व्यक्तिवृत्त
६० अन्तर्राष्ट्रिय खेलमा ६६ गोल गरेकी साम्बा नेपालकै सर्वाधिक गोलकर्ता हुन्।
जवाहरलाल नेहरू स्टेडियममा अक्टोबर २०२५ मा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्वन्द्वी घरेलु टोली भारत थियो।
२४ अक्टोबर २०२५ मा इरानसँग ३-० ले पराजित हुँदै उपाधि होडबाट बाहिरिइसकेको नेपालका लागि त्यसको तीन दिनपछि भारतविरुद्धको खेल प्रतिष्ठाको विषयमा सीमित देखिन्थ्यो। तर, डेढ वर्षदेखि चुनौती दिँदै आएको भारतसँगको खेललाई नेपालले आत्मविश्वास पुनःस्थापित गर्ने अवसरका रूपमा समेत प्रयोग गर्यो।
सो खेलमा नेपालले २-१ को महत्वपूर्ण जित हात पार्यो। नेपालका लागि दुवै गोल गर्ने खेलाडी थिइन्, सावित्रा भण्डारी ‘साम्बा’।

आइलिगमा खेल्ने क्रममा साम्बा। तस्बिर स्रोत : द हिन्दु
त्यसकै दुई दिनपछि भारतसँगै भएको अर्को अनौपचारिक खेलमा भने नेपाललाई जित निकाल्न पेनाल्टी सुटआउटसम्म पुग्नुपर्यो। कतिसम्म भने, उक्त खेलमा त भारतीय टोलीका सिनियर खेलाडीसम्म थिएनन्।
गत नोभेम्बर र डिसेम्बरमा इन्डोनेसिया र चाइनिज ताइपेईसँग भएका दुई मैत्रीपूर्ण खेलमा समेत नेपालले पराजय बेहोर्नुपर्यो। हारको कारण पनि साम्बा नै मानियो। यी सबै खेलमा उनको अनुपस्थिति स्पष्ट रूपमा खड्किएको थियो।
अहिले नेपाल उनै ‘गोल मसिन’ साम्बाबिना थाइल्यान्डमा हुने भनिएको फिफा महिला सिरिजको तयारीमा छ। यसपछि यो टोली २५ मे देखि ७ जुन २०२६ सम्म भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिपको तयारीमा जुट्ने छ। तर, यी सबै खेलमा साम्बा हुनेछैनन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार, साम्बालाई चोटबाट रिकभर हुन नै करिब एक वर्ष लाग्नेछ।
“भर्खरै उनको घुँडाको अप्रेसन सकिएको छ। निको हुन कम्तीमा नौदेखि १२ महिना लाग्छ। त्यसैले साम्बाले यी प्रतियोगिता गुमाउनेछिन्,” शाह भन्छन्।
लमजुङ टु काठमाडौँ
साम्बाले ११-२१ नोभेम्बर २०१४ मा पाकिस्तानको इस्लामाबादमा आयोजित साफ महिला च्याम्पियनसिपमार्फत राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन्। सन् २०१० र २०१२ मा भारतसँग फाइनलमा पराजित हुँदै उपविजेता बनेपछि मुख्य प्रशिक्षक कुमार कटवालले टोलीमा केही परिवर्तन गरेका थिए। हुन् त त्यतिखेरसम्म विभागीय टोली एपीएफ क्लबकी स्ट्राइकर जमुना गुरुङ आफ्नो करिअरकै ‘पिक फर्म’ मा थिइन्।
उनले सन् २०१२ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा सर्वाधिक आठ गोल गर्दै नेपालको नम्बर वान स्ट्राइकरमा आफूलाई उभ्याएकी थिइन्। तर, अर्को संस्करणको साफ आउँदै गर्दा जमुना घाइते भइन्।

ग्वेन्ग्याम्पको जर्सीमा साम्बा। तस्बिर : ए लिग
