पाँच पुस्तक
परिपक्व उमेरमा माधवी र वैशालीकी नगरवधूले मलाई सभ्यता, इतिहास र स्त्री अस्तित्वको गहिराइमा लैजाने काम गरे।
पुस्तकहरू पढिने वस्तु मात्र होइनन्, जीवनका सहयात्री पनि हुन्। तिनले हामीलाई बदलिन मद्दत गर्छन्, प्रश्न गर्छन् र कहिलेकाहीँ नयाँ बाटो पनि देखाउँछन्।
पुस्तक छनोटको आफ्नै शैली वा कारण हुन्छन्। मेरा लागि यो प्रक्रिया बौद्धिक आवश्यकता र भावनात्मक चञ्चलताको संयोजन हो। कहिले मैले लेखिरहेको विषयले पुस्तक खोज्न बाध्य बनाउँछ, कहिले मनको चञ्चलताले।
ऐतिहासिक आख्यान लेख्दै छु भने सम्बन्धित इतिहास, समाज र दर्शनका पुस्तक रोज्छु। राजनीतिक जिज्ञासा प्रबल भएका बेला मलाई राजनीतिक पुस्तक चाहिन्छ।
पुस्तक छनोट गर्न म स्वतन्त्र छु। पुस्तक चर्चा र समीक्षाले पनि मलाई पुस्तक रोज्न सघाउँछन्। पुस्तक पसलमा टाढैबाट देखिने पुस्तकका नाम वा सुन्दर आवरणले पनि मलाई किताबतिर आकर्षित गर्छन्। स्वच्छन्द पठनका लागि मलाई कविता, कथा, उपन्यास वा आत्मकथा प्रिय लाग्छन्।
सुरुमा मैले नेपालीसँगै रुसी, बंगाली, भारतीय र चिनियाँ साहित्य पढेँ। त्यसक्रममा पढेका लियो टोल्सटोय, फ्योदोर दोस्तोएभ्स्की, एन्टोन चेखब, मिखाइल सोलोखोभ, अलेक्जेन्डर पुस्किन, निकोलाई अस्त्रोभ्स्की, म्याक्सिम गोर्की, लु सुन आदिका रचना प्रिय लाग्छन्।
पाँच पुस्तक जीवनका फरक फरक चरणमा पढिएको हुनाले तिनको प्रभाव पनि फरक छ। र, मन पर्नुका कारण पनि फरक फरक छन्।
विषयको सरल प्रस्तुतिका लागि मुन्सी प्रेमचन्द र व्यापकताका लागि रवीन्द्रनाथ टैगोर मन पर्छन्। दोस्रो चरणमा मैले ग्याब्रिएल गार्सिया मार्खेज, अर्नेस्ट हेमिङ्वे, जर्ज अर्वेल, फ्रान्ज काफ्का, जाँ पल सात्र आदि पढेँ, जो मेरा मनपसन्द लेखक हुन्।
पात्रहरूलाई एउटै जीवन्त प्रवाहमा मिसाउने मार्खेजको कला मलाई अद्भुत लाग्छ। टोल्स्टोयको क्यानभास ठूलो हुन्छ र त्यसभित्र उनी भूगोल, समाज, राजनीति र मानव जीवनलाई निकै गजबसँग समेट्छन्। दोस्तोएभ्स्की पढ्दा नैतिक प्रश्न र अस्तित्वको व्यापक सौन्दर्यबोध हुन्छ। काफ्काको अस्तित्ववादी प्रवाह मन पर्छ।
मलाई नेपाली साहित्यकार लक्ष्मीप्रसाद देवकोटा विश्वस्तरका लाग्छन्। उनी मेरा प्रिय हुन्। नेल्सन मन्डेला व्यावसायिक लेखक नभए पनि उनको लङ वाक टु फ्रिडम मलाई उत्प्रेरित गर्ने किताब हो। मलाई मन पर्ने पुस्तक र लेखक अनगिन्ती छन्। तर, पाँच किताब छान्नुपर्दा म यी पुस्तक छान्छु :
एक : महाभारत– वेदव्यास
