काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

आवरण

सम्बन्धविच्छेदका लागि दैनिक सरदर ११२ जोडी पुगिरहेछन् अदालत

२९ बैशाख २०८३
अ+
अ-

गत वर्ष काठमाडौँका एक जोडीको धुमधामसँग मागी विवाह भएको थियो। तर, विवाहको सात महिनामै सम्बन्धविच्छेदका लागि काठमाडौँ जिल्ला अदालत पुगेको छ। उच्च घरानाकी ३६ वर्षीया महिलाले विवाहपछि श्रीमान्‌ले आफूलाई वास्ता नगरेको र श्रीमान् समलिंगी आकर्षण देखिएको कारणसहित सम्बन्धविच्छेदका लागि यही वैशाखमा मुद्दा दर्ता गरेकी छिन्।

काठमाडौँको पेप्सीकोला निवासी अनिला (नाम परिवर्तन)को जोडीबीच विवाहको १५ वर्षपछि खटपट सुरु भयो। श्रीमान् परस्त्रीसँग लागेको उनको शंका थियो। उनले सामाजिक सञ्जाल टिकटकमा लाइभ बसेर व्यक्तिगत कुरा पनि सुनाउँथिन्। उनको यो बानी पतिलाई खासै मन परेको थिएन। एकले अर्कालाई आरोप-प्रत्यारोप गर्न थाले।

खटपट बढ्दै गएपछि अनिलाले आफू घरेलु हिंसामा परेको भन्दै श्रीमान्‌विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्। तर, प्रमाणित भएन। शंका गर्नेसहित एकअर्काको बानी परिवर्तन नहुँदा उनीहरू सँगै बस्न नसक्ने अवस्थामा पुगे। दुई वर्षअघि उनीहरूको वैवाहिक जीवन सम्बन्धविच्छेदमा गएर टुंगियो। उनीहरूका दुई सन्तान छन्। एउटै घरमा माथिल्लो तलामा ११ वर्षीय छोरा र श्रीमान् बस्छन् भने तल्लो तलामा १४ वर्षीया छोरी र उनी बस्छन्।

बागलुङ घर भई काठमाडौँको गोंगबु बस्ने एक जोडीको कहानी त्यस्तै छ। ११ वर्षअघि सुजिना मगरले प्रेम विवाह गरेकी थिइन्। पाँच वर्षयता भने उनीहरूबीच कलह बढ्न थाल्यो। उनका अनुसार श्रीमान्‌ले दैनिकजसो राति रक्सी पिएर आई कुटपिट गर्थे, घरबाट निस्कन धम्की दिन्थे।

एआईसिर्जित।

उनलाई श्रीमान्‌सँग बसिरहेमा कुनै दिन मारिन्छु भन्ने डर लाग्न थाल्यो। उनीहरूकी एक छोरी छिन्। १० वर्षीया छोरीका लागि केही वर्षसम्म सहेर बसेकी उनको धैर्यको बाँध फुट्यो। अन्तत: मानाचामल र अंश दाबी नगरी सम्बन्धविच्छेद गर्ने निधो गरिन्। यो जोडीले चैत २०८२ मा सम्बन्धविच्छेद गर्‍यो।

उनी भन्छिन्, “पहिले हामीबीच राम्रै भए पनि कोभिड महामारीको समयदेखि झगडा हुन थाल्यो। सम्बन्ध सुध्रेला कि भन्ने आसमा चारपाँच वर्ष रोएरै, सहेरै बिताएँ। अब दिनरात कुटाइ खाएर सँगै बस्न सक्दिनँ भनेर छुट्टिने निर्णय गरेँ।”

काभ्रेपलान्चोकका एक पुरुष संयुक्त अरब इमिरेट्स (यूएई)मा रोजगारीका लागि गए। उनी एकैचोटि १० वर्षपछि घर फर्किए। गाउँसमाजमा श्रीमतीको परपुरुषसँग सम्बन्ध भएको गाइँगुइँ सुने। यसबारे श्रीमतीलाई सोध्दा स्विकारिन्। त्यसपछि दम्पतीबीच पहिलेको जस्तो सम्बन्ध रहन सकेन। कलह बढ्दै गयो। दिनहुँ झगडा गर्नुभन्दा उनीहरूले सम्बन्धविच्छेद गर्ने निर्णय गरे।

अधिवक्ता भेषराज पोखरेल व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मानको खोजी, आपसी आशंका, पछिल्लो समयका महिलाहरूले आमा-हजुरआमाले जस्तो श्रीमान्‌को दबाब नसहने प्रवृत्ति आदिका कारण पारपाचुके गर्ने क्रम बढेको बताउँछन्।

