व्यक्तिवृत्त
जिन्दगीभर विद्याको साधनामा लागेर नेपालको प्रामाणिक इतिहास प्रस्तुत गरी राष्ट्रको गौरव बढाउने एउटा विद्वान्को देहान्त बेखबर बन्छ र उनको शव घरनजिकैको अस्पतालमा बेवारिसे बन्छ भने त्योभन्दा नमजा अरू के हुन सक्छ?
काठमाडौँ सहरकै केन्द्र महाबौद्धको मासंगल्लीमा पैतृक घर। पैतृक व्यवसाय आयुर्वेदिक औषधोपचार र व्यापार। तर, धनवज्र वज्राचार्यले पितापुर्खाको पेसा नअपनाई विद्याको क्षेत्र रोजे, र यसैमा सम्पूर्ण जीवन समर्पित गरे।
नेपाली इतिहासको खोज, अध्ययन, अनुसन्धान, विश्लेषण र लेखनमा लाग्दा उनी भोकप्यास, दु:खकष्ट र शारीरिक पीडाको वास्ता गर्दैनथे। आफ्नो कामप्रतिको निरन्तरको लगावका कारण शारीरिक व्यथाले च्याप्दै लगे पनि रोगको निदान गर्नतिर उनी लागेनन्। अन्ततः दुवै मिर्गौलाले राम्ररी काम गर्न छाडे। आर्थिक अभावका कारण समयमै मिर्गौला प्रत्यारोपण गर्न सम्भव भएन, र उनले असमयमै भौतिक संसार छाडे। ६३ वर्षको आयु बाँच्दा उनले आफ्नो जीवनको एक पल पनि खेर फालेनन्। नेपाली इतिहास जगत्का एक विरलाकोटी प्रतिभा आफैँमा इतिहास भए।
उच्च अदालतको कामु मुख्य न्यायाधीशबाट सेवानिवृत्त भई हाल अध्ययन, अनुसन्धान, सम्पादन र प्रकाशनमार्फत विद्वत्पूजनमा समर्पित शेषराज शिवाकोटी त्यतिबेला नेपाल सरकारको न्याय सेवातर्फ उपसचिव थिए।
शिवाकोटी परे, तरुण वयमा इतिहासकार डा. जगदीशचन्द्र रेग्मीको सहायक भएर इतिहासको क्षेत्रमा हात हालिसकेका अनुसन्धाता। यही इतिहासप्रेमले डोर्याएर उनलाई बेलाबेला कलंकीस्थित इतिहासकार ज्ञानमणि नेपालको निवासमा पुर्याउँथ्यो। त्यो दिन आफूलाई भेट्न आएका शिवाकोटीसँग ज्ञानमणिले भनेछन्, ‘हाम्रा साथी धनवज्र साह्रै बिरामी छन्। उपचार गर्न खर्च पनि छैन। केही गर्न सकिन्छ कि!’

‘लिच्छविकालको अभिलेख’ का लागि २०३० सालमा मदन पुरस्कार ग्रहण गर्दै धनवज्र वज्राचार्य।
यो कुरा थयो, २०५१ वैशाख दोस्रो साताको।
एक नेपाली विद्वान् गम्भीर रोगका कारण व्यथित रहेको थाहा पाएपछि शिवाकोटी गुरु ज्ञानमणिसँग बिदा मागेर कलंकीबाट ट्याम्पो चढी वायुसेवा निगमअगाडि उत्रे, अनि सरासर धनवज्रको निवास पुगे। तर, केही पारिवारिक सदस्यले उनलाई भेट्न नमिल्ने भन्दै रोक्न खोजे। शिवाकोटी भने उनीहरूको आँखा छली धनवज्रको शयनकक्षमा पुगे।
त्यतिखेर धनवज्र असाध्य रोगसँग संघर्ष गरिरहेका थिए। आफूलाई भेट्न आएको देखेर धनवज्रको अनुहार उज्यालो भयो।
यी विद्वान् र विद्वत्पूजकले तत्कालै क्षेमकुशल आदानप्रदान गरे। धनवज्रबाट थाहा भयो– चिकित्सकहरूले मिर्गौला फेर्न भारतको मद्रास जान सुझाएका छन्। मिर्गौला फेर्न मात्रै दुई लाख खर्च गर्नुपर्ने हुन्छ, तर त्यति धेरै रकम उनीसँग छैन।
