परिकार

आलु निम्की हाम्रो आफ्नै मौलिक परिकार हो, स्थानीय आवश्यकता र उपभोक्ताको मागका कारण धरानमा जन्मिएको र त्यहाँबाट पूर्वी भेग हुँदै नेपालभरि र विदेशतिर फैलिँदै गएको परिकार।

२७ असार २०८३
आलु निम्की बनाउँदै स्थानीय सुष्मा चाम्लिङ राई। तस्बिरहरू : राजेश घिमिरे
अ+
अ-

सुनकोसीको किनारामा रहेको रानीटारमा गाडी रोकियो। ‘आजकाल सुनकोसीमा फेरी चलेको छैन, हिँडेर जानुपर्छ, साँघु तरेपछि अर्को गाडी लागेको हुन्छ, त्यसैमा जानु,’ गाडीका कर्मचारीले आदेश दिएका थिए।

चतराभन्दा तीन किलोमिटर पश्चिम उदयपुरको बेलका नगरपालिकामा रहेको लाहुरेको खोज रिसोर्टबाट बिहानै हिँडेका थियौँ यस गाडीमा। सप्तकोसीको किनाराबाट पक्की कच्ची सडकमा कुदाउँदै ल्याएर गाडीले सुनकोसीको किनारामा छोडेको हो। यो सानो बजार रानीटार चाहिँ उदयपुरकै चौदण्डीगढी नगरपालिकामा पर्छ। पारि भोजपुर, आमचोक गाउँपालिका। पुग्नु पर्ने त्यही पालिका हो तर हाम्रो गन्तव्य त पालिकाको केन्द्र बालंखा थियो।

गाडीमा अझै तीनचार घण्टाको बाटो। ठ्याक्क भात खाने बेला भएको थियो। पारि गए पछि के हो? के हो? गाडी रोक्ने ठाउँअगाडि यात्रु विश्राम गर्नेदेखि खाना खाने सुविधा भएको एक मात्र होटलमा पसेर धमाधम भात खान थालियो। दाल, भात, तरकारी साग र एउटा अचार। पस्कँदा सामान्य देखिए पनि खाना चाहिँ औसतभन्दा माथिको थियो। त्यसमाथि काटेर दिइएको अकबरेले भात रुचाउन सहयोग गरिरहेको थियो। खाँदाखाँदै कसैले खबर गर्‍यो, ‘सुनकोसीपारि गाडी तयार छ, छिटो जानुस् रे।’ गाँस टिपेर कुद्‌ने काम पो भयो।

झोलाझाम्टा बोकेर सुनकोसीमा बनेको साँघु तर्न थालियो। छेउमा एउटा पक्की पुलको अस्थिपञ्जर जस्तो खडा थियो। यस बाटाका नियमित यात्रीहरूसँग बात मार्दै जाँदा थाहा भयो– यो पुल बनाउने जिम्मा रसुवा स्वच्छन्द एसएनएस पप्पु (जेभी) ज्वाइन्ट भेन्चरको रहेछ। २५ करोडको लागतमा तीन वर्षमा बनाइसक्ने भनेर असार २०७३ मा ठेक्का सम्झौता गरेको थियो। जुन प्रविधिले पुल बनाउने भनेको त्यो काम नलाग्ने भएपछि २०८० फागुनमा डिजाइन फेरेर फेरि अर्को सम्झौता भएको रहेछ। तीन वर्षमै सक्नुपर्ने यो पक्की पुल विगत १० वर्षसम्म अलपत्र भएर होला, चाँडै काम होला भनेर कसैले पनि आशा गरेका रहेनछन्।

