काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

आवरण

नेपाली सिने जगत्‌का लागि २०८२ साल पुरानै सूत्रमा फर्केको वर्ष

२७ चैत्र २०८२
अ+
अ-

‘अघिअघि नेपाली फिल्म, पछिपछि हिन्दी।’

गत १३ मंसिरमा नेपालन्युजले यही शीर्षकमा सामग्री प्रकाशन गरेको थियो। वर्ष २०८२ को सो समयसम्मको समीक्षाले नेपालको बक्स अफिसमा भारतीय फिल्मको वर्चस्व घटेको र नेपाली फिल्मको दबदबा बढेको अवस्था चित्रण गरेको थियो। वर्षको अन्त्यसम्म आइपुग्दा पनि यो ट्रेन्ड यथावत् छ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार २२ चैतसम्म जम्मा ५६ नेपाली फिल्म सार्वजनिक भए। २७ चैतदेखि प्रदर्शनमा आउने निर्देशक माइकल चन्दको राम नाम सत्यसहित कुल संख्या ५७ पुगेको छ।

व्यावसायिक पक्षबाट २०८२ को फिल्म क्षेत्र कस्तो रह्यो? नयाँ-पुराना निर्देशक तथा कलाकारहरूको उपस्थिति कस्तो रह्यो? समीक्षकका नजरमा कस्ता फिल्म परे? के विषय, प्रस्तुति र नयाँपनका हिसाबले २०८२ लाई उपलब्धिमूलक मान्न सकिन्छ?

आउनुस्, यी प्रश्नका आँखीझ्यालबाट २०८२ को नेपाली फिल्म क्षेत्रलाई फर्केर हेरौँ।

कमाइ आँकडा

नेपाली फिल्म उद्योगले पहिलो पटक एक अर्बमाथि व्यापार गर्दै ऐतिहासिक रेकर्ड राख्न सफल बनेको वर्ष थियो, २०८१ साल। २०८२ मा पनि नेपाली फिल्मको व्यापार एक अर्ब आठ करोड रुपैयाँ नाघिसकेको छ। यस हिसाबले गत वर्ष विस्तारित घरेलु बजारको निरन्तरता २०८२ मा पनि कायम रह्यो।

यस वर्ष सर्वाधिक कमाउने १० फिल्मको सूची हेर्दा चार फिल्मले १० करोड, तीन फिल्मले पाँच करोड र बाँकी तीन फिल्मले चार चार करोड रुपैयाँको आँकडा पार गरे। नेपाली बक्स अफिसलाई चलायमान बनाउन निर्णायक फिल्म यिनै बने।

यस वर्ष घरेलु बक्स अफिसमा १७ करोड ७६ लाख ८४ हजार रुपैयाँको ग्रस कलेक्सन गर्दै दीपक आचार्य निर्देशित परान सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो। फिल्मको टिकट बिक्री संख्या ६ लाख ३० हजार ६९१ छ।

निर्देशक चन्द्र पन्तको आ बाट आमाले १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँको व्यापार गर्दै दोस्रो स्थान ओगट्यो। हलमा अझै प्रदर्शनरत यस फिल्मको २२ चैतसम्म पाँच लाख चार हजार ३२९ वटा टिकट बिक्री भइसकेको चलचित्र विकास बोर्डको तथ्यांक छ।

तेस्रो नम्बरमा रहेको सुयोग गुरुङको निर्देशनमा बनेको जेरी अन टपले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमायो। यस फिल्मको टिकट बिक्री संख्या तीन लाख ९६ हजार ५९७ वटा छ।

सर्वाधिक कमाउने चौथो फिल्म हो, ऊनको स्वीटर। ११ करोड ४१ लाख ९२ हजार १९५ कलेक्सन गरेको नवीन चौहान निर्देशित यस फिल्मको टिकट बिक्री संख्या तीन लाख ९२ हजार २४३ छ।