माथिका जस्तै उदाहरण बोकेका मुद्दा काठमाडौँ जिल्ला अदालतमा बढ्दै गएका छन्। आर्थिक वर्ष २०७७/७८ यताका पाँच वर्षमा देशभरिका अदालतमा परेका मुद्दाको तथ्यांक हेर्दा सम्बन्धविच्छेदका मुद्दाको संख्या सबैभन्दा उच्च छ। गत आव २०८१/८२ मा देशभरका अदालतमा ४२ हजार ७३९ थान पारपाचुकेका मुद्दा दर्ता भएका हुन्। यसबाट सरदर तथ्यांक निकाल्दा दैनिक ११२ जोडी सम्बन्धविच्छेदका लागि अदालत पुगिरहेका छन्।

सर्वोच्च अदालतको तथ्यांकअनुसार सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा धेरै जिल्ला अदालतमा दर्ता हुने गरेको छ। गत आव २०८१/८२ मा देशभरका जिल्ला अदालतमा यससम्बन्धी ४१ हजार ७९ मुद्दा दर्ता भएका थिए। तीमध्ये ३१ हजार ९७१ थान मुद्दा फर्छ्योट भएका थिए।

आव २०७६/७७ मा भने देशभरका अदालतमा सबैभन्दा धेरै मुद्दा अंशबन्डाका थिए भने सम्बन्धविच्छेदका मुद्दा दोस्रो नम्बरमा थिए। उक्त वर्ष अंशबन्डासम्बन्धी २४ हजार ७५० थान र सम्बन्धविच्छेदका १४ हजार १६१ वटा मुद्दा दर्ता भएका थिए। त्यसयताका सबै आवमा सम्बन्धविच्छेदका मुद्दा नै संख्यात्मक रूपमा शीर्षस्थानमा देखिन्छ।

गत पाँच वर्षको तथ्यांक केलाउँदा देशभरका अदालतमा सबैभन्दा धेरै मुद्दा सम्बन्धविच्छेदका छन् र यस्तो संख्या बर्सेनि बढ्दो छ।

पारपाचुकेका कारण

दाम्पत्य सम्बन्धमा दरारको संख्या बढ्दै जानुमा अनेक कारण रहेको कानुन व्यवसायीहरू बताउँछन्। सम्बन्धविच्छेदका मुद्दा हेरिरहेका अधिवक्ता भेषराज पोखरेल व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मानको खोजी, आपसी आशंका, पछिल्लो समयका महिलाहरूले आमा-हजुरआमाले जस्तो श्रीमान्‌को दबाब नसहने प्रवृत्ति आदिका कारण पारपाचुके गर्ने क्रम बढेको बताउँछन्।

उनका अनुसार पारपाचुके बढ्नुमा वैदेशिक रोजगारी पनि महत्त्वपूर्ण कारण हो। “श्रीमती विदेशमा हुँदा श्रीमान्‌ले विश्वास गर्न नसक्ने र श्रीमान् विदेशमा हुँदा नेपालमा रहेकी श्रीमतीले आफ्नै हिसाबले जिउन खोज्दा पनि पारपाचुके बढेको देखिन्छ,” उनी भन्छन्, “परस्त्री र परपुरुषसँगको सम्बन्धका कारण पनि वैवाहिक डोरी टुट्ने गरेको छ।”

कतिपयले १५/१६ वर्षको उमेरमै विवाह गर्ने र २५/२६ वर्ष भएपछि बल्ल जिन्दगीबारे बुझ्दै जाने, चाहना परिवर्तन हुने हुँदा पनि सम्बन्धविच्छेदको ग्राफ बढेको पोखरेल बताउँछन्। यसका साथै, विदेश जान कागजी विवाह गर्ने र विदेश पुगेपछि तोड्ने अभ्यासका कारण पनि केही संख्या थपिएको उनको आकलन छ। “अर्को चाहिँ, संयुक्त परिवारमा बस्दा जिम्मेवारीको बोझ हुने र सम्पत्ति उपभोग गर्न नपाउने भएकाले पनि महिलाले सम्बन्धविच्छेद गर्ने गरेका छन्,” उनी भन्छन्।

समाजशास्त्री युवराज लुइँटेल समाजमा व्यक्तिवादी प्रवृत्ति हावी भएर निजी सुख नै महत्त्वपूर्ण बन्दा समुदाय, परिवार, विवाह प्रथा धूमिल भइरहेको देख्छन्।