त्यसबखत मिर्गौला फेर्दा लाग्ने रकम दुई लाख पनि ठूलो रकम थियो। यो वृत्तान्त सुनेपछि शिवाकोटीको मनमा उनलाई बचाउन केही न केही गर्ने अठोट उत्पन्न भयो।
दुःखको कुरा, उनको देहान्तपछि शोकसभा आयोजना गर्न पनि कसैलाई फुर्सद भएन। स्मृति प्रतिष्ठान बनाएर उनको कृतित्व र व्यक्तित्वलाई प्रकाशमा ल्याउने त टाढाको कुरा भयो।
त्यही अठोट बोकेर उनी सरासर न्यु प्लाजा पुगी साप्ताहिक युगसंवादमा धनवज्रको गम्भीर स्वास्थ्य अवस्थाबारे आफैँ समाचार तयार पारी सम्पादकलाई बुझाए। त्यसपछि उनी कालिकास्थान उक्ले, साप्ताहिक समीक्षाको कार्यालयमा। उनलाई सम्पादक विनोद दीक्षितबाट धनवज्रबारे एउटा लेख लेख्न आग्रह आयो। कर्तव्यबोधले बाँधिएका उनले त्यो पनि पूरा गरे।
यी दुई अखबारमा शिवाकोटीले चलाएको अभियान प्रभावकारी रह्यो। त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. केदारभक्त माथेमाको दृष्टि उक्त समाचार र लेखमा परेछ।
विश्वविद्यालयको सिनास (पहिले इनास)मा १९ वर्ष सेवा गरे पनि उमेरहदका कारण धनवज्र पेन्सन नपाक्दै निवृत्त भएका थिए। उपकुलपति माथेमाले आफ्नो अधिकार प्रयोग गरेर एक वर्ष सेवाअवधि थप गरी धनवज्रलाई पेन्सन पाउन योग्य बनाए। उनको बाँकी रहेको सात वर्षको एकमुस्ट पेन्सन १९ असार २०५१ मा बैंकमा जम्मा भयो। तर, समय घर्किसकेको थियो, बैंक खातामा पेन्सन जम्मा भएको भोलिपल्टै धनवज्रले भौतिक लोक छाडे। आफ्नो सम्पूर्ण जीवन नेपाली इतिहासको खोजीमा बिताएका उनी आफैँ इतिहास भए। अहिले त उनलाई सम्झनेको संख्या पनि दिनदिनै पातलिँदो छ।
व्यक्तिगत रूपमा धनवज्रको जीवनका उत्तरार्द्धका क्षणहरू सुखमय रहेनन्। २० असार २०५१ दिउँसो उनी एक्लै नियमित मिर्गौला डायलासिसका लागि घरबाट पैदलै वीर अस्पताल पुगेका थिए। उनको घरबाट वीर अस्पतालनजिकै छ, दुई मिनेटको दूरीमा।

त्रिभुवन विश्वविद्यालयमा विद्वत् प्रवचन दिँदै धनवज्र वज्राचार्य।
तर, डायलासिसकै क्रममा उनको देहान्त भयो। त्यसपछि उनको शव कसलाई बुझाउने भन्नेबारे अस्पताल प्रशासन दुईतीन घण्टा अलमलियो। केही समय त अस्पतालले उनलाई मुर्दाघरमा राख्नुपरेको थियो। बल्ल उनीहरूले उनको घर अस्पतालबाट नजिकै रहेको थाहा पाए, खबर गरेपछि परिवारका सदस्यहरूले उनको शव बुझ्ने काम गरे।
जिन्दगीभर विद्याको साधनामा लागेर नेपालको प्रामाणिक इतिहास प्रस्तुत गरी राष्ट्रको गौरव बढाउने एउटा विद्वान्को देहान्त बेखबर बन्छ र उनको शव घरनजिकैको अस्पतालमा बेवारिसे बन्छ भने त्योभन्दा नमजा अरू के हुन सक्छ?
