आवरण
पछिल्लो चार वर्ष आठ महिनामा मात्रै २०२ हत्या, ‘रेड जोन’ मा कोसी प्रदेश
मोरङको विराटनगर- १५ स्थित हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको यही ६ चैतमा हत्या भयो। हत्या आरोपमा श्रीमान् रोशन साह र जेठाजु दीपेन्द्र साह पक्राउ परेका छन्। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार श्रीमतीको हत्या गरेपछि प्रमाण मेटाउन रोशनले थप पाशविक कार्य गरेका थिए। मध्यरातमा हत्या गरेपछि उनले हातखुट्टा बाँधी शवलाई तन्नामा पोको पारे र दाजु दीपेन्द्रले चलाउने सिटी सफारीमा राखी विराटनगर-१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि फाले।
हत्याको दुई दिनपछि प्रहरी कार्यालय पुगेर उनले श्रीमती हराएको भन्दै हुलियासहितको निवेदन दिए। जब १० चैतमा कल्भर्टमुनि सडेको अवस्थाको शव फेला पर्यो, तब रोशनको अपराध पर्दाफास भयो। मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ– परपुरुषसँग अवैध सम्बन्ध रहेको शंकामै रोशनले जीवनसँगिनीको हत्या गरेका थिए। शंकाले एउटा परिवार मात्रै उजाडिएन, सिंगो समाजलाई नै झस्कायो।

विराटनगर-१५ हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको शव फेला परेपछि घटनाबारे अनुसन्धान गर्दै प्रहरी। तस्बिर : अनिल श्रेष्ठ
मोरङकै रंगेली-५ धनपट्टीमा गत १९ माघमा अर्को हृदयविदारक घटना भयो। २२ वर्षीय मुकेश मण्डल र २१ वर्षीया अम्बिका मण्डलले १२ मंसिरमा विवाह गरेका थिए। विवाहको दुई महिना नहुँदै मुकेशले अम्बिकाको हत्या गरे र आफूले आत्महत्याको बाटो रोजे।
अम्बिकाको माइतीमै घटेको घटनाले छिमेकी र आफन्त अझै स्तब्ध छन्। पेसाले स्वास्थ्यकर्मी (एचए) मुकेशलाई समाजले शिक्षित र जिम्मेवार व्यक्तिका रूपमा हेर्थ्यो। भर्खर विवाह गरेको नवजोडीको नियति यस्तो होला भनी आफन्त र छरछिमेकीले सोचेकै थिएनन्। पत्नीको हत्या गरी मुकेशले आत्महत्या रोज्नुको स्पष्ट कारण खुलिसकेको छैन। छरछिमेकले बताएअनुसार एउटै गाउँका यिनीहरू प्रेमविवाह गरी विराटनगरमा डेरा लिएर बसेका थिए। विवाह दर्ता गरी आफूहरूको विवाहलाई कानुनी मान्यता दिन मुकेश हिचकिचाएका थिए। आफ्नो सुरक्षित भविष्यका लागि पति मुकेशले विवाह दर्ता गरिदिनुपर्ने मागसहित अम्बिका पुसको दोस्रो साता जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिन पुगिन्। यस मुद्दालाई प्रहरीले मोरङ अदालत पुर्यायो र विवाह दर्ता भयो। कानुनी रूपमा सम्बन्ध आधिकारिक त बन्यो, तर यसले आफ्नो अहंकारमा ठेस पुगेको अनुभव मुकेशले गरेछन् र हत्या हुँदै आत्महत्यासम्मको अवस्था सिर्जना भयो।

मोरङ, रंगेली-५ धनपट्टीका मुकेश मण्डल र अम्बिका मण्डल। तस्बिर : अनिल श्रेष्ठ
विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत २५ वर्षीया नर्स चन्द्रिकाकुमारी दासको हत्या १ चैत २०८१ मा भएको थियो। अस्पतालनजिकैको कोठामा २२ वर्षीय प्रेमी शिवशंकर दासले उनको हत्या गरेका थिए। नाताले सोल्टा-सोल्टिनी पर्ने सिरहाको लाहान-२१ घर भएका उनीहरू चार वर्षदेखि प्रेमसम्बन्धमा थिए। मोरङ प्रहरीका अनुसार प्रेममा धोका पाएको सनकमा शिवशंकरले चन्द्रिकाको ज्यान लिए र तीन दिनपछि आफूले पनि आत्महत्या गरे।
०००