निर्देशक उपेन्द्र सुब्बाको जारी २, सन्तोष सेन निर्देशित बलिदान र ओम प्रतीकको निर्देशन रहेको मोहर २०८२ सालमा पाँच करोड पार गर्ने फिल्म हुन्। जारीको सिक्वेल जारी २ ले ६ करोड २४ लाख १७ हजार ४५३ को ग्रस कलेक्सन गर्दा बलिदानले पाँच करोड १० लाख ५१ हजार १७२ को व्यापार गर्‍यो। र, मोहर पाँच करोड आठ लाख ९५ हजार ५१२ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल बन्यो।

सर्वाधिक व्यापार गर्ने बाँकी तीन फिल्म हरिबहादुरको जुत्ता, माग्ने राजामाइतीघर हुन्। यी फिल्मको कमाइ क्रमशः चार करोड ७१ लाख ३८ हजार ६७८, चार करोड ६९ लाख ४३ हजार ६५१ र चार करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ छ।

सोसल ड्रामा, लभस्टोरीदेखि थ्रिलरसम्म

नेपाली दर्शकले सुमधुर गीत-संगीतसहितको मनछुने प्रेमकथा पर्दामा हेर्न नपाएको धेरै भइसकेको थियो। २०८२ सालको सुरुआततिर प्रदर्शनमा आएको आर्टमान्डुको प्रस्तुति ऊनको स्वीटरले यो अभाव पूर्ति गर्‍यो। ‘फूल’, ‘चाइनेजो जिन्दगानीमा’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीत श्रोताले मन पराएको यस फिल्मका मुख्य कलाकार विपिन कार्की र मिरुना मगरको जोडीलाई पनि दर्शकले रुचाए। फिल्मको पार्श्व संगीत पनि स्तरीय थियो।

जेरीको सिक्वेल जेरी अन टप यो वर्ष धेरै चर्चा कमाउन सफल अर्को फिल्म हो। सगरमाथा आरोहणको रोमाञ्च र त्रिकोणात्मक रोमान्सको कथा भन्ने यस फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्।

यसअघि मूलधारका फिल्ममा नआएको सगरमाथा आरोहणको कथामा दर्शकले नयाँपन महसुस गर्नु जेरी अन टप चल्ने एउटा कारण बन्यो। एड्भेन्चरस फिल्ममा प्रेमकथाका पुरानै सूत्र प्रयोग गर्दा बरालिए पनि समीक्षकहरूले अनमोल केसीको अभिनयमा सुधार देखिएको प्रतिक्रिया दिए। फिल्ममा ट्रेकिङ गाइडको भूमिका निर्वाह गरेकी जसिता गुरुङले आफ्नो अभिनयबाट धेरैको मन जितिन्।

दीपक आचार्य निर्देशित परान वर्षकै सर्वाधिक व्यापार गर्न सफल फिल्म हो। पहिलो साता दर्शक नपाएर हलबाट उत्रेला झैँ भएको यो फिल्मको ‘वर्ड अफ माउथ’ ले बक्स अफिसमा कमाल गर्‍यो।

रमाइलो कुरा, गत वर्षको सरोज पौडेल निर्देशित पूर्णबहादुरको सारंगी र दीपक आचार्यले निर्देशन गरेको परानबीच ‘प’ का धेरै संयोग पनि देखिए।

पबाट नाम सुरु हुने दुवै पारिवारिक फिल्म हुन्। दुवै फिल्मले हलभित्र दर्शकलाई हिरिक्कै हुने गरी रुवाएको समेत देखियो। दुवै फिल्मका कथाको केन्द्रमा बुवा-छोरा छन्। दुवैमा परम्परा र आधुनिकताबीचको घर्षण छ।

परानआ बाट आमाको सफलताले बाआमा र पारिवारिक सम्बन्धको कथातर्फ सर्जक र दर्शक दुवै पक्षको झुकाव देखाउँछ। यी फिल्मको सफलतापछि आगामी दिनमा बुवाको कथामा फिल्म बनाउने लहर देखिने सम्भावनासमेत बढाएको छ। संगीतकार हरि लम्सालले बा : एक योद्धा निर्माणको घोषणासमेत गरिसके।

