काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

प्रेरणा

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरूलाई वनको वैभव र वन्यजन्तु चिनाइरहेकी ‘नेचर गाइड’ सीता चौधरी

३ चैत्र २०८२
सीता चौधरी।
अ+
अ-

भनिन्छ– सपना देख्न सक्नुपर्छ, त्यो आँट र अग्रसरताले सफलता दिलाउँछ।

सपना साकार पार्न आवश्यक दृढ संकल्पसँग जोडिएको यो हरफ बर्दिया ठाकुरद्वाराकी सीता चौधरी (३४)सँग ठ्याक्कै मेल खान्छ। बर्दिया राष्ट्रिय निकुञ्जछेउकै बस्तीमा जन्मे-हुर्केकी उनले प्रकृति र वन्यजन्तुको संसारमा रमाउँदै जाँदा ‘नेचर गाइड’ बन्ने सपना बुनिन्। त्यसमा सफल भएर करिब एक दशकदेखि निकुञ्जमा आउने आन्तरिक र विदेशी पर्यटकलाई जंगलको रोमाञ्चक संसारमा घुमाइरहेकी छन् उनी।

विदेशी पर्यटकसँग सीता चौधरी।

उनको बस्ती ठाकुरद्वारा बर्दिया राष्ट्रिय निकुञ्जको छेउमै छ। बाल्यकालमा निकुञ्ज छेउछाउका घाँसे मैदान र जंगल क्षेत्र उनका लागि खेल मैदानसरह थिए। निकुञ्जको वातावरण र त्यहाँका वन्यजन्तुले उनलाई आकर्षित गर्थे। विभिन्न चराचुरुंगी, हरिण, गैँडा, बाघ आदिबारे बुझ्न थालिन्। प्रकृतिसँग उनको लगाव गहिरिँदै गयो।

त्यसै समयमा उनले पहिलो पटक देखिन्, निकुञ्जमा जिप सफारी गरेर वन्यजन्तु हेर्न आएका पर्यटक। “त्यही दृश्य देखेर म पनि यसैगरी पर्यटकसँग निकुञ्ज क्षेत्रमा घुम्छु भन्ने सपना देखेको थिएँ,” उनी भन्छिन्।

तस्बिर : सीता चौधरी

त्यही सपनाले उनलाई ‘नेचर गाइड’ बन्ने यात्रातिर लम्कायो।

यसका लागि उनले नेचर गाइडको औपचारिक तालिम नै लिइन्। त्यसपछि निकुञ्जमा काम पाइन्। एक दशकयता यस पेसामा रहँदा उनी रमाइरहेकी छन्। पर्यटकको हुल लिएर निकुञ्जको वन क्षेत्रमा पुग्छिन् र वन्यजन्तु देखाएर तिनको जीवनशैलीबारे जानकारी दिन्छिन्। “बिहानदेखि साँझसम्म जंगलमा घुमेर पर्यटकलाई दुर्लभ वन्यजन्तु देखाउन पाउँदा धेरै खुसी लाग्छ,” उनी कामको खुसी बाँड्छिन्।

मातृभाषा थारूसँगै नेपाली, हिन्दी र अंग्रेजी गरी चार भाषामा दखल राख्छिन् सीता। विदेशी पर्यटकहरूसँग सहज रूपमा संवाद गर्न सक्छिन्। निकुञ्जभित्र सफारी गर्दा देखिने वन्यजन्तु, जैविक विविधता र वातावरणबारे धाराप्रवाह बताउँछिन्। महिला गाइडका रूपमा उनले पर्यटकमाझ राम्रो छाप छाडेकी छन्। धेरै पर्यटकले उनलाई ‘स्मार्ट गाइड’ भन्ने गरेका छन्।

थारू समुदायकी छोरी सफल ‘नेचर गाइड’ बन्दा उनी स्थानीय समुदायमा उत्प्रेरक र उदाहरणीय बनेकी छन्। उनले पर्यटन, पर्यावरण संरक्षण र महिला सशक्तीकरणको सुन्दर उदाहरण प्रस्तुत गरेकी छन्। पछिल्लो समय उनकी बहिनी र चार जना सँगी पनि नेचर गाइडका रूपमा काम गरिरहेका छन्। तर, धेरैजसो पर्यटकले सीतालाई नै खोज्ने गर्छन्। सहज व्यवहार, स्पष्ट रूपमा बुझाउने तथा जंगल र जनावरबारेको गहिरो ज्ञानका कारण उनी रोजाइमा परेकी हुन्।

 तस्बिर : सीता चौधरी

पर्यटकले चाहेअनुसारको वन्यजन्तु देखाए उनीहरू दंग पर्ने गरेको सीताको अनुभव छ। “पर्यटकलाई मन पर्ने जनावर देखाउन सकियो भने उनीहरू निकै खुसी हुन्छन्, त्यसपछि अर्को पटक पनि त्यही गाइड खोज्छन्,” उनी भन्छिन्।

सीता वन्यजन्तु फोटोग्राफीमा पनि रुचि राख्छिन्। बिहान सबेरै पर्यटकसँग जंगल सफारीमा निस्किँदा क्यामेरा र दूरबिन बोकेरै जान्छिन्। पर्यटकसँगै प्रकृतिमा रमाउँदै विभिन्न जनावर र चराचुरुंगीका तस्बिर कैद गर्छिन्। उनले खिचेका तस्बिरहरूमा बाघदेखि हात्तीको चाल र चराको उडानसम्म जीवन्त देखिन्छ। “तस्बिरमा निकुञ्जको सौन्दर्य र यहाँको जैविक विविधताको कथा छ,” उनी भन्छिन्।

तस्बिर : सीता चौधरी

प्रकृतिसम्बन्धी पेसा गर्ने सीताहरूका लागि जंगल क्षेत्र रोजगारीको ठाउँ हो। तर, जंगल र यहाँका जैविक विविधता राष्ट्रिय सम्पत्ति र धेरैको जीवनको आधार भएकाले सबै मिलेर संरक्षण गर्नुपर्ने उनको भनाइ छ। भन्छिन्, “जंगल, पर्यावरण र वन्यजन्तु हाम्रा सम्पत्ति हुन्, त्यसैले यसको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको जिम्मेवारी हो।”