उँभौली पर्व
प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने किरात राई समुदायको महत्त्वपूर्ण पर्व साकेला
काठमाडौँ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व आज देशभर मनाइँदै छ। बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी यस दिन प्रकृतिको पूजा-आराधना गरिने परम्परा छ।
गर्मी बढ्ने भएकाले यस समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुंगीलगायत वन्यजन्तु पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।
किरात राई समुदायको महत्त्वपूर्ण पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ। यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ। यस अवसरमा किरात राई समुदायका सदस्यहरूले ललितपुरस्थित हात्तीवनको किरात पूजास्थलमा भेला भई सामूहिक पूजा-अर्चना गरेका छन्।
प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै मनाइने यस पर्वमा सहभागीहरूले परम्परागत वेशभूषामा सजिएर साकेला सिली नृत्य प्रस्तुत गरेका थिए। कृषिचक्रसँग जोडिएको उँभौली पर्वले सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ।
हेर्नुहोस् तस्बिरहरू

