दृष्टिकोण
तत्कालीन युवराज महेन्द्रको विवाहमा राज्यकोषबाट १७२ किलो सुन निकालियो। पाल्पाली राजा मुकुन्द सेनले सुन छ भन्ने थाहा पाएरै काठमाडौँ उपत्यकामा आक्रमण गरे। पञ्चायतकालमा राजपरिवारका सदस्यको संरक्षणमा सुन तस्करी हुने पर्दाफास गर्ने पदम ठकुराठीलाई गोलीसमेत चलाइयो।
मुलुकमा नयाँ सरकार छ, दुईतिहाइनजिकको प्रचण्ड बहुमतले बनेको। मन्त्रिमण्डलमा सबै युवा छन्। अर्को विशेषता हो, मुलुकले पहिलोपटक मधेसी समुदायबाट प्रधानमन्त्री पाएको छ। यस सरकारको विषयमा पछिल्लो पटक चर्चाको विषय भएको छ, सुन। मन्त्रिमण्डलका अधिकांश सदस्यले निजी सम्पत्तिका रूपमा राम्रैसँग सुन जोडेका रहेछन्। आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा उनीहरूले आफूसँग भएको तोलाका तोला सुन पनि प्रस्तुत गरेपछि त्यससम्बन्धी चर्चाले यतिखेर सामाजिक सञ्जाल गर्माएको छ। व्यंय हान्नेहरूले त ‘के नेपालमा स्वर्णयुग सुरु भएको हो?’ भन्न समेत भ्याएका छन्।
सुनकै विषयमा चर्चा गर्दा देशका कतिपय नेतामा पछिल्लो पटक सुनकाण्डमा मुछिएका छन्। खासगरी माओवादलाई मार्गदर्शन बनाई सशस्त्र संघर्षमा होमिएका र शान्ति प्रक्रियापछि खुला राजनीतिमा आएका वामपन्थी नेता तथा उनीहरूका कतिपय पारिवारिक सदस्य सुनकाण्डको मुद्दा खेपिरहेका छन्।
पञ्चायतकालमा पनि राजपरिवारका सदस्य सुनकाण्डमा मुछिएका थिए। राजपरिवारका सदस्यको संरक्षणमा तस्करी गरेर ल्याइएको सुनलाई बिस्कुटका रूपमा प्याक बनाएर भारततिर लैजाने गरिएको खुलासा गर्ने त्यस समयका साहसी पत्रकार पदम ठकुराठी आज पनि जीवितै छन्। राजपरिवारका यस्ता कर्तुत खुलासा गरेकै कारण उनलाई गोली प्रहार गरिएको थियो।
सुनका लागि आक्रमण
कुनै समय काठमाडौँ उपत्यका प्रशस्तै सुन भएको राज्यका रूपमा चर्चित थियो। इतिहासको पाना पल्टाउँदा हामी पाल्पाली राजा मुकुन्द सेन (प्रथम) ले विसं १५८१/८२ मा काठमाडौँ उपत्यकामा हमला गरेको थाहा पाउँछौँ। यस हमलाको सूत्रधार एक जना मगर सैनिक थिए। काठमाडौँ उपत्यकामा हरिदेवसिंह राजा भएका बेला मन्त्रीहरूको जालझेलले ती मगर बर्खास्तीमा परेछन्। जागिरमा बर्खास्त भएपछि उनी आफ्नो घर पाल्पा पुगेर ‘काठमाडौँमा सुनका छाना र सुनकै धारा छन्’ भनी तारिफ गरेछन्। यस्तो चर्चा सुन्नेबित्तिकै पाल्पाली राजा मुकुन्द सेन (प्रथम) को कान ठाडो भयो। त्यसपछि उनले घोडचढी सेनाका साथ काठमाडौँ उपत्यका आएर राजा हरिसिंहदेवलाई हराएर हुलदंगा र लुटपाट मच्चाएका थिए। अर्थात् पाल्पाली राजाले प्रशस्त सुन पाइने लोभले काठमाडौँ उपत्यकामा आक्रमण गरे।
सुन भनेपछि अहिले मात्रै होइन, उहिल्यैदेखि मानिस पुलकित हुन्थे। बेलायत पुग्ने पहिलो नेपाली हुन्, मोतीलाल सिंह। नेपाल-अंग्रेज युद्धको समयका योद्धा उनी एक पानीजहाजका क्याप्टेनको कुरा सुनेर अवैध रूपमा बेलायत पुगेका थिए। त्यहाँ उनले प्रशस्तै सुन बटुल्न पाइन्छ भन्ने हल्ला सुनेका रहेछन्। हल्लाको भरमा त्यहाँ पुगेका उनको बिजोग भयो, सडक सफा गरेर गुजारा चलाउनुपरेको थियो। पछि जंगबहादुरलाई बेलायतमा भेटेपछि उनको दिन फिरेको थियो।
सुनकै विषयमा इतिहासमा उल्लेख भएका केही सन्दर्भको चर्चा यस लेखमा गरिएको छ।
