अनुभूति
मार्सल आर्टस्का चर्चित कलाकार चक नोरिसलाई आफ्नो फिल्ममा खेलाउने अवसर कोरोनाका कारण असम्भव
सन् १९९३ मा अपराधसँग जोडिएको द्वन्द्वात्मक टेलिशृंखला ‘वाल्कर, टेक्सास रेन्जर’ अमेरिकामा यति चर्चित भयो, यसमा जोडिएका सबै कलाकार रातारात स्टार भए। त्यो शृंखलामा रेन्जरको मुख्य भूमिका निर्वाह गरिरहेका थिए, हलिउड ‘एक्सन मुभी’ का चिरपरिचित अनुहार चक नोरिस। उनले सन् १९७२ मै मार्सल आर्टस्का असाधारण प्रतिभा ब्रुस लीसँग रिटर्न अफ द ड्रागनमा प्रतिस्पर्धीको भूमिका निर्वाह गरेर वाहवाही लुटिसकेका थिए।
‘वाल्कर, टेक्सास रेन्जर’ शृंखला अमेरिकी टेलिभिजनबाट सार्वजनिक भएपछि चक नोरिसलाई नचिन्ने घर नै भएन, अमेरिकामा। संयोगले त्यो शृंखला सार्वजनिक हुनुभन्दा एक वर्षअघि म बलिउड (मुम्बई)बाट भाग्यपरीक्षाका लागि हलिउड अर्थात् क्यालिफोर्निया पुगेको थिएँ र मलाई अमेरिका आउन प्रायोजन गर्ने व्यक्ति चक नोरिसकै एक शिष्य जर्ज डनड्रुन थिए।
ब्रुस ली र चक नोरिसको पहिलो फिल्म मैले नेपालमै हुँदा हेरेको थिएँ। उनीहरूको फाइटबाट म यति प्रभावित थिएँ, पाल्पाको घरमा स्कुले जीवन बिताइरहँदा नचाहिँदो हिसाबले मार्सल आर्टस्तर्फ आकर्षित भएँ।

सन् २०२० मा मैले आफ्नै लगानीमा निर्माण गरेको फाइट अफ फ्युरीको पहिलो भाग यसैको प्रभाव थियो भन्दा अत्युक्ति नहोला। अहिले फाइट अफ फ्युरीकै दोस्रो भागको निर्माणमा सक्रिय छु र छिटै हलिउडमा यो प्रसारणको तयारीमा छ।
तर, यसैबीच कुनै बेला आफूले आदर्श मानेको मार्सल आर्टस्का ख्यातिप्राप्त कलाकार चक नोरिसको १९ मार्चमा निधन भएको खबर सुन्नुपर्दा स्तब्ध भएको छु। ८६ वर्ष पुगिसकेका नोरिस लामो समयदेखि बिरामी थिए। तर, यति छिटै उनको निधन होला भन्ने सोचेको थिइनँ।
मेरो एउटा सपना थियो– आफूले निर्माण गर्ने मार्सल आर्टस्का फिल्महरूमा ब्रुस लीसँग अभिनय गरेका कलाकारलाई कुनै न कुनै रूपमा अभिनय गराउने।
मेरो निर्माणाधीन फिल्म फाइट अफ फ्युरी भाग-२ को प्रिमियरमा उनलाई बोलाउने ठूलो धोको थियो। अब त्यो सम्भव भएन। मेरो फिल्ममा उनका अति मिलनसार साथी र मार्सल आर्टस्का अर्का ‘लिजेन्ड’ बब वालको अभिनय छ। सन् १९६८ देखि १९८१ सम्म बक्स अफिसमा सर्वाधिक कमाइ गरेका ब्रुस लीका आठ चर्चित फिल्ममध्ये तीन वटामा बबले नै अभिनय गरेका छन्।
बब र नोरिसबीच १९६० को मध्यमा मार्सल आर्टस्कै एउटा कार्यक्रममा भेट भएको थियो। नोरिस मार्सल आर्टस्का नवौँ डान प्राप्त खेलाडी थिए भने बबमा मार्सल आर्टस्को सीप हुनुका साथै व्यापार-व्यवसायमा पनि राम्रो दखल थियो। त्यसैले यी दुई मिलेर न्युयोर्कलगायत थुप्रै ठाउँमा मार्सल आर्टस् सिकाउने प्रशिक्षण केन्द्रको स्थापना गरेका थिए।