महाभारत मैले बाल्यकालदेखि नै पढ्न थालेँ। यसको गहिराइ बुझ्ने अवसर जीवनका विभिन्न चरणमा मिल्यो। महाभारत केवल धार्मिक ग्रन्थ होइन, जीवनको जटिलता, नैतिक द्वन्द्व र मानवीय चरित्रको बहुआयामिक अध्ययन हो। हाम्रो सन्दर्भमा त यो एक सर्वकालीन महाग्रन्थ हो। यसभित्र धर्म, राज्य, राजनीति, दर्शन, समाज र सभ्यताको व्यापक अर्थ निहित छ। यसमा कुनै पात्र पूर्णतः राम्रो वा नराम्रो छैन। त्यसैले जीवनलाई यथार्थ रूपमा बुझ्न महाभारतले सहयोग गर्छ।
मेरो आख्यानमा आउने कैयौँ पात्र र तिनको नैतिक द्विविधा सायद महाभारतकै प्रभाव हुन सक्छ।
दुई : अन्ना करेनिना– लियो टोल्सटोय
यो उपन्यास मैले कलेजका प्रारम्भिक दिनमा पढेको हुँ। जति बुझेँ, मलाई रोमाञ्चित बनाउन पर्याप्त थियो। अलि पछि, जतिबेला मभित्र व्यक्तिगत स्वतन्त्रताका प्रश्नहरू तीव्र बन्दै गर्दा दोहोर्याएर पढेँ। त्यसपछि लाग्यो, टोल्सटोयको लेख्ने शैली अद्भुत छ। विशेषतः उनी शब्दलाई यसरी जोड्छन् कि पाठकलाई लाग्छ– आफ्नै अगाडि दृश्यचित्र चलिरहेको छ। अन्ना करेनिनाले मलाई कथा भन्ने शिल्प मात्र सिकाएन, पात्र कसरी सजीव बन्छन् र पाठकसँग एकाकार हुन्छन् भन्ने अद्भुत जादुसँग पनि साक्षात्कार गरायो।
मेरो लेखनभित्र भावनात्मक गहिराइ र दृश्यात्मकता कतै छ भने त्यो लियो टोल्सटोयको लेखन र अन्ना करेनिना जस्ता पुस्तकको प्रभाव हो।
तीन : हाउ द स्टिल वाज टेम्पर्ड– निकोलाई अस्त्रोभ्स्की
निकोलाई अस्त्रोभ्स्कीलिखित आख्यान हाउ द स्टिल वाज टेम्पर्डसँग मेरो पहिलो भेट नेपाली अनुवाद अग्निदीक्षामार्फत भयो। पछि, मैले हिन्दी र अंग्रेजीमा समेत यो कृति पढेँ। यो मैले धेरै पटक पढेको पुस्तकमध्ये एक हो।
अग्निदीक्षाले विचार र प्रतिबद्धताको आधार दिन्छ। खासमा यो पुस्तक मैले आफ्नो संघर्षमय युवा उमेरमा धेरै पटक पढेँ। किनभने, म त्यो बेला खतरनाक कम्युनिस्ट बन्ने धुनमा थिएँ र मन पर्ने पात्र थियो– अग्निदीक्षाको पावेल कोर्चागिन। पावेलले देखाएको धैर्य, समर्पण र सपनाप्रतिको निष्ठाले मेरो सोच, सपना र जीवनको अर्थलाई धेरै पटक प्रभावित गरेको छ। मेरा लागि अहिले पनि पावेल आख्यानमा आउने सबैभन्दा बहादुर र प्रिय पात्र हो।
चार : माधवी– मदनमणि दीक्षित
प्रारम्भमा माधवी मैले धेरै पटक पढ्ने कोसिस गरेर पनि छिचोल्न नसकेको उपन्यास हो। चौथो कोसिसपश्चात् बल्ल मैले माधवी छिचोल्न सकेँ। जब पढिसिध्याएँ, त्यसपछि लगातार तीन पटक दोहोर्याएँ। यस पुस्तकले मलाई हाम्रो सभ्यता, जीवनको सौन्दर्य र स्त्रीको चरित्रलाई नयाँ ढंगबाट हेर्न सिकायो।