अझ दुःखको कुरा, उनको देहान्तपछि शोकसभा आयोजना गर्न पनि कसैलाई फुर्सद भएन। स्मृति प्रतिष्ठान बनाएर उनको कृतित्व र व्यक्तित्वलाई प्रकाशमा ल्याउने त टाढाको कुरा भयो।
इतिहास लेखन र संशोधनमा पाइला
नयराज पन्तले स्थापना गरेको गुरुकुलीय पद्धतिमा आधारित पाठशालाका एक उत्कृष्ट शिष्य हुन्, धनवज्र।
उनी १८ वर्षसम्म उनै गुरुकुलीय परम्पराको अध्ययनबाट दीक्षितहरूद्वारा स्थापित संशोधन-मण्डलको एक परिपक्व सदस्यका रूपमा इतिहास अध्ययन, अन्वेषण र संशोधनमा सक्रिय रहे। २१ जना इतिहास संशोधकमध्ये ६ जनालाई र संशोधन मण्डलका सबभन्दा कान्छा सदस्यलाई संस्कृत भाषा र शोध पद्धतिमा प्रवेश गराउनमा उनको महत्त्वपूर्ण योगदान रह्यो। आफ्ना गुरु नयराजका पुत्रहरू महेशराज पन्त र दिनेशराज पन्तका पनि उनी गुरु हुन्।
नयराज पन्तका शिष्यहरूले ५ असोज २००९ मा एउटा पर्चा छापेर वितरण गरे। पर्चामा ‘इतिहासकारहरूको असावधानीले गर्दा छोरा बाबु, बाबु छोरा भएर कान्तिपुर मल्ल राजाहरूको भ्रमको प्रमाणसहित निराकरण’ भन्दै इतिहास संशोधन (संख्या १) छापियो। नयराज पन्तका शिष्यहरू केशवमणि आदि, महेन्द्रनाथ अधिकारी र सुरेन्द्रनाथ अधिकारी यस पर्चाका लेखक तथा प्रकाशक थिए। उनीहरूले अम्बिकाप्रसाद उपाध्यय, रामजी उपाध्यय र बालचन्द्र शर्माले लेखेको इतिहासका पुस्तकमा भएका गल्तीहरू औँल्याएर यस्तो पर्चा वितरण गरेका थिए।
उनीहरूले संगठित रूपमै इतिहास संशोधन तथा अन्वेषण गर्ने उद्देश्यका साथ विसं. २०१८ मा गुरु नयराजकै निर्देशनमा काठमाडौँ मजिस्ट्रेट अफिसमा ‘संशोधन-मण्डल’ नामको संस्था विधिवत् दर्ता गराए। भोलानाथ पौडेल अध्यक्ष रहेको यस संस्थामा नयराजकै गुरुकुलीय पाठशालाका विद्यार्थीहरू धनवज्र वज्राचार्य सचिव र कोषाध्यक्ष देवीप्रसाद भण्डारी थिए भने सदस्यहरूमा रामजी तेवारी, शंकरमान राजवंशी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल र दिनेशराज पन्त थिए। उनीहरूले नेपाली इतिहास लेखनमा शुद्धीकरणका लागि विशिष्ट कोटिको अभियान सञ्चालन गरे।
संशोधन-मण्डलले प्रकाशन गरेको इतिहासप्रधान पत्रिका पूर्णिमा इतिहास अध्ययनमा चासो राख्ने तथा अनुसन्धानमा लाग्नेका लागि एउटा भरपर्दाे सन्दर्भस्रोत हुन पुगेको छ।
२००९ सालदेखि २०२७ सालसम्म १८ वर्ष धनवज्र संशोधन-मण्डलमा आबद्ध रहेर इतिहासको खोजीमा सक्रिय रहे। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयको अनुसन्धान संस्था नेपाल अध्ययन संस्थान (पछि नेपाल र एसियाली अध्ययन केन्द्र) केन्द्रमा आबद्ध भई इतिहास अध्ययन र लेखनलाई निरन्तरता दिए। उनी गम्भीर रोगसँग संघर्ष गरिरहेको बेला ‘मध्यकालको अभिलेख’ पुस्तकबारे अनुसन्धान र सम्पादनमा तल्लीन थिए। यस कृतिमा मल्लकालीन ललितपुर राज्यअन्तर्गत रहेका अभिलेखहरूको अध्ययन र ऐतिहासिक विश्लेषण गरिएको छ।
धनवज्र र उनी जस्ता विद्वत् व्यक्तित्वको जन्म भएकैले नेपालको प्राचीनदेखि शाहकालसम्मका अभिलेखहरूको उतार र त्यसको अनुवाद र सरल रूपमा गरिएको ऐतिहासिक विवेचना अध्ययन गर्ने अवसर हामीलाई प्राप्त भयो।
