पुस्तक
पत्रकारहरूले आफ्नो उत्पादन उनीहरूको दैनिक चमत्कार हुनसक्छ भन्ने ठान्न सक्छन्। जेहोस्, कुनै दिन यो ‘क्रूर’ चमत्कार पनि हुनसक्छ। पत्रकारिता पेशाको यथार्थ यस्तो हुन्छ कि यो सधैँ सजिलो, आनन्ददायी वा सुरक्षित हुँदैन।
अध्ययन ठूलो कि अनुभव। बहुआयामिक अर्थमा अध्ययन ठूलो हो। तर, मलाई लाग्छ– अध्ययनभन्दा अनुभव ठूलो। म एक पटक पछाडि फर्किएर आफैँलाई हेर्न खोज्दै छु।
कता हिँडेको मानिस कता पुगेँ म जस्तो लाग्छ। पञ्चायती ३० वर्षीय कालरात्रिका काला दिनहरू ढाल्न आन्दोलनमा ज्यान फालेर होमियो। गोली लागेन। त्यसैले सहिद भइएन। धन्न! पञ्चायत ढालियो। ज्ञानेन्द्रले देखिने र बुझिने रचनात्मक राजाको नाममा नेपाल अधिराज्यको संविधान, २०४७ निले। त्यसमाथि नेपालीलाई कठोर निरंकुशता लादे। ज्यान बाजी राखेर फेरि निरंकुश राजतन्त्र ढाल्न लागियो। निरंकुशता ढाल्ने हजारौँ आगोको लप्कामध्ये एउटा पित्को आगो म पनि हुँ।
तर, जिन्दगी ‘काशी जाने कुती’ को बाटोझैँ भयो। जिन्दगीमा हुर्कंदै, बढ्दै र हिँड्दै जाँदा म पत्रकार बन्न पुगेँ। पेसाले मलाई छुट्टै आनन्द र गौरव दियो। पत्रकारिता मेरो जीवनको प्रमुख पेसा रह्यो। तर, यस्तो योजनाअनुसार भएको चाहिँ होइन। जिन्दगीमा हिँड्दाहिँड्दै म पत्रकार भएको हुँ।
भन्नैपर्छ, २०४३ सालमा काठमाडौँको भोटाहिटीमा अवस्थित ललितकला क्याम्पस भर्ना भएँ। पढ्दापढ्दै छोडेँ। जिन्दगी अर्कै कथा लेख्न चाहन्थ्यो। त्यसैले रत्नराज्यलक्ष्मी क्याम्पसको विद्यार्थी भएँ। साथीभाइको सुझावमा सजिलोका लागि पत्रकारिता पढेँ। विद्यार्थी-पार्टी राजनीति पनि धेरै वर्ष गरेँ। समयले पत्रकार बनायो। ढाँट्दिनँ, पत्रकारिता र राजनीति पनि सँगसँगै गरेँ। तर, पत्रकारितामा केवल पत्रकार रहेँ।
कसै कसैले सोच्लान्– न आमसञ्चारमाध्यम समाजको ऐना हो, न त पत्रकारहरूले ऐनाको सिसाकै रूपमा काम गर्न सक्छन्। तर, केहीले मात्र अस्वीकार गर्लान् कि पत्रकारहरू दैनिक इतिहासकार हुन्। उनीहरूले हाम्रो समाजको सबैभन्दा उत्कृष्ट र निकृष्ट दुवै अभिलेख राख्छन्।