त्यही बेला एपीएफमै आबद्ध १६ वर्षीया साम्बाको उदय भइसकेको थियो। प्रशिक्षक कटवालले उनलाई नै विकल्प बनाउने सोच बनाए। हुन त साम्बा आफैँ जमुनाको ‘डाई हार्ट’ फ्यान थिइन्।
लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा जन्मिएकी साम्बालाई बुवा थमन भण्डारी र आमा मुना भण्डारीले खेलभन्दा पढाइमा ध्यान दिन जोड दिएका थिए। तर, गाउँकै दाजुहरूले जमुना र अनु लामा जस्ता खेलाडीको नाम लिएर उनलाई त्यस्तै बन्न हौस्याइरहन्थे।
उनी पनि फुरुंग हुन्थिन्। एथलेटिक्स र भलिबलमा पनि अब्बल उनी सानैदेखि फुटबलमा बढी रमाउँथिन्। घरको काम र पढाइभन्दा उनको प्राथमिकतामा फुटबल नै हुन्थ्यो।
“आमाबुवाले काममा सघाउन भने पनि म मौका पाउनासाथ साथीसँगीसँग खेलमै व्यस्त हुन्थे। आँखा छलेर खेल्न जाने बानीले कहिलेकाहीँ गाली मात्र होइन, कुटाइ नै खानुपर्थ्यो,” उनी सम्झिन्छिन्।
विद्यालय जीवन उनको फुटबल यात्राको महत्त्वपूर्ण हिस्सा बन्यो। सुरुआत गाउँकै विद्यालयबाट भए पनि उनको प्रतिभा चाँडै प्रस्फुटन भयो। एक शिक्षकको पहलमा उनले स्थानीय क्लबबाट प्रतियोगितामा सहभागी हुँदै आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाइन्।
सन् २०१३ अन्त्यतिर लमजुङको घनपोखरामा आयोजित महिला फुटबल प्रतियोगिताबाट साम्बाको यात्रा नयाँ मोडमा प्रवेश गर्यो। उक्त प्रतियोगितामा सहभागी भएकी उनले आफ्नो टोलीलाई उपाधि दिलाउँदै १५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भइन्। त्यतिबेला उनकै गाउँका शुक्र तामाङ एन्फाको सहायक रेफ्री थिए। उनी पनि उक्त खेल हेर्न त्यहाँ पुगेका थिए।
शुक्र उनको खेलबाट छिनमै प्रभावित भइहाले। खेलपछि उनी नजिक आएर भने, ‘तिमी त निके राम्रो खेल्ने रै’छौ। मैल एपीएफमा चिनेका अफिसियल छन्। काठमाडौँ आउँछौ त खेल्न? सबै वातावरण म मिलाइदिन्छु।’
त्यतिबेला एसएलसी दिएर बसेकी थिइन्। उनीभित्र सहरमा गएर खेल्ने चाहना जागिसकेको थियो। अझ आफूले नाम मात्र सुनेका दिदीहरूसँग सँगै खेल्ने र ‘ड्रेसिङ रुम सेयर’ गर्ने अवसर पाउने कल्पनाले उनलाई झन् उत्साहित बनाइहाल्यो। त्यसैले प्रस्ताव आउनासाथ उनले कुनै ढिलाइ नगरी सहमति जनाइन्।
तर, त्यसपछि अपेक्षित रूपमा शुक्रको फोन आएन। समय बित्दै जाँदा उनी आत्तिन थालिन्। कहीँ हात लागेको अवसर नै गुम्ने त होइन भन्ने कुराले उनको बेचैनी बढायो।
उनको मन शान्त हुन झन्डै दुई महिना लाग्यो। अन्ततः शुक्रको फोन आयो। शुक्रले उनलाई हलचोकसम्म पुर्याएर एपीएफसँग आबद्ध गराइदिए।
“मेरा लागि त्यो ठाउँ बिल्कुलै नयाँ थियो। तर, अन्जान होइन। त्यहाँ जमुना दिदीको ठूलो पोस्टर थियो। मलाई पनि दिदी जस्तो कहिले बन्छु होला भन्ने लाग्थ्यो,” उनी भन्छिन्।
