काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

कला

महिला युवा कलाकारले समसामयिक मुद्दा उजागर गर्न सिर्जना गरेका कला रोचक थिए।

२८ चैत्र २०८२
सबै कला : मुकेश मल्ल
अ+
अ-

कला गतिविधिका दृष्टिले वर्ष २०८२ उर्वर रह्यो। नवयुवादेखि युवा र पाका कलाकारले यस वर्ष एकल र सामूहिक रूपमा आफ्ना कला प्रदर्शन गरे।

यस वर्ष कलाका वर्कसप, कलाबारेको छलफल, चिन्तन-मनन प्रशस्त मात्रामा भए। समुदाय विकासलाई जोडेर बनाइएका कलादेखि राजनीतिक र सामाजिक मुद्दामा बनेका कलासम्म यस वर्ष प्रदर्शनीमा आए। आधुनिक कला, उत्तरआधुनिक कला, हस्तकला, लोककला र परम्परागत कला यस वर्ष यथेष्ट मात्रामा प्रदर्शनमा आए। यस्तै, जंंक आर्टदेखि प्रिन्ट मेकिङ कलासमेत देखा परे।

वर्ष २०८२ मा काठमाडौँ उपत्यकामा हरेक साताजसो कला गतिविधि भएका थिए, कतिपय ग्यालरीमा अहिले पनि प्रदर्शनी चलिरहेका छन्। यहाँ सबै कला प्रदर्शनी, कलाबारे भएका छलफल र कला फेस्टिभललाई समेट्न सम्भव छैन; त्यसो हुँदा केही महत्त्वपूर्ण कला र फेस्टिभलका बारेमा चर्चा गरिनेछ।

यस वर्ष उपत्यकाभित्रका ‘सिद्धार्थ कला दीर्घा’, ‘नेपाल आर्ट काउन्सिल’, ‘काठमाडौँ आर्ट ग्यालरी’, ‘नाफा कला दीर्घा’, ‘एमक्युब’, ‘क्लासिक कला दीर्घा’, ‘म्युजिक कला ग्यालरी’, ‘कला सलोन’, ‘तप्का कला दीर्घा’, ‘तारागाउँ एनेक्स’, ‘१०८ आर्ट ग्यालरी’, ‘पाटन म्युजिक ग्यालरी’, ‘आर्टुडियो कला ग्यालरी’, ‘सोन्जा आर्ट ग्यालरी’ लगायत सबैजसो ग्यालरी कला गतिविधिमा सक्रिय रहेको पाइयो।

प्रदर्शनीमा महिला युवा कलाकारको समेत राम्रै उपस्थिति रह्यो। महिला युवा कलाकारले समसामयिक मुद्दालाई बोकी बनाएका कला अझ रोचक देखिएका थिए।

यही वर्षको पुसमा ललित कला प्रज्ञा प्रतिष्ठानमा भएको पर्फर्मेन्स आर्टको अन्तर्राष्ट्रिय प्रदर्शनीमा कलाकार समना नाछिरिङ राईले ‘द ल्यान्ड विल नट बी बारेन एनिमोर’ शीर्षकको कला र सरिता डंगोलले शीर्षकविहीनको कला प्रस्तुत गरेकी थिइन्।

समनाले बुवाको मृत्युपछि आफूले भोग्दै गरेको पीडालाई पर्फर्मेन्स कलामार्फत मार्मिक प्रस्तुति गरेकी थिइन्। यस्तै, सरिताले रसायनयुक्त खानाले बाँच्नुपरेको कृत्रिम जीवन र औषधिको थुप्रोमा बाँच्नुपरेको आजको अवस्थालाई पर्फर्मेन्स कलाद्वारा घतलाग्दो प्रस्तुति दिएकी थिइन्।

बिन्दु कला ग्यालरी र नेपाल ललितकला प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको पर्फर्मेन्स कलाको यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाकारका थुप्रै पर्फर्मेन्स कला प्रदर्शन भए। प्रदर्शित हरेकजसो कलामा समसामयिक घटनालाई नजिकबाट समेटिएको थियो। दिवंगत भइसकेका कलाकार हेम पौड्याल र पुरन खड्काका कलासमेत प्रदर्शन गरिए। प्रदर्शनीका दौरान यी कलाकारका बारेमा चर्चासमेत गरियो।

