काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

उद्यम

चितवनका दुग्ध सहकारी र डेरीबाट उत्पादित मही आमउपभोक्तादेखि सभा-समारोहसम्ममा प्रिय

३० बैशाख २०८३
एआइसिर्जित तस्बिर।
अ+
अ-

चितवन। दूधका लागि प्रख्यात चितवनका किसानले कहिले बिक्री नभएर त कहिले भुक्तानी नपाएको विरोधमा सडकमा दूध पोख्थे। जे गर्दा पनि समस्या नसुल्झिएपछि केही वर्षयता भने उनीहरू व्यावसायिकता विस्तारका लागि  दुग्ध पदार्थ उत्पादनको विविधीकरणमा लागेका छन्।

पछिल्लो समय दुग्ध सहकारी संस्थामार्फत किसानले दूधका विभिन्न परिकार उत्पादन गर्न थालेका छन्। दूधबाट दही, घिउ, नौनी, खुवा, आइसक्रिम, क्रिम, पनिर बनाउने गरेका उनीहरूले चार वर्षयता अर्को उत्पादन मही थपेका छन्। बजारका ‘कोल्ड ड्रिंक्स’ मा रत्तिएका उपभोक्तालाई स्वादिलो र स्वस्थकर महीले मोहनी लगाउँदै जाँदा यसका पारखी बढ्दै गएका छन्। माग बढेर बजार फैलिएसँगै किसान उत्साहित छन्। खासगरी जाडो यामबाहेकको समयमा मही उत्पादन र बिक्री गरेर सहकारीमा आबद्ध किसानले आम्दानी लिइरहेका छन्।

एउटा उदाहरण हो, भरतपुर महानगरपालिका-६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था। दूधको उचित मूल्य नपाउने, दूध बिक्री नहुने, बिक्री गरेको दूधको भुक्तानी समयमा नपाउने समस्याबाट किसानलाई मुक्ति दिन महीतर्फ लागेको यस सहकारी संस्थाका व्यवस्थापक करुण पोखरेल बताउँछन्।

अन्नपूर्ण दुग्ध सहकारीले हरेक वर्ष मही उत्पादन बढाउँदै लगेको छ। दूध, दही, घिउ, नौनी, पनिर र फ्रेस क्रिम उत्पादन गर्दै आएको यस सहकारीले चार वर्षदेखि मही उत्पादन गरिरहेको व्यवस्थापक पोखरेल सुनाउँछन्। “पुस, माघ, फागुन गरेर लगभग तीन महिना मही उत्पादन गरिँदैन,” उनी भन्छन्, “बाँकी सबै महिनामा मागअनुसार मही बनाउँदै आएका छौँ।”

महीको माग पनि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा विभिन्न संघसंस्थाका बैठक, गोष्ठी, अन्तरक्रिया तथा अन्य समारोहमा समेत महीको माग हुन थालेको छ। विवाह, व्रतबन्धलगायत सामाजिक तथा सांस्कृतिक समारोहका लागि पनि मही उत्पादन गरिँदै आएको व्यवस्थापक पोखरेल बताउँछन्। भन्छन्, “नजिकका कार्यक्रममा क्यानमा मही लैजाने गरिएको छ। कतिपय कार्यक्रममा भने बोतलमा स्टिकर टाँसेर मही पठाएका छौँ।”

अन्नपूर्ण सहकारीले दैनिक एक हजार २०० लिटरसम्म मही उत्पादन गरिरहेको उनी बताउँछन्। सहकारीले सार्वजनिक कार्यक्रम तथा समारोहमा माग गरिएअनुसार र मौसम हेरेर मही उत्पादन गर्दै आएको छ। संस्थाले ५०० एमएल र ९०० एमएलको बोतलमा मही बिक्री गरिरहेको छ। ५०० एमएलको मूल्य ४० र ९००एमएलको ६० रुपैयाँ राखिएको छ।

महीको मिठास

मही पिउँदा गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्छ। यससँगै हलुका, पाचनमा सहयोगी र पोसिलो पेय पदार्थ मानिन्छ, मही। जसले गर्दा गर्मी याममा महीले उपभोक्तालाई आकर्षित गरिरहेको छ।