काठमाडौँमा विभागीय टोली एपीएफ क्लबमा व्यावसायिक प्रशिक्षण सुरु गर्दा जमुना गुरुङ, अनु लामा, सर्जना रानामगर र रेनुका नगरकोटी, भगवती थापालगायत सिनियर खेलाडी थिए। ती सबै खेलाडीको हौसलाले साम्बाको सुरुआती यात्रालाई सहज बनाइदियो।
१६ वर्षको उमेरमै काठमाडौँ आएर प्रशिक्षण सुरु गरेकी साम्बाका लागि एपीएफले राष्ट्रिय स्तरसम्म पुग्ने ढोका खोलिदियो। यही मोड उनको जीवनकै महत्वपूर्ण ‘टर्निङ पोइन्ट’ भन्न मिल्ने बताउँछन्, एपीएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे। “साम्बा र अञ्जिला तुम्बापो सुब्बालाई हामीले एक किसिमले स्काउटिङ गरेर क्लबमै भित्र्याएका हौँ। यसले हाम्रो क्लब मात्र होइन, देशकै फुटबललाई फाइदा पुर्यायो,” उनी भन्छन्।
सन् २०१० मा बाङ्लादेशको कक्स बजारबाट सुरु भएको प्रतियोगितादेखि नै नेपालले महिला फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको थियो। तर, हरेकपल्ट भारत नेपालको बाधक बनिरहेको थियो। फाइनलमा लगातार दुई हार बेहोरेपछि नेपाल सन् २०१४ को संस्करणमा उपाधि हात पार्ने लक्ष्यसहित इस्लामाबाद उडेको थियो। उक्त टोलीमा साम्बा पनि थिइन्।

साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा भारतविरुद्ध गोल गरेपछि जर्सी खोलेर सेलिब्रेसन गर्दै साम्बा। तस्बिर : एन्फा
नेपाल त्यतिखेर प्रतियोगिताकै कमजोर टोली भुटान रहेको समूह ‘बी’ मा परेको थियो। उक्त समूहमा यी दुईबाहेक श्रीलंका र पाकिस्तान पनि थिए।
साम्बाले भुटानविरुद्धको पहिलो खेलकै क्रममा मौका पाइन्। उनले उक्त खेलको ८८औँ मिनेटमा गोल गरिन्। सो खेल नेपालले ८-० ले जितेको थियो। यद्यपि, फाइनलसमेत गरेर पाँच खेल खेलेकी साम्बाको त्यो नै एक मात्र गोल रह्यो।
“राष्ट्रिय टिममा परिसकेपछि ममा खुसीको सीमा नै रहेन। त्यसमाथि परिवार (बुवा, ममी)मा पनि अझै धेरै खुसीको माहोल छाएको थियो। डेब्युमै गोल गर्न सक्नु मेरो लागि एकदमै ‘लक्की र प्राउड मोमेन्ट’ थियो,” उनी भन्छिन्।
तर, त्यसपछि उनको खेल झन् निखारियो। दुई वर्षपछि आयोजित साफ महिला च्याम्पियनसिपको चौथो संस्करणमा त उनले असाधारण क्षमता देखाइन्।
भुटानविरुद्धको पहिलो खेलमै नेपालले ८-० को फराकिलो जित निकाल्दा साम्बा एक्लैले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। यो उपलब्धि अहिलेसम्म पनि कीर्तिमानकै रूपमा कायम छ। यसलाई कुनै पनि नेपाली खेलाडीले तोड्न सकेको छैन। माल्दिभ्सविरुद्धको अर्को खेलमा पनि उनले पाँच गोल बर्साइन्। योसँगै नेपाल समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको थियो। तर, भारतसँगको भेटमा नेपाल फेरि निराश बन्यो। उनले एक गोल गरे पनि नेपाल ३-१ को हार बेहोर्दै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरियो। अर्को दु:खद पक्ष, सन् २०१६ मा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा पनि नेपालले सोही प्रतिद्वन्द्वीविरुद्ध ४-० को हार बेहोर्नुपर्यो।