धनवज्रले एकल तथा सहलेखनका साथै सम्पादन गरी प्रकाशनमा ल्याएका इतिहासका महत्त्वपूर्ण ग्रन्थहरू कौटल्यको अर्थशास्त्रको ऐतिहासिक व्याख्या (२००९), इतिहास संशोधन (२०१० देखि २०२० सम्म), शक्तिबल्लभ अर्ज्यालको जयरत्नाकर नाटक (२०१४), गल्लीमा फ्याँकिएको कसिङ्गर (२०१८), इतिहास संशोधनको प्रमाणप्रमेय (२०१९), पण्डित सुन्दरानन्द विरचित त्रिरत्न सौन्दर्य गाथा (२०१९), ऐतिहासिक पत्र संग्रहको दोस्रो भाग (२०२१), पूर्णिमा पत्रिका (पूर्णांक १ देखि २४ सम्म अनुसन्धानमूलक लेख), गोरखाको ऐतिहासिक सामग्री (२०२७), टिस्टुङ पालुङ भेगको ऐतिहासिक सामग्री (२०२८), लिच्छविकालका अभिलेख (२०३०), दोलखाको ऐतिहासिक रूपरेखा (२०३१), नुवाकोटको ऐतिहासिक रूपरेखा (२०३२), पञ्चाली शासन पद्धतिको ऐतिहासिक रूपरेखा (२०३५), शाहकालका ऐतिहासिक सामग्री (२०३७), द गोपाल राजवंशावली (२०४२), मध्यकालको अभिलेख (२०५६), गोपाल राजवंशावलीको ऐतिहासिक विवेचना (२०६४) आदि हुन्।
उनले ज्ञानमणि नेपाल, तुलसीराम वैद्य, कमलप्रकाश मल्ल, टेकबहादुर श्रेष्ठलगायत विद्वान्हरूसँग सहलेखन गरे। इतिहासप्रधान पत्रिका पूर्णिमाको कहिले प्रबन्धक र कहिले प्रकाशकको जिम्मेवारीमा रहेर यसको संस्थागत विकासमा ठूलो योगदान दिएका छन्, उनले।
धनवज्र र उनी जस्ता विद्वत् व्यक्तित्वको जन्म भएकैले नेपालको प्राचीनदेखि शाहकालसम्मका अभिलेखहरूको उतार र त्यसको अनुवाद र सरल रूपमा गरिएको ऐतिहासिक विवेचना अध्ययन गर्ने अवसर हामीलाई प्राप्त भयो।
धनवज्र-स्मृतिमा एक्लो अभियान
विरलाकोटीको यी विद्वत् इतिहासकारलाई सम्मान गर्न अथक प्रयास गर्ने विद्वत्पूजक हुन्, पूर्वन्यायाधीश शेषराज शिवाकोटी। धनवज्र बिरामी अवस्थामा रहँदा शिवाकोटीले उनलाई दीर्घजीवन प्रदान गर्ने प्रयास गरेकोबारे माथि नै चर्चा भइसकेको छ। मरणोपरान्त पनि धनवज्रको स्मृतिमा सिर्जनात्मक गतिविधिबाट शिवाकोटीले आफूलाई अछुतो राख्न सकेका छैनन्।
धनवज्र जस्तै विद्वान्हरूको स्मृति र अभिनन्दन गर्दै आएका शेषराजले आजसम्म २०० भन्दा बढी ग्रन्थ प्रकाशन गरिसके। तीमध्ये धनवज्रसम्बन्धी मात्र ११ वटा स्मृतिग्रन्थ प्रकाशन गरिसकेका छन्। उनले धनवज्रका गुरु नयराज पन्तको जन्मजयन्तीको अवसर पारेर २६ साउन २०६४ मा आफ्नो सम्पादनमा धनवज्र वज्राचार्य : स्मृति र स्पन्दन नामक ३०० पृष्ठको ग्रन्थ प्रकाशनमा ल्याए। यसमा ७५ पृष्ठ लामो भूमिका धनवज्रका चेला डा. महेशराज पन्तले लेखेका छन्। २०७१ सालमा उनले धनवज्र वज्राचार्य : दृष्टिकोण ग्रन्थ प्रकाशमा ल्याए। यसमा पनि डा. पन्तले १५ पृष्ठ लामो भूमिका लेखका छन्। अब धनवज्रसम्बन्धी दुई वटा ग्रन्थ प्रकाशोन्मुख छन्।

यसले मात्र यी विद्वत्पूजकलाई चित्त बुझेन। उनले ‘धनवज्र वज्राचार्य शोध सम्मान र पुरस्कार’ समेत स्थापना गरी नेपाली इतिहासको क्षेत्रमा विशिष्ट योगदान दिने केही विद्वान्हरूलाई समर्पण गरिसकेका छन्।
