काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१७ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति ६ जना सीमाविद् तथा विज्ञले गम्भीर आपत्ति जनाएका छन्।

उनीहरूले प्रधानमन्त्रीको भनाइलाई तथ्यहीन र आधारविहीन भन्दै सार्वजनिक स्पष्टीकरण तथा क्षमायाचनाको माग गरेका छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक पीताम्बर शर्मा, प्राध्यापक नरेन्द्र खनाल, जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा र द्वारिकानाथ ढुङ्गेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका हुन्।

प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइले राष्ट्रियता र सीमाजस्तो संवेदनशील विषयमा अनावश्यक भ्रम सिर्जना गरेको विज्ञहरूको भनाइ छ।

संयुक्त विज्ञप्तिमा नेपालले भारतको सीमा अतिक्रमण गरेको विषय आजसम्म कुनै आधिकारिक निकायबाट पुष्टि नभएको उल्लेख गरिएको छ। नेपाल-भारत संयुक्त सीमा आयोगले सीमा व्यवस्थापनसम्बन्धी ९८ प्रतिशत काम सम्पन्न गरिसकेको अवस्थामा पनि नेपालले भारतीय भूमि अतिक्रमण गरेको निष्कर्ष कतैबाट नआएको उनीहरूको दाबी छ।

राष्ट्रहितविपरीत प्रधानमन्त्री

विज्ञहरूले महाकाली नदीको मुहान र सुस्ता क्षेत्रको सीमा विवाद अझै समाधान हुन बाँकी रहेको स्मरण गराउँदै राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको विषयमा कार्यकारी प्रमुखबाट तथ्यविहीन अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

नेपालले अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिसकेको सन्दर्भ उल्लेख गर्दै विज्ञहरूले प्रधानमन्त्रीसँग उक्त अभिव्यक्तिको आधार र प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको भनाइबाट आम नागरिकमा भ्रम उत्पन्न भएको दाबी गर्दै विज्ञहरूले तीनबुँदे माग अघि सारेका छन्। उनीहरूले प्रधानमन्त्रीले तत्काल सार्वजनिक रूपमा स्पष्टीकरण दिनुपर्ने, उक्त अभिव्यक्तिप्रति क्षमायाचना गर्नुपर्ने तथा प्रतिनिधिसभाको रेकर्डबाट सो भनाइ हटाउन सभामुखसमक्ष पहल गर्नुपर्ने माग गरेका छन्।