काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आवको भन्दा सात अर्बले वृद्धि गर्दै शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको जानकारी दिए। उनले मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको बताए।
त्यस्तै सरकारले सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि आठ अर्ब साठी करोड रुपैयाँ विनियोजन गरेको छ।
त्यस्तै अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्ने, विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउने अर्थमन्त्री वाग्लेले बताए।
उनले विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा पाँचदेखि कक्षा आठसम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने, मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्ने बताए।
त्यस्तै अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष ०८३/८४ मा स्वास्थ्य क्षेत्रका लागि १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। त्यस्तै सरकारले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा अघि बढाइने जनाएको भने जलनको सघन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता बढाइनेछ। साथै तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनमा कर छुट सुविधा दिने सरकारले घोषणा गरेको छ।
हेर्नुहोस् लाइभ :