काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१२ जेष्ठ २०८३
बललाई अगाडि बढाउने प्रयास गर्दै इनरुवा फुटबल क्लबका खेलाडी (रातो जर्सीमा )। तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली लालीगुराँस स्पोर्टिङ क्लब रानी सेमिफाइनलमा प्रवेश गरेको छ।

विराटनगर जुटमिलको खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा सुनसरीको इनरुवा फुटबल क्लबलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै लालीगुराँसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
लालीगुराँसको एकपक्षीय जितमा सञ्जय लिम्बू र पूजन चौधरीले समान २-२ गोल गरे भने असिम राईको नाममा एक गोल रह्यो। इनरुवाका लागि मनी मगरले एक गोल फर्काए।

प्रतिस्पर्धात्मक सुरुवात भएको खेलको २९औँ मिनेटमा पूजन चौधरीले गोल गर्दै लालीगुराँसलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यो अग्रता आठ मिनेटभन्दा बढी टिक्न सकेन। ३७औँ मिनेटमा लालीगुराँसका खेलाडीले डिबक्सभित्र मनी गुरुङलाई लडाएपछि इनरुवाले पेनाल्टीको अवसर पायो। जसमा मनीले कुनै गल्ती नगरी खेललाई १-१ को बराबरीमा ल्याए।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा लालीगुराँसले आक्रामक लय समात्यो। ५१औँ मिनेटमा असिम राईले गोल गर्दै टोलीलाई २-१ को स्थितिमा पुर्‍याए। त्यसको दुई मिनेटलगत्तै सञ्जय लिम्बूले गोल गरेपछि लालीगुराँस ३-१ ले अघि बढ्यो।

दोस्रो हाफमा इनरुवाको रक्षापङ्क्ति सम्हालिन नसक्दा ५५औँ मिनेटमा पूजन चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४-१ बनाए। ६०औँ मिनेटमा सञ्जय लिम्बूले अर्को गोल थपेपछि लालीगुराँसको ५-१ को सानदार जित निश्चित भएको थियो।

खेलको ‘प्लेयर अफ दी म्याच’ दुई गोलकर्ता सञ्जय लिम्बू घोषित भए। उनले नगद २१ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विराटनगरको टीडब्लूवाईसी फुटबल क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ।