दसैँअगावै रिलिज
पोखरा। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सकिएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार चलचित्रको ‘प्याकअप’ गरिएको हो।
३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ। चलचित्रको सम्पूर्ण छायांकन पोखरावरपरका रमणीय तथा मौलिक बस्ती अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ।
निर्देशक आकाश बराल भन्छन्, “हरेक दिन पानी पर्दा र गाह्रो-साह्रो हुँदा पनि सेटमा नहाँसेको दिन हुन्थेन। सुटिङको समयमा आएको त्यत्तिको हाँसो दर्शकलाई पनि लगाउन सकियो भने हामी बल्ल सफल भइन्छ।”
सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक र नदेखेको अवतारमा देख्न पाउनेछन्।
सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डिप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा यस चलचित्रको कथा घुमेको छ। छायांकनमा जानुअघि नै चलचित्रको व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी…’ सार्वजनिक गरिएको थियो।
चलचित्रमा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र वासु खनाललगायतको बलियो अभिनय लाइनअप छ। निर्देशक बरालका अनुसार चलचित्रको रिलिज यस वर्षको दसैँअगावै हुनेछ।