कता कलाकार हुन हिँडेको मान्छे पत्रकार भएँ। पछाडि ‘कार’ त झुन्डियो भन्ठानेँ। पत्रकारिताको सिलसिलामा मैले रेडियो नेपाल, अभिलेख साप्ताहिक, स्पेशटाइम दैनिक, राजधानी दैनिक, नेपाल टेलिभिजनजस्ता आमसञ्चारमाध्यममा करिब १० वर्ष काम गरेँ। त्यसबाहेक दृष्टि, प्रतिपक्ष, जनमञ्च र छलफलजस्ता साप्ताहिक पत्रिकाहरूमा काम गरेँ। हिमाल खबरपत्रिका, कान्तिपुर र अन्नपूर्ण पोष्टमा बेलाबखत स्वतन्त्र पत्रकारका रूपमा आलेखहरू लेखेँ। पेसागत मर्यादा र आचारसंहितामा कहिल्यै सम्झौता गरिनँ। मैले पत्रकारितामा स्नातक रत्नराज्यलक्ष्मी क्याम्पस र स्नातकोत्तर तह अस्ट्रेलियाको दि युनिभर्सिटी अफ क्विन्सल्यान्डबाट गरेँ। २७ वर्षअघि पत्रकारिता पढ्न अस्ट्रेलिया पुगेको थिएँ।
मेरो मन्द बुझाइमा यदि आमसञ्चारमाध्यम समाजको ऐना हो भने, त्यो पत्रकारहरू त्यो ऐनाका सिसा हुन्। कसै कसैले सोच्लान्– न आमसञ्चारमाध्यम समाजको ऐना हो, न त पत्रकारहरूले ऐनाको सिसाकै रूपमा काम गर्न सक्छन्। तर, केहीले मात्र अस्वीकार गर्लान् कि पत्रकारहरू दैनिक इतिहासकार हुन्। उनीहरूले हाम्रो समाजको सबैभन्दा उत्कृष्ट र निकृष्ट दुवै अभिलेख राख्छन्।
वास्तवमा आमसञ्चारमाध्यम ‘लोकतन्त्र सुधार समिति’ लेखिएको एउटा महत्त्वपूर्ण तुल हो। त्यसैले त आवधिक निर्वाचनमा मतपेटिकाहरू सुसूचित नागरिकहरूको मतपत्रहरूले भरिन्छन्। हुन त जनताको आमसञ्चारमाध्यमका धड्कनहरूमा भएको पहुँचले मात्र आफ्नो आवाज उठाउने र स्वतन्त्र अभिव्यक्ति दिने कुरा निर्भर गर्छ। सुमधुर र कर्कश दुवै ध्वनि बजाउने बाजा हो आमसञ्चारमाध्यम। यसका सरगमले अनेकौँ समुदायको वादविवादलाई सविस्तार वर्णन गर्छ। त्यसैले सबैले सुन्न, हेर्न, काम गर्न, विवेचना गर्न र निष्कर्ष निकाल्न सक्छन्।
पत्रकारिता पेसाको यथार्थ यस्तो हुन्छ कि यो सधैँ सजिलो, आनन्ददायी वा सुरक्षित हुँदैन।
यसले समुदाय, समाज, देशका गुण र दोषलाई प्रतिबिम्बित गर्छ। संयुक्त राज्य अमेरिकाका नाट्यकार आथर मिलरका अनुसार ‘एउटा राम्रो पत्रिका भनेको सिंगो देशले आफैँसँग कुराकानी गरेजस्तै हो।’
इच्छा मात्र भएर पनि पत्रकार बनिने होइन, आफूलाई शिक्षित बनाउनैपर्छ। पत्रकार भएपछि महाभारतको गाथादेखि, पिनासको कथा र द्वन्द्वको व्यथासम्म पढनुपर्छ। तर, पनि यतिले मात्रै चाहिँ पुग्दैन। पढ्ने होइन, अध्ययन गर्नुपर्छ। पढ्ने काम त आममानिसहरू पनि गरिरहेकै हुन्छन् नि।
खास गरेर पत्रकारले समाजका बहुआयामिक पक्षहरूलाई गहिराइपूर्वक बुझ्न सक्नुपर्छ। संयुक्त राज्य अमेरिकाका राजनीतिक स्तम्भकारले भनेझैँ पत्रकार बन्नु भनेको धरहराबाट हाम फाल्नुसरह हो। यो अत्यन्तै जोखिमपूर्ण काम हो।