परिणाममा आख्यानकी पात्र माधवीसँग मेरो प्रेम नै भयो र मैले उनैका नाममा आफ्नो निबन्धसंग्रह प्रकाशित गरेँ– माधवी ओ माधवी।
यो उपन्यास मलाई यसकारण मनपर्छ कि यसले नारी अस्तित्व, त्याग र स्वतन्त्रताको प्रश्नलाई अत्यन्त सूक्ष्म रूपमा उठाएको छ। सायद यसैको प्रभाव हुनुपर्छ, मेरा उपन्यासहरू मोक्षभूमि र इथाका नारी पात्रहरूले कहिलेकाहीँ मलाई स्वयं माधवीको झल्को दिन्छन्।
पाँच : वैशाली की नगरवधू– आचार्य चतुरसेन
यस पुस्तकले मलाई भाषाको सौन्दर्य र कथानकताभित्र परिवेश निर्माणको कला सिकायो। यो यसकारण पनि मलाई प्रिय छ, यसमा प्रयोग भएको भाषा अत्यन्त समृद्ध छ, र यसले दक्षिण एसियाली साहित्यको एक गम्भीर मानक निर्माण गरेको छ। मैले यो पुस्तक आफ्नो लेखन अभ्यासका क्रममा पटक पटक पढेँ र यसले इतिहासलाई केवल तथ्य होइन, संवेदनाका साथ प्रस्तुत गर्नुपर्छ भन्ने बुझायो। कथा र इतिहासलाई जोड्ने, बुझ्ने र विनिर्माण गर्ने मेरा गुरु हुन्– आचार्य चतुरसेन। र, मेरा लागि वैशाली की नगरवधू पढ्नु अनुष्ठानमा सहभागी हुनु बराबर हो।
ऐतिहासिक आख्यानका लागि मलाई सबैभन्दा धेरै प्रेरित गर्ने लेखक हुन्, आचार्य चतुरसेन र मदनमणि दीक्षित। मेरा उपन्यास इथा र मोक्षभूमिमा उनीहरूको प्रभाव देखिन सक्छ। उनीहरूले मलाई कथा र इतिहासभित्र चियाउन र त्यसको सुन्दरता बोध गर्न प्रेरित गरे। उनीहरूले मलाई देखाए कि इतिहास केवल विगत होइन, वर्तमानसँग संवाद गर्ने माध्यम पनि हो। सायद त्यही प्रभावका कारण हुनुपर्छ, म इतिहासको पृष्ठभूमिमा उभिएर मानवीय कथा भन्न रुचाउँछु।

लेखक केशव दहाल।
पढेका किताबको सार
यी पाँच पुस्तक जीवनका फरक फरक चरणमा पढिएको हुनाले तिनको प्रभाव पनि फरक छ। र, मन पर्नुका कारण पनि फरक फरक छन्। बाल्यकालमा महाभारतले आध्यात्मिकता र नैतिक जिज्ञासा जगायो। युवावस्थामा अन्ना करेनिनाले प्रेम र समाजको द्वन्द्व बुझायो। संघर्षको समयमा अग्निदीक्षाले आत्मबल दियो। परिपक्व उमेरमा माधवी र वैशालीकी नगरवधूले मलाई सभ्यता, इतिहास र स्त्री अस्तित्वको गहिराइमा लैजाने काम गरे। यी पुस्तकभित्र निहित भाषाको लालित्य, पात्रहरूको सुन्दर सिर्जना, जीवनको निकटता र कथानकता मलाई सबैभन्दा मन पर्ने विषय हुन्।
यी पुस्तकले मेरो सोचलाई बहुआयामिक बनाएका छन्। यी सबै पढेपछि मैले जीवनलाई एकरेखीय रूपमा होइन, बहुस्तरीय रूपमा बुझ्न थालेँ। त्यसैकारण हुनुपर्छ, अहिले मलाई सहिष्णुता, करुणा र संवेदनशीलताको महत्त्वबोध हुँदै गएको छ।