बुवाको कथा जस्तै यस वर्ष आमाको कथा केन्द्रमा रहेको आ बाट आमाले समेत आक्रामक व्यापार गर्‍यो। परानपछि दोस्रो धेरै व्यापार गर्ने यस फिल्ममा सन्तान र अभिभावकको माया, प्रेम, त्याग र समर्पणको कथा छ। फिल्ममा विपना थापा आमा र पल शाह छोराको भूमिकामा छन्।

युवाको विदेश जाने बाध्यता र बूढा आमाबुवाको सन्तानको बाटो हेरेर दिन काट्नुपर्ने नियति नेपाली समाजको साझा भोगाइ हो। आ बाट आमामा यही भोगाइको कथा देखाइएको छ। फिल्मको सफलतासँगै यसको सिक्वल बन्ने घोषणासमेत भइसकेको छ।

निर्देशक उपेन्द्र सुब्बाको जारीको सिक्वल जारी २ यस वर्ष ठूलो अपेक्षा राखिएको फिल्म थियो। फिल्मले न अपेक्षित कमाइ गर्‍यो, न समीक्षककै प्रशंसा पायो। तथापि, यस वर्ष धेरै कमाउने फिल्मको पाँचौँ नम्बरमा पर्न सफल भएको छ, जारी २

पहिलो भागमा लिम्बू समुदायमा जारी प्रथाले उब्जाउने परिणामका सामाजिक-सांस्कृतिक आयाम देखाइएको थियो। सिक्वलमा विस्मृतिमा पुग्न लागेको माओवादी द्वन्द्वकालीन नेपालको सन्दर्भ टिपेर व्यक्ति र संस्कृतिमा त्यसले पारेका असर खोतल्ने यत्न गरिएको छ। तर, यो प्रयास कसिलो नहुँदा फिल्मले औसत प्रतिक्रिया पायो।

जारी २ ले हिट फिल्मको सिक्वल बनाउँदैमा धेरै पैसा कमाइ हुन्छ भन्ने धारणामा ब्रेक लगाइदिएको छ।

चरित्र नै हिरो

नेपाली सिनेमामा ६ दशक बिताएका नीर शाह विभिन्न सहायक भूमिकामा देखिन्थे। परानमा उनी केन्द्रीय भूमिकामा देखिएनन् मात्रै, आफ्नो अभिनयको अलग छापसमेत छोड्न सफल भए। नीर स्वयंले सो भूमिकालाई उत्कृष्ट भन्दै उद्घोष नै गरे, ‘परान मेरो अभिनय यात्राको उत्कर्ष हो।’

फिल्म विश्लेषक यज्ञश बिस्तारै स्टारडमभन्दा कथा र चरित्रमा विश्वास गर्ने ट्रेन्ड देखिन थालेको बताउँछन्। भन्छन्, “परान जस्तो फिल्म लामो समयदेखि सहायक भूमिकामा काम गरिरहेका नीर शाह जस्ता कलाकारका लागि एउटा सेलिब्रेसन हो।”

उनी परानले मुख्य भूमिकामा बलिष्ठ युवा हिरो नै चाहिन्छ भन्ने धारणा तोड्दै, अनुभवी कलाकारले पनि फिल्म चलाउन सक्छन् भन्ने कुरा पुष्टि भएको बताउँछन्।

प्रायः फिल्ममा कम उमेरका कलाकारलाई नै मेकअप गरेर पाको देखाइन्छ। यज्ञश परानको उदाहरण दिँदै भन्छन्, “उमेरअनुसारको भूमिकामा वास्तविक कलाकारलाई नै राख्दा आउने स्वाभाविकता पनि परानको नीर शाहको अभिनयले प्रमाणित गर्‍यो।”

पात्र जीवनसँग जति नजिक भयो, दर्शकले त्यति नै रिलेट गर्छन्, कनेक्ट हुन्छन्। कथाअनुसारकै चरित्र निर्माण र कलाकारको छनोट गत वर्ष पूर्णबहादुरको सारंगीमा समेत देखिएको थियो। त्यसअघि विजय बराल पनि सहायक कलाकारमा सीमित थिए। पूर्णबहादुरको सारंगीमा उनले निर्वाह गरेको बुवाको भूमिकाले उनलाई मुख्य अभिनेताका रूपमा स्थापित गरिदियो।