बबले मलाई बताएअनुसार सन् १९७२ मा रिटर्न अफ द ड्रागनका लागि ब्रुस लीले चक नोरिससमक्ष प्रस्ताव राख्दा बबको कुनै भूमिका थिएन। उनी नोरिसको पछि लाग्दै ब्रुस लीलाई भेट्न गएका थिए। नोरिससँगै बब पनि आएको देखेपछि ब्रुस लीले उनको भूमिका नै नभएको फिल्ममा एउटा सानो भूमिका सिर्जना गर्न लगाएका थिए। त्यस फिल्ममा दुवैले काम गरे। तर, बबको भूमिका सानो थियो। त्यसैले धेरैलाई उनको भूमिकाबारे त्यति थाहा छैन।
म सानैदेखि ब्रुस लीको प्रशंसक हुँ। उनकै फिल्म हेरेर नाइनचाकु चलाउन सिकेँ। मेरो एउटा सपना थियो– आफूले निर्माण गर्ने मार्सल आर्टस्का फिल्महरूमा ब्रुस लीसँग अभिनय गरेका कलाकारलाई कुनै न कुनै रूपमा अभिनय गराउने।
बबले नोरिससँग मेरो प्रशंसा गर्दै फिल्ममा सानो भूमिका निर्वाह गर्न मनाएका थिए। म एउटै फिल्ममा ब्रुस लीका दुई साथीहरूले अभिनय गर्ने कुराले दंग भए।
यही सिलसिलामा सन् २०१८ मा बबलाई भेट्न न्युयोर्कस्थित उनको घर पुगेको थिएँ। पहिले त उनले मेरो प्रस्ताव अस्वीकार गरे। तर, मैले मार्सल आर्टस्को कला देखाएपछि प्रभावित भए। कोभिडकालमै मैले उनीसँग आवश्यक पर्ने दृश्यहरू छायांकन गरिसकेको थिए।
पहिले बब मलाई कडा स्वभावका व्यक्ति जस्तो लाग्थ्यो। तर, संगत गर्दै गएपछि उनी जस्तो सरल कोही लागेन। एकदिन खानपिनकै क्रममा मैले आफ्नो फिल्ममा चक नोरिसलाई पनि अभिनय गराउन पाए ‘सुनमा सुगन्ध’ हुन्थ्यो भन्ने प्रस्ताव राखेँ। उनलाई पनि मेरो कुरा ठीकै लागेछ।

उनले नोरिससँग मेरो प्रशंसा गर्दै फिल्ममा सानो भूमिका निर्वाह गर्न मनाएका थिए। म एउटै फिल्ममा ब्रुस लीका दुई साथीहरूले अभिनय गर्ने कुराले दंग भए। त्यतिबेला नोरिसको स्वास्थ्य त्यति राम्रो थिएन। उनी आराम गरेर बसेका थिए। उनलाई आराम भएपछि भेट्न जाने कुरामा सहमति जुट्यो।
यसै क्रममा कोभिडको नयाँ नयाँ भेरियन्ट अमेरिकाभरि फैलियो। दुई वर्ष त मान्छेले एकअर्कालाई भेट्न नै धेरै गाह्रो भइसकेको थियो। यसैबीच सन् २०२२ को फेब्रुअरीमा ८२ वर्षको उमेरमा बब वालको निधनको खबर सार्वजनिक भयो। त्यतिबेला मलाई सबै सिद्धिए जस्तो लाग्यो। उनको निधनसँगै चक नोरिसलाई फिल्ममा खेलाउने मेरो अभियान पनि समाप्त भयो। उनीसँग सिधा सम्पर्क गर्ने कुनै सूत्र मसँग थिएन।
तर, बबले अभिनय गरेको अन्तिम फिल्म नोरिसलाई देखाउने ठूलो इच्छा थियो। नोरिसको निधनपछि त्यो पनि सम्भव भएन।
उनलाई भेट्ने धोको अधुरै रहे पनि अलबिदा मार्सल आर्टस्का लिजेन्ड चक नोरिसप्रति!
(पाल्पा निवासी सन्नी बी हलिउडमा बसेर मार्सल आर्टस्सम्बन्धी फिल्म निर्माण गर्छन्।)