काठमाडौँ। साहित्यकार महेन्द्रकुमार मल्लको उपन्यास ‘नक्खी’ लोकार्पण भएको छ।
कर्णालीको मौलिक कथामा आधारित उपन्यास काठमाडौँमा शनिबार आयोजित समारोहमा लोकार्पण गरिएको हो।
प्रवृत्तिको हिसाबले यथार्थवादी प्रयोग भएको र शिल्पको दृष्टिले उत्तरआधुनिकतालाई वरण गरेको नक्खीले नेपाली समाजको चरम विषमतालाई चित्रण गरेको छ। उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो।
उपन्यासको लोकार्पण गर्दै वरिष्ठ समालोचक दयाराम श्रेष्ठ ‘सम्भव’ ले नक्खी जातीय उत्पीडनको कथा मात्र नभएर समाजव्यवस्थाको त्रासद आख्यान भएको बताए। “घटनाहरूको विन्यासमा कलात्मकता त छँदै छ, त्यसमा कथानकको बनोट र बुनोटमा कल्पनाको मिश्रणले कलात्मक उचाइ प्राप्त गरेको छ,” उनले भने, “आख्यान शिल्पको नितान्त नौलो प्रयोगले उपन्यासलाई विशिष्ट बनाएको छ।”
उपन्यासमाथि समीक्षा गर्दै प्राध्यापक कुलप्रसाद कोइरालाले कर्णालीको कथा, परिवेश, भाषा, वेशभूषा, रीतिरिवाज तथा समग्र जीवनशैलीको विशिष्ट चित्रण गरेकाले उपन्यास आञ्चलिक बन्न पुगेको बताए। त्यसैगरी अभिनेत्री सुरक्षा पन्तले उपन्यास प्रेमिल कथाको आवरणमा सामाजिक जीवनधारालाई यथार्थवादी र उत्तरआधुनिक प्रवृत्तिमा अन्तर्घुलन गरेर देखाउन सफल भएको बताइन्।
विशेषतः मध्यपश्चिमको आञ्चलिकता बोक्ने मल्लको पछिल्लो सिर्जना ‘नक्खी’मा जरैदेखि समाजलाई हल्लाइदिने क्षमता देख्न सकिन्छ। नेपाली उपन्यास परम्परामा काव्यान्यासको पछिल्लो सुन्दर कृतिको रूपमा नक्खी आएको छ।
कविता, निबन्ध, नाटक र आख्यानमा कलम चलाउने मल्लको यसअघि ‘भाषाको बकपत्र’ कविता संग्रह (२०७९) प्रकाशित भएको छ। मध्यपश्चिम विश्वविद्यालका पूर्वरजिस्ट्रारसमेत रहेका उनले ‘भाषाविज्ञान र पूर्वीय एवं पाश्चात्य साहित्य सिद्धान्त’, ‘भाषाविज्ञानका प्रमुख सिद्धान्त’, ‘कोशविज्ञान’, ‘प्रायोगिक भाषाविज्ञान’ लगायत पाठ्यपुस्तक र सन्दर्भ पुस्तकको लेखन गरिसकेका छन्।
नक्खी लोकार्पण समारोहमा मल्लको ‘एक कृष्णकी राधा’ गजलसमेत सार्वजनिक गरिएको थियो। कार्यक्रमको अध्यक्षता शिखा बुक्सका प्रोप्राइटर पुष्पराज पौडेलले गरेका थिए।