उक्त खेलमा साम्बाको व्यक्तिगत प्रदर्शन मात्र होइन, समग्र टोलीकै लय खस्किएको देखियो। परिणामस्वरूप, नेपाल लगातार दुई प्रमुख प्रतियोगितामा उपविजेतामै सीमित हुन बाध्य बन्यो।
“हाम्रो पुरुष टोली पनि गुवाहाटीमा थियो भने हामीले सिलोङमा खेलेका थियौँ। घरेलु मैदान भएकाले भारतका समर्थक धेरै हुनु स्वाभाविक थियो। त्यसले हामीलाई केही नर्भस बनायो। तालमेल पनि राम्रो हुन सकेन, जसका कारण पराजित हुन पुग्यौँ,” उनी भन्छिन्।
त्यसयता नेपालले तीन पटक साफ च्याम्पियनसिप र एक पटक घरेलु मैदानमा साग खेलिसकेको छ। यसका अतिरिक्त एसियाड, हिरो गोल्डकप, नादेझ्दा कप, वाफ च्याम्पियनसिप, इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप, एएफसी एसियन कप छनोट तथा ओलम्पिक छनोटसम्मको प्रतिस्पर्धामा सहभागिता जनाइसकेको छ।
एसियाड, एसियन कप छनोट र ओलम्पिक छनोटबाहेक अन्य प्रतियोगितामा नेपाल साफमा तीन र अन्यमा एक एक पटक उपविजेतामै सीमित रह्यो।
हारजित जे भए पनि प्रायः यी सबै खेलमा साम्बा नै निर्णायक गोलकर्ता बनिन्। ६० अन्तर्राष्ट्रिय खेलमा ६६ गोल गरेकी साम्बा नेपालकै सर्वाधिक गोलकर्ता हुन्।
महिला राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक राजेन्द्र तामाङ भन्छन्, “उपाधि त ल्याउन सकेनौँ। तर, नेपाललाई यहाँसम्म ल्याउने साम्बा नै हुन्। उनी नभएको भए सायद हामी यो स्तरसम्म आइपुग्ने नै थिएनौँ। उनलाई सिकाउनुपर्ने खासै केही छैन। उनी आफैँमा पूर्ण खेलाडी हुन्।”
युरोपमा खेल्ने पहिलो महिला नेपाली खेलाडी
सन् २०१८ बाट उनले अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाउन थालेकी हुन्। त्यतिबेला महिला लिगको संरचनामा पनि केही सकारात्मक परिवर्तन देखिन थालेको थियो। तर, निरन्तर लयमा खेलिरहेको अवस्थामा २०१९ र २०२० मा कोभिड-१९ का कारण प्रतियोगिताहरू प्रभावित हुँदा उनको यात्रामा पनि अवरोध आयो।
२०२० पछि महिला लिग पुनः सञ्चालन हुँदा भने उनी गम्भीर चोटका कारण एक वर्ष मैदानबाहिर बस्न बाध्य भइन्। घुँडाको परीक्षण गर्दा ‘एसीएल’, ‘मेनिस्कस’ र ‘एलसीएल’ लगभग च्यातिएको थियो भने ‘एमसीएल ’मा पनि सामान्य चोट देखिएको थियो।
समग्रमा घुँडाको लिगामेन्ट संरचना नै कमजोर अवस्थामा पुगेको थियो। चिकित्सकहरूले शल्यक्रियापछि न्यूनतम नौ महिना, पूर्ण निको भएर फर्कन करिब एक वर्षसम्म लाग्न सक्ने बताएका थिए।
यसले उनलाई मानसिक रूपमा निकै दबाबमा पार्यो। उनी सम्झिन्छिन्, “त्यतिबेला त म फेरि फुटबलमा फर्कन सक्छु जस्तो लागेकै थिएन। अब खेल्न सक्दिनँ भन्ने अनुभूति हुन्थ्यो।” तर, कतारस्थित एस्पेटारमा उपचार गराएपछि २०२१ बाट उनले पुनः आफूलाई ‘रिस्टार्ट’ गर्ने अवसर पाइन्।
