काठमाडौँ
००:००:००
२३ असार २०८३, मंगलवार

व्यक्तिवृत्त

भगिराज इङ्नामले प्रकाशमा ल्याएका ऐतिहासिक सामग्री, मुन्धुमविद् वैरागी काइँला र अर्जुनबाबु माबुहाङले गरेको मुन्धुमसम्मत व्याख्याको जगमा उभिएर लिम्बू इतिहासको पुनर्व्याख्या गर्न जरुरी छ।

२३ असार २०८३
नवीनतम कृतिका साथ इतिहासकार भगिराज इङ्नाम।
अ+
अ-

पूर्वी नेपालको आठराई थुमका मुख्य आठ लिम्बूमध्ये इङ्नामहरू एक हुन्। उनीहरूको प्राचीन माङ्गेना यक (रजस्थल) खेक्लेसेबुङ हो। यो क्षेत्र तेह्रथुम जिल्लाको साबिकको इवा र हाल आठराई गाउँपालिका वडा नम्बर ४ मा अवस्थित छ।

लिम्बूहरूमा विभिन्न वंश छन्। तीमध्ये पापोहाङ वंशमा पर्छन्, इङ्नामहरू। पापोहरूको वंशलता पाँचथरतिर पनि फैलिएको छ। तर, आठराई क्षेत्रमा इङ्नामहरू मात्रै आवाद छन्। अरू पापोहरू पाँचथरतिर फैलिएका छन्। पापोहरूमध्ये पाँचथरतिर फैलिएकाहरू जेठाका खलक हुन् भने तेह्रथुममा रहेका इङ्नामहरू कान्छाका खलक हुन्।

यी दुई दाजुभाइ छुट्टिँदा दाजु मुदा थाप्लासो पापोले भाइ मुन्दाङ आवासो पापोलाई बाठो रहेछौ भनेका थिए। यही अर्थमा लिम्बू भाषाबाट भन्दा उनीहरूलाई ‘इङ्नाम’ भनिएको र कालान्तरमा उनीहरू सोही नाम वा थरबाट स्थापित हुन पुगेका हुन्। पाँचथरतिर फैलिएका पापोहाङवंशीहरू कालान्तरमा तुम्बापो, लावती, तुम्रोक, आङ्देम्बे, कुगेक्ताम्बा, इङ्वाबा, सेर्मा, कुरुम्बाङ, सम्बाहाम्फे, आदि कहलाए।

आठराई क्षेत्रमा आवाद यिनै इङ्नामहरूमध्ये २६औँ पुस्ताका मेरोकहाङका जेठा छोरा इवाहाङ र कान्छा ताकोहाङ भए। जेठो छोरालाई फौजदारी मुद्दा लागेकाले उनी धनकुटाको चौबिसेको बुढीमोरङ र फाक्सिव पुगे। इवाबाट आएकाले उनीहरूमध्ये कोही इवाहाङ कहलाए भने बुढीमोरङमा बस्नेहरू इङ्नाम थरबाटै परिचित छन्।

पृथ्वीनारायण शाहको समयमा १८३१ साउन सुदी १ रोज २ मा लालमोहर पाउने तीन जना लिम्बू सुब्बामध्ये जङ्ग राय यिनै इङ्नाम थरका लिम्बू हुन्। इङ्नामहरूको इज्जत र इमान धान्दै सहसचिवसम्म पदोन्नत भई धनकुटा जिल्लाको प्रमुख जिल्ला अधिकारीसमेत भएका पूर्वप्रशासक भगिराज इङ्नामले लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०) का लागि २०७७ सालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेर आफ्नो नाम र वंशको मात्र नभई सिङ्गो लिम्बू समुदायको नाम रोशन गराए।

दुरूह यात्रा

हामी जुन वर्तमानमा बाँचेका छौँ, त्यो भविष्यको आधार हो भने वर्तमानको आधार इतिहास हो। वर्तमानबारे सम्यक् छलफल वा चिन्तन गर्न इतिहासतिर फर्कनु अत्यावश्यक हुन्छ। र, त्यही वर्तमानले भविष्य निर्धारण गर्छ। त्यसैले भविष्यका लागि इतिहासको आवश्यकता हुन्छ।

इतिहास महत्त्वपूर्ण प्राज्ञिक विधा हो, जसले देशभक्ति जगाउँछ; समाज चिनाउँछ। तर, यति महत्त्वपूर्ण हुँदाहुँदै यो विधा उपेक्षित छ।

नेपालमा सेवानिवृत्त जीवन बाँच्नेहरू अधिकांश परिवारसँग रमाउने, तास खेलेर समय कटनी गर्ने, मोजमस्ती गर्ने, हरिकीर्तन गर्ने, तीर्थाटनमा जाने, आदि गर्छन्। तर, भगिराज इङ्नामले सेवानिवृत्त जीवनलाई प्राज्ञिक कर्ममा होमिदिए, त्यो पनि इतिहास विधामा; जो चट्टानको पहाड चढ्नुबराबर दुरुह हो।