सामान्यतः अन्य स्थानभन्दा घर र अरू व्यक्तिभन्दा आफन्त वा परिवारका सदस्यबाट व्यक्तिले सुरक्षित अनुभव गर्छ। कोसी प्रदेशमा पछिल्ला वर्षमा भएका हत्याका घटनाले यो मान्यता र विश्वासलाई उल्ट्याइदिएका छन्। आफन्त वा परिवारका सदस्यबाटै ज्यान लिने आपराधिक प्रवृत्ति बढ्दो देखिन्छ। विशेषतः विवाह तथा प्रेमसम्बन्धहरू क्षणिक आवेग, अविश्वास र शंकाको घेरामा परी बीभत्स हत्यामा परिणत हुन पुगेका छन्।
कोसी प्रदेशका १४ जिल्लाको पछिल्लो तथ्यांकले समाजमा हत्याहिंसाको बढ्दो ग्राफ देखाउँछ। प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखअनुसार प्रत्येक वर्ष सरदर नौ हजारभन्दा बढी अपराधका मुद्दा दर्ता हुने गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा मात्रै कोसीमा नौ हजार ४६१ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये १०३ वटा कर्तव्य ज्यानका मुद्दा छन्। डरलाग्दो पक्ष के छ भने, यी १०३ हत्याका मुद्दामध्ये ४९ वटामा आफन्त वा परिवारका सदस्य संलग्न थिए। यी ४९ वटा हत्याका मुद्दामा ५१ पुरुष र २१ महिला पक्राउ परेका थिए।
विगत चार वर्ष आठ महिना (२०७८ देखि २०८२ फागुनसम्म)को तथ्यांक हेर्दा कोसी प्रदेशमा आफन्तबाटै भएका हत्याका मुद्दा २०२ वटा पुगेका छन्। जसको अनुसन्धानका क्रममा १७८ पुरुष र ४२ महिला कानुनी कठघरामा उभिएका थिए।
आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ४१ वटा हत्याका मुद्दामा आफन्त नै संलग्न छन्। जसमा ३९ पुरुष र ६ महिला पक्राउ परेका थिए।
२०७९/८० मा दर्ता भएका ३८ वटा हत्याका मुद्दामा ३३ पुरुष र नौ महिला, २०८०/८१ मा दर्ता भएका ४५ वटा हत्याका मुद्दामा ३५ पुरुष र तीन महिला पक्राउ परेका छन्।
यस्तै, २०८१/८२ मा दर्ता भएका ४९ वटा हत्याका मुद्दामा ५१ पुरुष र २१ महिला पक्राउ परे भने चालु आव २०८२/८३ को फागुन मसान्तसम्म दर्ता भएका २९ हत्याका मुद्दामा २९ पुरुष र तीन महिला पक्राउ परेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। यी मुद्दामा पक्राउ परेकामध्ये अधिकांश आफन्त छन्।
किन क्रूर बन्दै छ परिवार?
सुरक्षा र हार्दिकताको केन्द्र मानिने घरपरिवार नै ‘असुरक्षाको कारखाना’ बन्दै गएको सुरक्षा अधिकारीहरूको अनुभव छ। कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार पारिवारिक किचलो, कुलत र मायाप्रेममा हुने धोकाकै कारण अपराधका घटना हुने गरेको देखिन्छ। “यस्ता हत्यामा एउटै मात्र कारण हुँदैन। आर्थिक, सामाजिक, मानसिक र यौनिक कारणहरू जेलिएका हुन्छन्,” डीआईजी घिमिरे भन्छन्, “अधिकांश हत्या आपसी विवाद, शंका र अविश्वासबाट सुरु हुन्छन्। विशेष गरी श्रीमतीमाथि हुने हत्यामा दम्पतीबीचको अधिकार असन्तुलन र लैंगिक हिंसा मुख्य कारक देखिन्छ।’ धेरैजसो घटना लागुऔषध र मदिरापानपछि हुने झगडाबाट सिर्जित हुने गरेको उनले बताउँछन्।
आफ्नो प्राथमिकताभन्दा बाहिरी आकर्षण र अनावश्यक शंकामा बढी लाग्नेहरू अपराधका घटनामा संलग्न हुन पुगेको मोरङ प्रहरी प्रमुख कवित कटुवाल बताउँछन्। लामो समयदेखि यस्ता अपराधको अनुसन्धान गरिरहेका कटुवाल भन्छन्, “आवेग नियन्त्रण गर्न नसक्दा र आफन्तलाई नै आफ्नो बाधक देख्दा यस्ता घटना घट्ने गरेका छन्।”
प्रविधिको प्रयोगले मानिसलाई एकाकी बनाएको छ। हार्दिकता हराउँदै जाँदा ससाना कुरामा पनि मानिसहरू क्रूर बन्न थालेका छन्।
