काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

२ बैशाख २०८३
तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८औँ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ।

विराटनगरस्थित सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो।

झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६७औँ मिनेटमा ‘सेकेन्ड बार’ च्यापेर गरेको कडा प्रहारले जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो।

यस जितसँगै झापाले १० वर्षअघिको बदलासमेत लिएको छ। २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिस नै भिडेका थिए, जहाँ पुलिसले झापालाई १-० ले नै हराउँदै उपाधि जितेको थियो। १० वर्षपछि सोही मैदान र सोही स्कोरमा पुलिसलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो। खेलको प्यलेर अफ दी म्याच झापाका विदेशी खेलाडी स्वलोमन किङ प्लेयर अफ दी म्याच घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए।

खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो। सुरुवाती समयमा पुलिसले झापालाई दबाबमा राखे पनि आधा दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न सकेन। १८औँ मिनेटमा पुलिसका सञ्जिव लामाको प्रहार बाहिरिएको थियो भने लगत्तै प्रज्वल चौधरीको प्रहारले पनि दिशा लिन सकेन।

२८औँ मिनेटमा सञ्जीव लामाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो। ४०औँ मिनेटमा धीरेन्द्र शाहको प्रहार पनि विफल हुँदा पुलिस अग्रता लिनबाट चुक्यो।

झापाले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोर्ट्स् क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै छ।

चर्च ब्वाइजले विभागीय टोली एपीएफलाई १-० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्पोर्ट्सले भारतको बिरसामुण्डा स्पोर्ट्स् एकेडेमीलाई ३-१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।