस्ट गर्नेहरूले यो गीतको व्यापक प्रयोग गरे। संगीतकार तथा रचनाकार जयन जे वाइबाको यस गीतमा निश्चल बस्नेतसमेतले स्वर दिएका छन्। बालेनको ‘आमनेपाली बुबा’ चुनावी गीतकै रूपमा प्रचारप्रसार भयो। यही बेला बालेनको समर्थनमा भियोमाले ‘झापा ५’ बोलको र्याप सार्वजनिक गरे, जसको उद्देश्य पनि चुनावी अभियानलाई नै सघाउनु थियो।
पहिले राजनीतिक अभ्यासका लागि राजनीतिक चेतको भाष्यमा सहभागी हुनुपर्थ्यो। अहिले त्यो नचाहिने भएको छ।
यी उदाहरणले नेपालमा राजनीति, सिनेमा र संगीतको भाष्य सँगसँगै हिँडिरहेको स्पष्ट जनाउ दिन्छन्। खासगरी, २०७९ सालको स्थानीय तहको निर्वाचनमा बालेन वा हर्क साम्पाङजस्ता स्वतन्त्र उम्मेदवारहरू मेयरमा निर्वाचित भएपछि त्यसयता बनेका सिनेमामा संघीय संरचना, पालिका प्रमुख वा मेयर प्रमुख पात्रका रूपमा आउने क्रम बढेको छ। राजनीतिमा कलाकारहरूको बढ्दो सहभागिताले भविष्यमा यस्ता सिनेमाको संख्या अझै बढ्ने संकेत गर्छ। त्यस्तो भयो भने, नयाँ राजनीतिक परिवर्तनसँगै ‘प्रोपागान्डा’ फिल्मको लहर नै नआउला भन्न सकिन्न।
यसपटकको निर्वाचनमा बालेन र अन्य केही सेलिब्रेटीले जित्दै गर्दा अभिनेत्री निशा अधिकारीले भने नराम्रै हार बेहोरिन्। गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएकी अधिकारीले जम्मा ९१ मत प्राप्त गरिन्। सामाजिक सञ्जालमा भाइरल ऋषि धमलाका लागि पनि निर्वाचन मनोरञ्जन दिने एउटा अर्को खुराक मात्रै भयो।
भारतमा जस्तो नेपालमा सेलिब्रेटीहरूले प्रत्यक्षमा लडेर जितेका उदाहरण अझै पनि कम छन्। यो सम्भावना ह्वात्तै बढिहाल्ला जस्तो देखिन्न। त्यसमाथि वैचारिक वा सांस्कृतिक आधारविनाका सेलिब्रेटी राजनीतिमा लामो समय टिक्न सहज हुने देखिँदैन। त्यसैले धेरै नेपाली सेलिब्रेटी अझै समानुपातिक कोटामार्फत राजनीति प्रवेश गर्न सहज ठान्छन्। तर, ठोस विचार र प्रतिबद्धताविना राजनीतिमा सेलिब्रेटीको सहभागिता प्रतीकात्मक प्रतिनिधित्वमै सीमित हुन्छ।
अध्येता/अभियन्ता दोभान राई अहिले वैचारिक राजनीतिक अभ्यास गर्ने आधार नै बदलिएको बताउँछिन्। उनका अनुसार पहिले राजनीतिक अभ्यासका लागि राजनीतिक चेतको भाष्यमा सहभागी हुनुपर्थ्यो। अहिले त्यो नचाहिने भएको छ। अहिले राजनीति नै ‘सेलिब्रेटी कल्चर’ जस्तो भएको उनको भनाइ छ।
“राजनीति, राजनीतिकर्मीहरूको केन्द्रबाट मनोरञ्जन, मिडिया इन्फ्लुएन्सर, भाइरालिटी र सर्टकर्ट सपनाको ठाउँमा आइपुगेको छ,” उनी भन्छिन्, “भाषण नै गर्न नपर्ने, विचारै राख्न नपर्ने। राजनीति पनि समाजै सर्टकर्ट खोज्ने ठाउँमा आइपुग्यो।”
यस्तो अवस्थामा सेलिब्रेटी र राजनीतिकर्मीबीचको भेद छुट्याउन नै अलमल हुने उनको मत छ। राई भन्छिन्, “अब राजनीति गर्नेहरू पनि राजनीतिकर्मी नभई कलाकार भएर आउनुपर्ने अवस्था बन्दै छ।”