काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२८ असार २०८३
अ+
अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागीय पूर्वस्वीकृतिबिना भारतीय विमानस्थलमार्फत नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वैदेशिक रोजगार व्यवसायी संस्थालाई पहिलो चरणमा चेतावनी दिएको छ।

विभागले ती संस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको निष्कर्ष निकाल्दै सचेत गराउने निर्णय गरेको जनाएको छ।

विभागले २०८२ चैत १ देखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकको उडानसम्बन्धी विवरण संकलन गरी अनुगमन गरेको थियो। अनुगमनका क्रममा हाल सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्र मागिएको विवरण पेश गरेका थिए।

प्राप्त विवरणको परीक्षण गर्दा १५९ संस्थाले विभागको पूर्वस्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको भेटिएको विभागले जनाएको छ।

त्यसैगरी, विभागको निर्देशनअनुसार आवश्यक विवरण पेश नगर्ने ४३९ संस्थालाई वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक चेतावनी दिइएको छ। विभागले ती संस्थालाई आवश्यक विवरण तत्काल उपलब्ध गराउन पुनः निर्देशनसमेत दिएको छ।

विभागले कानुनी व्यवस्था र विभागीय निर्देशन पटक–पटक उल्लंघन गर्ने आठ वैदेशिक रोजगार व्यवसायी संस्थालाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना पनि गरेको छ। तीमध्ये तीन संस्थाले पुनः भारतीय विमानस्थलमार्फत श्रमिक पठाएको तथा पाँच संस्थाले मागिएको विवरण उपलब्ध नगराएको आधारमा आर्थिक दण्ड गरिएको विभागले स्पष्ट पारेको छ।

विभागले वैदेशिक रोजगार व्यवसायीलाई ऐन, नियम तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै यस्ता उल्लंघन दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

प्रचलित कानुनी व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई स्वदेशकै विमानस्थलमार्फत पठाउनुपर्ने व्यवस्था छ। विशेष परिस्थितिमा विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेको छ। भारतीय विमानस्थल हुँदै श्रमिक पठाइएको गुनासो बढेपछि विभागले २०८३ असार २६ गते सूचना जारी गर्दै सम्बन्धित संस्थासँग प्रयोग गरिएको विमानस्थलको विवरण माग गरेको थियो।