काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

कला

दृष्टान्त चित्र र सिर्जनशील कलाको अनौठो मिलनले राधेश्याम मुल्मीका चित्र पृथक् देखिन्छन्।

१३ बैशाख २०८३
राधेश्याम मुल्मीका कला।
अ+
अ-

वरिष्ठ कलाकार राधेश्याम मुल्मीको ‘प्रतिविम्ब’ शीर्षकको तेस्रो एकल कला प्रदर्शनी भर्खरै (२८-३० चैत २०८२) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भयो। नेपाल व्यावसायिक कलाकार संघको आयोजनामा सम्पन्न यस प्रदर्शनीमा कलाकार मुल्मीबारे साहित्यकार तथा पत्रकार जीवनाथ धमलाले तयार पारेको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो। धमलाले थुप्रै नेपाली आधुनिक कलाकारका यस्ता वृत्तचित्र तयार पारिदिएका छन्। यसो हुँदा पनि उनको यो वृत्तचित्र गजबकै बनेको देखिन्छ।

उमेरले ७७ नाघिसकेका मुल्मी (जन्म ‍: १२ माघ २००६)को कलायात्रा नै करिब ५० वर्ष पुग्यो। पोखरामा जन्मेका उनी पाकिस्तानबाट कलामा स्नातकोत्तर गरी २०३५ सालमा स्वदेश फर्के र काठमाडौँलाई कर्मथलो बनाए। यसर्थ नेपाली आधुनिक कलाको शुभारम्भ (सन् १९६०)मा देखापरेको कलाशैलीको प्रभाव उनका काममा समेत देखिन्छ। त्यतिबेला नेपाली कलामा अलिकति धर्म, अलिकति आफ्नै संस्कृति अनि पश्चिमी कला-अंकन पद्धतिको ‘फ्युजन’ हुन्थ्यो। त्यस बखतका कलाकारले मनका भावबाट एउटा कथा बनाउँथे, अनि यसैलाई देखिने र बुझिने गरी चित्रमा उतार्थे। यसैको प्रतिविम्बका रूपमा मुल्मीका कला देखा परेका थिए।

ग्राफिक डिजाइनरको समेत पेसा अपनाउने उनले दृष्टान्त चित्र (इलस्ट्रेसन) खुब बनाउँछन्। दृष्टान्त चित्रले लोकगाथा वा कथालाई समेत चित्रको भाषामा भनिदिन सक्छ, तसर्थ त्यसमा लेखकका दृष्टिकोण र विचारसमेत स्पष्ट रूपमा आउन सक्छन्। नेपाली आधुनिक कलाको शुभारम्भताका लेखनलाई अझ शक्तिशाली र थप आकर्षक बनाउन चित्रको प्रयोग गर्ने गरिन्थ्यो। विशेषतः बालबालिकाका लागि यस्ता पुस्तिकामा त्यस बखत पनि चित्र बनाउने खुब प्रचलन थियो।

दृष्टान्त चित्रकै शैलीमा आउने उनका चित्रले भाव मात्र नभएर विचारलाई समेत व्यक्त गर्छन्, त्यसमाथि आधुनिकताका विम्ब समेत सगोलमा देखा पर्छन्, यसपालिको प्रदर्शनीमा उनका यस्ता–यस्तै थुप्रै चित्र देखिन्छन्। २०७७ सालमा बनाएको ‘आमाको प्रेम’, २०५८ सालमा बनेको ‘गन्तव्यहीन यात्रा’, २०६१ सालमा बनेको ‘सोचाइ र भोगाइ’, २०८१ सालमा बनेको ‘प्रेम’ आदि यसका ज्वलन्त उदाहरण हुन्।

केही न केही कला बनाइरहनु उनको नियति हो, अनि यसैमा निरन्तर लागिरहनु उनको स्वभाव हो। उनका कलामा अनेक विषय तथा वस्तुको संयोजन देख्न सकिन्छ।