इतिहास प्रमाणका आधारमा लेखिने विधा हो। मिति खुलेको कुनै पनि लिखत इतिहासको प्रामाणिक स्रोत हो। यस्तो प्रमाण जुटाउनु नै इतिहास विधामा हात हाल्नुको मुख्य सकस हो।

इङ्नामले धनकुटाका वंशबन्धुबाट फेला पारेको आफ्नै पुर्खासम्बन्धी सेनकालीन स्याहामोहर।

कुनै समय इमानसिंह चेम्जोङले इतिहासको प्रमाण खोज्दै यसरी नै लिम्बू बस्तीका घर घर पुगेका थिए। तर, जोसँग ऐतिहासिक पत्रहरू थिए, तिनीहरूमा इतिहासचेत नभएकाले धेरैले  आफूसँग भएका कागजपत्र देखाएनन्। त्यसैले चेम्जोङले लेखेको इतिहास प्रामाणिक रूपमा अधुरा, अपुरा र अस्पष्ट छ। उनको खोजी महत्त्वपूर्ण र स्तुत्य हुँदाहुँदै कतिपय सवालमा भ्रमपूर्ण पनि छ। वर्तमान पुस्ताको काँधमा चेम्जोङले गर्न बाँकी रहेको काम पूरा गर्नुपर्ने अभिभारासँगै उनको लेखनबाट सिर्जित भ्रमको जालो हटाउने प्राज्ञिक दायित्व पनि आइपरेको छ।

पूर्वप्रशासक इङ्नामलाई सरकारी निकायमा कहाँ कहाँ अभिलेख सुरक्षित छन् भन्ने सूचना थियो। अभिलेख सुरक्षाको जिम्मा लिने तालुकदार हाकिमहरूलाई अभिलेख पढ्न र उतार गर्न कुन भाषाबाट बक्साउनुपर्छ भन्ने ज्ञान पनि थियो।

सरकारी अभिलेखालयमा भएका ऐतिहासिक पत्र पढ्न वा त्यसको छायाप्रति प्राप्त गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्छ। इङ्नाम पूर्वप्रशासक भएकैले सरकारी निकायका तालुकदार हाकिमहरूसँग मैत्रीपूर्ण व्यवहार गर्ने अक्कल पनि थियो। तर, पनि कतिपय हाकिमहरूले आनीकानी गरेर झन्डै निराश बनाएको अनुभवसमेत उनीसँग छ।

उनी झन् निराश त त्यतिखेर भए, जब उनलाई स्वजातीय बन्धुहरूले नै कागजपत्र देखाउन मानेनन्। कोहीले त फोटोकपी गरिसकेको कागज पनि फिर्ता मागे। त्यतिका चुनौती मोलिसक्दा पनि उनले हिम्मत हारेनन्। लिम्बू आवाद क्षेत्रका बस्ती बस्ती पुगे। जहाँ जहाँ ऐतिहासिक पत्रहरू रहेको सूचना छ, त्यहाँ पुगेर लामै समय खर्चेर इतिहासको महत्त्व कहेपछि मात्रै ती पत्र पढ्ने र फोटो खिच्ने अनुमति पाए।

भगीराज इङनाम। तस्बिर स्रोत : मदन पुरस्कार गुठी

यति दुःख खेपिसकेपछि इतिहासका स्रोतको ठूलो ठेली बन्ने भयो। ती कागजमध्ये कतिपय ध्वाँसो लागेका थिए, कतिपय धमिराले खाएका र कतिपय चाहिँ पुराना र जीर्ण। ती कागजमा भएका भाषा र भावहरूको ऐतिहासिक व्याख्या गर्नुपर्ने भयो। यस्तो मुमुक्षु कर्मका लागि दिनरात नभनी लेखपढ गर्दै जाँदा तयार भयो, लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०)

अर्को उचाइ

एउटा उचाइ हासिल गरिसकेका कतिपय मानिसको यात्रा त्यसपछि टुङ्गिन्छ। तर, इङ्नामलाई अर्को उचाइ उक्लन मन भयो। खोजी जारी थियो, ऐतिहासिक पत्रहरूको। पहिलो कृतिको सफलतापछि उनले प्रशस्त शुभचिन्तकहरू बटुले। कतिपयले आफूसँग भएका कागजपत्र ल्याएरै दिए, कतिपयले त्यस्ता कागजपत्र भएको ठाउँको सूचना दिए। पुरानै विनयशील स्वभावका साथ कागजपत्रको माग गर्दा पहिले जस्तो नाइँनास्ती पनि गरेनन्।

सङ्ख्यात्मक रूपमा पहिले जस्तै ठूलै ठेली तयार भयो, तर गुणात्मक रूपमा अघिल्लोभन्दा फरक र गतिलो। पछिल्लो समय लिम्बूवानको अभिलेख सङ्ग्रह प्रकाशनमा आउँदा उनी पहिलेभन्दा प्रशस्तै सेनकालीन स्याहामोहर, राजा पृथ्वीनारायण शाहका छुटेका सक्कलपत्र, लिच्छविकालीन र शाहकालीन शिलालेखसमेत समेट्न समर्थ भए।

