साफ महिला फुटबल
श्रीलंकासँगको आजको खेल सेमिफाइनलको तयारी पनि
साफ महिला च्याम्पियनसिपको आठौँ संस्करण सुरु हुनुअघि नै लगभग तय थियो– नेपाल सेमिफाइनलमा पुग्ने टोलीमध्ये एक हुनेछ। टोलीको समूह विभाजनबाटै यसको अनुमान लगाउन सकिन्थ्यो।
समूह ‘ए’ मा परेको नेपालले यसपटक पनि अर्को समूहमा रहेका साबिक विजेता बाङ्लादेश वा भारतमध्ये एकसँग सेमिफाइनल खेल्नेछ। यी दुई टोली सेमिफाइनल पुगिसक्दा नेपालले भने कुन टोलीसँग प्रतिस्पर्धा गर्नेछ भन्ने टुंगो आज आइतबार भारतको गोवास्थित जवाहरलाल नेहरू रंगशालामा श्रीलंकासँगको भीडन्तपछि तय हुनेछ। खेल नेपाली समयअनुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ।
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलंकासँगको खेललाई टोली सुधार गर्ने अवसरका रूपमा लिएको बताएका छन्। “भुटानविरुद्ध हामीले अपेक्षाअनुसार धेरै गोल गर्न सकेनौँ। त्यसैले सेमिफाइनलअघि फिनिसिङलाई प्रभावकारी बनाउनेमा हाम्रो ध्यान रहनेछ। सेमिफाइनल जस्ता महत्त्वपूर्ण खेलमा एक वा दुई वटा मात्र अवसर प्राप्त हुन्छन्, त्यसलाई सदुपयोग गर्नैपर्छ,” उनी भन्छन्।
साबिक उपविजेता नेपालले २५ मेमा भुटानविरुद्ध १-० को जित निकाल्दै साफ च्याम्पियनसिपको यात्रा सुरु गरेको थियो। तर, मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’, फरवार्ड सविता रानामगर र मिडफिल्डर प्रीति राईबिनै मैदान उत्रिएको नेपालले प्रभावशाली प्रदर्शन गर्न सकेन।

प्रशिक्षक नवीन न्यौपाने (बायाँ)।
भुटानलाई बलियो टोलीका रूपमा लिइँदैन। यसअघि भएका पाँच भेटमध्ये चारमा नेपाल विजयी भएको थियो। तर, सन् २०२४ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा भने नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसबेला पनि नेपाली टोलीमा साम्बा अनुपस्थित थिइन्। रश्मिकुमारी घिसिङ र अमिषा कार्कीले अग्रपंक्ति सम्हाले पनि नेपाल पहिलो पटक भुटानलाई हराउन असफल भएको थियो।
त्यतिखेर पनि नेपालले आधा दर्जनभन्दा बढी अवसर सिर्जना गरे पनि गोल गर्न सकेको थिएन। यसपटक पनि उही कमजोरी उदांगो भयो। तर, २३औँ मिनेटमा सेन्टरब्याक गीता रानाले गरेको गोलले नेपाललाई पुनः अर्को निराशाजनक नतिजाबाट जोगायो।
मुख्य प्रशिक्षक न्यौपाने यसको श्रेय भुटानको बलियो रक्षापंक्तिलाई दिन्छन्। “भुटानले लो–ब्लकमा बसेर खेलेकाले हामीलाई गोल निकाल्न गाह्रो भयो। भुटान चार दिनअघि मात्रै यहाँ आएको थियो । उनीहरूले एक दिन मात्र प्रशिक्षण गर्न पाएका थिए। त्यसैले पनि हामीले बढी गोल गर्नुपर्ने थियो,” उनी भन्छन्।
निरीह श्रीलंका
श्रीलंकाको साफ महिला च्याम्पियनसिपमा अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भनेको तीन पटक सेमिफाइनल पुग्नु हो। उसले सन् २०१२, २०१४ र २०१९ संस्करणमा अन्तिम चारमा स्थान बनाएको थियो। तर, त्यसपछिका तीन संस्करणमा प्रदर्शन लगातार खस्किँदै गएको छ।
यसपटक पनि श्रीलंका समूह चरणबाटै बाहिरिने जोखिममा छ। पहिलो खेलमै भुटानसँग ४-० को भारी हार बेहोरेको श्रीलंकासामु अब अन्तिम खेलमा नेपाललाई कम्तीमा ५-० ले हराउनुपर्ने कठिन चुनौती छ। बराबरी वा हारको नतिजाले उसको यात्रा समूह चरणमै टुंगिनेछ।
यस समूहबाट भुटान तीन अंकसहित सेमिफाइनलमा पुगिसकेको छ। नेपाल र श्रीलंकाबीचको खेल बराबरी भएमा वा दुवैमध्ये कुनै एक टोली पराजित भए पनि भुटान समूह उपविजेता बन्ने निश्चित छ।

श्रीलंकासँग खेल्नुअघि अभ्यासमा नेपाली खेलाडी।
फुटबलमा असम्भव भन्ने हुँदैन। तर, नेपालविरुद्ध श्रीलंकाको विगतको प्रदर्शन निकै कमजोर छ। साफका पछिल्ला ६ संस्करणमा नेपालसँग खेलेका सबै खेलमा श्रीलंकाले हार बेहोरेको छ। अझ उल्लेखनीय त के भने, ती खेलमा नेपालले २३ गोल गर्दा श्रीलंकाले एक गोल पनि फर्काउन सकेको छैन। २३ मध्ये १२ गोल त नेपालले पछिल्ला दुई संस्करणमा मात्र गरेको हो। यी दुवै संस्करण नेपालमै आयोजना भएका थिए। दुवै खेल समूह चरणका थिए।
