व्यक्तिवृत्त
नेपाली इतिहासको खोजमा आजीवन सक्रिय रहेका र नेपाल देशको नामकरण केलाएर महत्त्वपूर्ण ग्रन्थहरू दिएका ज्ञानमणि नेपाललाई राज्यले कदर नगर्नु उनको योगदानप्रतिको अन्याय हो।
मूर्धन्य ऐतिहासिक ज्ञानमणि नेपाल (विसं १९८९ वसन्त पञ्चमी – १ जेठ २०८१) भौतिक लोकबाट बिदा भएको दुई वर्ष भएछ। जीवनको उर्वर समय नेपाली इतिहासको अन्वेषण र लेखनमा समर्पण गरेका ऐतिहासिक ज्ञानमणि पक्का ज्ञानका मणि नै थिए। नेपाल देशलाई ऐतिहासिक प्रमाणका आधारमा विश्वसामु चिनाउन नेपाल निरुक्त र नेपालनिरुपणलगायत महत्त्वपूर्ण ग्रन्थहरू अमूल्य निधिका रूपमा नेपाली समाजलाई छाडेर उनी बिदा भए।
उपचारका लागि अस्पतालमा रहँदा शरीरका सबैजसो अंगले काम गर्न छाडिरहेको अवस्थामा पनि ज्ञानमणिको चेतना र स्मृति भने तलमाथि भएको थिएन। उनी जीवनको अन्तिम समयमा पनि नेपाली इतिहासकै बारेमा चिन्ता र चासो देखाइरहेका थिए।
यिनै ऐतिहासिकको दोस्रो स्मृति दिवसको साइतमा स्मृतिग्रन्थ इतिहासपुरुष ज्ञानमणि नेपालको लोकार्पण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट भयो। भण्डारीको पृष्ठभूमिले इतिहाससँग साइनो राख्ने भएकाले पनि यो संयोग महत्त्वपूर्ण भयो।
इतिहासको लहरो
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति हुनुले भण्डारीको ऐतिहासिक व्यक्तित्व निर्माण भयो। यस्तै, दुई पटक राष्ट्रपति हुनुले पनि उनको अर्को ऐतिहासिक अभिलेख सुदृढ भयो। यसअघि पहिलो महिला रक्षामन्त्री हुनुले पनि उनको एउटा ऐतिहासिक अभिलेख कायम भइसकेको थियो।
तर, उनको ऐतिहासिक लहरो योभन्दा पनि लामो छ। यसबारे संक्षिप्त चर्चा गरौँ।
पाल्पाका राजा मणिमुकुन्द सेनले कुमाउतिरबाट एक जना मन्त्री आफ्नो राज्यमा ल्याएका थिए। कुमाउबाट पाल्पा आएका तिनै मन्त्रीका छोरा गणेश पाँडे पछि गोरखाको छोप्राकमा गएर बसे। मणिमुकुन्द सेनको राज्य टुक्रिँदा चौबिसी राज्यमा परिणत भएपछि निराश भएका कलिला गणेश पाँडे भाग्यको खोजीमा पूर्व लाग्दा गोरखा, छोप्राकको बेलबास गाउँ आइपुगे भन्ने चर्चा पाँडेहरूले गर्ने गरेका छन्।
लमजुङबाट द्रव्य शाहलाई गोरखा झिकाएर त्यहाँका खड्का मगरको राज्य मासी शाहवंशलाई त्यहाँ स्थापित गर्ने सेनानायकका रूपमा गणेश पाँडेको चर्चा ऐतिहासिकहरूले गरेका छन्। उनै गणेश पाँडेका पनाति, जगतलोक पाँडेका नाति काजी कालु पाँडे राजा पृथ्वीनारायण शाहका रोज्जा र भरपर्दा सेनानायक थिए। उनीबारे इतिहासमा प्रशस्तै चर्चा भएको छ। कालु पाँडेले विसं १८१४ को युद्धमा कीर्तिपुरमा ज्यान गुमाउँदा पृथ्वीनारायण शाहले आफूले दाहिने हात नै गुमाएको अभिव्यक्ति दिएका थिए।

ज्ञानमणि नेपाललाई पुस्तक उपहार दिँदै ज्ञानगुन प्रकाशनका सम्पादक शेषराज शिवाकोटी।
कालुका छोराहरूमध्ये जेठा वंशराज रानी राजेन्द्रलक्ष्मी र काजी स्वरूपसिंह कार्कीको कोपभाजनमा परी भण्डारखालमा काटिए। दामोदर पाँडे भने स्वामी महाराज रणबहादुर शाह र भीमसेन थापाको योजनामा भद्रकालीमा काटिए।