एस्पेटारबाट फर्किएपछि उनी भारतको लिग खेल्न गइन् र त्यहाँबाट पुनः आफ्नो लय समातिन्। सुरुमा दुई सिजन खेलेकी उनले पछि तीन सिजनसम्म इन्डियन लिगमा निरन्तरता दिइन्। यी सबै खेलमा ६० गोल गरिन्। तर, उनलाई भारतमै सीमित हुनु थिएन। उनी युरोपियन फुटबलमा आफूलाई स्थापित गर्न चाहन्थिन्।
त्यसका लागि आवश्यक एजेन्टको अभाव थियो। त्यही समयमा नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्ना एजेन्ट साथी लिन्डीसँग उनको सम्पर्क गराइदिए। उनले सम्बाको करिअरलाई नयाँ दिशा दिने आधार तयार गरे।
इन्डियन लिग सकिनासाथ साम्बालाई इजरायलको क्लब हापोएल रानानाबाट प्रस्ताव आयो। उक्त अवसरलाई सदुपयोग गर्दै उनले जुन २०२३ मा इजरायलसँग सम्झौता गरिन्। तर, करिब पाँच महिना त्यहाँ बिताएपछि युद्ध सुरु भयो, जसले उनको बसाइ अनिश्चित बनायो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बाङ्लादेशविरुद्ध साफ महिला च्याम्पियनसिप खेल्दै साम्बा। तस्बिर : एन्फा
उनी भन्छिन्, “युद्ध कहिले सुरु हुन्छ र कहिले रोकिन्छ भन्ने नै निश्चित थिएन। त्यसैले त्यहाँ बसिरहनु उपयुक्त लागेन।” त्यसपछि उनले इजरायल छाड्दै फ्रान्सको क्लब अभान्ट ग्वेन्ग्याम्पबाट हाफ सिजन खेल्दै नयाँ यात्रा सुरु गरिन्।
पहिलो हाफ सिजनमै उनले राम्रो प्रदर्शन गरिन्, जसले उनलाई क्लबसँग दुई वर्षको सम्झौता गर्न प्रेरित गर्यो। ग्वेन्ग्याम्पको जर्सीमा उनले सात गोल गरिन्, जसमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) विरुद्ध गरेका दुई गोल विशेष उल्लेखनीय छन्।
तर, उनको उत्कृष्ट व्यक्तिगत प्रदर्शनका बाबजुद टोलीलाई शीर्ष डिभिजनमा कायम राख्न पर्याप्त हुन सकेन। अन्ततः उनको क्लब सन् २०२५ मा रेलिगेसनमा पर्यो।
तर, अस्ट्रेलियाको बसाइ उनका लागि अपेक्षाअनुसार फलदायी बन्न सकेन। जुलाई २०२५ मा वेलिङ्टन फिनिक्सले उनीसँग दुई वर्षको सम्झौता गरेको घोषणा गरेको थियो।
२० डिसेम्बर २०२५ मा निन्जा ‘ए’ लिगअन्तर्गत सिड्नी एफसीविरुद्धको खेलमा उनले दुई गोल गर्नुका साथै एक असिस्ट पनि दिइन्। क्लबका लागि यो उनको चौथो उपस्थिति थियो, जहाँ उनी पहिलो पटक गोल गर्न सफल भइन्।

वेस्टर्न सिड्नीविरुद्धको खेलमा गोल गरेपछि वेलिङ्टन फोनिक्सकी सावित्रा भण्डारी। तस्बिर : आयुष कुमार
यस प्रदर्शनसँगै उनी ‘ए’ लिग महिलामा गोल गर्ने पहिलो नेपाली फुटबल खेलाडी बन्न सफल भइन्। तर, लगातारका चोट समस्याले उनको लयलाई फेरि अवरुद्ध बनायो।
३ जनवरी २०२६ मा ब्रिजबन रोअरकी गोलरक्षक चोले लिंकनसँग ठोक्किँदा उनको घुँडाको पुरानो चोट पुनः बल्झियो। त्यसयता मैदानबाहिर रहेकी साम्बाले अन्ततः गत २५ मार्चमा घुँडाको शल्यक्रिया गराएकी हुन्।
को छ विकल्प ?