यथार्थ फर्ममा कोरिने दृष्टान्त चित्रलाई कल्पनामा बगाएपछि स्वभावतः त्यसले आधुनिक कलाको सुगन्ध बोक्छ। अझ यसैलाई स्वैरकाल्पनिकतामा अंकन गरिदिँदा नितान्त भावनात्मक चित्र बन्न पुग्छ। यसरी व्यावसायिक कला (दृष्टान्त चित्र) र सिर्जनशील कलाको अनौठो मिलनले गर्दा उनका चित्र अलि अलग देखिन्छन्। यी र यस्तै संयोजनले गर्दा उनका चित्र आधुनिक कलाको अलि पुरानो पाराका तर झट्ट हेर्दा बुझिने खालका देखिन्छन्। सजिलै अर्थ लगाउन सकिने उनका चित्रले एकताका राम्रै चर्चा बटुलेका थिए।

बढी मात्रामा कथा बोकेका उनका यी कलामा बलियो सिर्जनशील आध्यात्मिक भावसमेत अनुभव गर्न सकिन्छ। उनी आफैँ पनि अध्यात्ममा गहिरो आस्था राख्छन्, अध्यात्मका विषयमा कुराकानी गर्न मन पराउँछन् र सोअनुरूपको सकारात्मक व्यवहारसमेत देखाउँछन्। यस पृष्ठभूमिमा हेर्दा उनका चित्रमा मिथक ‘मोटिफ’ का रूपमा मात्र देखिँदैन, कतै न कतै आराध्यदेवका रूपमा समेत त्यसले भूमिका खेलेको देखिन्छ।

nn – 2

नेपाल व्यावसायिक कलाकार संघमा आबद्ध रहँदै आएका मुल्मीले जीवनका उर्वर वर्षहरू ललितकला क्याम्पसमा अध्यापन गरेर बिताए। उनी क्याम्पसको प्रमुख त हुन पाएनन्, तथापि सबै कलाकारका लागि उनी कलागुरुको नाम र मानले परिचित छन्। उनले सयौँ कलाकारलाई पढाए। उनले पढाएका कलाकार कति बिचैमा हराए भने कति आज कला क्षेत्रमा स्थापित र चर्चित छन्। पुराना विद्यार्थीले आफ्नो कला प्रदर्शनीको उद्घाटन गर्दा यिनलाई सम्झिएकै हुन्छन्। साह्रै सरल, मृदुभाषी र मान नखोज्ने स्वभावका उनी पनि आफ्ना विद्यार्थी र अन्य युवा कलाकारको समेत प्रदर्शनीमा पुगेकै देखिन्छन्। उनको उपस्थितिले मात्र विद्यार्थी र युवा कलाकारलाई उत्प्रेरणा मिलेको देखिन्छ। यहाँ कला पढाउने कलागुरु त थुप्रै छन्, यद्यपि कला प्रदर्शनीहरूमा उनी मात्र बढी देखिनुले उनको सरलता र कलाप्रतिको प्रेमलाई दर्साउँछ। तसर्थ, विद्यार्थीले उनलाई बडो आदरभावले हेर्छन् र स्नेह जताउँछन्।

कलाका कुरा

यसपालिको प्रदर्शनीमा उनका केही पुराना र केही नयाँ कला प्रदर्शन गरिएको थियो। यस अर्थमा यस प्रदर्शनीमा उनको कला-यात्रालाई समग्रमा हेर्न सकिन्थ्यो। अमूर्त शैलीको ‘स्याउ’ नामक चित्रमा थुप्रै स्याउ एकै ठाउँमा छ्यासमिस देखिन्छन् भने ‘अव्यवस्थित भाँडाहरू’ नामक चित्रमा अनगिन्ती भाँडाकुँडा आएका छन्। यस्तै ‘सद्‌भाव’ नामक चित्रमा लडेका कपमाथि थुप्रै मुसा रमाइरहेको देखिन्छ। नितान्त अमूर्त स्वरूपको यो चित्र साँच्चिकै लोभलाग्दो छ। चित्रमा वस्तु तथा पात्रको संयोजन यसरी गरिएको छ कि प्रत्येक चित्र खास ‘टेक्स्चर’ (बनावट)मा छन्।

जे-जस्तो संयोजन रहे पनि उनको हरेक चित्रमा एउटा कथा गाँसिएको हुन्छ, अर्थात् उनका प्रत्येक चित्रले केही न केही भन्न खोजिरहेको वा सन्देश दिन खोजिरहेको देखिन्छ। यही नै उनको कलाको मूल विशेषता हो।

संयोजन, संगठन र प्रस्तुतिको ढाँचा हेर्दा उनका कलामा यथेष्ट मात्रामा स्वैरकाल्पनिकता महसुस गर्न सकिन्छ।