डिग्री क्याम्पस विराटनगरका सहप्राध्यापक एवं समाजशास्त्री डिल्लीराम प्रसाईं पारिवारिक संरचनामा आएको तीव्र बदलावलाई यस्ता अपराधको मुख्य कारण मान्छन्। पछिल्लो समय बढ्दो प्रविधिको दुरुपयोग र व्यक्तिवादी सोचले सामूहिकता र हार्दिकतालाई सिध्याएको उनको बुझाइ छ।
“अहिले मानिसमा म र मेरो मात्र भन्ने सोच हाबी भएको छ। आफ्नो भावना मात्र प्रस्तुत गर्ने तर अरूको कुरा नसुन्ने प्रवृत्तिले सामूहिकता टुटेर गएको छ,” प्रसाईं विश्लेषण गर्छन्, “प्रविधिको प्रयोगले मानिसलाई एकाकी बनाएको छ। हार्दिकता हराउँदै जाँदा ससाना कुरामा पनि मानिसहरू क्रूर बन्न थालेका छन्।”
‘लैंगिक हिंसा बढे, प्रभावकारी कार्यक्रम आवश्यक’
मनोविमर्शकर्ता तथा दीर्घकालीन पुनःस्थापना केन्द्र, कोसीकी अध्यक्ष मन्जिता उपाध्याय पछिल्ला वर्ष लैंगिक हिंसा बढेको तथ्यांकदेखि चिन्तित छन्। समाजमा विद्यमान दण्डहीनताका कारण पुरुषले श्रीमती वा प्रेमिकाप्रति हिंसा गर्ने प्रवृत्ति बढेकाले कोसी प्रदेशलाई जोखिमपूर्ण क्षेत्रका रूपमा पहिचान गरी राज्यले ठोस र प्रभावकारी कार्यक्रमहरू ल्याउनुपर्ने उनको सुझाव छ।
प्रेमीले प्रेमिकाको पासवर्ड माग्ने, सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने र चरित्र हत्या गर्ने कार्यहरू सामान्य हुन थालेका छन्। अझ अहिले त एआईमार्फत नक्कली भिडिओ बनाएर अरूलाई मानसिक तनाव दिने र साइबर अपराध गर्ने प्रवृत्ति पनि बढेको छ।
“हिंसाको मुख्य कारण शक्ति र शक्तिहीनताबीचको खाडल हो। शक्ति हुनेले कमजोरलाई शासन गर्न खोज्ने प्रवृत्ति समाजमा हाबी छ,” मनोविमर्शकर्ता उपाध्याय भन्छिन्, “म पुरुष हुँ, मैले जे गरे पनि हुन्छ भन्ने पितृसत्तात्मक सोच र म पति वा प्रेमी हुँ, मैले जे भन्यो त्यही हुनुपर्छ भन्ने अहंकारले गर्दा हिंसा जन्मिएका छन्।”
उनका अनुसार विशेषतः बेरोजगारी, आर्थिक असमानता र पितृसत्तात्मक सामाजिक संरचनाले महिला हिंसा बढाएका छन्। अर्कातिर अचेल सामाजिक सञ्जाल हिंसाको एक प्रमुख आधार र माध्यम बन्न पुगेको छ। सामाजिक सञ्जालमा देखिने क्रिया, प्रतिक्रिया र अभिव्यक्तिलाई लिएर शंका-उपशंका गरी सम्बन्ध बिग्रँदै जाँदा अपराधसम्म पुग्नेहरूसमेत बढेको उनी बताउँछिन्। “प्रेमीले प्रेमिकाको पासवर्ड माग्ने, सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने र चरित्र हत्या गर्ने कार्यहरू सामान्य हुन थालेका छन्। अझ अहिले त एआईमार्फत नक्कली भिडिओ बनाएर अरूलाई मानसिक तनाव दिने र साइबर अपराध गर्ने प्रवृत्ति पनि बढेको छ,” मनोविमर्शकर्ता उपाध्याय भन्छिन्, “अन्य देशहरूमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध वा कडाइ गरिएजस्तै नेपालमा पनि यसको नियमन हुन जरुरी छ।”

कोमलकुमारी साहको हत्याको घटनाबारे जानकारी दिँदै मोरङ प्रहरीका अधिकारीहरू। तस्बिर : अनिल श्रेष्ठ
प्रहरीले मात्र अपराध नियन्त्रण गर्न नसक्ने हुँदा यसमा आमनागरिक, सामाजिक संघसंस्था र सरकारको प्रयास अत्यावश्यक रहेको उनको भनाइ छ। “घटना भइसकेपछि प्रहरीकहाँ जानु त छँदै छ, तर घटना घट्नै नदिनका लागि सामाजिक सचेतना र संगठित प्रयास हुनुपर्छ,” उनी भन्छिन्, “पछिल्लो समय कोसी प्रदेशमा नाबालिकहरूलाई हुने बलात्कार र यौनजन्य दुर्व्यवहारका घटना अत्यन्तै बढेका छन्, जुन समाजका लागि लज्जास्पद र चुनौतीपूर्ण छन्। यस्ता अपराध अनुसन्धानमा प्रहरीले काम गरिरहेपछि विशेषतः समाजमा विद्यमान पितृसत्तात्मक सोच बदल्न निकै कठिन भइरहेको छ।”
पढ्नुहोस् यो पनि