बजारमा माग बढ्न थालेपछि दूध उत्पादक सहकारी तथा डेरीहरूले मही उत्पादन र बिक्रीवितरणमा सक्रियता देखाएका छन्। स्थानीय दुग्ध सहकारी, निजी डेरी उद्योग तथा कृषक समूहले पनि मही उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउन थालेका छन्। त्यस्तै, दुग्ध सहकारीहरू दूध संकलनसँगै प्रशोधन गरी मही उत्पादनतिर लागेका छन्।

मही उत्पादनमा लागेको अर्को संस्था हो, गंगानगर दुग्ध उत्पादक सहकारी संस्था। भरतपुर महानगरपालिका-२२ मा रहेको यस सहकारीले चार वर्षदेखि मही उत्पादन गर्दै आएको छ। यस संस्थामा एक हजार दूध उत्पादक किसान आबद्ध छन्। सेयर सदस्य मात्रै ५०८ जना छन्। अहिले दैनिक सात हजार लिटर दूध संकलन हुने गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा बताउँछन्।

२०४९ सालमा स्थापित गंगानगर सहकारीले लामो समय दूध मात्र बिक्रीवितरण गरेको थियो। २०७७ सालदेखि भने दूधबाट अन्य उत्पादन गर्न थालेको हो। “दूध बिक्री हुन समस्या हुने, समयमा भुक्तानी नपाइने भएपछि वैकल्पिक बाटो रोज्यौँ,” अध्यक्ष सापकोटा भन्छन्, “दूधको खपत संस्थामै हुने गरी अन्य उत्पादनमा जोड दियौँ।”

गंगानगर सहकारीले दूधसँगै दही, घिउ, नौनी, पनिरलगायत पदार्थ तयार गरेर बिक्री गर्दा उपभोक्ताले रुचाए। त्यसको अर्को वर्षबाट मही उत्पादन सुरु गरिएको हो। अहिले दैनिक करिब एक हजार २०० बोतल मही उत्पादन गर्दै आएको अध्यक्ष सापकोटा बताउँछन्। “पछिल्लो दुई महिनादेखि त सहकारीले लस्सीसमेत उत्पादन गरेर बजारमा ल्याएको छ,” उनी भन्छन्, “गंगानगर बिस्तारै ब्रान्ड बन्दै गएको छ। हाम्रा उत्पादनको माग बर्सेनि बढ्दै गएको छ।”

यस सहकारीले दैनिक पाँच हजार लिटर दूधबाट दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको छ। यसले सहकारीलाई दूध बिक्री गर्ने किसानलाई नियमित भुक्तानी दिन सकिएको अध्यक्ष सापकोटा बताउँछन्।

चिसो पेयको सट्टामा मही

पछिल्ला वर्षमा चितवनको मही बजार विस्तारोन्मुख देखिन्छ। गर्मी मौसममा त झन् यसको माग उच्च हुने गरेको व्यवसायी बताउँछन्। भरतपुर, नारायणगढ, रत्ननगर जस्ता सहरी क्षेत्रमा होटल, रेस्टुरेन्ट र पसलहरूले मही बिक्रीवितरण गर्न थालेका छन्। यसले बजारमा ‘चिसो’ को पर्याय बनेका रंगीन झोलको ठाउँ लिन थालेको छ। जसका कारण दुग्ध उत्पादक सहकारीका साथै दूध डेरीहरू पनि मही उत्पादनतर्फ आकर्षित छन्।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगाले स्वास्थ्यका लागि राम्रो र मूल्य पनि सस्तो भएकाले महीको माग र उपभोग बढेको बताउँछन्। “महीको माग बढेपछि दूधको खपतसमेत बढाएको छ। दूध बिक्रीमा सहयोग पुगेको छ,” उनी भन्छन्।

उनका अनुसार यसको सकारात्मक प्रभाव दूध उत्पादनमा परेको छ। समयमा भुक्तानी नपाउँदा अन्य विकल्प खोज्न थालेका किसान पनि फेरि दूध उत्पादनतिर केन्द्रित हुन थालेका छन्। स्थानीय उत्पादनको प्रयोग बढ्नुका साथै किसानले उत्पादन गरेको दूधको खपत बढाउन पनि महीको बजारीकरणले भूमिका खेलेको उनी बताउँछन्।

