काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

खेल

केही वर्ष आर्थिक घाटा र व्यवस्थापकीय खिचातानीका कारण सुस्ताएको विराट गोल्डकप पुनः लयमा फर्किंदै

२९ चैत्र २०८२
रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता हुने विराटनगरको सहिद मैदान। तस्बिरहरू : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। विराटनगर-७‚ हस्पिटल चोकमा औषधि पसल चलाउने धनराज काफ्लेको दैनिकी फेरिएको छ। दिनभर बिरामी र औषधिको प्रेस्क्रिप्सनमा अल्झिएका उनले जब पसलको सटर झारे, आफ्नो गन्तव्य घरतिर नभई सहिद रंगशालातिर मोडे। उनीसँगै थिए, डा. कुशल गुरुङ।

दिनभरको व्यावसायिक चटारो र बिरामीको चापबाट मुक्त भएपछि यो जोडी विराटनगरको ३८औँ विराट गोल्डकपको रात्रिकालीन रौनक भर्न मैदान पुग्यो। “दिनभर कामले फुर्सद हुन्न, व्यवसायमै व्यस्त भइन्छ,” रंगशालाको प्यारापिटमा काफ्लेले सुनाए, “साँझमा खेल हुने भएपछि हामी जस्ता कामकाजीलाई सजिलो भएको छ। दिनभरको थकान मेट्न फुटबल हेर्न आइपुग्यौँ।”

विराट गोल्डकपको उद्घाटन खेलमा झापा-११ ले आर्मीलाई १-० गोलले अग्रता बनाएपछि खुसी हुँदै खेलाडी।

विराटनगरको उखरमाउलो गर्मी र कार्यव्यस्ततालाई बिर्साउने माध्यम बनेको छ- शनिबार साँझबाट सुरु भएको रात्रिकालीन विराट गोल्डकप। शनिबार राति साढे ७ बजे जब फ्लडलाइटको उज्यालोमा झापा-११ र त्रिभुवन आर्मीबीचको उद्घाटन खेल सुरु भयो, सयौँ दर्शकको हुटिङले रंगशाला गुन्जियो। खेलमा झापाले आर्मीलाई २-१ ले स्तब्ध बनाउँदाको क्षण काफ्ले र गुरुङका लागि मात्र होइन, रंगशाला पुगेका सयौँ विराटनगरवासीले हुटिङ गरे। “खेल निकै रोमाञ्चक रह्यो। आइतबार पनि चाँडै काम सकेर रंगशाला पुग्ने योजना छ,” काफ्लेले सुनाए।

विराटनगरको सहिद मैदानमा फुटबल हेर्ने दर्शक। तस्बिर : विराट गोल्डकप सचिवालय

विराटनगरमा रात्रिकालीन फुटबलको जग २०७४ सालमा बसालिएको हो। त्यतिबेला गोल्डकपको संयोजक रहेका उद्योगी नवीन रिजालले मोफसलमै पहिलो पटक अस्थायी फ्लडलाइट जडान गरेर नयाँ प्रयोग गरेका थिए। “२०७४ सालमा केही नयाँ गर्ने सोच थियो। त्यतिबेला सहिद मैदानअगाडि अमित राठीसँगको सल्लाहमा डे-नाइट फुटबलको योजना बन्यो,” रिजाल सम्झन्छन्, ‘विराटनगर गर्मी ठाउँ हो, दिउँसोभन्दा साँझको शीतलमा दर्शक र खेलाडी दुवैलाई सहज हुन्छ। यो परम्पराले अहिले पनि निरन्तरता पाएको देख्दा खुसी लाग्छ।”

प्राविधिक र व्यावसायिक हिसाबले पनि रात्रिकालीन खेल फलदायी देखिएको छ। पूर्वफिफा रेफ्री किरण गिरीका अनुसार दिउँसोको चर्को घाममा खेलाडीको स्टामिना चाँडै घट्ने गर्छ। “साँझमा खेल्दा खेलाडीले आफ्नो शतप्रतिशत दिन सक्छन्,” उनी भन्छन्, “दर्शकका लागि पनि साँझको समय मनोरञ्जनको उपयुक्त बेला हो।”

विराट गोल्डकपको उद्घाटन खेल सुरु हुनुअघि।

मैदानमा पसिना बगाउने खेलाडी पनि रात्रिकालीन खेल नै रुचाउँछन्। राष्ट्रिय खेलाडी एवं सम्राट स्पोर्टिङ क्लबका कप्तान अशोक खवास भन्छन्, “दिउँसोको गर्मीमा खेल्नु निकै चुनौतीपूर्ण हुन्छ। नाइट गेम नौलो पनि छ। दर्शकको चाप बढी हुँदा खेल्ने जोस पनि छुट्टै हुन्छ।”

बिरासत ऐतिहासिक र चुनौती नयाँ

२०१८ सालमा ‘महेन्द्र गोल्डकप’ बाट सुरु भएको यो यात्रा २०६८ देखि ‘विराट गोल्डकप’ का रूपमा चिनिन थाल्यो। बीचमा केही वर्ष आर्थिक घाटा र व्यवस्थापकीय खिचातानीका कारण प्रतियोगिता सुस्ताए पनि अहिले पुनः लयमा फर्किएको छ। २०७१ र २०७२ सालमा उद्योगी राजेन्द्र राउतको नेतृत्वमा आर्थिक रूपमा सफल पनि भएको थियो। पछि २०७९ सालमा विराटनगर महानगरले प्रतियोगिता आयोजना गर्दा भने ठूलो घाटा बेहोर्नुपरेको थियो।

यसपटक विराट गोल्डकप फुटबल ट्रस्ट आफैँले करिब एक करोड पाँच लाख रुपैयाँको बजेटमा प्रतियोगिता अघि बढाएको छ। ५ वैशाखसम्म चल्ने यस गोल्डकपको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्। मोफसलकै प्रतिष्ठित ‘विराट गोल्डकप’ फुटबल प्रतियोगितामा भारतसहित आठ टिमको सहभागिता छ। नेपालका ‘ए’ डिभिजन क्लबहरू चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, झापा ११, घरेलु टिम सम्राट स्पोर्टिङ क्लब, तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ)सँगै भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमीको पनि सहभागिता छ।

शनिबार भएको उद्घाटन खेलमा प्लेयर अफ दी म्याच घोषित भएका फागुराम थारू।

विराटनगरको पहिचान र ऐतिहासिक धरोहरका रूपमा रहेको प्रतियोगिताले फ्लडलाइटको उज्यालोसँगै सहरको रात्रिकालीन रौनकलाई मात्र बढाएको छैन, फुटबलप्रतिको क्रेजलाई पनि पुनर्जीवन दिएको छ। ट्रस्टका अध्यक्ष किशोरबहादुर शाही भन्छन्, “विगतका कमी-कमजोरी सुधार्दै यसलाई भव्य बनाउन हामी लागेका छौँ। यो विराटनगरको सान हो।”