इतिहासको खोजीमा धनवज्र मोडेल
नेपालको इतिहास लेखन विदेशीहरूबाट सुरु भएको छ। नेपालबारेमा लेखिएको पहिलो इतिहाससम्बन्धी ग्रन्थ हो, २१५ वर्षअघि लेखिएको विलियम कर्कप्याट्रिकको एन एकाउन्ट अफ् किङडम अफ् नेपाल। त्यसको आठ वर्षपछि फ्रान्सिस बुकानन ह्यामिल्टनले लेखेको एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाल नेपालको इतिहासबारे लेखिएको पहिलो छिमलको पुस्तक हो।
ह्यामिल्टनले लेखेको १०३ वर्षपछि मात्र बनारसबाट अम्बिकाप्रसाद उपाध्ययले नेपालको इतिहास प्रकाशमा ल्याए। नेपाली लेखकले लेखेको नेपालको इतिहाससम्बन्धी यो पहिलो पुस्तक हो। कर्कप्याट्रिक र ह्यामिल्टनको किताबलाई मात्र सन्दर्भग्रन्थ मानेर इतिहास लेखियो भने नेपाली इतिहासको तथ्य छेउ-टुप्पो नमिल्न सक्छ। किनकि, अभिलेखको अध्ययन गरेर होइन, मानिसको कुरा सुनेर लेखिएका ग्रन्थ हुन् यी। उपाध्ययले लेखेको इतिहासकै गल्ती औँल्याएर संशोधन-मण्डलले इतिहास संशोधनको काम सुरु गरेको थियो।
यस्तै, भारत, गुजरातका विद्वान् भगवानलाल इन्द्राजीले गेओर्ग ब्युलरसँगको सहलेखनमा विसं १९३७ मा ‘दि इन्डियन यान्टिक्विटी’ मा प्रकाशन गरेको ‘इन्क्रिप्सन फ्रम नेपाल’ नेपाली इतिहासको प्रामाणिक लेखनका लागि कोसेढुंगा साबित भयो। यसमा छापिएका नेपालसम्बन्धी अभिलेखहरूमा बाबुराम आचार्यको दृष्टि पर्यो। यसकै अध्ययनबाट बाबुराम आचार्यलाई इतिहासको खोजीतिर प्रेरणा मिलेको हो।
नयराज पन्तका शिष्यहरूको मूलमन्त्र थियो, कसैले लेखेको इतिहासमा पूर्ण रूपमा भर नपरी इतिहासकै मूलस्रोतसम्म पुग्ने र अध्ययन-विश्लेषण गर्ने। त्यसैले धनवज्रलगायत नयराजका शिष्यहरू ठाउँ ठाउँमा रहेका शिलालेखहरूको खोजीमा निस्कन्थे। शिलालेखहरू सार्थे, केलाउँथे अनि निफन्थे। सारमा नेपालको तथ्य इतिहास प्रकाशमा आउँथ्यो।
धनवज्रले अपनाएको इतिहास लेखनको मोडेल हो, समग्रतामा भन्दा सूक्ष्मतामा इतिहासको खोजी। त्यसैले उनले नुवाकोट, गोरखा, दोलखा, टिस्टुङ र पालुङलगायत ठाउँहरूको छुट्टाछुट्टै इतिहास प्रकाशमा ल्याए। कालविभाजनको कुरा गर्दा ऐतिहासिक विवेचनासहित लिच्छविकाल, मल्लकाल र शाहकालका छुट्टाछुट्टै अभिलेख प्रकाशमा ल्याए। ठाउँ ठाउँको र काल कालको इतिहासलाई वर्गीकरण गरेर छुट्टाछुट्टै प्रस्तुत गरिए मात्रै सूक्ष्म रूपमा समग्रमा तथ्यपूर्ण इतिहास प्रकाशमा आउन सक्छ भन्ने मान्यता थियो उनको। अहिले प्रा. राजाराम सुवेदीले सोही मोडेलमा आधारित भएर इतिहास प्रकाशमा ल्याइरहेको देख्न सकिन्छ।
यी विद्वान्लाई राज्यले सम्झना गर्नमा ठूलो कन्जुस्याइँ गरिरहेको छ। इतिहास राष्ट्रप्रेम जगाउने विशिष्ट प्राज्ञिक विधा हो। आजभोलि राष्ट्रिय झन्डा ओढेर आन्दोलनमा जाने र निर्वाचनमा मत माग्ने लहर चलेको छ। तर, यी राष्ट्रिय झन्डा ओढेर आन्दोलनमा जाने वा निर्वाचनमा मत माग्नेमध्ये कति जनालाई थाहा होला– इतिहासकार धनवज्र वज्राचार्य र उनले छाडेर गएका अमूल्य कृतिहरूबारे?