बालंखा बजार।

पारि पुगियो। अप्ठ्यारो भिरालो बाटोमा गाडी लाममा बसेका थिए। कच्ची बाटामा सजिलै चलाउन पाता थपिएकाले सामान्यभन्दा अलि अग्ला थिए गाडीहरू। नेपालमा अफरोडमा चलाउन सस्पेन्सनमा अतिरिक्त पाता (स्प्रिङ लिफ) राखेर उचाइ बढाउने गरिन्छ। यसले गाडीलाई भुइँ नछुने गरी अग्लो बनाउनुका साथै गाडीको भारवहन क्षमता बढाउँछ भनिन्छ। तोकिएको गाडीमा झिटीझाम्टा हालियो र केही क्षणको प्रतीक्षापछि लागियो, आमचोक गाउँपालिकाको केन्द्र बालंखातिर।

बालंखा पुगेर प्रारम्भिक काम सक्दासम्म बिहानको भातले साथ छोडिसकेको थियो। भरे के खाने पत्तो थिएन। अनि यसो बजारतिर आँखा डुलाउन थालियो। त्यतिकै अलि सफा खालको दोकान देखियो, टेबल कुर्सीसहितको। एक जना किशोरी नौला मान्छे देखेर ‘सेवा’ भन्दै हात जोडेर आइपुगिन्। हामीले सोध्यौँ, ‘केही खान पाइन्छ?’ उनले भनिन्, ‘चिया र आलु निम्की।’

यात्राले थाकेको ज्यानलाई स्फूर्तिदायक हुने भए दुवै कुरा। ‘पहिला चिया अनि आलु निम्की ल,’ साथीले भने। गजबको जलपान हुने भयो। पानी परेर चिसो भएको बेलामा चियाले तातो बनाउला अनि तिक्खर आलु निम्कीले रातोपिरो। यो साँझ आलु निम्कीकै नाममा जाने भयो।

बालंखाकी ती किशोरीको नाम सुष्मा चाम्लिङ राई रहेछ, दोकानचाहिँ दिदीको रहेछ, उनी दिदीलाई सघाउन आएकी बहिनी। केही क्षणमा नै सुष्माले चिया दिइन्। अनि डेढ पाथी जति अट्ने बाल्टीमा आलु निम्की बनाउन थालिन्। यो परिकारका सबै कुरा तयार नै हुन्छ। अलिकति काटकुटमा समय जाने हो। नत्र यो हाम्रो पक्का ‘फास्ट फुड’ हो। हरियो मटर (हरियो केराउ, नभए उसिनेको केराउ), भिजाएको कालो चना, उसिनेको आलु, बट्टामा राखिएको निम्की, प्याज, टमाटर, हरियो खुर्सानी, अमिलो, हरियो धनियाँ, नुन अनि आफैँले बनाएको सस। बस मिसायो अनि पस्कियो। सुष्मा भन्छिन्, ‘हामीले हाल्ने बाहिरी मसला भनेको चाट मसला मात्र हो।’

सुष्मा चाम्लिङ राई।

‘चार किलो मैदाको निम्की बनायो भने हामीलाई तीनचार दिन पुग्छ। फुड कलर हालेर मैदाकै सस बनाउने त हो,’ आफ्नो काम सहज भएको जसरी एउटा हातमा उसिनेको आलु राखेर अर्को हातमा रहेको चक्कुले धमाधम काट्दै सुष्माले भनिन्।

