काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

‘काद सिरुवा पर्व’

राजवंशी समुदायले विधिपूर्वक पूजा गरिसकेपछि उपस्थित सबैले लगाए माटोको टीका

१ बैशाख २०८३
'काद सिरुवा' तथा रङ कार्यक्रममा सहभागी राजवंशी समुदाय। तस्बिरहरू : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। युवाहरू कोदालोले माटो खोस्रँदै। कोही पाइपबाट पानी जोडेर त्यही माटोलाई लेदो बनाउन व्यस्त। अलि पर महिलाहरू परम्परागत खाजा तयार पार्दै आपसमा भलाकुसारी गर्दै। यो दृश्य मोरङको कटहरी गाउँपालिका-३ स्थित राजवंशी समुदायको आस्थाको केन्द्र ‘ग्रामथान’ अगाडिको सोमबार दिउँसोको हो।

दृश्य हेर्दा लाग्छ, त्यहाँ कुनै खेतीको तयारी हुँदै छ। तर, यो चटारो खेतीपातीको थिएन। बरु सदियौँदेखि प्रकृति र माटोलाई देवता मान्दै आएका भूमिपुत्र राजवंशी समुदायको महान् पर्व ‘काद सिरुवा’ को उल्लास थियो। राजवंशी युवा समाजका सदस्य कपलेश्वर राजवंशी बिहानैदेखि ग्रामथान अगाडिको चौरमा खटिएका थिए। उनले अरू युवासँग मिलेर माटो थुपारे। पानी हालेर हिलो बनाए। उनीहरूको यो सक्रियता कुनै औपचारिकतामा मात्र सीमित थिएन। बरु आफ्नो मौलिक पहिचान र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने एउटा जमर्को थियो।

काद पर्वमा ‘डोरी तान’ खेल्दै राजवंशी सामुदायका युवा-युवती।

त्यसपछि राजवंशी समाज विकास समितिका अग्रज एवं पूर्वराज्यमन्त्री भीमराज राजवंशी ग्रामथानमा आइपुगे। ग्रामथानमा विधिपूर्वक पूजा गरिसकेपछि उनले उपस्थित समुदायलाई हिलो माटोको टीका लगाइदिए। भीम राजवंशीले हिलोको टीका लगाइदिएसँगै विधिवत् रूपमा ‘काद सिरुवा’ को उत्सव सुरु भयो।

त्यसपछि सुरु भयो- हिलो छ्यापाछ्याप। उमेरले नेटो काट्न लागेका वृद्धदेखि कलिला बालबालिकासम्म माटोको लेदोमा लतपतिए। एकअर्कालाई हिलो दल्दै र हाँसोठट्टा गर्दै उनीहरूले नयाँ वर्षको खुसी साटासाट गरे। “यो केवल हिलो खेल्ने पर्व होइन। यो त माटोप्रतिको हाम्रो सम्मान हो,” राजवंशी युवा समाजका अध्यक्ष प्रतिम राजवंशी भन्छन्, “माटोविना मानव जीवन चल्दैन। त्यसैले माटोलाई नै देवता मानेर हामी यो पर्व मनाउँछौँ।” उनका अनुसार झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी समुदायले यसलाई नयाँ वर्षको स्वागतका रूपमा मनाउने गर्छन्।

एकअर्कालाई हिलोको टीका लगाउँदै काद पर्वको सुरुआत गर्दै राजवंशी समुदायका महिला।

तीन दिनको तीन पर्व

राजवंशी समुदायमा सिरुवा पर्व तीन दिनसम्म चल्छ। वैशाख १ गते ‘जल सिरुवा’ अर्थात् पानी खेलेर पर्वको सुरुआत गरिन्छ। दोस्रो दिन ‘काद सिरुवा’ अर्थात् हिलो खेल्ने गरिन्छ भने तेस्रो दिन ‘रङ सिरुवा’ मनाइन्छ, जुन होली जस्तै रङहरूसँग खेलिन्छ। “हाम्रा लागि यो सबैभन्दा ठूलो पर्व हो,” कटहरी-३ की सावित्रीदेवी राजवंशीले हिलो पुछ्दै भनिन्, “नयाँ वर्ष लागेपछि ग्रामथानमा भेला भएर यसरी नै हिलो माटोमा रमाउँदा मनै आनन्दित हुन्छ।”

यस समुदायले माटोलाई मात्र होइन, समग्र प्रकृतिलाई नै पुज्ने गर्छ। चैत-वैशाखको समयमा तराईमा हावाहुरी चल्ने र आगलागीको जोखिम धेरै हुने भएकाले कुनै पनि प्राकृतिक विपत्ति नआओस् भनेर उनीहरू आफ्नो घरको छत, बोटबिरुवा र तुलसीको मठमा शुद्ध जल चढाउँछन्। कुलदेवताको पूजा गरेर वर्षभरि सुख र शान्तिको कामना गर्ने परम्परा छ।

सांस्कृतिक एकताको कडी

पूर्वी तराईका राजवंशी, थारू, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले यस पर्वलाई साझा उत्सवका रूपमा मनाउने गर्छन्। जात र समुदाय फरक भए पनि सिरुवा पर्वले यी सबैलाई एउटै सूत्रमा बाँध्ने गरेको छ।

प्रकृतिपूजक राजवंशीहरू आफूलाई माटोका सन्तान मान्छन्। उनीहरूको हरेक संस्कार माटोसँगै जोडिएको हुन्छ। चैत अन्त्य भएर वैशाखको सुरुआतमा हिलोले शरीरलाई शीतलता दिने मात्र होइन, माटोको सुगन्धले उनीहरूको मौलिकतालाई पनि जीवितै राखेको छ।

राजवंशी सामुदायको कटहरी ३ मा रहेको ग्रामथान।

घाम ढल्कँदै जाँदा ग्रामथानको चौरमा हिलो खेल्नेको संख्या बढ्दै थियो। कसैको अनुहार चिनिँदैनथ्यो, सबै माटोको एउटै रङमा रंगिएका थिए। आधुनिकताको लहरले धेरै संस्कृतिहरू ओझेल पर्दै गर्दा कटहरीका राजवंशीहरूले भने माटोसँगको आफ्नो आदिम साइनोलाई फेरि एक पटक कसिलो पारेको पूर्वराज्यमन्त्री भीम राजवंशीले बताए। “हिलोको यो उत्सव केवल एउटा खेल थिएन। यो त प्रकृतिलाई धन्यवाद दिने सुन्दर शैली र पुर्खाहरूले छोडेर गएको अमूल्य नासो हो। हिलोको रङ पखालिएला, माटोप्रतिको यो अगाध श्रद्धा भने राजवंशी समुदायको मनमा वर्षभरि ताजै रहन्छ,” उनले भने।