लामो समय सहायक चरित्रमा खुम्चिएका प्रतिभाशाली कलाकार कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा अभिमन्यु च्याप्टर १ मा पहिलो पटक केन्द्रीय भूमिकामा देखिए। कथाभित्रको चरित्रअनुसार कलाकार छान्ने यस्तो अभ्यासलाई धेरैले सराहना गरे। यस्तो छनोटले नेपाली फिल्ममा भविष्यमा ‘हिरो’ भन्दा चरित्रअनुसारका अभिनेतालाई प्राथमिकता दिने अपेक्षा राख्न सकिन्छ।

यस वर्ष प्रदर्शनमा आएकामध्ये अर्को महत्त्वपूर्ण फिल्म हो, गुन्यु चोलो। समुद्र भट्ट निर्देशित यस फिल्मले यौनिक अल्पसंख्यक समूहमाथिको विभेद, पहिचान, अन्तरसंघर्ष र आत्मसम्मानको संवेदनशील कथा उठान गर्‍यो। पारलैंगिक समुदायलाई हेर्ने परम्परागत दृष्टिकोणलाई चुनौती दिने फिल्ममा नाजिर हुसेनले आफ्नो करिअरकै उत्कृष्ट अभिनय गरे। पारलैंगिक महिला (ट्रान्सवुमन)को भूमिकामा नाजिर देव र गुलाबी दुईखाले चरित्रमा देखिए। दुवै चरित्रमा जमेका उनी गुलाबीको भूमिकामा विशेष छाप छोड्न सफल रहे।

नयाँ पुस्ता, नयाँ ऊर्जा

नयाँ पुस्ता नवीन सोच र नौलो शैली भित्र्याउने संवाहक हो। उनीहरूको प्रवेशले फिल्म क्षेत्रमा ऊर्जा थप्छ। २०८२ नवप्रवेशी निर्देशक तथा कलाकारका हिसाबले उल्लेख्य वर्ष रह्यो।

परानऊनको स्वीटर दुवै डेब्यु निर्देशकका फिल्म हुन्। व्यावसायिक हिसाबले कम व्यापार गरे पनि यस वर्ष निर्देशक सुशान्त गौतमको पहिलो फिल्म अभिमन्यु च्याप्टर १ ले सकारात्मक प्रतिक्रिया पायो। कथावाचनका हिसाबले अभिमन्यु ‘ट्विस्ट’ र ‘टर्न’ ले भरिएको सस्पेन्स थ्रिलर हो।

महिला निर्देशकको संख्या न्यून रहेको नेपाली फिल्म उद्योगमा यस वर्ष सुदीप्ता, एकता पौडेल, आस्था श्रेष्ठ जस्ता निर्देशकको उपस्थिति आफैँमा उपलब्धि बन्यो। सुदीप्ताले डेब्यु फिल्म रमिताको पिरतीमार्फत सहरिया महिलाको सम्बन्धको उतारचढाव र स्वतन्त्रताको कथा भनिन्। एकता पौडेलले पहिलो फिल्म हर्षमा नेपाली समाजभित्र वंश निरन्तरतालाई दिइने प्राथमिकता चित्रण गरिन्।

चलचित्र समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सेना महिला निर्देशकको आगमनले कथावस्तुमा पनि परिवर्तन आएको बताउँछन्। पटकथाकारसमेत रहेका उनी भन्छन्, “यो वर्ष महिला पात्रलाई केन्द्रमा राखेर फिल्म बनाउने अभ्यास बढेको देखियो। यसले कथा नै महत्त्वपूर्ण हो भन्ने धारणा बलियो बनाएको छ।”