यस्तै, ‘क्लासिक आर्ट ग्यालरी’ मा यही १५-२९ चैतमा ‘अनबाउन्ड भ्वाइसेज वुमन इन आर्ट’ प्रदर्शन भइरहेको छ। जसमा १६ महिला कलाकारका कला राखिएका छन्। नवयुवा कलाकार रसना वज्राचार्यले धार्मिक कलाको पुरानै परम्परागत शैलीमा नयाँ कथात्मक भाष्य मिलाई महिलालाई शक्तिशाली देखाएर चित्र निर्माण गरेकी छिन्। उनको चित्रमा देव विष्णुले देवी लक्ष्मीको खुट्टा मिचिरहेको देखिन्छ।

यस्ता कार्यक्रम गर्न ‘क्लासिक ग्यालरी’ र ‘आर्टुडियो’ अग्रपंंक्तिमा देखिए। पाटनस्थित आर्टुडियोले पुसमा अटिज्म भएका महिलालाई कला सिकाउँदै कलाको प्रदर्शनी गरेको थियो। यो काम आर्ट थेरापीका रूपमा राम्रो नमुना बन्यो।

दरबारमार्गस्थित ‘ग्यालरी १०८’ मा कलाकार एरिना ताम्राकारको ‘म, माइसेल्फ’ नामक एकल कला प्रदर्शनी नारी दिवसका अवसरमा भयो। एरिनाका कलामा नारीको शक्तिको प्रतीकका रूपमा तेस्रो आँखाका अनेक स्वरूप देखिए।

नेपाल आर्ट काउन्सिल बबरमहलमा फागुनमा भएको ‘कम्बिनेसन’ नामक प्रदर्शनीमा चाँदनी वज्राचार्यको एउटा कागजको मूर्ति राखिएको थियो। भोजपत्र र ताडपत्र जस्तै गरी बनाइएको मूर्ति चाखलाग्दो पाराले अलग्गै स्वरूपमा देखापरेको थियो। रञ्जना लिपि र आध्यात्मिक स्वादलाई प्रयोग गरी बनाइएको उनको मूर्तिले पृथक् कलागत भाष्यलाई उजागर गरेको देखिन्थ्यो।

संगी श्रेष्ठले फागुनमा ‘अन्र्तदृष्टि ’ नामक कला प्रदर्शनी गरेकी थिइन्। ‘कला सलोन’ मा भएको प्रदर्शनीमा संगीका क्युबिक फर्मका चित्र देखिएका थिए। मिथिला लोककलामा रामायण तथा महाभारतका पात्रसमेत उनका कलामा आकर्षक रूपमा देखा परेका थिए। यस्तै, सविता डंगोलले मंसिरमा ‘ओरा अफ टुगेदरनेस’ एकल प्रदर्शनी गरेकी थिइन्। काठमाडौँ आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा उनले डेकोरेटिभ फर्ममा बनेका चित्र प्रस्तुत गरेकी थिइन्।

यस वर्ष हिटी कला वर्कसपसमेत चलेको थियो, हिटीलाई केन्द्रमा राखेर बनाइएका सिर्जनशील कलालाई पाटन म्युजियममा प्रदर्शन गरियो।

तारागाउँ म्युजियमले सन् १९६० ताकाका महत्त्वपूर्ण अमूर्त चित्रकलादेखि सन् २००० पछि देखा परेका अमूर्त चित्रकलालाई यस वर्ष प्रदर्शनमा ल्यायो। यो कला प्रदर्शनीमा सत्तरी नाघिसकेका अमूर्त चित्रकार विजय थापा, के.के. कर्माचार्य, कृष्ण मानन्धर, मदन चित्रकार, गोविन्द डंगोल, किरण मानन्धर, मुकेश मल्ल, रमेश खनाललगायत र पछिल्लो कालका सागर मानन्धर, नवीन्द्र लिम्बुलगायत थुप्रै कलाकारले भाग लिएका थिए।

ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष गर्ने ‘राष्ट्रिय कला प्रदर्शनी’ मा यस वर्ष पनि देशभरबाटै आएका कलाकारका कलालाई प्रदर्शन गर्‍यो। समसामयिक कला, लोककलादेखि हस्तकलाका थरीथरीका कला हुँदै ट्याटु कला, कार्टुन कला र फोटोग्राफीसम्म यस प्रदर्शनीमा देखिए। यस प्रदर्शनीमा विभिन्न विधाका कला निकै संख्यामा प्रदर्शन भए, जसलाई कलाको क्षेत्रमा भएको वर्षकै महत्त्वपूर्ण कार्य मान्नुपर्छ। यही राष्ट्रिय कला प्रदर्शनीमा कलाकार रवीन्द्र श्रेष्ठले सानो खाली क्यानभास प्रदर्शनमा ल्याएर कलामा नयाँ आयाम थप्ने काम गरे।

