राजनीति

दुवै समूहको अतिवादी सोचलाई चिरेर एकतामा बल थप्न मध्यमार्ग अपनाएको तर्क

६ जेष्ठ २०८३
शेखर कोइराला।
अ+
अ-

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएयता नेपाली कांग्रेस न एकता न विभाजनको अवस्थामा छ। सभापति थापाले एकताका लागि संस्थापनइतरसँग संवाद र छलफल गरिरहे पनि पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीलाई एकताबद्ध बनाएर लैजाने ठोस अजेन्डा सम्मानजनक ढंगले आउनुपर्ने अड्डी कसिरहेको छ।

संस्थापन र इतरबीच टकराव बढाउने विभिन्न गतिविधि हुँदै आएका छन्। हालै देउवा समूहले छुट्टै कार्यालय स्थापना गरेको छ। सभापति थापाले ‘निषेध’ गरेको भन्दै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरूले काठमाडौँको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका हुन्। विमलेन्द्र निधि, जितजंग बस्नेत, कान्छाराम तामाङ, कुन्दन काफ्लेलगायतले कार्यालय खोलेका हुन्।

भेटघाटका लागि सम्पर्क कार्यालय स्थापना गरेको बताइए पनि देउवा समूहको गतिविधिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। देउवा समूहले छुट्टै पार्टी गठन गर्न लागेको चर्चा चलेको छ।

देउवा समूहको नयाँ कार्यालयको नाम ‘सम्पर्क कार्यालय’ राखिएको छ। तर, कांग्रेस राजनीति बुझ्नेहरूका अनुसार यो कार्यालय पार्टीभित्र बढ्दै गएको अविश्वास र असन्तोषको संकेत हो। यसले पार्टीमा विभाजनको रेखा कोर्न पनि सक्छ।

नेपाली कांग्रेस देउवा पक्षको अनामनगरमा खोलिएको सम्पर्क कार्यालय। तस्बिर: नेपाल फोटो लाइब्रेरी

कार्यालय स्थापना गर्न कस्सिएका नेताहरू भने एकताका लागि दबाब दिन कदम उठाएको दाबी गर्छन्। खड्कानिकट नेता जितजंग बस्नेत भन्छन्, “पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिन आवश्यक छ। त्यसका लागि कतै न कतै बसेर त छलफल गर्नुपर्‍यो, सधैँ होटल र घरबाट सम्भव भएन।”

सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटाउन लागेको भन्न नमिल्ने उनको तर्क छ। “शेखर कोइरालाको सम्पर्क कार्यालय छ, गगन थापाका पाँच वटा सम्पर्क कार्यालय छन्, विश्वप्रकाश शर्माका दुई वटा सम्पर्क कार्यालय छन्। सभापति थापा पक्षले नै फुटको निराधार हल्ला फिँजाएको हो,” बस्नेत भन्छन्, “हामी किन पार्टी फुटाउने? हामीलाई चुनावचिह्न रुख नै प्यारो छ, चारतारे झन्डामुनि बस्छौँ। रुख गगन थापाको बिर्ता हो र?”

सभापति थापा र पूर्वकार्यवाहक उपसभापति खड्काबीच ६ वैशाखपछि संवाद हुन सकेको छैन। ४ वैशाखमा अदालतले कांग्रेस आधिकारिकताको विवाद टुंग्याएपछि थापा ६ वैशाखमा खड्कालाई भेट्न गोल्फुटारस्थित निवासमा गएका थिए।

आफूलाई मध्यमार्गी धारको बताइरहेका वरिष्ठ नेता शेखर कोइराला भने चुपचाप जस्तै छन्। थापा र कोइरालाबीच समेत संवादहीनता छ। कोइरालानिकट स्रोत पार्टी विभाजनको मुखमा पुगेको र एकताका लागि कोइराला अधिकतम प्रयासमा रहेको बताउँछ। पार्टी फुटको अवस्था आए कोइराला पार्टी एकताको पक्षमै उभिने उनका स्वकीय सचिव दिनेशचन्द्र थपलिया बताउँछन्। भन्छन्, “उहाँ पार्टी एकताका निम्ति जस्तोसुकै अपमान सहन तयार हुनुहुन्छ।”

दूरी बढाउने मनोनयन

सभापति थापा र कोइरालाबीच २२ वैशाखमा कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा भेट भएको थियो। त्यो भेट कोइरालाको जोडमा भएको थपलिया बताउँछन्। दुवै नेताबीचको संवाद पार्टीलाई एकताबद्ध बनाएर १५औँ महाधिवेशन गर्नेमा केन्द्रित थियो।

