फोटो कथा
संस्कृति जोगाउँदै कटहरीका तन्नेरी
विराटनगर। अचेल १४ वर्षीया आशिका श्रेष्ठका हात कापी-कलममा मात्रै सीमित छैनन्। स्कुलको समयबाहेक उनी काँधमा धिमे बाजा भिरेर नेवारी लयमा रम्न थालेकी छन्।
कटहरी गाउँपालिका-१‚ मोरङकी आशिका एक वर्षदेखि आफ्ना अग्रजको पदचाप पछ्याउँदै धिमे बाजा संरक्षणमा जुटेकी हुन्। उनी मात्र होइन, कटहरीको यो तन्नेरी समूहमा १९ वर्षीया रितु श्रेष्ठ, २५ वर्षीय आशिष श्रेष्ठ, २० वर्षीय एन्जल तुलाधार र २५ वर्षीय लक्ष्मी राजभण्डारी सम्मिलित छन्।
उनीहरू अचेल मोरङका ग्रामीण बस्तीसम्म पुगेर नेवारी संस्कारको धुन छरिरहेको भेटिन्छ। युवा पुस्तामा पश्चिमा संस्कृतिको मोह बढ्दै जाँदा यो समूह भने आफ्ना पुर्खाले धानेको भाषा, धर्म र संस्कृति जोगाउन जुटेको हो। “पहिले नेवार भएर पनि आफ्नो समुदायको बाजा बजाउन नआउँदा मन खिन्न हुन्थ्यो,” आशिका भन्छिन्, “अहिले ताल सिक्न थालेपछि खुसी छु। टेलिभिजनमा मात्रै देखेको बाजा अहिले आफैँले बजाउन पाउँदा आनन्द आउँछ।”

धिमे बाजा बजाउने नेवार समुदायका युवायुवती।
पुस्तान्तरणको अभियान
नेवार समुदायमा शोकबाहेक सबै शुभकार्यमा धिमे बजाउने गरिन्छ। पछिल्लो समय यो कला लोपोन्मुख अवस्थामा पुगेको महसुस भएपछि कटहरीका युवाले ‘नेवा: देय देबु’ गठन गरेर संरक्षण अभियान सुरु गरेका हुन्। संस्थाका अध्यक्ष लक्ष्मीभक्त राजभण्डारीका अनुसार अहिले यस समूहमा २० भन्दा बढी युवाले वाद्यवादनको प्रशिक्षण लिइरहेका छन्।
“हाम्रो कला र संस्कृति काठमाडौँ उपत्यकामा मात्र सीमित छैन। उपत्यकाबाहिर पनि यसको महत्त्व उत्तिकै छ,” अध्यक्ष भण्डारी भन्छन्, “यदि युवा पुस्ताले चासो नदेखाउने हो भने हाम्रो पहिचान हराउने डर थियो। त्यसैले हामीले पुस्तान्तरणको लक्ष्यसहित प्रशिक्षण सुरु गरेका हौँ।” यस समूहले बाजा मात्र बजाउँदैन, लाखे नाचका लागि पनि छुट्टै टोली तयार पारेको छ। गाउँघरमा हुने मेला-उत्सव वा कुनै पनि सांस्कृतिक कार्यक्रम हुनेबित्तिकै यो टोली झ्याली, मादल र धिमे बोकेर पुगिहाल्छ।

नेवा: देय देबुलाई लाखे नाचको सामग्री वितरण गर्दै कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीसहित सहभागी।
खासगरी धिमे, मादल र झ्याली पुरुषले मात्र बजाउने बाजाका रूपमा परिचित थिए। कटहरीमा भने यो सामाजिक मान्यता फेरिएको छ। महिलाहरू पनि पुरुषसरह रहरलाग्दो गरी धिमेको तालमा मिसिन थालेका छन्। रितु जस्ता युवतीले आफैँ अग्रसर भएर यो कला सिकेका छन्। “अब हामी कुनै पनि सांस्कृतिक कार्यक्रममा निर्धक्क भएर बाजा बजाउन सक्छौँ,” रितु भन्छिन्, “सुरुमा बाजा समात्न र ताल मिलाउन केही असहज भए पनि अहिले यसैमा आनन्द लाग्न थालेको छ।”
पालिकाको साथ
युवाले सुरु गरेको अभियानलाई कटहरी गाउँपालिकाले पनि साथ दिएको छ। गाउँपालिकाले मंगलबार नेवा: देय देबुलाई झ्याम्टा, लाखेको वेशभूषा, मादल र अन्य सांस्कृतिक सामग्री प्रदान गरेको छ। कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीका अनुसार पालिकाभित्रका हरेक समुदायको भाषा र संस्कृति संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो। “हामीले नेवार समुदाय मात्र होइन, पालिकाभित्र रहेका सबै समुदायको पहिचान जोगाउन आवश्यक सामग्री र सहयोग उपलब्ध गराउँदै आएका छौँ,” अध्यक्ष चौधरी भन्छन्, “संस्कृति जोगिए मात्र हाम्रो मौलिक पहिचान कायम रहन्छ।”

नेवार समुदायका भाषा, धर्म र संस्कृति संरक्षणका लागि कटहरी १ मा नेवा: देय देबु गठन गरेर काम गरेका समितिका पदाधिकारी तथा सदस्य।
तन्नेरी पुस्ताको यो जोस र स्थानीय सरकारको सहयोगले कटहरीमा नेवारी संस्कृतिले नयाँ जीवन पाउन थालेको छ। अग्रजबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै गरेको यो कला मोरङको ग्रामीण क्षेत्रका लागि एउटा उदाहरणीय सांस्कृतिक कडी बनेको कटहरी गाउँपालिका-१ का अध्यक्ष हरिनारायण राजवंशी बताउँछन्।