यस वर्ष कलालाई भावाभिव्यक्तिका रूपमा भन्दा आर्थिक पक्षलाई जोड दिएर विभिन्न गतिविधि भए। नेपाल आर्ट काउन्सिल अनि ललितकला प्रज्ञा प्रतिष्ठान यसमा अझ सक्रियताका साथ लागेको देखियो। ललितकला प्रज्ञा प्रतिष्ठानले सातवटै प्रदेशमा वार्षिक रूपमा प्रदेशस्तरीय कला प्रदर्शनी गर्ने गर्छ, जुन यस पनि सम्पन्न भयो। यस कार्यक्रममार्फत विशेष गरी मोफसलका कलाकारका कलालाई दर्शकसँग जोड्ने प्रयत्न भए; कलामाथि कविता लेख्नेदेखि कलामाथि छलफलसमेत चलाइयो।

यस वर्ष विदेशी कलाकारलाई खाने-बस्नेदेखि सिर्जना गर्ने र प्रदर्शनको व्यवस्था गर्ने काम भए। यसले विश्व कला बजारसँग नेपाली कलालाई जोड्ने काम गर्‍यो। यस वर्ष कला एक्सचेन्जका कार्यक्रम पनि प्रशस्तै मात्रामा भए। अर्थात् साना-ठूला कलाका समूहले आआफ्नै ढंगले विदेशका कलाकार र कला संस्थासँग सम्पर्क गरी यताको कला उता र उताको कला यता आउने वातावरण बनाए। यसरी थुप्रै नेपाली कलाकारलाई विदेश जाने अवसर मिल्यो। विदेशका कलाकार नेपाल आउने क्रम पनि यस वर्ष बढेको देखियो। स्वदेशी र विदेशी कलाकार भेट भइरहने वातावरणले गर्दा कलाका वर्कसप हुन पाए। विश्वमा चलिरहेको कलाको नवीनतम शैली र प्रवृत्ति नेपाल भित्र्याउन हाम्रा कलाकार सजग भएको देखियो।

वर्ष २०८२ मा अन्तर्राष्ट्रिय कला प्रदर्शनीका लागि अनलाइन सेलेक्सन प्रक्रिया अझ झाँगिएको देखियो। अनलाइन सेलेक्सनले विदेशमा हुने अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा भाग लिन सहज भएकाले विशेष गरी युवा कलाकार हौसिएको पाइयो। विदेशी कला संस्था र कलाकारसँग सम्पर्क हुँदा नेपाली कलाकार आफ्नो मौलिकतामा बढी सजगसमेत देखिए। यसले गर्दा हाम्रा कलामा संस्कार, परम्परा र मिथकको भरमार प्रयोग भएको समेत देखियो। परम्परागत कला त पहिलेदेखि नै विदेशमा प्रशस्तै रूपमा प्रदर्शन हुन्थे। यो समसामयिक कलाको प्रदर्शनले नेपाली कलाको पनि प्रशस्त उचाइ थपिएको महसुस भयो।

हरेक वर्ष हुने गरेको ‘हिमालयन आर्ट फेस्टिभल’ पनि यस वर्ष महत्त्वपूर्ण कार्यक्रमका रूपमा देखापर्‍यो। ‘ई-आर्ट’ नामक संस्थाको सक्रियतामा भएको कला प्रदर्शनीले कलाको छुट्टै माहोल खडा गरेको महसुस भयो। ई-आर्टले १० वर्षअगाडि नेपाली कलालाई अनलाइनमार्फत विश्वमाझ पुर्‍याउने गरेको छ।

आर्ट काउन्सिलमा यही वर्षको मंसिरमा भएको ‘डाइटिज’ शीर्षकको प्रदर्शनी मिथककै थिमको थियो। लोककला र देवीदेवतामा आजको सन्दर्भलाई जोडेर बनाइएका चित्र त्यहाँ प्रदर्शन भए।

अर्कातिर यस वर्ष भएका अधिकांश सामूहिक कला प्रदर्शनी अन्तर्राष्ट्रिय कला प्रदर्शनीका रूपमा देखा परे। कुनै न कुनै देशको एक मात्र कलाकार भए पनि कला प्रदर्शनीमा सहभागिता भएको देखियो। विदेशबाट नेपाल घुम्न आउने कलाकारलाई कला बनाउन लगाएर प्रदर्शनसमेत गरियो। सँगै प्रदर्शनीमा राखिएका नेपाली र विदेशी कलाकारका कलाबारे अनौपचारिक रूपमा अनेक बहससमेत भए।