समाजशास्त्री युवराज लुइँटेल समाजमा व्यक्तिवादी प्रवृत्ति हावी भएर निजी सुख नै महत्त्वपूर्ण बन्दा समुदाय, परिवार, विवाह प्रथा धूमिल भइरहेको देख्छन्। उनका अनुसार नेपाली समाजमा मुख्य तीन कारणले सम्बन्धविच्छेद बढिरहेको छ: दम्पतीबीच भौगोलिक दूरी, मोबाइल फोन र खुकुलो कानुनी व्यवस्था। “श्रीमान् र श्रीमती रोजगारी वा पढाइका सिलसिलामा एकअर्कासँग टाढिएर बस्दा शंका, अविश्वास र भौगोलिक दूरीसँगै बढेको भावनात्मक दूरीका कारण पारिवारिक फाटो आएको देखिन्छ,” उनी भन्छन्, “अर्कातिर, स्मार्टफोन वा सामाजिक सञ्जालका कारण जहाँसुकैका मानिससँग सहज रूपमा सम्पर्क र संवाद हुन सक्ने भएकाले विवाहेतर सम्बन्ध जोडिने सम्भावना हुन्छ, जसले पारिवारिक कलह बढाएर पारपाचुकेसम्म पुर्‍याउन सक्छ।”

तेस्रो, कानुनी पाटोमा नेपाल खुकुलो हुँदै गएको र कानुनले महिलाका अधिकारलाई स्थापित गरेका कारण पारिवारिक बेमेल हुँदा सम्बन्ध तोडेर आफूखुसी जिउने बाटो दिएको उनको भनाइ छ। “लैंगिक सशक्तीकरण, शिक्षामा पहुँच, अपेक्षा र सोचमा विकास हुँदै जाँदा मन नमिलेपछि पति र पत्नी सँगै बसिरहनुपर्ने बाध्यता छैन। यसले गर्दा अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप बढेको हो,” लुइँटेल भन्छन्।

देशभरिमा सम्बन्धविच्छेदका मुद्दा धेरै दर्ता हुने ठाउँ काठमाडौँ जिल्ला अदालत हो। यहाँ आव २०८१/८२ मा चार हजार ५८९ थान मुद्दा दर्ता भएका थिए। जुन देशभरिका जिल्ला अदालतमध्येमा सबैभन्दा बढी हो।

काठमाडौँ जिल्ला अदालत।

काठमाडौँ बार एसोसिएसनका अध्यक्ष सुबोधबाबु चिलुवाल पहिलेका महिलाहरूले घरेलु हिंसा, थिचोमिचो हुँदा पनि सहेर बस्ने गरेकामा अहिले महिलाको सामाजिक र आर्थिक हैसियत परिवर्तन भएकाले पारपाचुके गर्ने क्रम बढेको बताउँछन्। “पहिले श्रीमान्‌को आयमा भर पर्थे र सहेर बस्थे, तर अहिले महिलाहरू पढेलेखेर आत्मनिर्भर हुँदै गएका छन्। यस्तो आर्थिक स्वतन्त्रतामा उनीहरू कुनै पनि कुरामा सम्झौता गरेर बस्न चाहँदैनन्,” उनी भन्छन्।

यीसँगै विवाहेतर सम्बन्ध, सम्पत्ति व्यवस्थापन गर्न कागजी सम्बन्धविच्छेद गर्ने चलनका कारण पारपाचुकेको संख्या थपिएको उनको भनाइ छ।

अदालतमा सम्बन्धविच्छेदको निवेदन परेपछि सकभर दुवै पक्षलाई सम्झाईबुझाई गरेर मेलमिलाप गराउनुपर्ने, नमिलेमा एक वर्षपछि सम्बन्धविच्छेद गरिदिने कानुनी व्यवस्था छ।

महिलाले चाहे सहजै र छिटै सम्बन्धविच्छेद हुने तर पुरुषले मात्रै चाहँदा समय लाग्ने अवस्था छ। पुरानो मुलुकी ऐन, २०२० मा त पुरुषले सम्बन्धविच्छेदका लागि अदालत जान पाउने प्रावधानसमेत थिएन। मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले पुरुषले पनि अदालत गएर मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको छ। चिलुवाल भन्छन्, “अहिले पुरुषले सिधै अदालत गएर मुद्दा दर्ता गर्न पाउँछन्, तर महिलाले नचाहेमा सम्बन्धविच्छेद हुन गाह्रो छ, केही समय लाग्छ।” विवाहपछि सम्पत्तिमा अधिकार हुने भएकाले पनि सम्बन्धविच्छेदमा पुरुषभन्दा महिलाले निर्णायक भूमिका खेल्ने गरेको उनको भनाइ छ।

