काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

सेयरबजारमा हरियाली

सेयरबजारमा बिहीबार ३३८ कम्पनीको एक लाख आठ हजार ८६९ पटकको कारोबारमा दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर किनबेच

२६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। साताको पाँचौँ कारोबार दिन आज (बिहीबार) नेप्से ४८.७१ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.७३ प्रतिशतले बढेको नेप्से २८५१.२४ विन्दुमा अडिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ४.६४ अंकले बढेर ४८१.५३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.९७ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स १.५७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०३ प्रतिशतले बढेको छ।

सेयरबजारमा बिहीबार ३३८ कम्पनीको एक लाख आठ हजार ८६९ पटकको कारोबारमा दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आइतबार भने १२ अर्ब ३८ करोड नौ लाख १४ हजार ५७० रुपैयाँको कारोबार भएको थियो। सोमबार १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँको कारोबार भएको थियो। मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भएको थियो भने बुधबार आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहका सूचकमा हरियाली देखियो। जसअनुसार बिहीबार वाणिज्य बैंक समूहको सूचक १.२४‚ विकास बैंक ०.७८‚ फाइनान्स १.४७‚ होटेल तथा पर्यटन २.३९‚ जलविद्युत् २.७० प्रतिशतले बढ्यो।

यसैगरी लगानी समूहको उपसूचक १.००‚ जीवन बिमा ०.९९‚ उत्पादन तथा प्रशोधन २.५८‚ लघुवित्त १.२०‚ म्युचुअल फन्ड ०.१३‚ निर्जीवन बिमा १.००‚ अन्य ३.४३ र व्यापार समूहको उपसूचक ०.६२ प्रतिशतले उकालो लाग्यो।

नेप्सेमा बिहीबार ६ कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड‚ रिलायन्स स्पिनिङ मिल्स लिमिटेड‚ भुजुङ हाइड्रोपावर लिमिटेड‚ रिजलाई इनर्जी लिमिटेड‚ सोलु हाइड्रोपावर लिमिटेड र होटेल फरेस्ट इन नेपाल छन्। अर्थात् यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै एनआईसी एसिया ब्यालेन्सड फन्डका लगानीकर्ताले ६.७४ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज नेसनलको ४३ करोड ४७ लाख ६६ हजार ४४९ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज प्रभु स्मार्ट फन्ड सबैभन्दा अगाडि रह्यो। प्रभु स्मार्ट फन्डको सेयर बिहीबार ४८ लाख ८१ हजार ८१ युनिट किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १२ रुपैयाँ ३७ पैसा कायम रह्यो।