महिलाका कथा महिला निर्देशकका फिल्ममा मात्र सीमित रहेनन्। यस वर्ष कोशेढुङ्‌गा, लालिमा, कुमारी जस्ता नारीकेन्द्रित कथाका फिल्महरू पनि प्रदर्शनमा आए। तीमध्ये निर्देशक रोशन मिजारको लालिमामा यौनकर्मी महिलाका दु:खवेदना चित्रण गरिएको छ। फिल्ममा नयाँ पुस्ताकी अभिनेत्री रोशनी कार्की मुख्य भूमिका देखिइन्। निर्माण पक्षका अनुसार फिल्म बनाउने क्रममा तीन हजारभन्दा बढी महिला यौनकर्मीको जीवन-भोगाइलाई आधार बनाइएको थियो।

अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशनमा बनेको खेल पनि नयाँ पुस्ताका महिला कलाकारहरूको बाहुल्य रहेको फिल्म हो। यसमा सुरक्षा पन्तसहित हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतमलगायतको मुख्य भूमिका छ।

२०८२ साल विपिन कार्की, मिरुना मगर, अनमोल केसी, जेसिका गुरुङ, विपना थापा, नीर शाह, पल शाह आदिका लागि फलिफापपूर्ण रह्यो। तर, पुराना कलाकारका लागि २०८२ औसत वा कमजोर वर्ष साबित भयो। स्थापित निर्देशक दिनेश राउतले यस वर्ष दुई फिल्म ल्याए- महाभोजकुमारी। दुवै फिल्म न व्यावसायिक रूपमा चले, न त समीक्षककै नजरमा परे।

दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, मिरुना मगर, अञ्जना बराइली, मलिका महत जस्ता स्टारको जमघट भए पनि दर्शकले महाभोजको स्वाद मीठो मानेनन्। दयाहाङ अभिनीत रिमैमिर्मिरे जस्ता फिल्मको खासै प्रभाव देखिएन। प्रदीप खड्काको नाम जोडेर प्रचार गरिए पनि साइफाई फिल्म एक्लो-१ ले दर्शकलाई हलसम्म तान्न सकेन।

अभिनेत्री बेनिशा हमाल एक्लो-१, बिगुल, द ब्लु लाइट जस्ता फिल्ममार्फत सक्रिय त देखिइन्, तर नतिजाका हिसाबले उनका लागि २०८२ स्मरणीय वर्ष बन्न सकेन। सौगात मल्ल अभिनीत सिटामोलभाइरल गोर्खे जस्ता फिल्म कमजोर देखिए।

काठमाडौँको सांस्कृतिक पृष्ठभूमिमा महिलाप्रधान कथा भनिएको कुमारीमा निर्देशक राउतले नयाँ पुस्ताका अभिनेता, अभिनेत्री मात्रै नभई जेन-जी पुस्ताकै संगीतकार, गायक-गायिका र प्राविधिक कलाकारहरू जोडे। तर, त्यसले पनि काम गरेन। नयाँ पुस्ताको प्रेमकथा भनिएको यस फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिका निर्वाह गरेका छन्।

कुमारीका ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’, ‘तिमी बिना’ जस्ता गीत चले पनि त्यसले फिल्मको सफलतामा योगदान गर्न सकेन। यद्यपि, अभिषेकको अभिनयले फिल्म क्षेत्रमा राम्रो सम्भावनायुक्त नयाँ कलाकारको आगमन भएको संकेत गरेको छ।

निर्देशकका रूपमा अर्जुन घिमिरे (पाँडे)को डेब्यु झरीपछिको इन्द्रेणीमा पनि नयाँ पुस्ताकै कथा छ। भ्रष्टाचारदेखि पछिल्लो जेन-जी आन्दोलनसम्मलाई छोएको यस फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलको अभिनयमा पदार्पण भयो। पुराना कलाकार गणेश उप्रेतीसमेत लामो समयपछि महत्त्वपूर्ण भूमिकामा फर्किए।