त्यसअघि सन् २०१२ र २०१९ मा नेपालले सेमिफाइनलमा श्रीलंकालाई क्रमशः ३-० र ४-० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो। अन्य संस्करणहरूमा पनि नेपालले समूह चरणमै श्रीलंकाविरुद्ध सहज जित निकालेको थियो।
गोल निकाल्ने सकस
आवश्यक समयमा गोल गर्नबाट चुक्नु नेपाली टोलीको पुरानै समस्या हो।
यसपल्ट टोलीमा स्ट्राइकर सम्बासँगै फरवार्डद्वय अमिषा कार्की, सविता रानामगर र मिडफिल्डर प्रीति राई छैनन्। साम्बा कतारमा घुँडाको उपचार गराइरहेकी छन्। सविता पनि घाइते अनि अमिषा सहायक सेनानीको तालिममा छिन्। प्रीति भने कम्बोडियन लिगमा व्यस्त हुँदा नेपाल सेमिफाइनलमा पुगे मात्र गोवा आइपुग्नेछिन्। यी खेलाडी नहुँदा फरवार्डद्वय रेखा पौडेल र रश्मिकुमार घिसिङसँगै फरवार्ड मीना देउवा र अनिता लम्जेल जस्ता खेलाडीले मौका पाएका छन्।
नेपालले पछिल्लो समय साफबाहिर पनि भारतलाई हराउँदै आएको छ। गत वर्ष फिफा विन्डोअन्तर्गत भारतको सिलोङमा भएको त्रिदेशीय कपमा नेपालले घरेलु टोली भारतलाई २-१ ले पाखा लाएको थियो।
“साम्बा नहुँदा अन्य खेलाडीहरूले त्यो स्थानमा अवसर पाएका छन्। अब उनीहरूले आफूलाई प्रमाणित गर्नुपर्छ। म पनि उत्कृष्ट खेलाडी हुँ भनेर देखाउनुपर्छ,” मुख्य प्रशिक्षक न्यौपाने भन्छन्, “देशले अवसर दिएको छ, प्रमाणित गर्ने काम खेलाडीहरूको हो।”
विभागीय टोली त्रिभुवन आर्मीबाट घरेलु लिग खेलिरहेकी अनिताले भुटानविरुद्धकै खेलमा ‘डेब्यु’ गरेकी थिइन्। तर, प्रभाव देखाउन सकिनन्। उनलाई ४६औँ मिनेटमा सरु लिम्बूले प्रतिस्थापन गरेकी थिइन्। अर्कातर्फ पहिलो हाफ सकिन आठ मिनेट बाँकी रहँदा रश्मि र रेखाले सुनौलो अवसर गुमाएका थिए। त्यसपछि मीनाको गोल अफसाइड ठहरिँदा नेपालले भुटानविरुद्ध १-० कै नतिजामा चित्त बुझाएको थियो।
जुनसुकै टोलीसँग पनि तयार
साफ फुटबलमा एक समय भारतको मात्रै वर्चस्व थियो। उसले सुरुका पाँच संस्करणमध्ये चार संस्करणमा नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो। सन् २०१६ को संस्करणमा भने नेपाललाई सेमिफाइनलमै हराउँदै बाङ्लादेशलाई पाखा लगाएर उपाधि उचाल्यो। तर, अहिले नेपाल र बाङ्लादेश भारतभन्दा अब्बल टोलीका रूपमा उदाइरहेका छन्। नेपालले सन् २०२२ र २०२४ को संस्करणमा भारतलाई सेमिफाइनलमै पराजित गर्दै लगातार फाइनलमा स्थान बनाइरहेको छ। अर्कातर्फ, भारतलाई नै हराउने नेपाललाई भने बाङ्लादेशले उपाधि उचाल्न दिएको छैन।
एउटा सकारात्मक पक्ष, नेपालले पछिल्लो समय साफबाहिर पनि भारतलाई हराउँदै आएको छ। गत वर्ष फिफा विन्डोअन्तर्गत भारतको सिलोङमा भएको त्रिदेशीय कपमा नेपालले घरेलु टोली भारतलाई २-१ ले पाखा लाएको थियो। उक्त खेलमा दुवै गोल साम्बाले नै गरेकी थिइन्। त्यसपछि गान्तोकमा भएको अर्को अनौपचारिक खेलमा पनि नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० ले हराएको थियो। तर, सो खेलमा साम्बा थिइनन् भने भारतले पनि यू-२० का खेलाडीलाई मैदानमा उतारेको थियो।
बाङ्लादेशसँग भने नेपालको भेट साफ च्याम्पियनसिपमा मात्र हुँदै आएको छ। १९ सेप्टेम्बरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफको फाइनलमा ३-१ ले हारेको नेपाल गत संस्करणमा २-१ ले निराश भएको थियो।
मुख्य प्रशिक्षक न्यौपाने भने पछिल्लो समय दक्षिण एसियाली फुटबलमा टोलीहरूबीचको अन्तर कम हुँदै गएको दाबी गर्छन्। “अहिले भारतबाहेक नेपाल, बाङ्लादेशलगायत टोलीहरूले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। हामीले फिफा विन्डोमा भारतलाई हराइसकेका छौँ। यो प्रतियोगिता हाम्रा लागि धेरै महत्त्वपूर्ण छ। त्यसैले हामी जुनसुकै टोलीसँग खेल्न पनि तयार छौँ,” उनी भन्छन्।