केही न केही कला बनाइरहनु उनको नियति हो, अनि यसैमा निरन्तर लागिरहनु उनको स्वभाव हो। उनका कलामा अनेक विषय तथा वस्तुको संयोजन देख्न सकिन्छ। कतै थुप्रै लडेपडेका अनेकौँ कप छन्, त्यसैमाथि अनगिन्ती मुसा रमाइलोसँग उफ्रिरहेका छन्; कतै निमग्न भएर सारंगी बजाइरहेको पात्र भेटिन्छ भने कतै अद्भुत ‘पोस्चर’ मा देव गणेशलाई देख्न सकिन्छ।

उनको ‘गणेश’ नामक चित्र अनौठो संरचनामा बनेको छ। त्यसो त नेपाली दर्जनौँ समसामयिक कलाकारका चित्रमा देव गणेश परेका छन्। कलाकारले आआफ्नै ढंगले गणेशको रूपलाई परिकल्पना गरेको देखिन्छ। मुल्मीले भने गणेशका अनेक स्वरूप र पोस्चरलाई अझ चाखलाग्दो रूपमा प्रस्तुत गरेका छन्। उनको चित्रपटमा हातमा लड्डु लिएका मूल गणेशसँगै अनेकानेक गणेश झुल्किएका छन्। मूल गणेशले अनेक प्रकारका गणेशलाई कुतूहलपूर्वक हेरिरहेका छन् भने अरू सात गणेश उनकै शरीरमाथि लडिबुडी खेलिरहेका छन्। उनलाई समेत अर्का गणेशले अचम्म मान्दै हेरिरहेको देखिन्छ।

यस्तै अर्को चित्र छ, गणेशभित्र अर्को गणेशको; यसमा पनि उनले अमूर्त शैलीमा थुप्रै गणेशलाई संगठित गरेका छन्। मूल गणेशको अंगप्रत्यंगमा अनेक गणेश देखिन्छन्। अर्को चित्रमा मादल बजाउँदै गणेश नाचिरहेको देखिन्छ। उनका चित्रमा सारंगीदेखि अनेक बाजा आएका छन्, गणेशको वाहन मुसासमेत नाचिरहेको देखिन्छ। आध्यात्मिक चेत र धर्ममा विशेष आस्था राख्ने भएकै कारण उनका चित्रमा देव गणेशसँगै अन्य देवता आएका छन्। संयोजन, संगठन र प्रस्तुतिको ढाँचा हेर्दा उनका कलामा यथेष्ट मात्रामा स्वैरकाल्पनिकता महसुस गर्न सकिन्छ।

nn – 3

यस प्रदर्शनीमा राखिएका उनका चित्रमा संगीत र जनावर मुख्य पात्रका रूपमा देखिन्छन्। कतिपय चित्रमा एउटै पात्र अनेक स्वरूप र संयोजनमा आएका छन्। उनलाई कलामा ‘सिरिज’ बनाउन सम्भवतः मन पर्दैन। कुनै एउटा चित्र बनाउनुअघि उनले लामो समय सोच्छन्। एउटा परिकल्पनामा स्पष्ट भएपछि मात्र उनी चित्र बनाउन बस्छन्। उनको कलागत शैली र कलर स्किममा मोटामोटी रूपमा फरकपन देखिँदैन। विशेष गरेर उनका रेखा बढी चलमलाउँछन्; बगेका रङहरूले एउटा लय समातेको देखिन्छ।

गएको चैतमा आर्ट काउन्सिलमा ‘नेपाली झन्डा’ थिमका साथ एउटा सामूहिक कला प्रदर्शनी भएको थियो। यो सामूहिक कला प्रदर्शनीमा मुल्मी पनि सहभागी थिए, २०८२ सालमा बनाएको ‘राष्ट्रिय झन्डा’ नामक चित्रसहित। यस चित्रमा उनले आफ्नो पुरानो लयात्मक शैलीलाई छाडेको देखिन्छ। यथार्थ शैलीको यस चित्रमा आफ्नो झन्डाप्रतिको आस्था र स्नेहलाई व्यक्त गरेको भावमा झन्डैझन्डाको बीचमा एक महिला देखिन्छिन्।

(कलाकार मल्ल कला समीक्षकसमेत हुन्।)