पत्रकारिता गम्भीरतापूर्वक अध्ययन गरेर सुरु हुन सक्छ, तर व्यावसायिक पत्रकारका लागि यो पेसा जीवनभर जारी रहन्छ। यो जागिर होइन। त्यसैले आठ घण्टा मात्र काम गर्ने कर्मचारी मानसिकता नत्यागे यो पेसामा कोही पनि टिक्दैन। हतारको साहित्यमा संलग्न हुनु पुरेत्याइँ-लामाको काम जस्तै हो वा ‘मह जोडी’ जस्तै बन्नु हो। यो आफैँमा ठूलो विवादको विषय हो। एउटा सम्पादक विश्वास गर्छन्– ‘शिक्षण पेसामा लागेका शिक्षक र मन्दिर, गुम्बा, मस्जिदमा बस्ने पुजारी, लामा र मुल्लाको पेसा जस्तै हो पत्रकारिता। यो एउटा अभियान हो, त्यसैले यसमा गम्भीरतापूर्वक आफ्नो कर्तव्य पूरा गर्नैपर्ने हुन्छ।’
उदेकलाग्दो के छ भने, पत्रकारहरूले आफ्नो जीवन राम्रैसँग बाँच्न चाहिँ सक्छन्। तर, २०५० को दशकमा चर्चित समकालीन साप्ताहिकका सम्पादक रहेर पत्रकारितामा दशकौँ आफ्नो जीवन खर्चनुभएका जनार्दन आचार्यले भन्नुभएको थियो, ‘हाम्रो जमानामा पत्रकारलाई छोरी दिएर ज्वाइँ बनाउन यो समाज तयार थिएन। श्रीमती पाउनै गाह्रो थियो।’ अहिले नेपाली पत्रकारिताले त्यस्तो अवस्थाबाट धेरै फड्को मारिसकेको छ।
उत्कृष्ट पत्रकारहरू अनैतिकता र अन्यायविरोधी आन्दोलनमा होमिएका आन्दोलनकारी हुन्, तर यो कहिल्यै व्यक्तिगत हुँदैन। आफ्ना द्विविधाहरूलाई पन्छाउँदै उनीहरू साहसी हुन्छन् र आफ्ना लागि सजिला हुन सक्ने क्षेत्रलाई सर्वनाश गर्दै जान्छन्।
हुन त पत्रकारिता पत्रपत्रिकाजस्तै हो। यो अनुमान गर्न गाह्रो हुन्छ। न यो इँटा बनाएजस्तो हो, न त थुन्से बुनेजस्तो। पत्रकारिताले सिर्जना गर्ने प्रक्रियाको परिणाम सबैसँग मिल्दोजुल्दो नहुन सक्छ। पत्रकारहरूले आफ्नो उत्पादन उनीहरूको दैनिक चमत्कार हुन सक्छ भन्ने ठान्न सक्छन्। जे होस्, कुनै दिन यो ‘क्रूर’ चमत्कार पनि हुन सक्छ। पत्रकारिता पेसाको यथार्थ यस्तो हुन्छ कि यो सधैँ सजिलो, आनन्ददायी वा सुरक्षित हुँदैन।
उत्कृष्ट पत्रकारहरू अनैतिकता र अन्यायविरोधी आन्दोलनमा होमिएका आन्दोलनकारी हुन्, तर यो कहिल्यै व्यक्तिगत हुँदैन। आफ्ना द्विविधाहरूलाई पन्छाउँदै उनीहरू साहसी हुन्छन् र आफ्ना लागि सजिला हुन सक्ने क्षेत्रलाई सर्वनाश गर्दै जान्छन्।
यो पेसा ‘आफ्नो व्यक्तिगत सेवा’ होइन, ‘जनताको सेवा’ हो भन्ने दृष्टिकोणले उनीहरू ओतप्रोत हुन्छन्। उनीहरू सामाजिक सञ्जालको सक्दो उपयोग गर्छन् या समाचारकक्षमा हुन् या त बाहिर। उनीहरू हेर्छन्, अध्ययन गर्छन्, सुन्छन् र बुझ्छन्। उनीहरू आफ्नो छिमेक, सहर, राज्य र राष्ट्रमा के हुँदै छ भन्ने कुरामा आफ्नै ढंगले सुर भर्छन् अनि त्यसमा लय मिलाउँछन्।