आगामी असोजभित्रै १५औँ महाधिवेशन गर्ने तयारी सभापति थापाले गरिरहेका छन्। यसपछि दोस्रो संवाद नहुँदै थापाले २८ वैशाखमा केन्द्रीय समितिमा सदस्यहरू मनोनीत गरे। १९ जना केन्द्रीय समिति सदस्य थप्दा ११ जना देउवा पक्षका र आठ जना कोइराला पक्षका थिए। थापाले कोइरालानिकट रहेका पूर्वसहमहामन्त्री जीवन परियारलगायतलाई सदस्य बनाए। आफ्नै समूहबाट १४औँ महाधिवेशनमा सहमहामन्त्री जितेका नेतालाई नसोधी मनोनीत गरेपछि कोइराला रिसाए। देउवा समूहले पनि सल्लाहबिनै मनोनीत गरिएकामा असन्तुष्टि पोख्यो। कोइरालानिकट नेता बद्री पाण्डे भन्छन्, “छलफल चलिरहेका बेला अचानक सभापतिले सोध्दै नसोधी समूहका नेता मनोनीत गर्नुभयो, त्यसले एकताको वातावरण बिथोलियो।”

यसपछि सभापति थापाले नेताहरूसँग संवाद नगरी अर्को जोखिम उठाए, जहाँ अत्यधिक विवाद छ। थापाले १ जेठमा निर्णय गर्दै २१ जेठभित्र क्रियाशील सदस्यता, वितरण, छुट नवीकरण र अद्यावधिक कार्य अनिवार्य सम्पन्न गर्ने निर्णय गरे। यो निर्णयपछि देउवा र कोइराला समूह झन् आक्रोशित हुन पुग्यो। देउवा समूहले यस प्रक्रियामा संलग्न नहुने निर्णय नै गर्‍यो। कोइरालालाई उद्धृत गर्दै थपलिया भन्छन्, “कांग्रेसको १४औँ महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरिनुपर्छ, कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ।”

सदस्यता अद्यावधिकमा भने कोइरालाको असहमति छ। उनी अद्यावधिकलाई ‘बाध्यात्मक’ बनाउन नहुने तर्क गर्छन्। उनीनिकट नेता पाण्डे भन्छन्, “पार्टीमा आठ लाख सदस्य छन्, अद्यावधिक गर्न र डिजिटाइज गर्न समय लाग्छ, सबैतिर प्रविधि पुगेको छैन र पुर्‍याउन सम्भव पनि छैन।”

केन्द्रमा समूह समूहको टकराव चलिरहँदा सदस्यताको कार्य भने रोकिएको छैन। कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू भन्छन्, “सदस्यताको काम चलिरहेको छ। २१ जेठभित्र सकेर पठाउने कुरा छ, जे जति सक्छौँ पठाउँछौँ।”

एकताका लागि कोइरालाको सक्रियता

सभापति थापासँगको संवाद टुटे पनि कोइराला आफ्नो समूहभित्र निरन्तर छलफलमा रहेको थपलिया बताउँछन्। उनी कुनै पनि अवस्थामा पार्टी नफुटोस् भनी लागिपरेको स्वकीय सचिव थपलियाको भनाइ छ। “ उहाँको भनाइ छ- कोइरालाहरू दुई वटा कुरामा कहिल्यै सम्झौता गर्दैनन्, ती प्रजातन्त्र र राष्ट्रियता हुन्, कोइरालाहरूले बनाएको पार्टी फुट्न दिन्नँ,” उनी भन्छन्।

यसका लागि कोइरालाले बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा नेताहरूलाई बोलाउने गरेका छन्। बुधबार (६ जेठ) पनि कोइरालाले बद्री पाण्डे, गोविन्द भट्टराई, उमेशजंग रायमाझीलगायत नेतासँग छलफल गरे। छलफलको निचोड पार्टी एकता रहेको पाण्डे बताउँछन्। “हामी सभापति थापाकै नेतृत्वमा १५औँ महाधिवेशनमा जान तयार छौँ, अहिले अतिवादी कुरा नगरौँ, नयाँ-पुराना पुस्तालाई सँगै लिएर जाऔँ भनिरहेका छौँ,” उनी भन्छन्, “एकता नबिथोलियोस्, संवादलाई निचोडमा पुर्‍याउने दायित्व सभापतिको हो।”

कोइरालाले देउवा समूहका नेताहरूसँग पनि भेटघाट गरिरहेका छन्। यसअघि कोइरालाले सम्पर्क कार्यालयमा पूर्वकार्यवाहक सभापति खड्का, बालकृष्ण खाण, कृष्णप्रसाद सिटौला, मोहनबहादुर बस्नेतलगायतसँग भेट गरिसकेका छन्। भेटमा पार्टी एकता जोगाउन सबैले प्रयास गर्नुपर्ने बताएका छन्। छलफलमा देउवा समूहका नेताले थापाले पार्टीमा निषेध गर्ने गरेको, छलफलबिनै एकलौटी निर्णय गर्ने गरेको कारण एकताको वातावरण खलबलिएको बताउने गरेका छन्।

कोइराला दुवै समूहको अतिवादी सोचलाई चिर्न आफूले मध्यमार्ग अपनाएको र यसले कांग्रेस एकतामा बल पुग्ने तर्क गर्छन्। “अतिवादी सोचले पार्टीमा विभाजन ल्याउँछ, पार्टी टुट्नु हुँदैन,” कोइराला भन्छन्, “संकटको समयमा पार्टी विभाजन भयो भने नेपालको प्रजातान्त्रिक आन्दोलनमा धक्का पुग्छ।”