सुन व्यापारमा पृथ्वीनारायण शाह
नेपालको इतिहासमा पहिलो अन्तरदेशीय व्यापारिक सम्बन्ध भएको देश हो, तिब्बत। कुनै समय नुनदेखि सुनसम्ममा नेपाल तिब्बतप्रति नै निर्भर थियो। तिब्बतबाटै ल्याइएको सुनबाट मल्ल राजाहरू मन्दिरको छानालाई मुलम्मा लगाई पहेँलपुर बनाएर समृद्धि देखाउँँथे।
राजा पृथ्वीनारायण शाहले आफ्नो सानो राज्य गोरखालाई विस्तार गर्दै जाँदा सबैभन्दा पहिले विसं १८०१ मा नुवाकोट जिते। त्यसबेला नुवाकोट कान्तिपुर राज्यको मातहतमा थियो। पृथ्वीनारायण शाहको मुख्य उद्देश्य राज्य विस्तारसँगै उपत्यकाका राज्यमा आर्थिक नाकाबन्दी गर्नु थियो। त्यसबेला नुवाकोट तिब्बत जाने मूलनाका थियो।
नुवाकोट जितेपछि पृथ्वीनारायण शाहले आफ्नो राजधानी पनि त्यतै सारे। सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र दोलखा पनि एकलौटी गरेपछि उनले आफ्ना मीतबुवा भक्तपुरका राजा रणजित मल्लले तिब्बतमा वाणिज्यदूत बनाएका हरिदेव पण्डितलाई आफ्नो पनि वाणिज्यदूत बनाएर सुन किन्ने आदेश दिएका थिए। सुन किन्ने आदेश दिइएको लालमोहरमा उल्लेख भएअनुसार त्यसबेला तिब्बतमा एक तोला सुनको मूल्य १८ रुपैयाँ तोकिएको देखिन्छ। पृथ्वीनारायणले आफ्ना वाणिज्यदूतलाई सकेसम्म प्रतितोला १६ रुपैयाँमा कुरा मिलाउन, त्यतिमा दिएन भने एक सुका थप गर्न र त्यतिमा पनि दिएन भने प्रतितोला १७ रुपैयाँ तिर्न पनि तयार हुन आदेश दिएका छन्। दाम मिलेको खण्डमा १२ देखि १५ हजार तोलासम्म किन्न आदेश दिएका छन्।
पृथ्वीनारायणले विसं १८१२ मा तिब्बती व्यापारीसँग सुन किनबेचका लागि मूल्यमा तल-माथि नगर्न, हिसाबकिताब दुरुस्त राख्न र सुनको मूल्य तल-माथि गरिए वा सुनको पैसा तत्काल नतिरे पाप लाग्ने धर्मपत्र गरे/गराएका थिए।
१२ चैत १८१३ मा पृथ्वीनारायणले हरिदेव पण्डितलाई लेखेको पत्रमा उत्तर (तिब्बत)बाट आएको सुन दक्षिण (मधेस)तिर बेच्ने गरेको र मधेसबाट सुनका लागि महाजन (व्यापारी)का मानिस आउने पनि उल्लेख गरेका छन्। यसबाट पृथ्वीनारायणले तिब्बततिरबाट सुन खरिद गरी दक्षिण मधेस हुँदै भारततिर बिक्री गर्ने गरेको पनि स्पष्ट हुन्छ।
उनले सुन बिक्री गर्दा प्राप्त हुने मुगल बादशाहका चाँदीका मोहर खिचेर काठमाडौँको टक्सारमा ल्याई त्यसलाई मासी आफ्नो नाममा मुद्रा ढाल्ने नियम बसाएका थिए। इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तकमा पृथ्वीनारायण शाहले राजकोषमा जम्मा गर्न नभई विदेशी व्यापारीलाई बेचेर नाफा कमाउने उद्देश्यले सुनको कारोबार गरेको उल्लेख गरेका छन्।
बिहेमा एक क्विन्टल ७२ किलो सुन
ऐतिहासिक पत्रका संग्रहकर्ता मनोज मनुज (हाल : अमेरिका)ले बेलाबेला बडो गजबका रोचक ऐतिहासिक पत्र सामाजिक सञ्जालमा साझा गर्छन्। केही महिनाअघि मात्रै उनले तत्कालीन युवराज महेन्द्रको विवाहमा राज्यकोषबाट निकालिएको सुनचाँदी र रुपैयाँ-पैसाको विवरण भएको कौशितोषाखानाको पत्र सार्वजनिक गरेका थिए।