कालुका छोरामध्ये वंशराज जेठा र दामोदर कान्छा हुन्। उनीहरूसँगै कालुका माहिला छोरा थिए, सरदार रणशूर पाँडे। पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानका क्रममा उनी पूर्वतिर खटिएका थिए। उनको सन्ततिले त्यतै जागिर पाएर भोजपुरको मानेभन्ज्याङ र यसको आसपासमा बसोबास सुरु गरे। पाँडे वंशलताअनुसार रणशूरका सातौँ पुस्ताका तिलकबहादुरका दुई पत्नीमध्ये जेठी भीमकुमारीतिरबाट माहिला छोरा रामबहादुर जन्मिए, उनका दुई छोरी र तीन छोरामध्ये जेठी सन्तानका रूपमा विद्यादेवीको जन्म भएको हो।
यताबाट हेर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी (पहिले पाँडे)को इतिहासको लहरो उल्लेखनीय छ।
उनै ऐतिहासिक व्यक्तित्व इतिहासकार ज्ञानमणि नेपालको दोस्रो स्मृति दिवसमा सरिक हुनुलाई सुखद संयोग मान्नुपर्छ। अर्को संयोग पनि के भने, दुवै भोजपुर जिल्लाबासी, ज्ञानमणि सिक्तेलका र विद्यादेवी मानेभन्ज्याङकी।
इतिहासको खोजीमा ज्ञानमणि
भोजपुरबाट ज्ञानको तिर्खा मेट्न ज्ञानमणि काठमाडौँ आइपुग्दा नेपालमा राणाशासनको अन्धकार थियो। अलि उदारवादी पद्मशमशेरले केही सुधार गर्न खोजे पनि मोहनशमशेर जस्ता अनुदारवादीहरूको चर्को घेराबन्दीमा थिए उनी।
ज्ञानमणिले आफ्नो प्रारम्भिक शिक्षा नयराज पन्तले सुरु गरेको गुरुकुलीय पाठशालाबाट सुरु गरे। त्यो त्यहीँ पाठशाला हो, जहाँबाट एक से एक विद्वान्हरू निस्के। नेपालको इतिहास अन्वेषणको क्षेत्रमा नयराज पन्तका चेलाहरूको योगदान उच्च कोटिको छ। तिनै विद्वत् चेलामध्येका एक हुन्, ऐतिहासिक ज्ञानमणि नेपाल।
जीवनमा ४० भन्दा बढी इतिहासका कृतिहरू नेपाली समाजलाई समर्पण गरेका उनको विषयविज्ञताको उपयोग त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) र तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट प्रचुर मात्रामा भयो। भौतिक रूपमा उनको चोला उठेर के भो, उनी एक उज्यालो नक्षत्रका रूपमा नेपाली आकाशमा चम्किरहनेछन्।
उनले प्रकाशनमा ल्याएका कृतिहरूमध्ये नेपालको महाभारत विरलाकोटीको कृति हो। राजा पृथ्वीनारायण शाहको अवसानपछि र जंगबहादुरले आफूलाई सत्तामा पुर्याउन मच्चाएको रक्तपातपूर्ण कोतपर्वसम्मका राजनीतिक दुर्घटनालाई उनले ऐतिहासिक प्रमाणका आधारमा कोण-प्रतिकोणबाट नियालेर यो कृति प्रकाशनमा ल्याएका हुन्। देशको राजनीतिक सप्रे सबैथोक सप्रन्छ, राजनीति बिग्रिए सबैथोक बिग्रन्छ। नेपालको राजनीति कसरी बिग्रँदै गयो भन्ने थाहा पाउन नेपालको यो कृति पढ्नैपर्छ। हिजोका कमीकमजोरी पहिल्याएर वर्तमानमा त्यसको समीक्षा गर्दै भविष्य सपार्न उपायहरू अवलम्बनका लागि पढ्नुपर्ने विधा हो इतिहास। तर, नेपालको नेतृत्वले इतिहास पढेर त्यसबाट कहिल्यै पाठ सिक्न नसक्दा ज्ञानमणि नेपालले बडो दुःख गरेर, प्रशस्तै पसिना र विवेक प्रयोग गरेर प्रकाशनमा ल्याएको कृति नेपालको महाभारत ‘भिल्लको देशमा मणि’ हुन पुगेको छ।
उनले यो कृति यस्तो समयमा प्रकाशनमा ल्याए, जतिबेला संवैधानिक रूपमा भए पनि राजतन्त्र जीवित थियो। यस अर्थमा उनले आफूलाई अत्यन्तै हिम्मतिला ऐतिहासिकका रूपमा प्रस्तुत गरे। उनका अरू कृतिहरू पनि ऐतिहासिक महत्त्वका छन्।
योगदानको कदर खोइ?