उनीहरूले व्यक्तिका पछाडिको कथा पत्ता लगाउँछन् र कथापछाडिको व्यक्ति पत्ता लगाउँछन्। शक्तिकेन्द्र वा शक्तिका दलालहरू उनीहरूलाई महत्त्वपूर्ण ‘इस्यु’ हरूमा सूचना दिने गरी विश्वास गर्छन्, तर यहाँ पनि जनताको विश्वास नै सर्वोच्च हुन्छ पत्रकारका लागि। त्यसैले मेरा गुरु अस्ट्रेलियाको द क्विन्सल्यान्ड विश्वविद्यालयका पत्रकार एवं प्राध्यापक डेभिड कोन्ली भन्नुहुन्छ, ‘व्यावसायिक पत्रकारहरू कहिल्यै बिक्दैनन्। बिक्नेहरू कहिल्यै पत्रकार हुन सक्दैनन्।’ मेरो पत्रकार र वैयक्तिक जिन्दगी यो कुराकै वरिपरि घुमेको छ। तर, नेपाली पत्रकार र पत्रकारिता कहाँनेर पर्छ? छुट्याउने जिम्मा यहाँहरूमै छ।
जिन्दगीले अनेकौँ फाँट, देउराली, भन्ज्याङ, चौतारी र शिखरमा चढाउने र ओह्राल्ने गर्यो। केटाकेटीको शिक्षा र पारिवारिक उन्नयनका लागि उत्तर अमेरिकाको क्यानडा पुग्नुपर्यो। उत्तरी ध्रुवमा बसेकै १० वर्ष नाघिसक्यो। अचेल क्यानडामा सरकारी विद्यालयको शिक्षण सहायक पेसामा व्यस्त छु। तर, लेख्न छोडेको छैन। माफी चाहन्छु, जति लेख्न सक्थेँ त्यति लेखिनँ। तर, लेखन जारी राख्छु।
हामीकहाँ पठन संस्कृति पहिलेभन्दा ओह्रालो लागेजस्तो प्रतीत हुन्छ। मैले करिब १५० नेपालीलाई काठमाडौँ उपत्यका, काभ्रे, धादिङ, सर्लाही र रौतहटमा सोधेको थिएँ, ‘के पढ्दै हुनुहुन्छ ?’ सबैको जवाफ थियो, ‘कलेजमा पढ्दा जति पढियो त्यति पढियो। त्यसपछि पढेकै छैन।’ यस्तो जवाफ दिनेहरू स्नातक र स्नातकोत्तर तह पढेका थिए।
यो पुस्तक गम्भीरतापूर्वक अध्ययन गर्नेका लागि उपयोगी हुन्छ भन्ने मेरो ठम्याइ छ। यद्यपि, यसमा समाजशास्त्र, मानविकी, मानवशास्त्र, इतिहास, अर्थशास्त्र, सामाजिक व्यवस्थापन र साहित्य समेटिएका छन्। शोध गर्न चाहनेहरूका लागि किताब काम लाग्न सक्छ। किताब मेरो जिन्दगीको स्मृति, विचार र यात्राको माला बनेको छ। हेर्दाहेर्दै जसरी मेरो जिन्दगीले अर्को घुम्ती लियो, त्यसरी नै मैले मेरो अनुभवलाई आलेखहरूको संग्रहमार्फत बाँड्न चाहेको हुँ।
(लेखक चापागाईंका स्मृति, विचार र यात्राका सँगालोहरू संकलित पुस्तक हेर्दाहेर्दैको भूमिकाको सम्पादित अंश। हाल क्यानडा एडमन्टनमा बस्ने चापागाईं त्यहाँको सरकारी विद्यालयको शिक्षण सहायक पेसामा आबद्ध छन्।)