चलचित्र समीक्षक समाजका अध्यक्ष तिमल्सेना २०८२ मा नवप्रवेशी निर्देशक तथा कलाकारहरूको उपस्थितिलाई उत्साहजनक मान्छन्। फिल्म चले पनि, नचले पनि नयाँ पुस्ताले निरन्तर प्रयास गरिरहेको र यसमा कलाकारभन्दा निर्देशकहरूको उपस्थिति अझै बलियो रहेको उनको मान्यता छ। भन्छन्, “यस वर्ष नयाँ पुस्ताको आगमन उल्लेख्य बढ्यो, चलेका ठूला स्टारहरूको दबदबा अलि घटेको देखियो।”

बलियो बन्दै घरेलु बजार

हरेक वर्ष प्रदर्शनमा आउनेमध्ये सीमित फिल्मले मात्र सफलता हात पार्छन्। तीमध्ये अझै कम फिल्मले समीक्षकको प्रशंसा पाउँछन्। कैयौँ फिल्म कहिले आए/गए समेत थाहै हुन्न। तैपनि, नेपाली फिल्मको बजार यस वर्ष विस्तारित र बलियै देखियो।

खासगरी छक्का पञ्जाकबड्डी शृंखलाहरूको रेकर्डतोड व्यापारिक सफलतापछि वर्षकै धेरै कमाउने फिल्मको सूचीमा नेपाली नामहरू निरन्तर बढिरहेका छन्। घरेलु बजारमै राम्रा फिल्मले १० देखि २० करोडभन्दा बढी कमाउन सक्ने वातावरण बनिसकेको छ। ठीकठीकै चल्ने फिल्म पनि पाँचसात करोड संकलन गर्न सक्ने भइसके।

नेपालमा फिल्मको बजार दशकौँसम्म भारतीय सिनेमाको नियन्त्रणमा थियो। सिनेमाका कथा, प्रस्तुति, गीत-संगीत सबैमा भारतीय प्रभाव झल्किन्थ्यो। दशकौँपछि त्यो दबदबा अहिले तोडिन थालेको छ।

भारतीय सिनेमाको आस गरेर बस्ने हलवाला र वितरकहरू अचेल नेपालमा ब्लकबस्टरबाहेक अन्य विदेशी फिल्म ल्याउने जोखिम मोल्न हिचकिचाउन थालेका छन्।

फिल्म वितरक मनोज राठी विगत दुईतीन वर्षयता भारतीय फिल्मको व्यापार घटेको र नेपाली फिल्मको कमाइ बढेको बताउँछन्।

यस वर्ष सैयारा, कान्तारा च्याप्टर–१, धुरन्धर, धुरन्धर : द रिभेन्ज जस्ता सीमित ब्लकबस्टर फिल्मले नेपाली बजारमा १० करोड रुपैयाँमाथिको व्यापार गरे। भारतमा आक्रामक व्यापार गरेको बोर्डर २ को समेत नेपालमा बक्स अफिस कलेक्सन दुई करोड ६३ लाख रुपैयाँ देखियो।

वितरक राठीका अनुसार यस वर्ष नाफा नहुने डरकै कारण दे दे प्यार दे २मस्ती ४ जस्ता थुप्रै भारतीय फिल्म नेपालका हलमा प्रदर्शन नै भएनन्। उनी भन्छन्, “पहिला नेपालमा भारतीय फिल्मको व्यापार ७० प्रतिशत थियो। अहिले नेपाली र भारतीय फिल्मको व्यापार ५०/५० प्रतिशतको अवस्थामा आइसक्यो।”

यस्तो परिवर्तित अवस्थाले नेपालभित्र भारतीय मध्यम बजेटका फिल्मको व्यापार घटेको र नेपाली मध्यम बजेटका फिल्मको व्यापार बढाइरहेको वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठ बताउँछन्।

यस वर्ष विदेशी फिल्म प्रदर्शनको संख्या नेपालीभन्दा बढी देखिन्छ। वैशाखदेखि चैतसम्म ५६ नेपाली फिल्म प्रदर्शनमा आउँदा ९३ वटा विदेशी फिल्म प्रदर्शन भए। ३७ फिल्म बढी हुँदा पनि बक्स अफिसमा भारतीय र नेपाली फिल्मको कमाइ लगभग बराबरी छ। नेपाली फिल्मले एक अर्ब आठ करोड रुपैयाँको व्यापार गर्दा विदेशी फिल्मले एक अर्ब ११ करोड रुपैयाँ संकलन गरे। तर, दर्शक संख्यामा नेपाली फिल्म नै अगाडि देखिन्छ। नेपाली फिल्मको करिब ३७ लाख बढी टिकट बिक्री हुँदा विदेशी फिल्म हेर्ने दर्शक ३३ लाख छन्।