नयराज पन्तको गुरुकुलीय पद्धतिमा आधारित अध्ययनपछि ज्ञानमणि नेपाल भोजपुरमा गई विद्यालय खोली अध्यापनमा मग्न थिए। अध्यापन कार्यको व्यस्तता बाबजुद उनी इतिहास अनुशीलनमा उत्तिकै लगनशील थिए। पछि उनी ज्ञानको फराकिलो आकाशमा उडान भर्न काठमाडौँ आए। उनले सिनास र प्रज्ञा-प्रतिष्ठानमा रहेर इतिहासको खोजी र लेखनलाई विशिष्ट रूपमा अगाडि बढाएको प्रसंग माथि उल्लेख भइसकेको छ।
यति धेरै प्राज्ञिक कर्म गर्दा उनलाई राष्ट्रले कति कदर गर्यो? आज यस प्रश्नको जवाफ कसले दिने?
माथि पूर्वराष्ट्रपति विद्यादेवी र उनको ऐतिहासिक बिरासत बोकेको वंशलताको विषयमा चर्चा गर्नुको सन्दर्भ यहाँनेर जोडेर केही कुरा बोल्नु अत्युक्ति हुनेछैन।
राष्ट्रपतिका रूपमा एक दशक बिताउँदा होस्, वा त्योभन्दाअघि मन्त्री भएर राज्य सञ्चालनमा संलग्न रहँदा होस्, विद्यादेवी शक्तिमा थिइन्। त्यसबेला ऐतिहासिक ज्ञानमणिलाई राज्यबाट कदर गर्ने विवेक उनमा किन भएन? शीतल निवासमा रहेर कैयौँ व्यक्तिलाई मान, पदवी र विभूषणहरूले सुशोभित गर्दा इतिहासको खोजी र लेखनमा विशिष्ट योगदान पुर्याउने ज्ञानमणि नेपालको अनुहारको खोजी उनले किन गरिनन्?
निरंकुश पञ्चायती शासनकालमा ज्ञानमणिले विभूषण नपाउनु स्वाभाविकै थियो। किनकि, उनी प्रजातन्त्रवादी थिए। बीचमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र त थियो, तर विभूषण वितरण गर्ने जिम्मा र अधिकार राजदरबारकै भएकाले ज्ञानमणिको छातीमा विभूषण अटाएन भन्न गाह्रो छैन। बरु पञ्चायतकालमा परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक कागजपत्र अध्ययनका क्रममा उनलाई राजदरबारले पटक पटक अवरोध खडा गरेको थियो।
उनलाई राजदरबारले किन कदर गरेन? किनकि, उनले २०५० सालमै नेपालको महाभारत प्रकाशनमा ल्याइसकेका थिए, जहाँ पृथ्वीनारायण शाहका उत्तराधिकारीहरू प्रतापसिंह शाह, रणबहादुर शाह, राजेन्द्रविक्रम, सुरेन्द्रविक्रमका साथै भीमसेन थापा, माथवरसिंह थापा, जंगबहादुर आदिलाई नेपाली राजनीतिको खलपात्रका रूपमा प्रस्तुत गरेका छन्। बरु उनले पृथ्वीनारायण शाह, राजकुमार बहादुर शाह, कालु पाँडे, दामोदर पाँडे, अमरसिंह थापा आदिलाई नेपालका नायकका रूपमा प्रस्तुत गरेका छन्। उनै रणबहादुरका सन्तान राजगद्दीमा आसीन भएको दरबारले उनलाई विभूषणयोग्य नठान्नु अस्वाभाविक थिएन। तर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले पनि ज्ञानमणि नेपाललाई नसम्झनु सोह्रै आना अन्याय हो। त्यसमा पनि राष्ट्रको सर्वोच्च पदमा विद्यादेवी भण्डारी थिइन्, जो ज्ञानमणिलगायत ऐतिहासिकले नेपालको नायक पात्रका रूपमा प्रस्तुत गरेका कालु पाँडेका सन्तति हुन्।
यस्तै, हरेक वर्ष राज्यले विभिन्न विधामा नेपाली प्रतिभाहरूलाई राष्ट्रिय स्तरका पुरस्कार समर्पण गर्दै आएको छ। इतिहासको विधामा योगदान गर्ने प्रतिभालाई पनि यो पुरस्कार दिने गरिएको छ। तर, आफूभन्दा कनिष्ठहरू पुरस्कारले पुरिइसक्दा अग्रज ज्ञानमणिलाई सम्झने कोही देखिएनन्। यसको सट्टा विद्वत्पूजक शेषराज शिवाकोटीले आफ्नै खल्तीबाट खर्च निकालेर सञ्चालन गरेको ज्ञानगुन प्रकाशनमार्फत आउने अभिनन्दन ग्रन्थहरू ऐतिहासिक ज्ञानमणिको चित्त बुझाउने माध्यम बने।
हामीसँग ज्ञानमणि जीवितै हुँदा उनको उचित कदर गर्न नसकिएको पछुतो मात्रै बाँकी छ।