उमेरले २९ वर्ष पार गरिसकेकी सावित्रा भण्डारी ‘साम्बा’ अब आफ्नो पुरानै लयमा फर्किन सक्छिन् वा सक्दिनन् भन्ने प्रश्न अहिले नेपाली महिला फुटबल वृत्तमा गम्भीर चासोको विषय बनेको छ। यसको उत्तर समयले दिनेछ, तर उनको अनुपस्थितिले राष्ट्रिय टोलीमा पारेको प्रभाव भने स्पष्ट रूपमा महसुस भइरहेको छ।
विशेषतः नम्बर ९ को भूमिकामा उनीजस्तो निर्णायक र निरन्तर गोल गर्ने खेलाडीको अभाव अहिले प्रस्ट देखिएको छ।
साफ च्याम्पियनसिप जस्तो महत्त्वपूर्ण प्रतियोगिता नजिकिँदै गर्दा साम्बाको चोटले टोलीको तयारीमा थप चुनौती सिर्जना गरेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेका लागि यो एक खेलाडीको अनुपस्थिति मात्र होइन, टोलीको रणनीतिक सन्तुलनमै आएको ठूलो रिक्तता पनि हो। उनी स्पष्ट रूपमा भन्छन्, “उनी जस्तो खेलाडी नै छैन।” यस अभिव्यक्तिले पनि राष्ट्रिय टोलीमा साम्बाको महत्त्व र प्रभाव कति छ भन्ने स्पष्ट पार्छ।
साम्बाको सफलता प्राकृतिक प्रतिभाको परिणाम होइन। त्यो अथक परिश्रम, अनुशासन र निरन्तर संघर्षको उपज हो। आफूलाई निरन्तर सुधार गर्ने दृढ इच्छाशक्ति बोकेकी खेलाडी हुन् साम्बा। कठिन परिस्थितिमा पनि हार नमानी अघि बढ्ने बानी र लक्ष्यप्रति अटल प्रतिबद्धता नै उनको पहिचान मानिन्छ।
यससँगै सकारात्मक सोच र बलियो मानसिकताले उनलाई राष्ट्रिय टोलीको मेरुदण्ड बनाएको न्यौपाने बताउँछन्।
“दबाबका क्षणमा संयम कायम राख्ने, चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्ने र टोलीलाई प्रेरित गर्ने क्षमता उनमा देखिन्छ। तर, अन्य खेलाडीमा त्यस्तो छैन,” उनी भन्छन्।
साम्बाको अनुपस्थितिमा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले हाल पूर्णिमा राई र सेनु परियारलाई अवसर दिइरहेका छन्। पूर्णिमा गत वर्ष साफ यू-२० महिला च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता हुन्। उनले नेपाललाई उपविजेता बनाउन दुई ह्याट्रिकसहित कुल १० गोल गरेकी थिइन्। सेनु परियारले पनि दुई गोल गर्दै आफ्नो क्षमता देखाइसकेकी छन्।
तर, सिनियर टोलीमा परिसकेकी पूर्णिमाले अझै औपचारिक रूपमा डेब्यु गर्न बाँकी छ भने सेनु राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउन प्रयासरत छिन्।
न्यौपाने भन्छन्, “यी दुई खेलाडीमा राम्रो सम्भावना देख्छु। तर, साम्बा दिदीले गर्ने म किन सक्दिनँ भन्ने आत्मविश्वास र मानसिकता अन्य खेलाडीमा देखिँदैन। जबसम्म त्यो भाव जन्मन्न, तबसम्म उनको स्थान लिन अरूलाई सजिलो हुँदैन।”