चितवनमा महीको बजारीकरणले देशभरि नै राम्रो प्रभाव परेको अध्यक्ष बगाले सुनाउँछन्। अन्यत्रका दूध किसान र दुग्ध सहकारीले चितवनको सिको गर्न थालेका छन्। सुपरमार्केट, होटल र रेस्टुरेन्टहरूमा समेत महीले स्थान पाउन थालेको र बिक्री हुन थालेको उनको भनाइ छ।

दुग्ध उत्पादक सहकारी संघ, चितवनले पनि गत वर्षबाट दुग्धजन्य परिकारको उत्पादन सुरु गरेको छ। त्यसमा महीले प्राथमिकतामा पाएको छ। दैनिक ५०० लिटर मही उत्पादन गरेर बिक्री भइरहेको बगाले सुनाउँछन्। संघमा ११५ वटा दूध उत्पादक सहकारी संस्था आबद्ध छन्।

संघमार्फत गरिएका उत्पादन भरतपुर र नारायणगढ क्षेत्रका तीन ठाउँमा डेरी मार्ट सञ्चालन गरेर बिक्रीवितरण सुरु गरिएको छ। गएको भदौदेखि मही उत्पादन सुरु गरेको संघले मंसिरबाट मार्ट सञ्चालनमा ल्याएको हो। दैनिक करिब चार हजार लिटर दूधबाट दुग्धजन्य उत्पादन गरिरहेको अध्यक्ष बगाले बताउँछन्। भन्छन्, “उपभोक्ताले रुचाएका कारण राम्रो कारोबार भइरहेको छ।”

संघले थप स्थानमा मार्ट विस्तार गर्ने योजना बनाएको छ। यससँगै उद्योग सञ्चालनका लागि भरतपुर महानगरपालिका-१५, फूलबारीमा जग्गा लिएर पूर्वाधार निर्माण गरिरहेको छ।

चितवनका सहकारी तथा डेरीले आधुनिक मेसिन प्रयोग गरी स्वच्छता मापदण्ड पूरा गरेर मही उत्पादन गरिरहेका छन्। सात दिनको उपभोग समय तोकेर महीलाई बजारमा पठाउने गरेका छन्। महीको कारोबारका लागि मौसमले पनि फरक पार्ने गर्छ। घाम लागेको दिनमा बढी बिक्री हुन्छ। तथापि चितवनमा दैनिक न्यूनतम दुई हजार लिटर मही खपत भइरहेको दुग्ध सहकारी संघको तथ्यांक छ।

सामाजिक सञ्जालमा ‘मही अभियान’

महीको बजार बढाउन सामाजिक सञ्जालले पनि भूमिका खेलिरहेको छ। मही उत्पादकसँगै किसान र उपभोक्ता पनि सामाजिक सञ्जालमार्फत महीको प्रवर्द्धनमा लागेका छन्। कतिपय सचेत नागरिकले अन्य पेय पदार्थको सट्टा मही पिउन सल्लाह दिने गरेका छन्।

बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा महीसम्बन्धी पुरानो स्मृति लेखेका छन्। सहरीकरणले मही छुटेको उल्लेख गर्दै फेरि चितवनको बजारमा पाइन थालेकोमा खुसी व्यक्त गरेका छन्। ‘पहिले–पहिले हाम्रो घर–घरमा गाईभैँसी हुन्थे, अनि ठेकीमा मथेको ताजा महीको तलतल मेट्नुको मज्जा नै छुट्टै हुन्थ्यो। समय फेरियो, बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण हामीले जे सजिलो र छिटो उपलब्ध हुन्छ, त्यसैलाई अपनाउन थाल्यौँ,’ सुवेदीले लेखेका छन्, ‘खुसीको कुरा, अहिले विभिन्न दुग्ध सहकारी र डेरीहरूले प्याकेटमा नै शुद्ध मही उपलब्ध गराउन थालेका छन्, जसले गर्दा यसको उपभोग फेरि सहज भएको छ।’