नेपाल प्रज्ञा-प्रतिष्ठानको परियोजनामा इतिहासकार शेरबहादुर इङ्नामसँग मिलेर तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा निस्केकै समय उनी सहसचिवमा पदोन्नत भएका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी भई धनकुटाको प्रशासन चलाउन पुगेका उनले त्यहाँ पनि आफ्नो अतिरिक्त ध्यानदृष्टि ऐतिहासिक स्रोततिर सोझ्याए। पाएजति ठाउँमै स्थलगत अध्ययनमा पुगे। फलस्वरूप सेवानिवृत्त हुँदै गर्दा लिम्बू जातिको इतिहास प्रकाशनमा आयो। यो पुस्तकभित्र उनी धनकुटामा रहेर प्रशासन चलाउँदाका बखत खोजबिन गरेका ऐतिहासिक सामग्रीको झल्को आउँछ।

इङ्नामले माझकिरातका ऐतिहासिक पत्रको अनुशीलन सिध्याएका छन्। यो पुस्तक प्रकाशोन्मुख छ।

नेपालमा संशोधन-मण्डल, योगी नरहरिनाथ, धनवज्र वज्राचार्य, आदि विद्वत् वर्गले ऐतिहासिक सामग्रीको खोजी र व्याख्या गरी इतिहासका अध्येताहरूलाई सजिलो बनाइदिएका छन्। भारतीय विद्वान् भगवानलाल इन्द्राजीले लिच्छविकालीन शिलापत्रहरू सङ्ग्रह गरेर ठूलो गुन लगाएका थिए। आफ्ना बाबुको अस्तुअवशेष सेलाउन काशीको मणिकर्णिका घाट पुग्दा फुर्सदको समय एउटा पुस्तकालयभित्र छिरेर एक पुस्तक के पल्टाएका थिए, उनैले छापेको सामग्रीमा खरिदार बाबुराम आचार्यको आँखा पर्‍यो। त्यसपछि आफूलाई इतिहास अध्ययनमा समर्पित गराउँदा इतिहास शिरोमणि बने बाबुराम आचार्य।

लिम्बूहरूको इतिहासको अवधारणा मात्रै समेटेर इङ्नाम ऐतिहासिक पत्रहरूको सङ्ग्रहमा निर्लिप्त रूपमा समर्पित भइदिँदा जसरी उनीबाट नेपाली इतिहासका सम्पत्तिहरू प्राप्त भए, त्यसको अनुकरण अरू समुदायले पनि गर्ने हो भने नेपाली इतिहास थप समृद्ध हुनेछ। खोज्दै जाँदा धनकुटा बुढीमोरङका आफ्नै वंशबन्धुहरूको घरमा विजयपुरका राजा कामदत्त सेनको विसं १८१४ को स्याहामोहर फेला पर्दा उनले आश्चार्यजनक रूपमा आत्मगौरवको अवसर पाएका थिए।

नेपालमा लिम्बूहरू ऐतिहासिक रूपमा समृद्ध समुदाय हुन्। तर, समस्या के भने, हिजो कागजपत्र नहेरी कसैले भनेकोलाई टिपोट गरेकै आधारमा लेख्ने ह्यामिल्टन र भ्यान्सिटार्ट जस्ता विदेशी लेखकहरूको लेखनबाट लिम्बूहरूको इतिहास अलि बांगोटिंगो हुन पुगेको छ। उनीहरूप्रति भर परिदिँदा इमानसिंह चेम्जोङको लेखनमा पनि प्रशस्तै त्रुटि पाइएका छन्। यस्ता त्रुटिमाथिको विश्वासबाट विचार निर्माण हुँदा त्यसलाई मेट्न अहिलेको पुस्तालाई निकै मुस्किल परिरहेछ।

जस्तो कि चेम्जोङले विजयपुरका राजा कामदत्त सेन विसं १८१८ मा राजा भएको भन्ने लेखेका छन्। इङ्नामले फेला पारेको विसं १८१४ को राजा कामदत्त सेनकै स्याहामोहरले चेम्जोङको लेखनलाई खण्डित गर्छ। अझ आङ्देम्बे लिम्बूहरूसँग भएको विसं १८०८ को स्याहामोहरले कामदत्त चेम्जोङले लेखेको सालभन्दा १० वर्षअघि नै राजा भएको प्रमाणित हुन्छ।

इङ्नामले जोहो गरी प्रकाशमा ल्याएको ऐतिहासिक सामग्रीका साथै मुन्धुमविद् बैरागी काइँला र अर्जुनबाबु माबुहाङले गरेको मुन्धुमसम्मत व्याख्याको जगमा उभिएर लिम्बू इतिहासको पुनर्व्याख्या गर्न अति जरुरी छ।