सम्बन्धविच्छेदका मुद्दा हेर्ने गरेकी अधिवक्ता सपना सुवेदी पुरुष पनि सिधै अदालत जान सक्ने कानुनी व्यवस्था आएपछि पारपाचुकेको संख्या बढेको हुन सक्ने बताउँछिन्। तर, पुरुषले दर्ता गरेको मुद्दामा सम्बन्धविच्छेद ठहर कम हुने उनको अनुभव छ। “व्यावहारिक रूपमा पुरुषलाई भन्दा महिलालाई पारपाचुकेका लागि सजिलो छ। मुलुकी देवानी (संहिता) ऐन, २०७४ मा सम्बन्धविच्छेदका लागि चार वटा अवस्था वा आधार तोकिएकामा त्यसमध्ये कुटपिट गरेको, खान लाउन नदिएको, घरबाट निकालिदिएको कारण उल्लेख गरेमा प्रमाण नै चाहिँदैन,” उनी भन्छिन्।

अधिवक्ता सपना सुवेदी।

अधिवक्ता सुवेदीका अनुसार सम्बन्धविच्छेदका लागि आउने महिलाले आफूलाई श्रीमान्‌ले वास्ता नगरेको, अन्य महिलासँग सम्बन्ध राखेको भन्नेहरू बढी हुन्छन्। श्रीमान्‌ले कुटपिट गरेको, दुःख दिएको भन्नेहरू पनि आउने गरेका छन्। पुरुषले निवेदन लिएर आउँदा भने आफूसँग श्रीमतीले कुनै कुरा नबाँड्ने, श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको शंका रहेको बताउने गरेका छन्।

कानुनी व्यवस्था

नेपाली समाजमा विवाह दुई व्यक्तिबीचको मिलन तथा सामाजिक, धार्मिक र कानुनी प्रक्रिया हो। नेपाली संस्कृतिमा विवाहलाई पवित्र बन्धन मानिन्छ, जसले सामाजिक मान्यता प्राप्त गरी वंशवृद्धि र पारिवारिक दायित्व निर्वाहको जग बसाल्छ। यो सम्बन्धमा सँगै अगाडि बढ्ने अवस्था नभए सम्बन्धविच्छेद गर्न सकिने व्यवस्था कानुनले गरिदिएको छ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ९३ मा सम्बन्धविच्छेदको व्यवस्था छ। श्रीमान् र श्रीमती दुवैले चाहेमा जहिलेसुकै सम्बन्धविच्छेद गर्न सक्ने सहज व्यवस्थासँगै दुवैलाई पारपाचुकेको छुट्टाछुट्टै अधिकार दिइएको छ।

दफा ९४ मा पतिले सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था गरिएको छ। अंश लिएर श्रीमती भिन्न बसेमा वा आपसी मन्जुरीबेगर लगातार तीन वर्ष वा बढी अलग बसेमा, श्रीमतीले खान-लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, श्रीमतीले अंगभंग वा ठूलो शारीरिक वा मानसिक कष्ट हुने प्रपञ्च गरेमा, श्रीमतीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेमा सम्बन्धविच्छेद  गर्न पाउने व्यवस्था छ।

दफा ९५ ले भने श्रीमतीलाई श्रीमान्‌को मन्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्ने अधिकार दिएको छ। अरू प्रावधान भने दुवैलाई लगभग उस्तै छन्। श्रीमतीले अंश लिएर छुट्टै बसेमा, लगातार तीन वर्ष वा बढी अलग बसेमा, श्रीमान्‌ले खान-लगाउन नदिएमा वा घरबाट निकालेमा, पत्नीको अंगभंग वा मानसिक कष्ट हुने जाल गरेमा, पतिले अर्को विवाह गरेमा, अन्य महिलासँग यौनसम्बन्ध राखेको ठहरेमा, श्रीमान्‌ले श्रीमतीलाई जबर्जस्ती करणी गरेको ठहरेमा निवेदन दिन पाउने व्यवस्था छ।

अदालतमा सम्बन्धविच्छेदको निवेदन परेपछि सकभर दुवै पक्षलाई सम्झाईबुझाई गरेर मेलमिलाप गराउनुपर्ने, नमिलेमा एक वर्षपछि सम्बन्धविच्छेद गरिदिने कानुनी व्यवस्था छ। साथमा श्रीमान्-श्रीमतीबीच अंशबन्डा हुने, एकमुस्ट खर्च भराउनेलगायत व्यवस्था छन्।