बढ्दो गर्मीसँगै बजारका महँगा र विदेशी कम्पनीका चिसो पेय पदार्थ पिउने चलनले स्वास्थ्यमा हानि गर्नुका साथै देशको पैसा बाहिर गइरहेको भन्दै उनले यसको सट्टामा प्राकृतिक र स्वस्थकर मही पिउनु उत्तम विकल्प रहेको सुझावसमेत दिएका छन्।

मही प्रवर्द्धनमा बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी (बीचमा)। तस्बिर स्रोत : सुवेदीको फेसबुक पोस्ट

बजार मात्रै होइन, गाउँघरमा पनि उपभोग कम हुँदै गएको महीको माग बिस्तारै समुदाय स्तरमा बढ्न थालेको छ। विवाह, भोजभतेरमा समेत मही प्रयोगमा आउँदै छ। यसले स्थानीय उत्पादनको प्रवर्द्धन गरी महीको बजार र व्यवसाय विस्तारको सम्भावना बढाएको छ।

पूर्वमन्त्री सुवेदी नेपाली किसानहरूलाई सिधै फाइदा पुग्ने र देशको अर्थतन्त्रमा टेवा पुग्ने भएकाले पनि महीको खपत गर्नुपर्ने बताउँछन्। ‘अब हरेक सभा, समारोह, चाडपर्व, बैठक वा घरमा पाहुना आउँदा महँगा सफ्ट ड्रिंक्सको सट्टा महीलाई नै पहिलो प्राथमिकता दिऔँ। म तपाईंहरू सबैलाई मही अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन्, ‘अब जहाँ जाँदा पनि गर्वका साथ भनौँ– म त मही नै खान्छु!’

समयमै पाउँदैनन् दूधको भुक्तानी

देशभरमै दूध उत्पादनका लागि चितवन प्रख्यात छ। लामो समयदेखि चितवनका किसान व्यावसायिक रूपमै दूध उत्पादन गर्दै आएका छन्। पशुपालन गरेर दूध बिक्रीवितरण गर्ने किसानको संख्या ४० हजार छ। अहिले चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। यसमध्ये ५० प्रतिशत दूध चितवनबाहिर बिक्रीवितरण हुन्छ।

किसानकै घर घरमा पुगेर सहकारी संस्थाहरूले दूध संकलन गर्छन्। यसरी संकलन गरिएको दूधलाई सहकारी संस्थाले दुग्ध विकास संस्थान (डीडीसी) लाई बिक्री गर्छन्। तर, दूध किन्ने डीडीसीलगायत संस्थाले किसानलाई समयमा भुक्तानी गर्दैनन्। भुक्तानीमा किसानलाई महिनौँसम्म झुलाउने गरिएको छ।

गत मंसिर १६ गतेयता बिक्री भएको दूधको किसानले भुक्तानी नपाएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बगाले बताउँछन्। दूध बिक्रीका लागि बजारको समस्या नभए पनि समयमा भुक्तानी नपाउँदा किसानलाई समस्या हुँदै आएको उनको भनाइ छ। “डीडीसीमा मंसिरदेखिको भुक्तानी बाँकी छ। केही निजी उद्योगमा पनि दुई महिनादेखिको भुक्तानी बाँकी छ,” उनी भन्छन्, “दूध उत्पादन गर्ने किसानले यस्तो समस्या सधैँजसो भोगिराख्नुपर्छ।”

साना उद्योगले नियमित भुक्तानी गर्छन्। तर, ठूला उद्योगले महिनौँसम्म किसानको दूधको पैसा अड्काएर राख्छन्। यसमा पनि सरकारी स्वामित्वको डीडीसीमा जहिल्यै समस्या हुने गरेको छ।

उद्योगहरूले सहकारीलाई भुक्तानी गरेपछि सहकारीले किसानलाई तिर्ने गरेको छ। तर, उद्योगले नै समयमा दूधको पैसा नदिँदा किसानलाई भुक्तानी गर्न ढिलाइ हुने गरेको सहकारी व्यवस्थापक बताउँछन्। समयमा भुक्तानी नपाउने समस्याका कारण पनि सहकारीहरू दुग्धजन्य पदार्थको उत्पादनमा अग्रसर भएका हुन्।