२६ र २७ वैशाख १९९७ मा सम्पन्न युवराज महेन्द्र र इन्द्रराज्यलक्ष्मी राणाबीचको विवाहमा राज्यकोषबाट ठूलो मात्रामा सुन-चाँदी निकालिएको रहेछ। त्यो बेला चाँदीभन्दा सुन धेरै निकालिएको थियो। पत्रअनुसार १४ हजार ७६० तोला सुन र १० हजार तोला चाँदी निकालिएको थियो। यस्तै, एक लाख ४९ हजार १४० रुपैयाँ नगद पनि राज्यकोषबाट निकालिएको थियो।
एक किलोमा ८५.७३ तोला हुन्छ। यसअनुसार तत्कालीन युवराज महेन्द्रको विवाहमा राज्यकोषबाट १७२ किलो अर्थात् एक क्विन्टल ७२ किलो सुन निकालिएको रहेछ। अहिले कायम भएको एक तोला सुनको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँका दरले हिसाब गर्दा त्यस विवाह समारोहमा चार अर्ब रुपैयाँभन्दा बढीको त सुन मात्रै निकालिएको रहेछ।

विसं १९९७ तत्कालीन युवराज महेन्द्रको विवाह हुँदा राज्यकोषबाट सुनचाँदी निकालिएको कागज। स्रोत : मनोज मनुज
यो विवाह समारोह त्यस्तो बेला भएको थियो, जतिबेला जुद्धशमशेर मुलुकका हर्ताकर्ता थिए। उनले आफ्नी नातिनी (छोरा हरिशमशेरकी छोरी) इन्द्रराज्यलक्ष्मीको विवाह गराइरहेका थिए। राज्यकोषमा आफ्नै हालीमुहाली चल्दा जुद्धशमशेरले नेपालका भावी राजासँगको विवाह बडो ठाँटका साथ गर्ने नै भए। आफ्नी नातिनीको आर्थिक हैसियत तल नझरोस् भनेर पनि जुद्धशमशेरले यति ठूलो परिमाणमा राज्यकोषबाटै निकालेर दाइजो दिन कत्ति पनि हिचकिचाएका थिएनन् भन्ने स्पष्ट हुन्छ।
आफ्नो हात जगन्नाथ!
राणाहरूले नेपालमै सुनखानी पत्ता लगाउने प्रयास गरेका थिए। स्विस भूगर्भविद् टोनी हागनलाई बोलाएर सुनखानी पत्ता लगाउने जिम्मा दिइएको थियो। उनले सुनखानी पत्ता लगाउन नौ वर्षसम्म लगातार १४ हजार किलोमिटर नेपालको कुनाकाप्चा चहारे, तर उनले राणाहरूले चाहे जस्तो सुनखानी पत्ता लगाउन सकेनन्। बरु भ्रमणको अनुभवको सँगालोस्वरूप नेपाल चिनाउने सचित्र पुस्तक नेपाल : द किङ्डम इन हिमालय छापे।
नेपालमा सुनखानी पत्ता लगाउन नसकिए पनि नेपाल उहिल्यैदेखि सुन कारोबारको ‘ट्रान्जिट’ बन्दै आएको स्पष्ट छ। उत्तरबाट नेपाल हुँदै दक्षिणतिर सुन जाने चलन पुरानै हो। पृथ्वीनारायण शाहको समयमा सुन कारोबार सम्बन्धी इतिहास हेर्दा नै यसबारे स्पष्ट हुन सकिन्छ।
त्यसो त राणाहरूले भारत भ्रमण गएका बेला त्यताबाट पनि सुन खरिद गरेर नेपाल भित्र्याएको इतिहास पाइन्छ।

विसं १९९६ मा जुद्धशमशेर कलकत्ता जाँदा ६० हजार रुपैयाँको सुन किनेको कागज। स्रोत : मनोज मनुज
ऐतिहासिक पत्रका संग्रहकर्ता मनोज मनुजले हालै एक महत्त्वपूर्ण तेरिज साझा गरेका छन्। विसं १९९६ मा तत्कालीन श्री ५ महाराज तथा प्रधानमन्त्री जुद्धशमशेर कलकत्ता भ्रमणमा गएका रहेछन्। त्यस भ्रमणमा उनले तीन लाख ७८ हजार २८६ रुपैयाँ खर्च गरेका रहेछन्। उक्त रकममध्ये उनले ६० हजार रुपैयाँको त सुन मात्रै खरिद गरेका रहेछन्। त्यो मूल्य बराबर उनले कति परिणाममा सुन खरिद गरे, त्यो राज्यकोषमा जम्मा भयो कि उनको निजी कोषमा भन्ने उक्त कागजमा उल्लेख छैन।
जे होस्, उहिलेदेखि अहिलेसम्मका राजा, प्रधानमन्त्री तथा मन्त्रीलाई सुनको मोहनीले लठ्याएकै देखियो। यही सुनको सोखले महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदनमा उल्लेख गरेको आदर्श पंक्ति भने धुजाधुजा हुन पुगेको छ :
हातका मैला सुनका थैला के गर्नु धनले?
साग र सिस्नो खाएकै वेश आनन्दी मनले।