हाम्रो फास्ट फुड आलु निम्कीका लागि तीन वटा काम गर्न पर्छ। पहिलो हो, निम्की बनाउने काम। मैदा, ज्वानो, (कतिले विशिष्ट स्वादका लागि मुंग्रेलो पनि हाल्छन्) घिउ र नुन हालेर मुछिएको पीठो केही क्षण ‘रेस्ट’ गर्न दिने। त्यसपछि पीठोलाई बेलेर डायमन्ड (समचतुर्भुज) आकारमा काटेर तेलमा कडा हुने गरी तारिन्छ। दोस्रो काम चाहिँ सस बनाउने हो। आलु निम्कीको मुख्य स्वाद नै यही ससले दिन्छ। बेसन (चनाको पीठो) वा मैदालाई पानीमा घोलेर, टमाटर, बेसार, खुर्सानी, बिरे नुन, चिनी र कागतीको रस वा अमिलो हालेर एउटा बाक्लो लेदो बनाइन्छ। आकर्षक रङका लागि रातो वा सुन्तला रङको फुड कलर पनि हालिन्छ। त्यसपछि चाहिने सामान उसिनेर ससाना टुक्रा पारिएका आलु, मसिनो गरी काटिएको प्याज, हरियो खुर्सानी र हरियो धनियाँलगायत तरकारीको मिश्रण हो। बाँकी रह्यो बनाउने वा मिसाउने तरिका। सबैभन्दा पहिला एउटा ठूलो भाँडोमा उसिनेको आलु, काटिएको प्याज, खुर्सानी र धनियाँ राखिन्छ। त्यसमा तयार पारिएको सस र स्वाद अनुसारको नुन/चाट मसला हालिन्छ। अन्तिममा कुरुमकुरुम हुने खालका निम्कीहरू हालेर तुरुन्तै मिसाइन्छ र माथिबाट धनियाँ वा बदामले सजाएर (गार्निस) गरेर ‘सर्भ’ गरिन्छ। निम्कीलाई ‘ग्रेभी सस’ मा मिसाएपछि धेरै बेर राख्नु हुँदैन, नत्र त्यसको कुरुमकुरुम हराउँछ। त्यसैले यसलाई बनाउनासाथ खानुपर्छ।

सुष्माले पनि त्यसैगरी ल्याइन्। हामी पनि दंग परेर खान थाल्यौँ। त्यस साँझ हामीले आलु निम्कीलाई समर्पण गर्‍यौँ। पेट हल्का भरियो तर मन भरिएन। सुष्मालाई फेरि बनाउन भनेर फेरि खायौ। आलु निम्की सम्झनासाथ त्यो साँझ, बालंखा बजार र सुष्मा चाम्लिङ बहिनीको पनि सम्झना आउने बन्यो हाम्रा लागि। तर, आलु निम्कीको खास नाता त धरानसँग पो रहेछ।

खानाका बारेमा अनुसन्धानरत धरानका यूएन कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, रैथाने खानाका अनुसन्धाता सेफ इङवा सुब्बा, सेफ पुष्पको टोलीले आलु निम्कीको सुरुआतको कथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। अनुसन्धाताको यस टोलीले धराने आलु निम्कीको जन्मदाता गोपाल चौधरीलाई भेटेको थियो। अनुसन्धाता गगनमान श्रेष्ठका अनुसार आलु निम्की २०३२/३३ सालमा नै बनिसकेको हो। तर, लोकप्रिय चाहिँ २०५० को अन्तिम अन्तिम ताका मात्र भएको हो।

आलु निम्की।

गोपाल चौधरी चटपटे बेच्थे। चटपटे हाल्नका लागि निम्की पनि राख्थे। ग्राहकले नै भुजा नहाली आलु निम्की मात्र हालेर बनाइदिनु भने। त्यसैअनुसार आलु निम्की परिकार बन्दै गयो। बिस्तारै विकास हुँदै आजको रूपमा आयो। गोपाल चौधरीले आफ्नो बेलामा कागजमा राखेर आलु निम्की तीन रुपैयाँमा बेचेका थिए। अहिले आधुनिक प्लेटमा चम्चासहित दिँदा ६० रुपैयाँ लिन्छन्।

हाम्रो आवश्यकता, स्थानीय उत्पादन र उपभोक्ताको मागअनुसार जन्मिएकाले आलु निम्की मौलिक परिकार हो। धरानमा जन्मिए पनि आलु निम्की त्यहाँबाट पूर्वी भेग हुँदै नेपालभरि र विदेशतिर फैलिँदै गएको छ। अब आलु निम्की बनाउनुभयो वा खानुभयो भने धरानलाई सम्झनुहोला, यसका निर्माता गोपाल चौधरीलाई सम्झनुहोला।