यही वर्षको फागुनमा शिवांगिनी राणाको ‘बिट्‌विन टु वर्ल्ड’ शीर्षकको कला प्रदर्शनी बबरमहलस्थित आर्ट ग्यालरीमा भयो। जसमा उनका अमूर्त कलासँगै राखिएको एउटा प्रिन्ट कलाले चर्चा पाएको थियो। महिलाले ओड्ने सलमा अमूर्त चित्र प्रिन्ट गरिएको कलाको मूल्य १० हजार राखिएको थियो।

यसै वर्षको साउनमा नेपाल आर्ट काउन्सिलमा ‘हिमालयन आर्ट फेस्टिभल’ भएको थियो। फेस्टिभलमा श्यामदास अशान्तलाई सम्मान गरिएको थियो, र थुप्रै कलाकारका कला प्रदर्शनी गरिएको थियो। त्यहाँ कलाकार आशा डंगोल र रोशन प्रधानका आध्यात्मिक स्वादका कला चाखलाग्दा थिए।

यस वर्षको पुसमा कलाकार मुकेश श्रेष्ठले ‘१०८ आर्ट ग्यालरी’ मा ‘भैरव’ नामक सोलो कला प्रदर्शनी गरे। मुकेशले उपत्यकाभित्र देखा परेका भैरवका विविध रूपलाई आधुनिक फर्ममा प्रस्तुत गरे। उनले बनाएको बोधिसत्त्व मिलारेपाको ठूलो अजंगको चित्रले विशेष चर्चा पाएको थियो। यस वर्ष लोकचित्रकार समुद्रमान सिंह जस्ता पौभा चित्रकारहरू पनि आधुनिक फर्ममा देखा परे।

यस्तै, उपत्यका बाहिरबाट आएका कलाकार भीम शर्माको ‘कुण्डलिनी’ शीर्षकको कला भृकुटीमण्डपमा प्रदर्शनी भएको थियो।

करिब ३० वर्षपछि मूर्धन्य कलाकार लैनसिंह बाङ्देल (सन् १९१९-२००२)का चित्र पनि यस वर्ष काठमाडौँमा हेर्न पाइयो। ‘माई डिभोसन टु आर्ट’ नाम दिएर ८-२२ सेप्टेम्बरमा लाजिम्पाटस्थित ‘तप्का ग्यालरी’ मा चलेको प्रदर्शनीमा उनका २० वटा विश्वप्रसिद्ध चित्र राखिएका थिए।

अर्का वयोवृद्ध चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भयो।

यस्तै, यस वर्ष कलाकार भुवन थापाका कन्सेप्चुअल मूर्तिदेखि वत्सगोपाल वैद्य र शशिविक्रम शाहको डकुमेन्ट्रीसमेत हेर्न पाइयो।

यस वर्ष अधिकांश प्रदर्शनी सगोलमा देखा परे अर्थात् कलाबीच भेदभाव देखा परेन। अर्थात् एउटै कक्षमा कुनै पनि विधाको कलालाई नहोच्याईकन प्रदर्शनी गरिएको थियो । व्यावसायिक कलाहरू, उपयोगी कलाहरूसमेत सिर्जनशील कलाको रूपमा देखा पर्दा कला स्वयंमाथिको नौलो अवधारणा देखापर्‍यो। यसो भन्दै गर्दा पनि समूहगत कला प्रदर्शनीमा हराउँदै गएको अमूर्त कलालाई पुनरागमन गर्ने पनि काम भयो।

यस वर्ष जेन-जी आन्दोलनका क्रममा भएका दमनका घटनाले कलाकारलाई मर्माहत पारेको पाइयो। संसद् भवनको मूल गेटमै कलाकार रवीन्द्र श्रेष्ठले ‘थम्ब’ सिरिजको अजंगको कला मात्रै बनाएनन्, सहिद परिवार अनि बाटामा हिँड्ने सामान्य मान्छेले समेत यही क्यानभासमा फूल बनाएर श्रद्धाञ्जली अर्पण गरे। यसको केही दिनपछि त्यहाँ सय जना कलाकारले यस्तै यस्तै कला बनाएर कलागत श्रद्धाञ्जली अर्पण गरे।

(मल्ल कलाकार तथा कला समीक्षक हुन्।)