यसरी केही वर्षयता विस्तारित घरेलु बजारलाई २०८२ सालमा पनि यथावत् राख्न सक्नु नेपाली फिल्मको उपलब्धि मान्न सकिन्छ।

खै गुणस्तरीय फिल्म?

बक्स अफिस सफलता वा असफलताका आधारमा मात्रै फिल्मको मूल्यांकन गर्नु त्रुटिपूर्ण हुन सक्छ। व्यावसायिक रूपमा सफल फिल्म कमजोर र असफल फिल्म पनि स्तरीय हुन सक्छन्। त्यसैले केही उपलब्धिका बाबजुद एउटा प्रश्न ज्युँका त्युँ छ– खै त गुणस्तरीय फिल्म?

यस वर्ष दर्शकले मानवीय सम्बन्धका कथाहरू रुचाएको देखियो। तर, ती फिल्मको प्रभाव कति दीर्घकालीन छन् त?

हुन त यस वर्ष पनि केही फरक कथा भएका फिल्महरू नबनेका होइनन्, तर कमजोर प्रस्तुति, फिल्म सार्वजनिक हुने समय वा अन्य कारणले ती दर्शकको नजरमा पर्न सकेनन्।

विश्लेषक यज्ञश भन्छन्, “फिल्मको प्रस्तुति कति कलात्मक, यथार्थपरक वा मेलोड्रामायुक्त छ, फिल्मले पार्ने प्रभाव त्यसमै निर्भर गर्छ।” उनी २०८२ सालमा आएकामध्ये एकाध फिल्ममा मात्र त्यो क्षमता रहेको मत राख्छन्।

यज्ञश यस वर्ष अघिल्ला वर्षहरूमा जस्तो जारी वा कबड्डी जस्ता क्षेत्रीय, समुदायिक वा सांस्कृतिक विविधता बोकेका फिल्म कम आएको बताउँछन्। साम्बाला, राजागञ्ज, रेड सुटकेस जस्ता कलाप्रधान वा विषयप्रधान फिल्महरू पनि कम देखिए। “फेरि पुरानै व्यावसायिक सूत्रमा फर्किने खालका फिल्महरू बढ्ने संकेत देखिएको छ,” उनी भन्छन्।

चलचित्र समीक्षक समाजका अध्यक्ष तिमल्सेना पनि पछिल्ला वर्षहरूमा व्यावसायिक र कलात्मक फिल्मबीच बढ्दै गरेको सन्तुलन यसपटक बिग्रिएको धारणा राख्छन्।

“नेपाली फिल्मको रुझान फेरि मसलादार, व्यावसायिक मेलोड्रामा र रोनाधोना शैलीका फिल्मतिरै ढल्कँदै छ,” उनी भन्छन्, “विराज भट्ट, निखिल उप्रेती जस्ता व्यावसायिक कलाकारले अहिलेको बजारलाई पुनः अवसरका रूपमा हेर्न थाल्नु यसकै संकेत हो।”

फिल्म क्षेत्रको विकास र उन्नयनका लागि व्यावसायिक र कलात्मक फिल्मको धार सँगसँगै अघि बढ्नुपर्ने मान्यता बलियो छ। यज्ञश भन्छन्, “विविधता, नयाँ स्वाद र आफ्नै शैली बोकेका फिल्महरूले मात्र दर्शकलाई ताजा अनुभव दिन सक्छन्।”

अपेक्षा गरौँ, वर्ष २०८३ अझै सिर्जनात्मक सिनेमाको वर्ष होस्। पुरानै सूत्र पछ्याउने प्रवृत्ति मात्रै नदेखियोस्, नयाँ कथा र नवीन शैलीहरू भित्रियून्।